३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बिरामी जाँच्‍न घरमै डाक्टर

एलपी देवकोटा

जुम्ला — एक्कासी उनलाई छाती दुख्‍ने समस्या देखियो । ‘लकडाउन’को समय भएकाले सजिलै अस्पताल जान सक्ने अवस्था थिएन । चन्दननाथ नगरपालिका–१ का ६८ वर्षीय जोर महरातालाई गाउँकै स्थानीय चिकित्सक घरमै पुगेर सेवा दिएपछि उनी अहिले स्वस्थ र दंग दुवै छन् ।

बिरामी जाँच्‍न घरमै डाक्टर

अर्का स्थानीय मानसिंह दमाई पनि रुघाखोकीको जाँच र औषधि घरआगनमै पाउँदा मख्ख छन् । कोरोना भाइसरको त्रासले घरमै बसेका उक्त वडाका अधिकांश बिरामीहरुलाई घरदैलोमै पुगेर चिकित्सकले स्वास्थ्य सेवा दिइरहेका छन् । सो कार्यमा खटिएका छन् कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चन्दननाथ–१, आचार्यवाडाका डा. टंकप्रसाद आचार्य ।


‘लकडाउनको समयमा यस वडाका ९ वटाभन्दा धेरै गाउँका स्थानीयको स्वास्थ्य परीक्षण गरेका छौं,’ उनले भने, ‘कोरानाको संक्रमणका बारेमा जनचेतना सँगसँगै गाउँलेहरुको स्वास्थ्य अवस्था कस्तो छ भन्ने हिसाबमा गाउँभित्रै स्वास्थ्यकर्मीहरुको सहयोगमा स्वास्थ्य जाँच गरेका हौँ ।’ उनका अनुसार चन्दननाथ–१ को कुलाबाडा, महतराबाडा, डांइबाडा, थ्यइतवाडा, सार्कीबाडा, आचर्याबाडा, रावतबाडा, राना रावत र दमाईबाडाका स्थानीयको घरमै पुगेर स्वास्थ्य जाँच गरिएको हो ।


प्रत्येक गाउँमा अस्वस्थ १५ देखि २० जनालाई उपचार गरिएको उनले बताए । ‘म आफैं पनि यही ठाउँको भएकोले सबैको स्वास्थ्य जाँचसँगै कोरोना भाइरसबारे पनि सचेतना र हात धुने तरिका सिकाएका छौं,’ उनले थपे, ‘यस क्रममा धेरैजसोलाई रुघाखोकी लाखेको र केही बिरामीमा नियोनियासमेत भएको देखियो । नियोनिया भएकालाई अस्पतालमा भर्ना भएर उपचार गर्न सुझाव दिएका छौ ।’


अन्य सामान्य बिरामीलाई भने औषधि उपलब्ध गराइएको र नपुग भएको अवस्थामा नजिकको सहरी स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न भनिएको उनले सुनाए ।

प्रकाशित : चैत्र १९, २०७६ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?