२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

आफ्ना नागरिक घर ल्याउन केले छेक्यो ?

‘न सुविधासम्पन्न क्वारेन्टाइन, न स्वास्थ्य परीक्षण’

काठमाडौँ — स्वदेश फर्किन लागेका झण्डै २ हजार नेपाली अहिले मुलुकको दक्षिणी र पश्चिमी सीमा नाकामा रोकिएका छन् । कोरोना संक्रमणको सन्त्रासका कारण स्वदेश फर्किन लागेका उनीहरुलाई बोर्डरमा रोकिएपछि अहिले सरकारमाथि चौतर्फी प्रश्न उठेको छ, ‘सरकार,आफ्ना नागरिकलाई स्वदेश ल्याउन केले छेकेको छ ?’

आफ्ना नागरिक घर ल्याउन केले छेक्यो ?

सामाजिक सञ्जालदेखि नागरिक समाज, कुटनीतिज्ञ र अर्न्तदेशीय मामलाका जानकारहरुले यसरी दशगजामा आफ्नै नागरिक रोक्ने कदम ठीक नभएको भन्दै सरकारको आलोचना गरिरहेका छन् । अन्य मुलुकहरुले प्लेन चाटर्ड गरेर धमाधम आफ्ना नागरिक लगिरहेका बेला हाम्रो सरकार चाहिँ बोर्डरमै आइसकेकालाई किन ढोका बन्द गर्छ ? यस्ता प्रश्नहरु एकैसाथ स्वभाविक रुपमा उब्जिएका छन् । कतिपयले महाकाली नदीमा हेलिएर स्वदेश फर्किनेमाथि किन निगरानी गरियो भन्दै आलोचना पनि गरेका छन् ।


यस्तो छेकवार गर्नुका पछाडि के कारण छ ? परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको जवाफ छ-‘यो भावनात्मक कुरा होइन । कोरोना भाइरसको संक्रमणको कुरा अब कुनै मुलुक र त्यसको नागरिकको मात्र होइन, अन्तराष्ट्रिय इस्यु भइसक्यो । त्यसैले यो संवेदनशीलतालाई पनि बुझ्नैपर्छ ।’


उनका अनुसार ‘यो लकडाउनको असहज अवस्था’हो । लकडाउन भन्ने तर पटकपटक बोर्डर खुल्ला गर्दै जाने हो भने लकडाउनको कुनै अर्थ नहुने उनले बताए । त्यसैले दुवै मुलुकका नागरिकलाई एकअर्काले खानपान र आवश्यक व्यवस्था गर्ने सहमतिअनुसार जो जहाँ छ त्यहीं रोकिएको उनले बताए ।


सीमा क्षेत्रमा नेपाल र भारतका नागरिक ठूलो संख्यामा जम्मा भएपछि मंगलबार प्रधानमन्त्रीकै तहबाट भारतसँग कुटनीतिस्तरमा कुराकानी भएको थियो । त्यसकाअनुसार दुवै मुलुकका नागरिकलाई एकअर्काले खानपानको र अन्य आवश्यक व्यवस्था गरेर सुरक्षित राख्ने भन्ने सहमति भयो । त्यही सहमतिअनुसार अहिले सीमा क्षेत्रमा नेपालमा रहेका भारतीयलाई नेपालले र भारतमा रहेका नेपालीलाई भारतले खानपानको व्यवस्था मिलाउन थालेका छन् । भारतको धार्चुलामा अलपत्र परेका नेपालीलाई भारतीय पक्षले हिजोबाटै खानाको व्यवस्था गरेको छ । यता वीरगन्ज–भैरहवा लगायतका क्षेत्रमा नेपालले भारतीय यात्रुका लागि व्यवस्था गरेको छ ।


नेपालमा लकडाउन सुरु भएलगत्तै नेपाली जनसाधारणको नाकामा भीड बढेपछि नाकामा आइसकेकालाई ‘एकपटक स्वदेश छिर्न दिने’निर्णय नेपाल सरकारले गरेको थियो । तर उक्त निर्णयपछि भारतबाट नेपाल छिर्नेहरुको चाप घटेन, बरु नसाचेको रुपमा बढ्यो । त्यसैले फेरि अर्कोपटक सीमा खुला गर्ने हो भने फेरि त्यस्तैखालको चाप बढ्दै जाने सरकारी अधिकारीको बुझाई छ । उच्चस्तरीय समन्वय समितिमा रहेका अर्का एक मन्त्रीले भने,‘अहिलेसम्म लकडाउन गरियो, अब अर्को सातासम्म हामीले धान्न सकियो भने त यहाँको जोखिम निकै कम हुन्छ । त्यसैले केही नागरिक अलपत्र परे भनेर छिराउने हो भने अहिलेसम्मको लकडाउनको अर्थ नै हुन्न ।’


पछिल्लो समय फेरि भारतमा कोरोना संक्रमण तीव्र भएको छ । त्यसैले सुरुवाती दिनमा नेपाल आउनेभन्दा यतिबेर नेपाल छिर्नेहरुबाट बढ्ता जोखिम हुनसक्छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले पनि सीमा नाका ‘सील गर्ने’निर्णय भएकाले त्यसलाई सरकारले कडाईका साथ नै लागू गरिरहेको जानकारी दिए ।


क्वारेन्टाइनमा राख्न सकिन्थ्यो ?

यसरी नेपाली नागरिकलाई सीमा पारी नै रोक्नुको सट्टा स्वदेश ल्याएर १४ दिन क्वारेन्न्टाइनमा राख्ने व्यवस्था पनि गर्न सकिन्थ्यो । यसो गर्दा बोर्डरमा आएको नागरिकलाई आफ्नो मुलुकमा छु भन्ने महुसस पनि हुन्थ्यो । राज्यले आफूलाई संरक्षण दिएको अनुभूति पनि गर्न सक्थे । तर, यो पक्षलाई सरकारी अधिकारीले फरक ढंगबाट हेरेका छन् । एउटा त जति क्वारेन्टाइन बनाएको भने पनि ती अस्थायी खालका छन्, नामका मात्रै क्वारेन्टानइन । ती क्वारेन्टाईनमा कुनै पनि अत्यावश्यक पूर्वाधार छैनन् । धेरै मानिसलाई क्वारेन्टाइनमा राख्न सक्ने पूर्वाधार नै नभएकाले पनि नेपाली अधिकारीहरु स्वदेश भित्र्याउने जोखिम लिन तयार भएनन् ।


यसअघि नै क्वारेन्टाइनमा राखेका जनसाधारण मच्छडले टोक्यो भन्दै क्वारेन्टाइनस्थल छोडेर भागेका घटना बाहिर आइसकेका छन् । धेरै मानिसलाई क्वारेन्टाइनमा खाने, अत्यावश्यक पूर्वाधार नहुँदा १४ दिनसम्म सयौं मानिसलाई जोगाएर राख्नका लागि समस्या हुने सरकारी अधिकारीको बुझाई छ । ‘कोरोना भाइरस जाँच्ने प्रयोगशाला नै काठमाडौंमा मात्र छ, अन्यत्र चल्न थालेकै छैन, कसैलाई समस्या देखियो भने प्रारम्भिक पहिचान गर्ने संयन्त्र अझै बनिसकेको छैन । त्यसैले धेरै मानिस एकसाथ भित्र्याउँदा समस्या हुन्छ,’स्वास्थ्यका एक अधिकारीले भने । एक महिनाअघि चीनबाट ल्याइएका १ सय ७५ विद्यार्थीका लागि खरिपाटीमा बनाइएजस्तो सुविधासम्पन्न क्वारेन्टाइन कहीं पनि छैनन् ।


क्वारेन्टाइनमा जोगाएर राख्न नसक्ने अवस्थामा स्वदेश छिरेकाहरु गाउँगाउँमा जानसक्ने र यसले झन् जोखिम बढाउने सम्भावना हुने सरकारको बुझाइ छ । परराष्ट्र मन्त्री ज्ञवालीका अनुसार लकडाउन अघि र पछिकै अवस्थामा सुदूरपश्चिम जिल्लाहरुमा मात्रै भारतबाट १ लाख ३५ हजार नेपाली नागरिक घर भित्रिएको तथ्यांक आएको छ । यसबाट उब्जने भयावह स्थितिको आँकलन पनि गरिएको छैन ।

प्रकाशित : चैत्र १९, २०७६ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?