कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पौडेर महाकाली तरेका बाेहरा भन्छन्- 'आफ्नै देशमा दु:ख सहुँला भनेर नदी तरे‌ँ'

'आँगनमा आइपुग्यौ‌ं, घर पस्न पाएनौं'
मनोज बडु

दार्चुला — कोरोनाका डरले गर्दा भारतमा गरिरहेको काम गर्न नपाएपछि धेरै नेपाली घर फर्कन खोजे । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाका करिब एक हजार जना नेपाली महाकालीपारि आइपुगेका छन् ।

पौडेर महाकाली तरेका बाेहरा भन्छन्- 'आफ्नै देशमा दु:ख सहुँला भनेर नदी तरे‌ँ'

उनीहरूलाई नेपाल पस्न दिइएको छैन । उनीहरूमध्ये धारचुलास्थित महाकालीको गौशालामा तीन सय ८०, मिनि स्टेडियममा तीन सय ५, जौलजिवीमा दुई सय, गलातीको फायर ब्रिगेडमा ३२ र बलुवाकोटको स्कुलमा ७० जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

उनीहरूका लागि खानेबस्ने र स्वास्थ्य जाँच गर्ने काम भारतीय पक्षले गरिरहेको र आफूले उनीहरुको अवस्थामा बारेमा भारतीय पक्षसँग निरन्तर बुझिरहेको कुरा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

मंगलबार पनि पुलबाट नेपाल पस्न नपाएपछि पौडेर महाकाली नदी तरेका एकजना र बलुवाकोटमा एउटा कोठामा राखिएका १४ जनामध्ये तीनजनासँग हाम्रा संवाददाता मनोज बडूले गरेको कुराकानीः


लोकेन्द्र बोहरा, डिलाशैनी गाउँपालिका, बैतडी

गरिबीले गर्दा दुई महिना पहिले मजदुरी गर्न भारतको दर पुगेको थिएँ । काम गर्दै जाँदा कोरोनाको डरले साथीहरूसँगै घर फर्किएँ । हामी १५ जना दरबाट दुई तीन पैदल हिँडेर खलंगा आइपुग्यौं । त्यहाँ आइपुगेको दुई दिनसम्म पनि महाकालीको पुल खुलाइएन । त्यहाँ मान्छे मान्छे भए ।

नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ तर एउटै कोठामा २५/३० जनालाई राखिएको छ । ठूला हलमा त दुई सय जनासम्म छन् ।

त्यहाँ भीडभाडले मरिएला जस्तो लाग्यो । कोही भोकले र कोही रोगले मर्लान् भन्ने डर लागेपछि पौडेर भए पनि महाकाली तर्छु, जस्तोसुकै दुःख कष्ट आइलागे पनि उतै सहन्छु भन्ने लाग्यो । मरे पनि आफ्नै माटोमा मर्न वेश ठानें । त्यसपछि पौडेर महाकाली नदी तरेर नेपाल आएँ । नेपाल आउनेबित्तिकै नेपाली प्रहरीले समाते ।


उत्तम बोहरा, बैतडी पुर्चौडी नगरपालिका, मल्लादेही

आफ्नो खेतीबारीको कमाइले वर्षदिन पनि खान पुग्दैन । वैशाखमा काटेको गहुँले असारसम्मलाई पुग्दैन । असोजमा भाँचेको मकैले मंसिर महिनासम्मलाई खान पुग्दैन । मौसम राम्रो हुँदा र असिना परेर बाली सखाप नहुँदा खेती किसानीबाट दुई/तीन महिना मात्र खान पुग्छ । आफ्नै गाउँठाउँमा काम गरौँ भन्दा काम पाइँदैन । त्यसैले भारत गएर मजदुरी नगरे साँझबिहानको छाक टर्दैन । हामी बर्षौदेखि भारत गएर काम गर्दै आएका छौँ ।

म अस्ति तिहार मनाएर ज्यालादारीमा काम गर्न भारतको बागेश्वरी गएको थिएँ । बिसु त्यार (नयाँ वर्ष) मनाउन घर आउने विचार थियो । कोरोना फैलन लाग्यो भनेर ठेकेदारले चाँडै घर फर्क भन्यो । त्यसपछि त्यहाँ काम गर्ने सबै नेपालीले सल्लाह गर्‍यौँ । दार्चुला नाकाबाट नेपालीहरुलाई घर जान दिएको छ भन्ने सुनेपछि भोक र निन्द्रा नभनी तीन दिन हिँडेर नेपालको सिमाना आइपुग्यौँ ।

सीमापारि धार्चुलामा अलपत्र नेपाली ।

आज बुधबार हामी यहाँ आइपुगेको चार दिन भयो । खान, पिउन र सुत्नको टुङ्गो छैन । घर नजिक आइपुगेपछि झन् विजोग भयो ।


नरेश भण्डारी, पुर्चौडी नगरपालिका, महादेवस्थान

आठ महिना पहिले काम खोज्दै भारतको थल गएको थिएँ । हाम्रो गाउँका अरु मानिस पनि त्यहाँ मजदुरी गरिहेका थिए । काम पाएको भए आउने दशैसम्म काम गर्ने र दशैँमा घर फर्केने विचार थियो । कोरोनाको डरले सबै घर फर्कन थालेपछि म पनि उनीहरूसँगै आएँ ।

दार्चुलामा नाकाबाट नेपाल जान दिइरहेको छ भनेर बाटामा मानिसले भनेपछि हामी ३५ जना रातदिन खाइनखाइ चार दिन पैदल हिँडेर यहाँ आइपुग्यौँ । तर यहाँ आइपुगेको तीन दिनसम्म पनि स्वदेश टेक्न पाएका छैनौँ ।

अरु देशले नेपालमा अलपत्र परेका आफ्ना नागरिकलाई आफ्नो देश फर्काउँदै छन अरे । हामीलाई चाहिँ आफ्नो देशले देश पस्न रोकेको छ । घर नजिक आइपुगेकालाई देश पस्न नदिनु कस्तो विडम्बना हो ? हामी नेपालका नागरिक होइनौं भनौं भने हामी सबैसित नेपालको नागरिकताको प्रमाणपत्र छ ।

भारतमा पनि क्वारेन्टाइनमा बसाएको छ । भेडाबाख्रालाई जस्तै गरी सयौं मान्छेलाई खाँदेर राखेको छ । क्वारेन्टाइनमा बस्नु परे आफ्नै देशमा बसौंला । जस्तो दुःख कष्ट गर्नु परे पनि आफ्नै देशमा सजिलो हुन्छ ।

एघार वर्षदेखि भारतमा मजदुरी गरेर घर चलाउने खर्च जोहो गर्दै आएको थिएँ । यसपालि नाकामै बिचल्ली भएँ ।


देवबहादुर ऐर, बैतडी पुर्चौडी नगरपालिका, ऐरीगाउँ

बिसु त्यारको खर्च जोहो गर्न माघेसंक्रान्ति खाएर भारतको बागेश्वर गएको थिएँ । त्यहाँ सडक बनाउने काम गर्थ्यौं । साइटमा ठेकेदारले ‘तीन महिनालाई काम बन्द हुन्छ, घर जाऊ’ भन्यो । तीन महिनासम्म काम नगरी के खाएर बस्नु भनेर सबै कामदार हिँडेर आयौँ ।

ठेकेदारले ज्याला हिसाब गरिदिएन । बाटो खर्च भनेर अलिकति पैसा दियो । त्यसले बाटो खर्च पुगेन । बाटोमा खान नपाएपछि बागेश्वर नजिकको चली गाउँमा धान मागेर ओखलमा कुटेर एक छाक भात खाएर हिडेका थियौँ ।

हाम्रो समूहका १५ जना अहिले सिमाना आइपुगेका छौं । अढाई सय जति नेपाली बाटोमै अलपत्र छन् । उनीहरू नैनीतालबाट पैदल हिँडेर पिथौरागढ जिल्लाको पनारघाट आइपुगेका थिए । अहिले त्यहीँ अड्किएका छन् । बैतडीको झुलाघाट नाकाबाट नेपाल पस्ने भन्थे उनीहरू ।

घरमा आमाबुवाले बिसु मनाउन पैसा लिएर आउँछ भनेर सोचेका होलान् । आफू भने खर्च सकिएर रित्तो भएको छु । उनीहरू छोरो कहिले आइपुग्छ भनी पर्खिरहेका होलान् । आफूलाई नेपाल पस्न दिएको छैन । आँगनमा आइपुगेर घरभित्र पस्न नपाए जस्तो भएको छ ।

प्रकाशित : चैत्र १९, २०७६ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?