२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

लकडाउनको ८ दिनपछि छाउनी अस्पतालमा ‘एक्सन टिम’ स्थापना

लक्ष्मण अर्यालको संयोजकत्वमा ३ सदस्यीय टिम गठन, ४ वटा छुट्टाछुट्टै उपसमिति
मातृका दाहाल

काठमाडौँ — लकडाउन घोषणा भएको ८ दिनपछि सरकारले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल परिसरमा कार्यालय रहने गरी ‘कोभिड–१९ विरुद्ध एक्सन टिम’ स्थापना गरेको छ ।

मुख्यसचिव लोकदर्शन रेग्मीसहित चारवटै सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा बसेको बैठकबाट मंगलबार दिउँसो टिम गठन भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मण अर्यालको संयोजकत्व रहेको टिममा स्वास्थ्य मन्त्रालयका चिकित्सक डा. रोशन पोखरेल र नेपाली सेनाका उपरथी सदस्य छन् ।


टिमअन्तर्गत बन्दोबस्ती, अपरेसन, सूचना तथा सञ्चार र सुरक्षा तथा कानुन गरी ४ वटा उपसमिति पनि गठन भएको छ । उपसमितिमा चारवटै सुरक्षा निकायका अधिकारी, प्रधानमन्त्री कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गृह मन्त्रालय र आवश्यकताअनुसार अन्य मन्त्रालयका प्रतिनिधिलाई उपसमितिमा समावेश गरिने छ । सरकारले आइबार कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय कार्यदलका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) स्थापना गरेको थियो ।


त्यस्तै प्रदेश र स्थानीय तहमा पनि सोहीअनुसार मुख्यमन्त्री र स्थानीय तहका प्रमुखको अध्यक्षतामा सेन्टर स्थापना गर्ने निर्णय भएको थियो । सीसीएमसीका निर्णय कार्यान्वयन गर्न एक्सन टिम बनेको हो । कार्यान्वनका लागि ४ वटा उपसमिति गठन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले बताए । एक्सन टिमले जोखिम नियन्त्रणका लागि सरकारी संयन्त्रलाई आवश्यकताअनुसार परिचालन गर्न समन्वय गर्ने छ । ‘एक्सन टिम अन्तर्गत काम हुने गरी ४ वटा छुट्टाछुट्टै उपसमिति गठन गरिएको छ,’ सचिव कोइरालाले भने, ‘स्वास्थ्य सामग्री तथा दैनिक उपभोग्य वस्तुसम्बन्धी समन्वय गर्न बिरामीलाई घरबाट अस्पतालसम्म ल्याउने/पुर्‍याउने, सूचना सम्प्रेषण तथा अन्य कार्यसञ्चालनका लागि यी उपसमितिहरुले काम गर्नेछन् ।’


र्‍यापिड रेस्पोन्स टिम पनि अपरेसन र कानुन तथा सुरक्षा व्यवस्थापन समितिअन्तर्गत परिचालन गरिने उनले बताए । सचिव कोइरालाका अनुसार सीसीएमसीले दिएका निर्देशन मुख्यसचिवको समितिले कार्यान्वयनका लागि सहजीकरण गर्ने छ । त्यसका आधारमा एक्सन टिमले काम गर्ने छ ।

प्रकाशित : चैत्र १८, २०७६ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?