लकडाउनको एक साता बित्यो, यस्तो छ मुलुकको हालत

लाखौं मानिस भारतबाट आए तर क्वारेन्टाइनमा मात्र ४६ सय
कान्तिपुर संवाददाता

काठमाडौँ — मुलुक लकडाउनमा गएको आज एक साता भयो । यस अवधिमा न सीमा नाकाबाट नेपाल भित्रनेहरुलाई रोक्न सकिएको छ, न त भारत र अन्य मुलुकबाट आएकाहरुको पहिचान गरी क्वारेन्टाइनमा राख्न सकिएको छ ।

शंकास्पद बिरामीलाई आइसोलेसनमा राख्ने र उनीहरुको स्वाब परीक्षण गर्ने काममा पनि सरकार कमजोर देखिएको छ । लकडाउनको एक सातामा मुलुकको अवस्था कस्तो छ ? कुन–कुन प्रदेशमा के–कस्ता पहल भइरहेका छन् ? त्यहाँका चुनौती र समस्या के छन् ? क्वारेन्टाइन र आइसोलेसनमा कति व्यक्ति बसेका छन् ? स्वास्थ्य सामग्री र जनशक्तिको अवस्था कस्तो छ ? उपचार प्रबन्ध कसरी भइरहेको छ ? अनि हरेक प्रदेशका नागरिकका गुनासा कस्ता छन् ? कान्तिपुरले तयार पारेको ७ प्रदेशका ७ कथा:


प्रदेश ५ मा क्वारेन्टाइनमा राख्नै मुस्किल

भारतका विभिन्न क्षेत्रबाट गत आइतबार रुपन्देहीको भैरहवा–सुनौली नाकामा आइपुगेका ३ सय जना अलपत्र परे । उनीहरुको सोमबार साँझसम्म उद्धार हुन सकेको थिएन । लामो अवधि भोकै, प्यासै भएपछि रुपन्देहीलगायत जिल्लाका सर्वसाधारणले सामाजिक सञ्जालमा ‘उनीहरुलाई उद्धार गरेर क्वारेन्टानमा राख्न’ दबाब दिन थाले । उद्धार गरेर क्वारेन्टाइनमा राख्ने जिम्मेवारी भएका रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थसित अलपत्रको अवस्था बुझ्न सञ्चारकर्मीलगायतले प्रयास गर्दा फोन सम्पर्क भएन । पन्थले फोन नउठाएको दुःखेसो पनि सामाजिक सञ्जालमा पोखियो । अपराह्न बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सीमा अलपत्र व्यक्तिलाई समूहमा उनीहरुको गृहजिल्ला पठाउने र सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्नुपर्ने निर्णय गर्‍यो ।


यसले सीमा बन्द गरे पनि भारतबाट मुलुक फर्कनेको संख्यामा कमी नआएको देखाउँछ । सीमा क्षेत्रमा क्वारेन्टाइनको व्यवस्था नभएको पनि प्रस्ट्याउँछ । कोभिड–१९ महामारीको जोखिम बढेका बेला प्रदेश ५ का १७ सीमा नाका भएर हजारौं व्यक्ति मुलुक प्रवेश गरिसके । यसरी आउनेको प्रशासनले नाकामा कुनै अभिलेख राखेन । स्थानीय तहले अहिले गाउँ–गाउँमा टोली परिचालन गरेर अभिलेख लिन खोज्दै छ । नाका छलेर परिवारमा घुलमिल भइसकेका व्यक्तिलाई सम्झाएर १४ दिन क्वारेन्टाइनमा राख्नु स्थानीय तह र प्रशासनका लागि ‘फलामको चिउरा चपाउनु सरह’ बनेको छ ।

अर्कोतर्फ स्थानीय तह र प्रदेश सरकारले सरकारी, निजी र रुग्ण भवन खोजेर क्वारेन्टाइन स्थल बनाउने लहर चल्यो । तिनमा खाट, बिछ्यौना राखिए । हल्का सरसफाइ गरियो । तर खानपिनदेखि समय कटाउने माध्यमको व्यवस्थापनमा ध्यान दिइएन, जसले क्वारेन्टाइनमा बसेका व्यक्तिले समेत दिक्क मान्न थालेका छन् । यसरी बसेका व्यक्तिसँग कस्तो व्यवहार गर्ने ? कसले निगरानी गर्ने ? केही टुंग्याएनन् । उल्टो छुनसमेत अप्ठ्यारो मान्न थालेपछि क्वारेन्टाइनमा बसेका व्यक्ति निरास छन् । यसको ज्वलन्त उदाहरण हुन्– पूर्वी रुकुमको सिस्ने गाउँपालिका–५ स्थित रुक्मिणी मावि क्वारेन्टाइनमा राखिएका ३३ जना ।


गाउँपालिकाले उनीहरुलाई प्लास्टिकका पोकामा खाना र खाजा ल्याउँछ । कर्मचारीले कोठा बाहिर बेन्चमा राखिदिन्छन् । त्यसपछि क्वारेन्टाइनमा बसेका व्यक्तिले आफ्नो नामको पोको उठाएर खान्छन् । खानाको तालिका बनाइएको छ । बिहान झोलिलो पदार्थ । त्यसपछि दाल, भात, तरकारी । अपराह्न फेरि झोलिलो पदार्थ । अनि बेलुका दाल, भात र तरकारी खाएर सुत्छन् ।


भारतका साथै तेस्रो मुलुकबाट आएकालाई यहाँ राखिएको छ । स्वास्थ्यकर्मीले उनीहरुको अवस्थाबारे ढोका र झ्याल बाहिरबाट बुझ्छन् । नजिक जान सकेका छैनन् । प्रत्येक कोठामा चार जना र एउटा खाटमा दुई जना सुत्छन् । व्यक्तिगत सुरक्षा सामग्री अभावले नजिक जान नसकिएको चिकित्सक पूर्णबहादुर पुनले बताए ।


प्रदेशभरमा ८८४ क्वारेन्टाइनमा

विदेशबाट फर्किएका व्यक्तिबाट कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि प्रदेशभरिका स्थानीय तहले क्वारेन्टाइन स्थल तयार गरेर उनीहरूको खोजी थालेका छन् । अहिलेसम्म स्वतःस्फुर्त रूपमा कोही पनि क्वारेन्टाइनमा बस्न आएका भने छैनन् । खोजीमा संलग्न टोलीले परामर्श गरेर घरमै छुट्टै बस्न अनुरोध गर्नेबाहेक काम हुन सकेको छैन । ‘मलाई केही भएको छैन’ भन्दै बस्न मानिरहेका छैनन् । स्थानीय तहले लक्षण नदेखिएकालाई क्वारेन्टाइनमा राख्न सकेका छैनन् ।


प्रदेश ५ का स्थानीय तहले सञ्चालनमा ल्याएका क्वारेन्टाइन केन्द्र सुविधाविहीन भएपछि त्यहाँ राखिएकाले पनि धमाधम छोड्न थालेका छन् । अस्थायी प्रयोजनका लागि हतारहतारमा प्रदेशका १ सय ९ वटै स्थानीय तहले ५ देखि ५० बेडसम्मका क्वारेन्टाइन केन्द्र सञ्चालनमा ल्याएका छन् । त्यस्ता क्वारेन्टाइनमा खानेपानी, शौचालय, बिजुलीलगायतका सुविधा छैनन् । गर्मीको समय सुरु भएकाले तराईका जिल्लामा खोलिएका क्वारेन्टाइनमा मच्छड(लामखुट्टे) ले टोकेर बस्नै नसक्ने अवस्था छ । कोरोना संक्रमणको त्रासले कतिपय स्थानमा खाना र खाजाको व्यवस्थापनमै समस्या छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका १२ वटै जिल्लामा तयार भएका १ सय ९६ क्वारेन्टाइनमा हालसम्म ८ सय ८४ जना भर्ना भएका छन् । प्रदेशका १ सय ९ स्थानीय तहले क्वारेन्टाइनका लागि ३ हजार ६ सय ९९ बेड तयार गरेका छन् । क्वारेन्टाइन र आइसोलेसन बेडमा झन्डै ३ सय स्वास्थ्यकर्मी खटिएको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए ।


परीक्षणमै समस्या, ९ जना आइसोलेसनमा


बुटवलमा रहेको बन्द धागो कारखानामा निर्माण गरिएको कोरोना अस्पतालमा आइसोलेनमा रहेका पाल्पाको रिब्दीकोट–५ का ३४ वर्षीय बाबुराम थापाको आइतबार मृत्यु भयो । दुबईबाट फर्केका उनलाई कोरोना आशंकामा त्यहाँ राखिएको थियो । उनको मृत्यु भए पनि कारण खुलेन । त्यसले परिवार, आफन्त, छिमेकी र सर्वसाधारण अन्योलमा परे । उनको शव उठेन । सोमबार दिउँसो काठमाडौं पठाइएको उनको खकारको नमुना परीक्षणले कोरोना संक्रमण नभएको पुष्टि भयो । सर्वसाधारणले मृत्युपछि कोरोना परीक्षण गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् भने यस्ता अस्थायी कोरोना अस्पताल बन्द गर्न दबाब दिन थालेका छन् । थापा चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पतालमा आएका थिए । त्यसपछि कोरोना आशंकामा उनलाई आइसोलेनमा पठाइयो । तर तत्काल परीक्षण भएन । बुटवलस्थि प्रदेश स्वास्थ्य निर्देशनालयले एउटा व्यक्तिको नमुना पठाउन खर्चिलो भन्दै ढिलाइ गर्‍यो । थापा समेत आइसोलेसनमा रहेका अन्य व्यक्तिको खकारको नमुना आइतबार काठमाडौं पठाइएको थियो ।


सरकारले लकडाउन गरेसँगै विमानस्थल बन्द भएको भन्दै संक्रमण आशंका गरिएका बिरामीको स्वाब संकलन रोकिएको छ । एउटा बिरामीको मात्र नमुना पठाउँदा खर्च बढी लाग्ने र स्वाब ओसार्ने सवारीसाधन नभएको जनाउँदै निर्देशनालयले बिरामीलाई लामो समय आइसोलेसनमा राख्ने गरेको छ । बुटवलबाट ७/८ जनाको स्वाब संकलन भएपछि मात्र पठाउने गरिएको छ ।


परीक्षण सहज तुल्याउन भैरहवास्थित गहुँबाली अनुसन्धान केन्द्रमा प्रयोगशाला निर्माण भइरहेको छ । प्रदेश मन्त्रिपरिषद् बैठकले रुपन्देहीबाहेक दाङ र बाँकेमा समेत प्रयोगशाला राख्ने निर्णय गरेको छ । यी प्रयोशाला सञ्चालन नहुँदासम्म यहाँबाट बिरामीको स्वाब काठमाडौं पठाउनुपर्ने बाध्यता छ । यो प्रदेशमा ४ आइसोलेसन अस्पताल निर्माण भएका छन् । प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोद गिरीले ९ जना आइसोलेसनमा भर्ना भएको जानकारी दिए । यस्तै सोमबारसम्म कोभिड–१९ परीक्षणका लागि ६१ जनाको स्वाब संकलन गरिएको छ । त्यसमध्ये ५८ जनाको परीक्षण भएर नेगेटिभ रिपोर्ट आएको र ३ जनाको परीक्षणकै क्रममा छ ।


१३५ थान पीपीई, ३ सय स्वास्थ्यकर्मी परिचालन


प्रदेशभरिका स्वास्थ्यकर्मीको समान गुनासो छ– ‘व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अभावमा कोरोना संक्रमण आशंका गरिएका व्यक्तिको उपचार कसरी गर्ने ?’

यसैका कारण सरकारी र निजी अस्पतालमा ज्वरो आएर जाँच्न आइरहेका व्यक्तिले समेत उपचार पाउन सकिरहेका छैनन् । ज्वरोका बिरामी भन्नेबित्तिकै चिकित्सक ‘आतंकित’ भइरहेका छन् । अर्कोतर्फ शरीरको तापक्रम नाप्ने डिजिटल थर्मोमिटर (थर्मल गन) को समेत अभाव छ । स्वास्थ्यकर्मी जोखिम मोलेर संक्रमित पहिचान गर्न बाध्य छन् । चार आइसोलेसन अस्पताल छुट्याएर २३० बेड तयार गरेको प्रदेश सरकारसित मंगलबारसम्म १ सय ३५ थान पीपीई मात्र छन् ।


प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका आपूर्ति महाशाखाका निर्देशक दिनेश चापागाईंका अनुसार संघीय सरकारले पठाएको सामग्रीसहितको ट्रक मंगलबार बिहान भैरहवा पुगेको छ । त्यसमा कम्तीमा एक हजार थान पीपीई आएको उनले बताए । ‘अब सामग्रीको रुजु गर्दै छौं,’ उनले भने, ‘अहिले नै के–के आयो र कति आयो भन्न सक्ने अवस्था छैन ।’ प्रदेशभर १० हजार थान पीपीई आवश्यक रहेको महाशाखाले जनाएको छ । पीपीई अभावमा आइसोलेसन र क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी उच्च जोखिममा रहेको बुटवल कोरोना अस्थायी अस्पतालका फोकल पर्सन डाक्टर सुदर्शन थापाले बताए ।



सुदूरपश्चिम उच्च जोखिममा

लकडाउनको एक साता बितिसक्दा पनि सुदूरपश्चिम प्रदेशका विभिन्न सीमा नाका भएर भारतबाट नेपाल भित्रिने क्रम नरोकिएकाले यो प्रदेशमा उच्च जोखिम देखिएको छ । कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, कैलालीकै खक्रौला, बैतडीको भुलाघाट नाकाबाट लकडाउनपछि पनि घर फर्कनेहरु भित्रिन छाडेनन् ।


दार्चुलाको सीमाक्षेत्रमा ५ सय बढी नेपाली कामदार अझै नेपाल भित्रिन पाएका छैनन् । उनीहरु ४ दिनदेखि महाकाली नदी किनारमा अलपत्र छन् । यसैबीच, उनीहरुलाई भारतको धार्चुलामा रहेको क्वारेन्टाइनमा राख्ने पहल भइरहेको दार्चुला जिल्ला प्रशासनले जनाएको छ ।


गड्डाचौकीस्थित हेल्थ डेस्कका अनुसार लकडाउन घोषणापछि मात्र करिब २४ सय जना नेपाली यो नाका भएर आएका छन् । फागुन २३ देखि नाकामा चेकजांँच सुरु भएको हो । त्यसपछि यो नाका भएर लकडाउन नहुँदासम्म ७५ हजार नेपाली भारतका विभिन्न ठाउँबाट फर्किएका छन् । धनगढीको गौरीफन्टा नाकाबाट पनि गड्डाचौकीकै हाराहारीमा नेपाली आएका छन् । त्यसअघि पनि दैनिक ४/५ हजार संख्यामा आउने गरेका थिए ।


कतिपय दोधारा–चांँदनी र भीमदत्त नगरपालिकाकै ब्रह्मदेव क्षेत्र भएर महाकालीमा ट्युबबाट समेत लुकीछिपी आइरहेका छन् । झोलुंगे पुलमा आवागमन बढेपछि सशस्त्र प्रहरीले मंगलबार झोलुंगे पुलमै ताला लगाएको छ ।


सूदुरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशभरिमा २१९ आइसोलेसन बेड तयार छन् । हालसम्म ४४ जना आइसोलेसनमा बसेकामा ३० जना उपचारपछि घर फर्किएका छन् । महाकाली अस्पतालमा अहिले २ जनालाई आइसोलेसनमा राखिएको छ ।


यस्तै ४४ जनाको ल्याब परीक्षण गरिएकोमा २७ जनामा नेगेटिभ देखिएको छ । एक जनामा कोरोना भाइरस पोजेटिभ देखिएको भने १६ जनाको नतिजा आउन बाँकी छ । सेती प्रादेशिक अस्पताललाई कोरोना उपचारका लागि डेडिकेटेड अस्पतालका रूपमा रूपान्तरण गरिएको छ । महाकाली अस्पतालबाट ८ जनाको नमुना संकलन गरी पठाएकामा ४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । बाँकी ४ जनाको रिपोर्ट आउन बांँकी रहको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हरि श्रेष्ठले जानकारी दिए ।


सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले १० वटा भेन्टिलेटर तयारी अवस्थामा रहेको जनाएको छ । निर्देशानलय स्रोतका अनुसार हालसम्म प्रदेशमा १ हजार २ सय ५५ जना क्वारेन्टाइनमा रहेको तथ्यांक छ । लकडाउनअघि आएका अधिकांश घरमै गएका छन् । पछि आएकाहरुमा पनि कतिपय क्वारेन्टाइन छोडेर घर फर्केका छन् । निर्देशनालयका अनुसार बुधबारदेखि शंकास्पद बिरामीको स्वाब परीक्षण सुरु हुने छ । धनगढीमा ल्याब स्थापना प्रक्रिया सुरु गरिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए ।

जताततै स्वास्थ्य सामग्रीको अभाव

महाकाली अस्पतालका मेसु डा. हरि श्रेष्ठले उपचार गर्न र स्वास्थ्यकर्मीका लागि सामग्री अभाव रहेको बताए । ‘अक्सिजन सकिने अवस्थामा छ, बिरामी बढे समस्या हुन सक्छ,’ उनले भने, ‘स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्री त छँदै छैन ।’


अछामका विभिन्न स्वास्थ्य संस्थामा सर्जिकल मास्क, पीपीई, स्यानिटाइजरलगायत सामग्री नभएको स्वास्थ्य प्रमुख झनकराज ढुंगानाले बताए । ‘प्रदेश सरकारले एक हजार पिस मास्क शुक्रबारसम्म पठाउने भनेको छ,’ उनले सुनाए । बैतडीमा पनि स्वास्थ्य सामग्री अभाव रहेको जनस्वास्थ्य प्रमुख योगेश भट्टले बताए । ‘जिल्लाभरै मास्क ११० वटा मात्र छन्,’ उनले भने, ‘५५ वटा पीपीई सेट छन्, टाढैबाट ज्वरो नाप्ने थर्मोमिटर पनि पर्याप्त छैन ।’


स्वास्थ्यकर्मी नै पस्दैनन् क्वारेन्टाइनभित्र

डोटीका विभिन्न ठाउँमा रहेका २४ वटा क्वारेन्टाइनमा ३९८ जना बसेका छन् । ‘असुरक्षा’ को कारण देखाउँदै कुनै पनि क्वारेन्टाइनमा स्वास्थ्यकर्मी भित्र पस्न मानिरहेका छैनन् । सेती सभाहलको क्वारेन्टाइनमा बसेका केआई सिंह–७ का जोगी नाथले स्वास्थ्यकर्मी जाँच्नका लागि भित्र नआएको भन्दै दुखेसो पोखे । उनले खान बस्न समस्या नभए पनि नियमित स्वास्थ्य परीक्षण नगरिएकोमा आक्रोश व्यक्त गरे ।


स्वास्थ्य सामग्रीको पहिलो खेप सोमबार धनगढी आइपुगेको छ । क्षेत्रीय स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीका अनुसार प्राप्त सामग्री बुधवारदेखि जिल्लाका स्वास्थ्य संस्थाहरुलाई पठाइनेछ । ती सामग्री सेनाको स्काई ट्रकबाट धनगढी पुर्‍याइएको हो ।

.......................

वाग्मती प्रदेशका क्वारेन्टाइन रित्तै

वाग्मती प्रदेशमा २ हजार ८५ वेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएका छन् । थप ५ सय ८९ वटा बन्ने क्रममा छन् । हालसम्म क्वारेन्टाइनमा बस्नेको संख्या भने ५ सय ३३ मात्र छ । उपत्यकाबाहेक प्रदेशका १० वटा जिल्लामा ४ सय ४८ बेडको आइसोलेसन निर्माण गरिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता दीपेन्द्र सुवेदीले जानकारी दिए । आइसोलेसनमा १ सय ६१ जनाले उपचार गराइरहेका छन । यसैगरी आईसीयूका १ सय ४८ बेड बनिसकेका छन् भने २३ वटा बन्ने क्रममा छन् । ९७ जनाको स्वाब परीक्षण गर्न पठाएकोमा ६५ जनाको मात्र रिपोर्ट आएको छ, जुन सबै नेगेटिभ देखिएका छन् । अरू बाँकी रिपोर्ट आउने क्रममा छ । सामाजिक विकास मन्त्रालयले स्वास्थ्यकर्मीलाई ३ सय ३० वटा पीपीई वितरण गरेको छ । केन्द्र सरकारले प्रदेशलाई उपलब्ध गराउने भनेको औषधि र पीपीई हेटौंडामा आइपुगेको छैन ।


केही स्थानीय तहले दैनिक ज्याला गरेर परिवार पाल्नेलाई खाद्यान्न वितरण गर्न थालेका छन् । हेटौंडा उपमहानगरपालिकाले निर्माण मजदुरलाई खाद्यान्न वितरण गरेको छ । अन्य पालिकाले लकडाउनका कारण खाद्य समस्या भएकाको तथ्यांक संकलन गरिरहेका छन् । कोभिड–१९ को संक्रमण रोक्न कतिपय स्थानीय तहले ‘डिस–इन्फेक्टेन्ट’ छर्कन सुरु गरेका छन् । प्रदेशका जिल्ला समन्वय समितिहरुले स्थानीय तहसंग समन्वय गरिहेका छन् ।


..................

गण्डकी प्रदेशका १ हजार जना क्वारेन्टाइनमा

गण्डकी प्रदेशका सबै जिल्लामा क्वारेन्टाइन बनेका छन् । स्थानीय तहले स्वतःस्फुर्त रूपमा क्वारेन्टाइन बनाइरहेका छन् । शंकास्पद बिरामी मात्र नभई विदेशबाट आएकाको पनि खोजी गरिरहेका छन् । प्रदेशभरि ३ हजारभन्दा बढी क्वारेन्टाइन बेड क्षमता भए पनि करिब एक हजार व्यक्ति क्वारेन्टाइनमा बसेका छन् । १ हजार २ सय २० आइसोलेसन वार्ड तयार पारिएको छ । प्रदेशभरबाट ३२ बढीको नमुना परीक्षण गरिएकोमा एक जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । प्रदेशभर ८ सय थान जति व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) रहेका छन् । तर तिनको गुणस्तरको मापन भएको छैन ।


कास्कीको अन्नपूर्ण र रूपा गाउँपालिकाले सबै स्वास्थ्य चौकीमा पीपीई पुर्‍याएका छन् । स्थानीय तहले आफूखुसी खरिद गरेका पीपीईको गुणस्तर नपुगेको गुनासो छ । जिल्ला जनस्वास्थ्य अधिकृत बाबुराम आचार्यले स्थानीय तहले खरिद गरेका पीपीई गुणस्तरीय नभएको बताए । अनुगमनका क्रममा कास्कीका विभिन्न स्थानीय तहले खरिद गरेका पीपीईको गुणस्तर नपुगेको भेटिएको उनले जनाए । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयमा २ सय सेट पीपीई छन् । ठूला अस्पताल कास्कीमै रहेकाले आवश्यकताका आधारमा ती प्रयोग हुने छन् ।


कास्कीमा ३३ जना क्वारेन्टाइनमा बसेका छन् । उनीहरु विदेशबाट फर्किएर आएका र उनीहरुका आफन्त हुन् । कास्कीबाट १७ जनाको स्वाब परीक्षण गरिएकोमा सबैमा नेगेटिभ देखिएको छ । गोरखामा विदेशबाट फर्किएका २ सय ४ जनालाइ होम क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले बताए । शंकास्पद एकको स्वाब परीक्षण गरिएकोमा नेगेटिभ देखिएको छ । गोरखामा हालसम्म १६ थान पीपीई छन् । बागलुङमा १९ वर्षीया युवतीमा कोरोना संक्रमण भेटिएपछि उनी आएकै जहाजमा आएका एक युवकको पनि स्वाब परीक्षणका लागि पठाइएको छ । अहिलेसम्म ११ जनाको स्वाब परीक्षणका लागि पठाइएको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.शैलेन्द्र पोखरेलले बताए । बागलुङमा ५० थान पीपीई छन् । उक्त जिल्लामा ८८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । अस्पतालको आइसोलेसनमा संक्रमित एक युवती छिन् ।


पर्वतमा शंकास्पद ३ जनालाई सोमबार उपचारका लागि जिल्ला अस्पताल भर्ना गरिएकोमा रिफर गरेर कोरोना अस्पताल पठाइएको छ । पर्वतमा ३ जनाको स्वाब परीक्षणका लागि पठाइएको छ । सदरमुकाम कुश्मामा सञ्चालित कोरोना अस्पतालमा २० आइसोलेसन बेड रहेकोमा ४ जनालाई राखिएको छ । जिल्लाभर हालसम्म ४ जनालाई क्वारेन्टाइनमा राखिएको सहायक प्रजिअ अमृत सुवेदीले बताए । पर्वतमा १ सय ३० थान पीपीई छन् ।

पूर्वी नवलपरासीमा कोरोना उपचारमा खटिने चिकित्सकले लगाउनुपर्ने पीपीई ५५ थान छन् । चौधरी फाउन्डेसनले ३५ वटा र कावासोती नगर विकास समितिका पूर्वअध्यक्ष सुरज गुरुङले व्यक्तिगत तवरबाट २० वटा पीपीई दिएका हुन् । जिल्लाभर ६ सय ८५ बेड क्वारेन्टाइन तयार भएकोमा ६५ जना मात्र बसेका छन् । जिल्ला प्रशासनका सूचना अधिकृत आनन्द शर्माले यहाँ आइसोलेसन बेड २२ रहेको बताए । लमजुङमा ९ सय ४ बेड क्वारेन्टाइन निर्माण गरिए पनि ६२ जना मात्र बसेका छन् । कोरोना प्रभावित खाडी मुलुकबाट आएका मध्ये ३ जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको छ । लमजुङमा अस्पताललगायत स्वास्थ्य संस्था, स्थानीय तहमा गरी ४४ वटा पीपीई छन् । मनाङमा पनि ७ वटा आइसोलेसन निर्माण गरिएका छन् । ४५ वटा क्वारेन्टाइन छन् । एक जना होम क्वारेन्टाइनमा रहेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए । मनाङमा १५ पीपीई छन् ।


तनहुँमा विदेशबाट फर्किएका ५ सय १० जना होम क्वारेन्टइनमा रहेका जिल्ला स्वास्थ्य कार्यालय प्रमुख शंकरबाबु अधिकारीले बताए । २ जना मास क्वारेन्टाइनमा छन् । जिल्लामा १ सय १० पीपीई रहेका छन् भने हालसम्म कसैको पनि स्वाब परीक्षण गरिएको छैन ।


कोरोना संक्रमित युवतीसँगै जहाजमा आएका स्याङ्जाका ६ जनामध्ये ३ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको नेगेटिभ देखिएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार जिल्लामा ४ सय १७ जनालाई क्वारेन्टाइनमा राखिएको छ । यहाँ १०० थान पीपीई रहेको उनले बताए ।


म्याग्दीमा ४२ र मुस्ताङमा ६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । म्याग्दीमा विदेशबाट फर्केर होम क्वारेन्टाइनमा बसेका भनिएका ६८ जनालाई पनि क्वारेनटाइनमा ल्याउन जनप्रतिनिधि र प्रहरी परिचालन गरिएको छ । फागुन दोस्रो साता कोरियाबाट फर्केर सेल्फ क्वारेन्टाइनमा बसेका एक पुरुषको स्वाब परीक्षण नेगेटिभ आएको थियो । अरू कसैको परीक्षण गरिएको छैन । म्याग्दीमा ८४ थान पीपीई रहेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए ।


जाडो छल्न भारतका विभिन्न सहर पुगी घुम्ती व्यापारपछि घर फर्केका उपल्लो मुस्ताङका ६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । मुस्ताङमा ७० बेड क्षमताको क्वारेन्टाइन बनाइएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताए ।

.................................................


प्रदेश २ को तयारी सुस्त

वैदेशिक रोजगारीका साथै भारतबाट ठूलो संख्यामा कामदार फर्किएकाले प्रदेश २ पनि उच्च जोखिममा छ । प्रदेशको अस्थायी राजधानी जनकपुरमा बल्ल आइसोलेसन वार्ड तयार गरिएको छ । यसै साता मात्र यहाँ प्रादेशिक स्तरको क्वारेन्टाइन तयार पारिएको थियो । यसबाटै प्रस्ट हुन्छ, कोरोनाविरुद्धको तयारीमा प्रदेश २ कति सुस्त छ भन्ने ।


आवश्यक उपकरण अभावमा रुघाखोकी र ज्वरो आएका बिरामीलाई ‘आखाँ’ ले नै जाँचेर डाक्टरले क्वारेन्टाइनमा पठाउन थालेपछि संक्रमण रहे/नरहेको यकिन गर्न समस्या देखिएको छ । प्रदेश २ को ८९ स्थानमा १ हजार ४ सय १७ बेडको क्वारेन्टाइन बनाइएको छ । प्रादेशिक प्रहरी कार्यालय, जनकपुरका अनुसार सरकारी क्वारेन्टाइनमा २ सय ७३ जना र होम क्वारेन्टाइनमा ३ सय १० जना बसिरहेका छन् । इन्स्पेक्टर तिलक सुनारका अनुसार क्वारेन्टाइनमा बसिरहेका मध्ये अधिकांश कतार र भारतबाट फर्किएका हुन् ।


जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा ६ जना र वीरगन्जको नेसनल मेडिकल कलेजको आइसोलेसनमा ५ जनाको उपचार भइरहेको छ । आइसोलेसनमा बसेका ४ जना भने घर फर्केका छन् । आइसोलेसनमा बसिरहेकामा कतार र भारतबाट फर्किएका छन् । उनीहरुमा रुघाखोकी बढी देखिएको छ ।


प्रदेश २ को समाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य अधिकारी विजय झाले हालसम्म प्रदेश २ मा कोरोना भाइरसको संक्रमित नभेटिएको दाबी गरे । उनले शंकास्पद ३ जनाको नमुना परीक्षण गर्दा निगेटिभ आएको र बाँकी ६ जनाको नमुना परीक्षणका लागि काठमाडौं पठाइएको जानकारी दिए ।


प्रदेश २ मा संक्रमित अहिलेसम्म नभेटिए पनि ठूलो संख्यामा खाडी मुलुक र भारतबाट फर्किएकाको कारण जोखिम बढी छ । स्वाथ्य र सुरक्षा अधिकारीलाई खाडी मुलुक र भारतबाट भित्रिएकाको पहिचान गर्नु चुनौती बनेको छ । चैत ४ गते कतार एयरवेजबाट नेपाल फर्किएका १ सय ५८ यात्रु मध्ये ३४ जना प्रदेश २ कै थिए । फ्रान्सबाट त्यही एयरवेजमा फर्किएकी काठमाडौंकी एक युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रदेश २ मा त्रास झनै बढेको प्रदेश प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले बताए । नेपाली सेनाको सहयोगमा धनुषाको गंगुलीमा निर्माण गरेको क्वारेन्टाइनमा राखिएका कतारबाट फर्किएका ११ जनाको स्वास्थ्य हालसम्म ठीक रहेको मेजर सुजन श्रेष्ठले बताए ।


प्रदेश सरकारले जनकपुरस्थित प्रादेशिक अस्पतालमा १० बेडको आइसोलेसन वार्ड तयार गरेको छ । यस्तै, वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा पनि ५० बेडको आइसोलेसन वार्ड बनाइएको छ । प्रदेश २ सरकारले कोरोना भाइरसविरुद्ध लड्न, जनचेतना र उपचारका लागि २५ करोड रुपैयाँको राहत कोष स्थापना गरेको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए । लकडाउन सफल बनाउन सुरक्षा निकायलाई आवश्यक पर्ने सबै समानका लागि समेत रकम विनियोजन गरेको उनले बताए । तर लकडाउनको बेला खाद्यान्न र अन्य आवश्यक वस्तुको आपूर्ति सहज नहुँदा सर्वसाधारण घरबाट बाहिर निस्कने क्रम रोकिएको छैन ।


................................

कर्णालीमा नमुना परीक्षणमै सास्ती

स्वास्थ्य राज्यमन्त्री नवराज रावत सोमबार गृहजिल्ला सुर्खेत आउँदा कोरोना परीक्षण गर्ने ल्याब मेसिन पनि सँगै ल्याउने चर्चा थियो । तर उनी नेपाली सेनाको जहाजमा अन्य स्वास्थ्य सामग्री मात्र लिएर आए । त्यसैले शंका गरिएका व्यक्तिको ल्याब परीक्षणको रिपोर्ट हेर्न कर्णाली प्रदेशवासीले कम्तीमा ४ दिन कुर्नुपर्ने बाध्यता अझै हटेन ।


प्रदेशका सामाजिक विकासमन्त्री दल रावलका अनुसार हाल संकलन गरिएको स्वाबको नमुना एम्बुलेन्समा काठमाडौं पठाउने गरिएको छ । टेकुस्थित केन्द्रीय प्रयोगशालामा परीक्षण गरेर रिपोर्ट आइपुग्न चार दिन लाग्छ । चीनबाट ल्याइएको कोरोना परीक्षण गर्ने मेसिन दुई दिनमा सुर्खेत आइपुग्ने मन्त्री रावलको भनाइ छ । ‘यहाँ ल्याएर फिट गर्न एक सातादेखि डेढ सातासम्म लाग्न सक्छ,’ उनले भने, ‘त्यतिन्जेलसम्म नमुना संकलन गरेर काठमाडौं पठाउनुको विकल्प छैन ।’ मंगलबारदेखि स्वाब संकलन गरेर नेपालगन्ज पठाउने र त्यहाँबाट जहाजमा काठमाडौं पठाउने व्यवस्था गरिएको उनले बताए ।


स्वाब परीक्षणका लागि आवश्यक पर्ने किटको पनि अभाव छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० वटा मात्र किट छन् । तीमध्ये चारवटा किटमा नमुना संकलन गरी पठाइसकिएकाले बाँकी किटले आवश्यकता धान्न नसक्ने प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताए । झन्झटिलो प्रक्रियाले अस्पतालको पहुँचमा रहेका व्यक्तिको मात्र स्वाब संकलन गरिएको छ । गाउँमा रहेका सम्भावित व्यक्तिको नमुना संकलन हुन सकेको छैन । मन्त्री रावलले हालसम्म १७ जनाको नमुना संकलन गरी पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको बताए ।


प्रदेश राजधानी वीरेन्द्रनगरका साथै विभिन्न जिल्लामा रहेका क्वारेन्टाइनमा करिब ३ सय जना बसिरहेका छन् । यस अवधिमा भारतलगायत तेस्रो मुलुकबाट आउनेको संख्या करिब साढे ८ हजार रहेको छ । ‘गाउँतिर जानै सकिएको छैन, नजिक–नजिकको मात्र स्वाब संकलन गरेका छौं,’ जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ल्याब विशेषज्ञ डा. निरज थापाले भने ।


कर्णालीमा चिकित्सकका लागि आवश्यक पीपीईको अभाव पनि उत्तिकै छ । सोमबार स्वास्थ्य राज्यमन्त्री रावतले चीनबाट खरिद गरिएका स्वास्थ्य सामग्री ल्याएका छन् । गाउन १ हजार थान, एन–९५ मास्क ४ सय ८० थान, आईआर थर्मोमिटर १० थान, पन्जा २० हजार थान र सर्जिकल मास्क १० हजार थान ल्याइएको छ । मन्त्री रावलले ती सामग्री आवश्यकताअनुसार अस्पतालहरुमा पठाइने बताए ।


‘भारतबाट आएका धेरै व्यक्ति गाउँतिर गइसकेका छन्, उनीहरुको स्वाब परीक्षण हुन सकेको छैन, यसले जोखिम झनै बढाएको छ,’ प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्का भन्छन्, ‘न पर्याप्त स्रोतसाधन र उपकरण छन्, न त आवश्यकताअनुसार जनशक्ति नै । यी चिज व्यवस्थापनमा जति ढिलो हुन्छ, उत्ति नै मात्रामा जोखिम बढ्न सक्छ ।’

........................................

विदेशबाट फर्किएकाको विवरण संकलन गर्दै प्रदेश १

प्रदेश १ का विभिन्न जिल्लामा गरी ३ सय ८१ जनालाई क्वारेन्टाइनमा राखिएको छ । १३ जनालाई आइसोलेसनमा राखेर उपचार र रेखदेख भइरहेको छ । क्वारेन्टाइनमा राखिएका २५ महिला र ६४ जना पुरुष गरी ८९ जनामा कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकृत क्षितिज भट्टराईले बताए ।


प्रदेशभर हालसम्म १ सय ८७ स्थानमा गरी ३ हजार १३ शय्याको क्वारेन्टाइन स्थापना गरिएको छ । विभिन्न अस्पतालमा स्थापना गरिएको आइसोलेसन वार्डमा ५ महिला र ८ पुरुष गरी १३ जनाको उपचार भइरहेको छ । उनीहरुको स्वाब परीक्षणका लागि नमुना संकलन गरी पठाइएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख सुरेश मेहताले बताए । यस्तै १ महिला र ७ पुरुषलाई आइसोलेसन वार्डबाट डिस्चार्ज गरिएको छ । यस प्रदेशमा हालसम्ममा ५१ वटा अस्पतालमा गरी २ सय ९७ शय्याको आइसोलेसन वार्ड छ ।


प्रदेश १ मा ३१ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा २५ जनामा निगेटिभ भेटिएको छ । अन्यको रिपोर्ट आउन बाँकी छ । प्रदेशभरिमा भारतलगायत तेस्रो मुलुकबाट आएका फ्रान्सकी १ सहित १ सय ३१ जना महिला र ६ सय ४४ पुरुष गरी ७ सय ७५ जनालाई होम क्वारेन्टाइनमा राखिएको भट्टराईले बताए । कतारबाट आएका व्यक्तिलाई पनि होम क्वारेन्टाइनमा राखिएको छ ।


संघीय सरकारले चीनबाट खरिद गरेर ल्याइएका हजार थान पीपीई यो सरकारलाई दिएको सामाजिक विकास मन्त्री जीवन घिमिरे बताए । ‘एक हजार थान पीपीईमध्ये १५०/१५० वटा कोसी र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई दिइने छ,’ उनले भने, ‘बुधबारबाट नेसनल ट्रेडिङको भवनमा सञ्चालन हुने कोरोना अस्पताललाई २ सय र मेची अस्पताललाई ४६ थान प्रदान गर्ने छौं ।’ बाँकी पीपीई प्रदेशस्थित १४ वटै जिल्ला स्वास्थ्य कार्यालयमध्ये मोरङमा ३४, सुनसरीमा २४, धनकुटामा १४, तेह्रथुममा १२, संखुवासभामा २०, भोजपुरमा १८, सोलुखुम्बुमा १६, उदयपुरमा १६, खोटाङमा २०, पाँचथरमा १६, ताप्लेजुङमा १८ र इलाममा २० वटा वितरण गर्ने उनले जानकारी दिए ।

प्रदेश १ मा विदेशबाट फर्कनेको खोजी तीव्र पारिएको छ । मोरङमा मात्र विदेशबाट ८ सयभन्दा बढी व्यक्ति यही चैत महिनामा घर फर्केको पाइएको छ । उनीहरुमध्ये ८५ जनालाई सम्बन्धित स्थानीय निकायले टाँडीस्थित नेपाली सेनाको क्वारेन्टाइन र केहीलाई आफैंले स्थापना गरेको क्वारेन्टाइनमा राखेर निगरानी गरिरहेका छन् ।


यो अवधिमा विदेशबाट घर फर्कनेमा सबैभन्दा बढी सीमावर्ती विराटनगर महानगरपालिकामा २ सय ८० र अर्को सीमावर्ती रतुवामाई नगरपालिकामा १ सय २१ जना छन् । तीमध्ये ५१ जनालाई सेनाको टाँडीस्थित क्वारेन्टाइनमा र चार जनालाई महानगरपालिकाको बैजनाथपुर क्वारेन्टाइनमा राखिएको महानगर प्रमुख भीम पराजुलीले बताए । उनका अनुसार टाँडीमा राखिएका ५१ मध्ये अधिकांश निश्चित अवधिमा कोरोनाको कुनै पनि लक्षण देखा नपरेपछि घर फर्किएका छन् । प्रकाशित : चैत्र १८, २०७६ २०:५४

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

लकडाउनले रोकेन मजदुरलाई इँटा बोक्न 

लीला श्रेष्ठ

(भक्तपुर) — दाङ हलुवारकी २८ वर्षीया प्रभा नेपाली सूर्यविनायक नगरपालिका जगातीस्थित एक इँटा उद्योगमा काँचो इँटा बोक्छिन् । बिहानीको झिसमिसेसँगै इँटा बोक्न निस्किने उनी चैतको घाम छल्न मध्यदिनमा झ्याउली छिर्छिन् । केही समयको आराम र खानपान पछि पुन: इँटा बोक्न निस्किन्छिन् । त्यसपछि सूर्य अस्ताएसम्म साथीहरुसँग आफ्नो भारी बोक्ने काममा व्यस्त हुन्छिन् ।

इँटा बोकेको कमाईले चार जनाको परिवार जो उनले धान्नुपर्छ । सानैमा प्रेम विवाह गरेकी प्रभाको वैवाहिक जीवन सोचे जस्तो भएन् । श्रीमान्‌को अर्को विवाह गरेपछि अलग भए । प्रभाको कााधमा वृद्धा सासु र दुई छोराको जिम्मेवारी थपियो । दुई छोरा दाङमै अध्ययनरत छन् ।

उनले दैनिक २ हजारदेखि २५ सय इँटा बोक्छिन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन सरकारले लकडाउन घोषणा गरे पनि प्रभाको कामलाई कुनै असर गरेको देखिँदैन ।
मङ्गगलबार दिउँसो हनुमान मैत्री इँटा उद्योग पुग्दा प्रभासँगै करिब डेढ सय मजदुर इँटाको भारी बोकिरहेका थिए । रिपोटिङ्गका क्रममा आधा घण्टा बस्दा उनीहरुले काँचो इँटाको झण्डै आधा दर्जन चाङ रित्याइसकेका थिए ।

दाङ घोराही उपमहानगरका गमन र भिमकुमारी घर्ती दम्पती पनि त्यही उद्योगमा काँचो इँटा बोक्छन् । उनीहरुले २ वर्षीय छोरालाई पनि सँगै ल्याएका थिए । दुवैले दैनिक ५ हजार इँटा बोक्छन् । एक हजार इँटा बोकेबापत उनीहरुले ३ सय रुपैयाँ पाउँछन् । गमन धेरै वर्ष ज्यामी काम गर्न भारत गए । उत्ताको भन्दा धेरै कमाउने सपना बुनेर उनी इँटा उद्योग आइपुगेका हुन् ।


लकडाउनपछि इँटा बनाउनेहरु घर फर्किसके तर, इँटा बोक्नेहरु भने भट्टामै छन् । सोही इँटा उद्योगका लेखा प्रमुख कान्छा तुल्सीका अनुसार इँटा बोक्ने काम बाँकी भएकाले मजदुरहरु घर नफर्किएका हुन् । ‘करिब १० लाख इँटा पोल्न बाँकी छ ’ उनले भने, ‘काँचो इँटा भट्टीमा राखेपछि मजदुर घर फर्किने छन् ।’ प्रति वर्ष प्रतिइँटा उद्योगले करिब ६० लाख इँटा उत्पादन गर्छ । यसवर्ष कोभिड…–१९ को प्रभावले करिब ४० लाख उत्पादन भएको तुल्सीले बताए ।

महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख डीएसपी चक्रराज जोशीका अनुसार लकडाउन सुरु भएदेखि जिल्लामा सञ्‍चालित इँटा उद्योगमा कार्यरत करिब १२ हजार मजदुर घर फर्किएका छन् । लकडाउनमा पनि इँटा व्यवसायी संघको समन्वयमा जिल्ला प्रशासन कार्यालय भक्तपुरले उपत्यका बाहिर जाने व्यवस्था गरेको छ ।

अधिकांश उद्योगमा इँटा उत्पादन बन्द भइसकेको छ । काँचो इँटा पोल्न बाँकी भएकोले बोक्ने मजदुरहरु घर फर्किन पाएका छैनन् । प्रत्येक इँटा भट्टामा सयदेखि डेढ सय भारी बोक्ने मजदुर बाँकी रहेको र यो साता सबैलाई घर फर्काइसक्ने डिएसपी जोशीले बताए ।

घर फर्कन नचाहने मजदुरलाई आफू बसेको भट्टा, कोठामा सुरक्षा अपनाएर बस्न आग्रह गरिएको छ । इँटा उद्योगमा काम गरेको पाइए कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ ।

जिल्लामा सञ्चालित इँटा उद्योगमा रोल्पा, दाङ, रुकुम, सर्लाही, रामेछाप, सिन्धुपाल्चोकका मजदुरहरु कार्यरत छन् । उद्योगमा विशेषगरी रोल्पा, दाङ, रुकुमका बासिन्दा इँटा बोक्ने काम गर्छन् भने अन्य स्थानकाहरु बनाउँछन् । इँटा उद्योगमा इँटा पोल्ने, कोइलामा काम गर्ने मजदुर भने अधिकांश भारतीय छन् । प्रतिइँटा उद्योगमा ३ सय ५० देखि ४ सय मजदुर कार्यरत हुन्छन् । जसमध्ये एउटा उद्योगमा इँटा बोक्ने मात्र सयदेखि डेढ सय मजदुर भएको इँटा व्यवसायी संघ भक्तपुरका अध्यक्ष नातीभाई हेम्बाले बताए । घर फर्कने मजदूरका लागि जिल्ला प्रशासनले पासको व्यवस्था गरेको र व्यवसायीले उद्योगकै गाडीमा २५ जनाको समूह बनाएर पठाइएको उनले बताए ।

भक्तपुरमा ६२ वटा इँटा उद्योग सञ्‍चालनमा छन् । जिल्लामा सञ्‍चालित अन्य उद्योगहरुमा कार्यरत मजदुरहरुको पनि नामावली संकलन भइरहेको डीएसपी जोशीले बताए ।

प्रकाशित : चैत्र १८, २०७६ २०:३३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×