१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

क्‍वारेन्टाइनमा बस्‍ने बढे 

शिव पुरी

रौतहट —  कोरोना भाइरस संक्रमणको त्रासमा भारतका विभिन्न सहरबाट घर फर्केकाहरु क्वारेन्टनाइनमा बस्न थालेका छन् । मंगलबारसम्म जिल्लाका विभिन्न स्थानिय तहले बनाएका क्वारेन्टाइनमा पाँच महिलासहित एक सय ६ जना बसेका छन् । गत साता यो संख्या २४ मात्रै थियो ।

क्‍वारेन्टाइनमा बस्‍ने बढे 

संक्रमण भएको स्थानबाट आएकाहरुलाई कम्तीमा दुई सातासम्म क्वारेन्टाइनमा बस्न भनिएको छ । तर, जिल्लामा अधिकांशले यसको पालना गरेका छैनन् । यो साता भने क्वारेन्टाइनमा बस्नेको संख्यामा वृद्धि भएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरले बताए । ‘सुरुमा गौरस्थित नर्सिङ कलेज र चन्द्रनिगाहपुर अस्पतालमा २४ जना बसेका थिए । अहिले धमाधम क्वारेन्टाइनमा आउन थालेका छन्,’ उनले भने, ‘भारतबाट घर फर्केकाहरु सबै घरमै बसेका छन् । उनीहरुलाई स्थानिय जनप्रतिनिधिमार्फत निगरानी गर्न भनेका छौं । अहिले भने क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दै गएको छ ।’


भारत तथा विदेशबाट फर्किएकाहरुलाई स्थानीयले समेत सम्झाएर क्वारेन्टाइनमा पठाउन थालेका छन् । यहाँको कटहरिया जनता माविमा सञ्चालित क्वारेन्टाइनमा भारतको नयाँ दिल्ली, गुजरात र नेपालकै विभिन्न सहरबाट फर्किएका २८ जनालाई राखिएको हेल्थ असिस्टेन्ट कृष्णनन्दन साहले बताए । उनीहरुको नियमित स्वास्थ्य जाँच गरिनुका साथै खानापिनको व्यवस्था गरिएको छ ।


नगरप्रमुख सीयाराम कुश्वाहाका अनुसार कटहरिया माविको भवनमा एक सय बेड क्षमताको क्वारेन्टाइन सञ्चालनमा छ । त्यहाँ पीपीईसहित तत्काल १० जना स्वास्थकर्मीले सेवा दिइरहेका छन् । चन्द्रनिगाहपुरस्थित महिला फुटबल एकेडेमी भवनमा भारतबाट घर फर्केका ४० जनालाई राखिएको छ । उनीहरुको अवस्था समान्य रहेको चन्द्रपुरस्थित इलाका प्रशासन प्रमुख चेत बरालले बताए ।


जिल्लाको गौर, ईशनाथ, राजपुरलगायत १५ स्थानमा बनाइएको क्वारेन्टाइनमा भारतबाट आएकाहरुलाई निगरानीमा राखिएको छ । कोरोना भाइरस संक्रमितको उपचार गर्न चन्द्रपुरका दुई स्थानमा आइसोलेसन कक्ष बनाइएको प्रजिअ घिमिरेले जनाए । उनका अनुसार यसअघि चन्द्रपुरमा उपचाररत तीन जनाको स्वाब परीक्षण गर्दा सबैको रिपोर्ट निगेटिभ आएको छ ।


‘क्वारेन्टाइनमा बस्दैमा कोरोना लागेको सोच्नु गलत’

महिला फुटबल एकेडेमीमा बनाइएको क्वारेनटाइनमा बस्न आएकाले आफूहरुलाई कुनै लक्षण देखा नपरे पनि सतर्कताको लागि बस्न आएको बताएका छन् । मानसिक रुपमा आफूहरु हालको अवस्थालाई सामना गर्न तयार रहेको भन्दै क्वारेन्टाइनमा बस्दैमा कोरोना लागेको भन्ने सोच्नु गलत रहेको गुजराका एक युवकले बताए ।


भारतको तमिलनाडुमा काम गरेर फर्किएका उनले दुईपटक सीमामा स्वास्थ्य जाँच गराएका थिए । अहिलेसम्म उनको अवस्था समान्य छ । उनी भन्छन्, ‘समाजको सुरक्षाको लागि भए पनि क्वारेन्टाइनमा बसेका हुँ । सरकारले पनि दुई साता बस्नुपर्छ भनेको छ ।’ हाल क्वारेन्टाइनमा बसेका उनीलगायत सबैको अवस्था समान्य छ ।

प्रकाशित : चैत्र १८, २०७६ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?