जसले देश धानेको छ उही देश आउन नपाउने !

मोहन मैनाली

काठमाडौँ — एक महिना पहिले सुर्खेतमा आयोजित कर्णाली महोत्सवमा भएका छलफलमध्ये एउटाको शीर्षक थियोः कालापहाडका तोडा । कालापहाड भन्नाले भारत र तोडा भनेको रुपियाँ पैसा राख्ने थैली । त्यस छलफलमा कालापहाडमा काम गरेर नेपालीले ल्याउने रुपियाँ पैसा कति महत्त्वपूर्ण छ भन्ने झल्काएको थियो ।

कार्यक्रमका वक्तामध्येका एक सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र केसीका अनुसार सिम्ता गाउँपालिकाको वार्षिक आय रु. १ अर्ब ५१ करोड छ । यसमध्ये आधाभन्दा बढी अर्थात् रु. ७६ करोड ३६ लाख विदेशमा काम गर्नेहरूले ल्याउँछन् । 'कृषिप्रधान' देशको एउटा 'कृषिप्रधान' गाउँपालिकामा कृषिबाट हुने आम्दानीभन्दा विदेशमा मजदूरी गर्दा हुने आम्दानी बढी छ ।


सिम्ताका धेरै मानिस कामका लागि विदेश जान्छन् । तीमध्ये ८० प्रतिशत कालापहाड अर्थात् भारत जान्छन् ।


सिम्ताका झण्डै ४० प्रतिशत मानिस गरीब छन् । केसीले भने,'यहाँका मानिस काम गर्न विदेश नजाने हो भने गरिबीको यो मात्रा बढेर ५१ प्रतिशत पुग्छ ।' अर्थात् कालापहाड समेतबाट ल्याएको तोडाले यहाँका ११ प्रतिशत मानिसको गरिबी निवारण भएको छ ।


समग्र कर्णाली प्रदेशका लागि कालापहाड गएर काम गर्ने नेपालीको योगदान अझ धेरै छ । 'कुनै कारणले कालापहाड जान नपर्ने (नपाइने) बाध्यता भयो भने यहाँको (कर्णाली प्रदेशको) गरिबी ८० प्रतिशतभन्दा माथि जान्छ,' केसीले भने ।


कर्णाली विकास आयोगका अनुसार, अहिले ४० प्रतिशत कर्णालीबासी गरीब छन् ।

कर्णालीभन्दा अलिकति पूर्व र पश्चिमको अर्थतन्त्रमा पनि कालापहाड गएर काम गर्ने नेपालीको योगदान यस्तै होला भन्न सकिन्छ ।


अहिले कोराना आतंक छाएका बेला नेपाली अर्थतन्त्रका यति मजबूत खम्बालाई नेपाल पस्न अनेक रोक लगाइएको छ । कोरोनाले गर्दा आफू काम गरिरहेका ठाउँमा बस्न नसक्ने भएपछि, काम नपाएर विचल्ली भएपछि घर फर्कन खोज्दा घरको ढोकामा घरमूलीले आउन पाउँदैनस् भनिरहेको छ ।


उनीहरूलाई यसरी स्वदेश पस्न नदिने निर्णय र त्यसको प्रभावका बारेमा कान्तिपुर संवाददाताहरूले भेला गरेर प्रकाशित गरेका विवरण यस प्रकार छन्ः


चैत ९ गते

सरकारले चीन र भारतसँगको सीमाना एक हप्ताका लागि बन्द गर्ने निर्णय गर्यो ।


चैत १० गते

काकडभिटा नाका बन्द हुनुअघि ३१५ जना नेपाली नेपाल पसे ।


चैत १० गते

नाका बन्द भएपछि तीन सय जना जति नेपालीहरू मेची पुलमा रोकिए । आफ्नो देश जान पाउनु पर्ने माग राखेर उनीहरूले नारा लगाए । उनीहरूमध्ये प्रायःसबै जना घर फर्कनुअघि भारतका विभिन्न ठाउँमा काम गर्थे ।


चैत १० र ११

बाँकेको जमुनाह नाकामा पनि नेपालीहरू घर फर्कन नपाएर अलपत्र परे । जमुनाह, कैलालीको गौरीफन्टालगायतका नाकामा पनि नेपालीलाई घर आउन नदिएपछि तनाव उत्पन्न भयो ।


चैत ११

नाकामा अलपत्र परेका नेपालीलाई अन्तिम पटक नेपाल पस्न दिने निर्णय सरकारले गर्यो ।


चैत १६

सीमा बन्द भएयता विभिन्न नाका हुँदै भारतबाट प्रदेश ५ मात्र मात्रै दुई लाख नेपाली भित्रिए ।


चैत १७

भारत सरकारले भारत बन्द गरेपछि घर फर्कने क्रममा भारतका विभिन्न भागमा आइपुगेका नेपाली अलपत्र परे । त्यहाँका नेपाली र प्रवासी नेपालीको सहयोगमा उनीहरू देशको सिमानामा आइपुगे । अनेक हण्डर खाएर सिमानामा आइपुगेका आफ्ना नागरिकलाई सरकारले देश पस्न दिएन । सिमानामा अलपत्र छोडिदियो ।


चैत १७

सरकारले नेपालका विभिन्न भागमा अलपत्र परेका एक हजार २५५ जना विदेशी नागरिकलाई गाडी र हवाइ यातायातका साधनमा काठमाडौँ ल्यायो । नेपाल बन्द गर्ने जुन निर्णयको निहुँमा सरकारले आफ्ना नागरिकलाई स्वदेश पस्न दिएन त्यही निर्णयले विदेशी नागरिकलाई उद्धार गर्न प्रोत्साहन दियो !


चैत १८

धार्चुला र सुनौली नाकामा धेरै नेपाली अलपत्र परिरहे। उनीहरूले घर फर्कन पाउनु पर्ने माग गरिरहे।


यसैबीच कान्तिपुरको एउटा समाचारले भनेको छ, नेपालमा अलपत्र परेका अष्ट्रेलिया र न्यूजिल्याण्डका नागरिकलाई अष्ट्रेलिया लैजान काठमाडौँमा रहेको अष्ट्रेलियाली दूताबासले नेपाल वायुसेवा निगमको जहाज भाडामा लिएको छ । उनीहरूलाई अष्ट्रेलिया पुर्याएर क्वारेन्टाइनमा राखिने जनाइएको छ ।


नेपालले अलि अस्ति आफ्नै विमान पठाएर चीनको वुहानबाट नेपालीलाई उद्धार गरेको थियो । अहिले अनेक हण्डर खाएर ढोकामा आइपुगेका नागरिकलाई भित्र पस्न नदिन डण्डा देखाउँदैछ । प्रकाशित : चैत्र १८, २०७६ १६:१०

प्रतिक्रिया
पठाउनुहोस्

नियात्रा : जाने होइन हजुर काबुल ?

मुगल सम्राट बाबरले देखेभोगेको र शासन गरेको, पाँच सय वर्षअघिको काबुल
मोहन मैनाली

काठमाडौँ — जाने होइन दाइ आलापोट ?सर्जक मंजुलले लेखेको यो नामको यात्रा संस्मरणको किताब मैले २०४७ साल भदौमा छापेको थिएँ । आलापोट अर्का स्रष्टा आभाषको काठमाडौँ उपत्यकाको उत्तरी भेगमा पर्ने गाउँ हो ।

अहिले कोरोनाका कारण बन्दाबन्दीका बेलामा आलापोट जान उकासिनु हुँदैन । त्यसो गर्दा उक्सिनेलाई स–सानो दसा मात्र लागेको रहेछ भने उसले प्रहरीले बोकेको कटबाँसको लाठो मात्र खानुपर्ला, ठूलै दसा लागेको रहेछ भने आँखाले देख्न नसकिने, अति सानो कोरोना भाइरसको सिकार हुने जोखिम छ, जसका सामु संसार त्राहिमाम छ ।

त्यसैले म मंजुलले जस्तो ‘जाने होइन दाइ आलापोट ?’ भनेर सोध्दिनँ । सोध्छु— ‘जाने होइन हजुर काबुल ?’ अल्छे हुँदा पछि पछुताउनुपर्ला ! किनभने यो यात्रा मूलतः बाबरनामामा आधारित छ जसका लेखक हुन् आजभोलि उज्वेकस्तान तथा ताजाकिस्तान भनेर चिनिने देशका त्यतिबेलाका राजा जाहिरुद्धिन मोहम्मद बाबर (सन् १४८३–१५३०) ।

चिन्नु भएन उनलाई ? भारतमा मुगल साम्राज्य खडा गर्ने उनै बाबर । भारतको बाबरी मस्जिद उनकै नामको मस्जिद त हो नि ।

बेला बेलामा म पनि मेरा कुरा थपौँला । थालनी बाबरनामामा लेखिएको काबुलभन्दा अलि दक्षिणमा पर्ने गजनी छेऊको प्रसंगबाट गरौँ ।

‘अब–ए– स्तादा पुग्दा हामीले कति हो कति ठूलो ताल देख्यौँ । त्यसको पारिपट्टिको टापु देखिँदैनथ्यो । पानी र अकाश जोडिएजस्तो लाग्थ्यो । पानीले ढाकेको ठाउँको छेउका पहाड पृथ्वी र अकाशका बीचमा झुण्डिएजस्तो देखिन्थ्यो ।

‘अब–ए–स्तादा आइपुग्न लाग्दा हामीले अनौठो दृश्य देख्यौँ । अकाश र पानीका बीचमा सूर्योदय हुँदाको जस्तो रातो वस्तु देखिँदै र हराउँदै गर्थ्यो । त्यस्तो दृश्य आउँदै जाँदै गरिरह्यो । अलि नजिक जाँदा हामीले के थाहा पायौँ भने १० हजार मात्र होइन, २० हजार मात्र पनि होइन कति हो कति हाँस उड्दाखेरि उनीहरुका राता पखेटा कहिले देखिँदा र कहिले नदेखिँदा यसो भएको रहेछ । त्यहाँ हाँस मात्रै होइन अनेक प्रकारका चरा थिए ।’

'हंस'का लेखक सञ्जीव उप्रेतीले यतिका र यस्ता हाँस कहाँ देख्न पाए होलान र !

बाबरले देखेका यी चरा राजहाँस हुनसक्छन् अथवा खुट्टा रातो र शरीर सेतो भएका कुखुरा हुनसक्छन् भनी अनुमान गरिन्छ।

बाबर त्यहाँबाट काबुल पुगे जसका बारेमा उनले लेखेका छन्, ‘काबुल चारैतिर पहाडले घेरिएको, चतुर्भुज आकारको, पूर्वबाट पश्चिम फैलिएको सानो ठाउँ हो । यसको छेउको पहाडमा गढी बनाइएको छ । यस गढीको टुप्पोमा काबुलका शाहले महल बनाएकाले यो पहाडलाई 'शाह काबुल' भनिन्छ । काबुल मानव सभ्यताले भरिपूर्ण ठाउँले चारैतिरबाट घेरिएको छ ।वसन्त र बर्खामा उत्तरबाट चलेको हावा कहिल्यै रोकिँदैन ।

आफ्नो जन्मभूमिदेखि भारतको उत्तरप्रदेशसम्मका ठाउँ जित्दै, शासन गर्दै आउँदा बाबरलाई काबुलले जति अरु कुनै ठाउँले तानेन । त्यसैले, उनको इच्छा वमोजिम मृत्यु भएको केही वर्षपछि उनलाई भारतबाट काबुल लगिएको थियो ।

‘साँच्चै भन्ने हो भने, काबुलको जति आनन्ददायी जलवायु संसारमा अन्त कतै भेटिएको छैन । काबुलबाट एक दिनको घोडचढी हिँड्दा हिउँ कहिल्यै नपर्ने ठाउँमा पुग्न सकिन्छ, अनि दुईघण्टा हिँड्दा चाहिँ हिउँ कहिल्यै नपग्लिने ठाउँ पुगिन्छ (आक्कलझुक्कल हिउँ पग्लनु अलग कुरा हो) ।’

काबुलको ग्रेटवाल । पुरानो तस्बीरः मोहन मैनाली

ऊ त्यो डाँडाको डिलैडिल गएको पर्खाल देख्नुभयो नि त्यो ग्रेट वाल हो, चीनको होइन काबुलको । त्यो पर्खाल बनाउँदा जनतालाई क्रुर तरिकाले काम लगाएको कथा यहाँ प्रचलित छन् । सत्य हो कि होइन थाहा छैन एउटा कथाले भन्छ— जुन घरबाट जुन दिन एकजना लोग्ने मान्छे पर्खाल बनाउने काममा गएन, त्यस घरको मान्छे मारिन्थ्यो र उसका हाडखोर त्यही पर्खालमा राखिन्थ्यो। जसले हातमा लिएको ढुंगामाटो भुइँमा खसाउँथ्यो उसको ज्यान लिइन्थ्यो र उसका हाडखोरले पर्खाल बनाउन ढुंगाको काम गर्थ्यो ।
विदेशीले आक्रमण गर्न नपाउन भनेर बनाइएको यस पर्खालले आक्रमणकारीलाई छेक्न भने कहिल्यै पनि सकेन ।

पर्खालबाट तल्तिर झरौँ र काबुलका बारेमा बाबरनामामा भनेको कुरा हेरौँ ।

काबुलको बजारको एउटा भाग । पुरानो तस्बीरः मोहन मैनाली

‘अरबले अरबबाहेक सबैलाई अजाम भनेजस्तै हिन्दुस्थानीले आफूबाहेकका सबैलाई खुर्सान भन्छन् । हिन्दुस्थान र खुर्सान बीचको पैदल बाटोमा दुईवटा व्यापारिक केन्द्र छन्, काबुल र कान्दाहार । जसका पश्चिमबाट हरेक वर्ष सात, आठ, १० हजार घोडा काबुल आउँछन् । हिन्दुस्थानबाट १०, १५, २० हजार जनावरमा सामान बोकाएर ब्यापारी आउँछन् । उनीहरुले दास, कपडा, मिश्री, प्रशोधित चिनी र मसला ल्याएका हुन्छन् ।काबुल बजारमा खुर्सान, इराक, आनातोलिया (आजको टर्की) र चीनबाट ल्याइएका हिन्दुस्थानीलाई बेच्ने सामान पाइन्छन् । काबुलका धेरै बनियाँ ३०० देखि ४०० प्रतिशत नाफा खाँदा पनि सन्तुष्ट हुँदैनन् ।’

अरु त अरु हिन्दुस्थानका मानिस काबुल पुर्‍याएर पनि बेचिन्थे ?

होला त नि, काबुलमा धेरै वर्ष बसेर आफ्नो राज्य विस्तार गरेका, काबुललाई असाध्यै माया गर्ने, काबुलका बादशाह बाबरले भनेपछि । हिन्दुस्थानबाट काबुल पुर्‍याएर बेचिएका मानिस मध्यएशिया र त्यसभन्दा पनि पश्चिममा लगेर दास बनाइन्थे ।

त्यो जुगमा मानिस कोरोनाभन्दा पनि निर्दयी रहेछन् !

आजभोलि काबुलको बजारमा दास त बेचिँदैनन् तर सडक छेऊका हाटमा बाज चाहिँ बेच्न राखिँदा रहेछन् । कुनै बेला अहिलेको कञ्चनपुरको ब्रह्ममण्डी हुँदै हाम्रो कर्णालीका लेकमा समातिएका बाज काबुलको बजारसम्म पुर्‍याइन्थे भनिन्छ ।

काबुलमा पाइने फलफूलको वर्णन गर्दै बाबर भन्छन्, ‘काबुल र यस अधिनस्थ नजिकका गाउँमा गर्मी र जाडो दुवै ठाउँमा फल्ने फलफूल पाइन्छन् ।’

काबुलको सुकाइएका फलफूल बेच्ने ठाउँमा गयो भने बादशाह बाबरले भनेका सबै खालका फलफूल अहिले पनि पाइन्छन् ।

बाबरले अमिलो पैयूँ र उखु ल्याएर काबुलमा रोपेका थिए ।

फलफूलै फलफूल भएपछि माहुरी र मह पनि हुने भइहाल्यो । त्यसैले त बाबरले लेखेका छन्, ‘काबुल वरपरका पहाडमा मौरीका घार छन् । त्यहाँबाट प्रशस्त मह काबुल आउँछ । पहाडको पश्चिमी पाखोमा भने मह हुँदैन ।’

बाग ए बाबरको एक हिस्सा । पुरानो तस्बीरः विनोद भट्टराई

बादशाह बाबरले काबुलको बगैँचाबारेमा रुचिपूर्वक वर्णन गरेका छन् । ‘सन् १५०८/०९ मा मैले अदिनापुर गढीको दक्षिण भिरालोमा गढी र नदीको बीचमा बाग–ए–वफा नामको चारबाग अर्थात् चार बगैँचा बनाएको थिएँ । त्यहाँ सुन्तला, कागती र अनार फलेका थिए । पहार खानलाई हराएको र लाहोर तथा दीपालपुरमा आक्रमण गरेका वर्ष मैले त्यहाँबाट केरा ल्याएर रोपेको थिएँ । त्यो राम्रो फस्टाएको थियो ।’

‘बगैँचाको बीचको अलि अग्लो ठाउँबाट एउटा मिल चलाउन पुग्ने पानी सँधै बग्ने खोल्सी निस्केको छ । त्यहाँको चौबाटोमा एउटा पोखरी छ । दक्षिणपश्चिम खण्डमा पोखरीको वरिपरि सुन्तला र अनारका बोट छन् । पोखरीको वरपरको भुइँमा क्लोभर घाँसको कार्पेट ओछ्याइएको छ । बगैँचाको सबैभन्दा राम्रो ठाउँ यही हो । सुन्तला पँहेलपुर भएका बेला कति राम्रो देखिन्छ यो ठाउँ !’

बादशाहको कुरा मैले काट्नु त नहुने हो । तर नकाटी नहुने भयो । बादशाह, आजभोलि त्यसलाई बाग–ए–वफा भनिँदैन्, हजुरका नामबाट बाग–ए–बाबर भनिन्छ । हजुरले काबुल फत्ते गर्दा धेरै हिंसा भएको थिएन, तर पछिका आक्रमणकारीले चलाएका धेरैवटा लडाइँले काबुल र बाग–ए–वफालाई तहसनहस बनाए । पछि आगाखान डेभलपमेन्ट नेटवर्कले जीर्णोद्धार गरेपछि बल्ल यसले पुनर्जीवन पाएको छ ।

इस्लाम मान्यतामा यस्ता बगैँचाको ठूलो महत्त्व छ । पोखरी र बाटोले विभिन्न भागमा बाँडिएका यस्ता चारबागमा पानी र सुगन्धित विरुवा हुनैपर्छ । यस्ता बगैँचामा मानिसहरू आराम गर्छन् । यहाँ बसेर चिन्तन मनन गर्छन् ।

लडाइँले बिगारेको राजदरबार । अहिले यो दरबारलाई पहिलेकै अवस्थामा फर्काइएको छ तर राजतन्त्र भने गएको गएकै भयो । पुरानो तस्बीरः मोहन मैनाली

एकछिन काबुल वरपरको पहाडतिर लागौँ जहाँ ट्युलिपका धेरै प्रजाति पाइन्छन् । एक दिन बाबरलाई त्यहाँ कति प्रकारका ट्युलिप पाइन्छ भनी जान्ने चासो लागेछ । गन्दा ३२–३४ प्रकारका भेटेर उनी दंग परेछन् ।

वसन्त ऋतु हो यो । हामी पो कोरोना नफैलियोस भनेर घरबाट बाहिर निस्कँदैनौँ । चरालाई के को कोरोना ? कोरोना लाग्ने नै भए पनि उनीहरुलाई आफू बसेका ठाउँबाट बाहिर निस्कनु हुँदैन भन्ने थाहा हुँदैन । त्यसैले यति बेला हिउँद छल्न अफगानस्तानको तल्लो भेग झरेका फिरन्ते चरा लेकको आफ्नो घर फर्कने गर्छन् । तिनका बारेमा बाबरले लेखेका छन्- ती चरा फर्कने एउटै मात्र बाटो छ बरान नदीको खोँचैखोँच । अलिकति बादल लाग्दा पनि उनीहरु बाटो लाग्न सक्दैनन् । त्यसैले बरान नदी किनारमा ओर्लन्छन् । त्यति बेला मानिसले धेरै थरिका चरा मार्छन् । बकुल्लाको एउटा जातको प्वाँख झिकेर पगरीमा हालिन्छ । काबुलबाट यो इराक, खुर्सान निर्यात गरिन्छ ।

परदेशी माछा समाउने सिजन पनि यही हो ।

काबुल पश्चिममा कुर कात्री नामको पवित्र गुफा छ । बाबरले यस गुफाका बारेमा के सुनेका थिए भने योगी र हिन्दु आफ्नो कपाल र दाह्री चढाउन टाढा टाढाबाट यस गुफामा आउँछन् । एक पटक त्यसको छेऊछाउ पुगेका बेला उनले यो गुफा कहाँ छ भनी सोधे । कसैले जवाफ दिएन । त्यहाँबाट फर्केपछि उनले थाहा पाए उनी त्यस गुफाको नजिकै पुगेका रहेछन् । गुफा जाने बाटो अप्ठ्यारो भएकाले उनका सहायकले गुफाका बारेमा नबताएका रहेछन् ।

पछि बाबर गुफामा पसे । त्यहाँ जे देखे सो यसरी लेखेका छन्— ‘हामी एउटा सानो अँध्यारो ढोकाबाट भित्र पस्यौँ । त्यहाँबाट दुई तीन पाइला अघि बढेपछि उभिएर हिँड्न नसकेर सुतेर घस्रनु पर्‍यो । त्यहाँ बत्ती नबालीकन केही पनि देखिँदैनथ्यो । जताततै कपाल र दाह्रो थुप्रो थियो । यस गुफा वरपर मदर्साका जस्ता ससाना कोठा थिए ।

बाबरनामामा बाबरले राजारजौटालाई जितेको, हरुवालाई निर्दयी भएर मारेको कुरा पनि उल्लेख गरेका छन् । तिनका बारेमा अहिले कुरा नगरेकै बेस होला ।

प्रकाशित : चैत्र १५, २०७६ १६:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×