गाउँमा छैन लकडाउनको प्रभाव

रेडियो, टिभी, वडा कार्यालयमार्फत लकडाउनबारे सुने पनि गाउँलेहरु नियमित काममा व्यस्त छन् ।
हरि गौतम

रुकुम पूर्व — रुकुम पूर्वका बजार सुनसान छन् । त्यसको तुलनामा गाउँमा चहलपहल छ । मंगलबार लकडाउनको आठौं दिन हो । जिल्लाका अधिकांश स्थानमा यसको प्रभाव देखिँदैन । ग्रामीण क्षेत्रका बासिन्दा नियमित दैनिकीमा छन् ।

गाउँमा छैन लकडाउनको प्रभाव

गाउँमा अहिले हिउँदे बाली भित्र्याउने र बर्खे खेतीको तयारी चलिरहेको छ । गोठबाट मल बारीमा पुर्‍याउने, बारीमा तोरी उखेल्ने, आलु लगाउने, नियमित घाँसदाउरा र गोठालो जाने लगायतका काममा व्यस्त छन् ।


मुलुक र जिल्ला बाहिर रहेकाहरु घर फर्केर यस्ता काम गर्न व्यस्त भइसके । रोजगारीका लागि भारत गएकाहरु कोरोना भाइरसको महाहारीसँगै जिल्ला आएका छन् । उनीहरु यहाँ रहेका गाउँलेसँगै नियमित कामकाजमा छन् । बाहिरबाट आउनेले १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने नियम पालना गरेको पाइँदैन ।


जिल्लाको अस्थायी सदरमुकाम रुकुमकोट, भूमे गाउँपालिकाको केन्द्र खाबाङबगर, पुथाउत्तरगंगा गाउँपालिकाको केन्द्र तकसेरा र केही मुख्य बजार मात्र अहिले सुनसान छन् । बाँकी गाउँमा लकडाउनको प्रभाव शून्य छ ।


‘वस्तुभाउ पालिएका छन्, बाली भित्र्याउने बेला भएको छ,’ सिस्ने गाउँपालिका–२ का वडाध्यक्ष जीवन केसीले भने, ‘दिनभर घरभित्रै बसेर गाउँघर चल्दैन । तर, एकअर्कासित भेटघाट नगरी दैनिकी चलिरहेको छ ।’ यहाँका बस्तीमा झुरुप्प घर छैनन् । टाढा–टाढा घर भएकाले पनि गाउँमा कामकाज गर्न सजिलो हुने वडाध्यक्ष केसीले बताए ।


वडा कार्यालय, स्वास्थ्य चौकीमार्फत एक अर्कासँग भेटघाट नगर्न, जिल्ला र मुलुक बाहिरबाट आएकालाई क्वारेन्टाइनमा पठाएर कोरोना भाइरसबाट बच्न नियमित प्रचार र चेतनामूलक कार्यक्रम जारी राखेको उनको बताए । भारतबाट फर्किएका एक जनालाई सदरमुकाम रुकुमकोटमै क्वारेन्टाइनमा राखिएको र अहिले अरु आएमा क्वारेन्टाइनमा पठाउने तयारी भइरहेको उनले बताए ।

रेडियो, टिभी, वडा कार्यालय मार्फत लकडाउनबारे सुनेपछि घरकै कामकाज गर्ने र घरदेखि टाढा नगएको सर्वसाधारणले बताएका छन् । भूमे गाउँपालिका–९ को च्याङचुङका गणेश पुनले गाउँमा भेटघाट रोकिएको तर घाँस, दाउरा, खेतबारीको काम नरोकिएको बताए ।


वस्तुभाउ माया मारेर घरभित्रै बस्न सम्भव नभएको भन्दै उनले तत्काल बजार झर्नुपर्ने काम नभएको बताए । ‘बजार जानु परेको छैन, आटोपिठो पिध्नुपरेपनि भीडभाड नहुने क्षेत्रमा गइन्छ,’ उनले भने, ‘टाढाटाढा बस्ती र घर हुनुको फाइदा यसपटक लिन पाइएको छ ।’


गाउँपालिकाले घर बाहिर ननिस्कन, केही समयका लागि एक अर्कासँग भेटघाट बन्द गर्न सूचना जारी गरेका छन् । विभिन्न ठाउँमा हेल्थ डेस्क राख्ने काम गरिरहेको भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताए ।


‘हामीले सबैतिर वडा कार्यालय, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य केन्द्र, अरु सरकारी तथा गैरकारी संघसंस्था तथा उनीहरुका कर्मचारीलाई पनि परिचालन गरेर सचेतना जगाइरहेका छौं,’ अध्यक्ष बुढाले भने, ‘आफू, आफ्नो परिवार सतर्क भएर घरायसी काम गर्न नपाइने भन्ने भएन ।’ स्थानीय तहले गर्नुपर्ने सम्पूर्ण काम तथा पहल गरेको भन्दै अध्यक्ष बुढाले हालसम्म प्रदेश र संघ सरकारले कुनै सहयोग नगरेको बताए ।

प्रकाशित : चैत्र १८, २०७६ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?