१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

वाइडबडी बुधबार ब्रिसबेन उड्दै 

सिड्नीमा रहेको क्वारेन्टाइनमा स्थान अभाव भएकाले ब्रिसबेन जान लागेको हो
सुरज कुँवर

काठमाडौँ — लकडाउनका कारण नेपालमा अलपत्र परेका अष्ट्रेलियाली र न्यूजील्याण्डका पर्यटकलाई लिएर नेपाल वायुसेवा निगमको वाइडबडी विमान दिउँसो मलेसिया हुँदै अष्ट्रेलियाको ब्रिसबेन जाने भएको छ ।

वाइडबडी बुधबार ब्रिसबेन उड्दै 

निगमको अपरेसन विभागका निर्देशक दिपुराज ज्वारचनका अनुसार, यसअघि सिड्‌नी जाने भनिएको वाइडबडी अष्ट्रेलियन दुतावासको योजना अनुसार क्वीन्सल्याण्डको राजधानी ब्रिसबेन जान लागेको हो । दुतावासका अनुसार, सिड्नी विमानस्थलको क्वारेन्टाइनमा थप यात्रु राख्ने स्थान अभाव भएको कारण देखाउँदै दुतावासले निगमको चार्टर विमानलाई क्वीन्सल्याण्डतर्फ मोड्ने निर्णय लिएको हो ।


नागरिक उड्डयन प्राधिकरणले काठमाडौंमा रहेको अष्ट्रेलियन दुताबासले आफ्ना नागरिकका लागि गर्न लागेको उद्धार उडानलाई सोमबार अनुमति दिएको निर्देशक ज्वारचनले कान्तिपुरलाई बताए ।


काठमाडौंबाट १० घन्टा भन्दा लामो हवाई रुट भएकाले निगमले यो चार्टर विमान मलेसियाको राजधानी क्वालालमपुर टचडाउन गरेर उड्ने छ । निगमको चार्टर उडान बुधबार साँझ साढे ५ बजे काठमाडौंबाट मलेसियाको क्वालालम्पुर उड्ने छ । त्यहाँ इन्धन भरेर स्थानीय समयअनुसार राति साढे १ बजे ब्रिसबेनतर्फ उड्ने छ । ब्रिसबेनमा दिउँसो ११ बजे पुग्ने छ । त्यहाँबाट १ बजे नेपालका लागि रित्तै फर्किने वाइडबडी मलेसियाको क्लालम्पुर हुँदै काठमाडौं बिहीबार राति ११ बजे आइपुग्ने छ ।


निगमका अनुसार, यो उडानको भाडा प्रति घन्टा १८ हजार १ सय अमेरिकी डलर दुतावासले निगमलाई दिने छ । दुतावाससँग निगमले ब्लक–आवरका आधारमा भुक्तानी लिने छ । ब्लक–आवर भनेको जहाजको इन्जिन स्टार्ट भएदेखि बन्द हुँदासम्मको रकम हो । यो विधि–अनुसार, पार्किङमा रहँदा वा खाली उडेको समयको रकम अतिरिक्त लाग्दैन । यी सबैको लेखाजोखा ब्लक–आवरमै गाभिएको हुन्छ । यो चार्टर उडानको काठमाडौंदेखि काठमाडौं फर्किदासम्मको ब्लकआवर साढे २६ घन्टा हाराहारी हुने छ ।

यस हिसाबले निगमले कम्तीमा ५ करोड ४० लाख हाराहारी आर्जन गर्ने छ । तर, इन्धन, हवाइ रुटमा पर्ने मुलुकहरुमाथि उड्दा लाग्ने ओभरफ्लाइङ शुल्क, ग्राउन्ड ह्याण्डलिङलगायतका अन्य शीर्षकमा यसले आम्दानीको कम्तिमा ६० प्रतिशत खर्च ब्याहोर्नु पर्ने छ । ‘यो उडानमा सबै खर्च कटाउँदा कम्तीमा १ करोड हाराहारी निगमलाई नाफा होला,’ निगमका एक अधिकारीले भने ।

यो चार्टर उडानको नेतृत्व निगममा रहेका अष्ट्रेलियाली क्याप्टेन जेम्स किपले गर्दै छन् । उनीसहित ३ जना नेपाली गरेर ६ जना पाइलट यो उडानमा हुने छन् । निगमले यो उडानमा इन्जिनियर, डिस्प्याचर, टेक्निसीयन र क्याबिन क्रू सहित १४ जनाको टिम पठाउँदै छ । यो उडानमा अष्ट्रेलियाली नागरिक कति हुनेछन् भन्ने खुलाइएको छैन । यसमा ३५ हाराहारी न्यूजिल्याण्डका नागरिक पनि जाँदै छन् ।


निगम एयरबसको वाइडबडीबाट अष्ट्रेलिया जान लागेको पहिलोपटक हो । नेपालले ५ महिनाअघि मात्रै अष्ट्रेलियासँग हवाई सम्झौता गरेको थियो ।

प्रकाशित : चैत्र १८, २०७६ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?