कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

यात्रुको विवरण राज्यलाई तुरुन्त बुझाउन देशभरका ट्राभल एजेन्टलाई परिपत्र 

सुरज कुँवर

काठमाडौँ — लकडाउन हुनुअघि विदेशबाट जहाज चढेर आएका चार जना कोरोना संक्रमित यात्रुसँगै आएका अन्य यात्रुहरुको विवरण उपलब्ध गराउन ट्राभल एजेन्टहरुको छाता संगठन नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले आफ्ना सबै सदस्यलाई परिपत्र गरेको छ । 

यात्रुको विवरण राज्यलाई तुरुन्त बुझाउन देशभरका ट्राभल एजेन्टलाई परिपत्र 

संक्रमण पुष्टि भएका यात्रुसँगै आएका अन्यसँग सम्पर्क जुटाउन राज्यलाई अप्ठ्यारो भएपछि नाट्टाले उक्त कदम चालेको हो । ‘संक्रमित यात्रुहरुसँग यात्रा गर्ने अरु यात्रुहरुमा पनि उक्त भाइरस सर्न सक्ने सम्भावनालाई मध्यनजर राख्दै उहाँहरु कुनै पनि ट्राभल एजेन्टसहरुमार्फत टिकट काटेर नेपाल आउनुभएको हो भने उहाँहरुलाई सम्पर्कमा आउन र यात्रुहरुको विस्तृत विवरण नाट्टामा पठाई सम्बन्धित ठाउँमा पुर्‍याउनका निम्ति सहयोग गर्न सम्पूर्ण सदस्यहरुलाई परिपत्र जारी गरिएको छ,’ नाट्टाका अध्यक्ष अचुत गुरागाईंद्‍वारा जारी विज्ञप्तिमा भनिएको छ ।


गत १७ मार्चमा कतार एयरवेजको क्यूआर ६५० उडान नम्बरबाट नेपाल आएका २ जना र यूएईको सारजाहबाट एयर अरबियामा दिल्ली हुँदै २० मार्चमा भिस्तारा एयरलाइन्सबाट नेपाल आएका एक जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भइसकेको छ । विश्वव्यापी रुपमा फैलँदै गएको कोभिड १९ का कारण विश्व अर्थतन्त्रमै देखा पर्न थालेको नकारात्मक असरबाट नेपाल र नेपालको पर्यटन क्षेत्र पनि नराम्रोसँग प्रभावित हुन थालेको अवस्थाप्रति नाट्टाले दु:ख प्रकट गरेको छ । नाट्टाका महासचिव सुधीरकुमार उपाध्यायका अनुसार मुलुकभर छरिएका करिब १२ सय सदस्यलाई अनुरोध गरिएको छ । ‘यदि नेपालबाटै टिकट काटिएका यात्रुहरु ती मितिमा रहेछन् भने विस्तृत विवरण राज्यलाई उपलब्ध गराउन सकिन्छ’, महासचिव उपाध्ययले कान्तिपुरसँग भने, ‘यदि विदेशबाटै टिकट काटिएको रहेछ भने सम्बन्धित एयरलाइन्सका नेपालमा रहेका कार्यालयबाट विस्तृत विवरण सजिलै पाइन्छ ।’


नाट्टाले यस विषम परिस्थितिमा राज्यद्वारा जारी निर्देशन पालना गर्नु तथा राज्यलाई सहायता गर्नु नागरिकको दायित्व रहने जनाउँदै लकडाउनको पालनाका निम्ति पनि अनुरोध गरेको छ । सरकारले लकडाउनको अवधि थप गरेसँगै आगामी २०७७ वैशाख ३ गतेसम्म विदेशी, स्वदेशी एयरलाइन्सका व्यावसायिक उडान रोकिसकेको छ ।


नाट्टाले कोभिड १९ को संक्रमण फैलिन नदिनका विदेशबाट आएका र आफूलाई शंका लागेकालाई सेल्फ क्‍वारेन्टाइनमा बस्न पनि अनुरोध गरेको छ ।

प्रकाशित : चैत्र १७, २०७६ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?