कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

डा. केसी भन्छन्– ‘मैले बोल्ने समय भएको छैन’

‘अहिलेको परिस्थितिमा मसंँग बोल्नका लागि केही पनि छैन र म बोल्न पनि चाहँदैन । जे भइरहेको छ त्यसको मौन दर्शक म पनि हुँ ।’
डीआर पन्त

डडेलधुरा — कुनै रोगको महामारी होस् या प्राकृतिक विपद् । देशको जुनसुकै भू–भागमा भएपनि काँधमा झोला र औषधि बोकेर पुग्छन् डा. गोविन्द केसी । नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै उनी १७ पटकसम्म आमरण अनसन बसेका थिए । उनले अनसनका क्रममा उठाएका कतिपय मागहरु अझै पनि सम्बोधन भएका छैनन् ।

डा. केसी भन्छन्– ‘मैले बोल्ने समय भएको छैन’

तर, कोरोना भाइरस (कोभीड–१९) को महामारीविरुद्ध देश नै जुटिरहेका बेला हाम्रो स्वास्थ्य प्रणाली र उपचारको अवस्थाबारेको अवस्था उदांगो भएको छ । यतिबेला सरकार सामान्य स्वास्थ्य सामग्री जुटाउन तथा संक्रमणविरुद्ध आफ्नो संयन्त्र परिचालन गर्न असफल भएको भन्दै टिप्पणी भइरहेको छ ।राजनीतिक आग्रह/पूर्वाग्रह छाडेर समयमै स्वास्थ्य क्षेत्रको विकासमा ध्यान दिएको भए यस्तो अवस्था आउने थिएन भन्दै सामाजिक सञ्जालमा पोस्टहरु देखिन थालेका छन् । र धेरैले सम्झिरहेका छन् उनै डा. केसीलाई । तर, केसी भने डडेलधुरा अस्पतालमा गुमनामजस्तै भएर मौन बसिरहेका छन् ।

आइतबार सांँझ र सोमबार बिहान केसीसँग सम्पर्क गर्न खोज्दा सम्भव भएन । सोमबार दिउँसो सम्पर्क भए पनि शल्यक्रियाका कारण लामो कुराकानी सम्भव भएन । ‘म अप्रेससनको तयारीमाछु, धेरै कुरा गर्न सक्दैन,’ उनले छोटो प्रतिक्रिया दिए । तीन घण्टापछि अस्पतालको इमरजेन्सी कक्षबाट बाहिर आएर उनले यति मात्र भने, ‘अहिलेको परिस्थितिमा मसंँग बोल्नका लागि केही पनि छैन र म बोल्न पनि चाहँदैन ।जे भइरहेको छ त्यसको मौन दर्शक म पनि हुँ ।’

कोरोना महामारीको सम्भावित जोखिम नियन्त्रणमा सरकारको तयारी, जनमानसमा फैलिएको त्रासलगायतका विषयमा उनी केन्द्रित हुन चाहेनन् । मात्र भने,‘हरेक कुरा बोल्ने समय हुन्छ, अहिले समय भएको छैन ।’


आफू निकै व्यस्त भएकोले मंगलबार मात्र कुराकानी गर्नेभन्दै उनी पुन: सेवामा खटिए । केसीका विषयमा अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले भने, ‘एउटा चिकित्सकले आफ्नो पेशागत मर्यादाभित्र रहेर जसरी सेवा गर्छ, डा केसीले पनि त्यसरी नै सेवा गरिरहनु भएको छ, त्यो बाहेक अरु डा केसीसंँग नै कुरा गरे राम्रो हुन्छ ।’

बिहान उठेपछि बेलुका सुत्ने बेलासम्मको अधिकांश समय उनी अस्पताललाई दिन्छन् । एक छाक मात्रै खाने गरेका उनीदिनभर बिरामीको उपचारमा व्यस्त रहन्छन् । भेट्न आएका शुभचिन्तक र स्थानीय अगुवाहरुसंँग पनि कुरा गर्दैनन् । सरकारले लकडाउन गर्ने निर्णय गरेपछि अस्पतालमा बिरामी सँगसँगै उनलाई भेट्न आउने–जानेको संख्या पनि निकै कम भएको छ । स्वास्थ्यसम्बन्धी समस्या लिएर आएकाबाहेक अस्पतालकै स्वास्थ्यकर्मीसँग पनि उनको पातलो मात्रै भेटघाट हुने गरेको एक चिकित्सकले बताए ।

केसी तीन साताअघि मात्रै स्वास्थ्य सेवा दिन यहाँ आएका हुन् । उनी आएपछि भने यहाँको वातावरणमा केही फरकपन आएको चिकित्सक, बिरामी र उनीहरुका आफन्तहरुले बताउन थालेका छन् । अस्पतालमा कार्यरत ति चिकित्सक भन्छन्,‘डाक्टर कस्तो हुनुपर्छ भन्ने धेरै कुरा डा. केसीबाट सिक्ने मौका मिलेको छ । जागिरबाहेक डाक्टरको मानवीय धर्म कस्तो हुनुपर्छ, स्वभाव कस्तो हुनुपर्छ, बिरामीसंँग गर्ने व्यवहार कस्तो हुनुपर्छ भनेर जान्न पाएका छौं । डा. केसी असाधारण मानवीय भावना भएका सच्चा सेवक हुन् ।’


डडेलधुरा अस्पतालमा केसीले नि:शुल्क सेवा प्रदान गर्न सुरु गरेपछि अहिलेसम्म सयौंले उनीबाट सेवा लिएका छन् । डडेलधुरा, बैतडी, बझाङ, दार्चुला र डोटीका हाडजोर्नीसम्बन्धी समस्या भएका धेरैले विशेषज्ञ चिकित्सा सेवा पाएका छन् । लकडाउन अघिसम्म उनीसँग उपचार गराउन धेरैको भिड लाग्ने गरेको अस्पतालका मेसु विष्टले बताए । हाल बिरामीको संख्या घटे पनि आउने क्रम भने रोकिएको छैन ।

पछिल्लो अनसन उनले डडेलधुरा अस्पतालमै सुरु गरे पनि स्वास्थ्यमा आएको खराबी र सरकारको अनुरोधपछि बीचमै स्थगित भएको थियो । यसपटक डडेलधुरा आएपछि केसीले भनेका थिए,‘मेरो लडाइँसकिएको छैन, स्थगित मात्र भएको हो । अहिले सेवा दिन आएको हुँ, फेरि अनसन बस्ने–नबस्ने निर्णय डडेलधुरामै हुन्छ ।’

प्रकाशित : चैत्र १७, २०७६ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?