कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

वायु प्रदूषण स्वाट्टै घट्यो

डाँडाकाँडा र हिमशृंखला छर्लङ्गै 
काठमाडाैंसहित देशका विभिन्न स्थानमा यतिबेला पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेको मापदण्डजत्तिकै र कतिपय स्थानमा त्यो भन्दा पनि कम छ । 
अब्दुल्लाह मियाँ

काठमाडौँ — राजधानीका सडक खाली छन्, आकाश निलो । उपत्यकावरिपरिका डाँडाकाँडा र उत्तरतिरका हिमाल छर्लङ्ग देख्न सकिन्छ । लकडाउनसँगै काठमाडौंसहित देशैभर वायु प्रदूषण स्वाट्टै घटेकाले यस्तो भएको हो । वातावरण विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलले वायु प्रदूषण मापन गर्ने देशका सबै मापन केन्द्रमा प्रदूषणको मात्रा अत्यधिक न्यून पाइएको जानकारी दिए ।

वायु प्रदूषण स्वाट्टै घट्यो

उनका अनुसार आंँखाले देख्न नसकिने धुलोका कण (पीएम २.५) को मात्रामा उल्लेख्य गिरावट आएको छ । काठमाडांैसहित देशका विभिन्न स्थानमा यतिबेला पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेको मापदण्डजत्तिकै र कतिपय स्थानमा त्यो भन्दा पनि कम देखिएको छ ।

काठमाडौंको रत्नपार्कमा आइतबार पीएम २.५ को मात्रा प्रतिघनमिटर हावामा २३ माइक्रोग्राम रेकर्ड भएको छ । डब्लूएचओले पीएम २.५ को मात्रा २५ माइक्रोग्राम (प्रति २४ घण्टा) तोकेको छ । सरकारले प्रतिघनमिटर हावामा पीएम २.५ को मात्रा ४० माइक्रोग्राम तोकेको छ ।

सूचना अधिकारी पौडेलका अनुसार आइतबार पीमए २.५ शंखपार्कमा २५, भैंसेपाटीमा २७, पोखरामा २३, धुलिखेलमा १९, दमकमा ३५ र दाङमा १५ माइक्रोग्राम रेकर्ड भएको छ । यसअघि यी सबै स्थानमा पीएम २.५ को मात्रा सरकारले तोकेको मापदण्डभन्दा कयौं गुणा बढी रेकर्ड भएको थियो ।

यस्तै, धनकुटामा २७, नेपालगन्जमा १७.५, पोखरा विश्वविद्यालय क्षेत्रमा २६.३ माइक्रोग्राम रेकर्ड भएको छ । सिमरामा भने पीएम २.५ को मात्रा अहिले पनि ११२ माइक्रोग्राम देखिएको छ ।

डब्लूएचओले १० माइक्रोग्राम भएको क्षेत्रलाई सुरक्षित हुने बताएको छ । उसले कुनै स्थानमा पीएम २.५ को मात्रा ४४.४६ माइक्रोग्राम छ भने त्यो संवेदनशील किसिमका व्यक्ति र समूहका लागि अस्वस्थ मानिने जनाएको छ ।

वातावरण विभागले सन् २०१७ मा गरेको अध्ययनमा जाडो महिनामा काठमाडौंमा पीएम २.५ को मात्रा १८० माइक्रोग्रामसम्म पुगेको पाइएको थियो ।

घरभित्र र बाहिरको वायु प्रदूषणका कारण बर्सेनि विश्वमा ७० लाख मानिसको ज्यान जाने गरेको तथ्यांक छ । वायु प्रदूषणका कारण स्ट्रोक, मुटुसम्बन्धी रोग, फोक्सोको क्यान्सरजस्ता रोगको सम्भावना हुन्छ । विश्वको जनसंख्याको ९२.५ प्रतिशतभन्दा बढी मानिस हावामा डब्लूएचओले तोकेको मापदण्डभन्दा बढी पीएम २.५ रहेको स्थानमा बस्छन् ।

फागुनमा आईक्यू एअरले प्रकाशित गरेको ‘विश्वको वायुको गुणस्तरसम्बन्धी प्रतिवेदन’ मा पनि अघिल्लो वर्षभन्दा यो वर्ष वायुको गुणस्तरमा सुधार आएको प्रतिवेदन सार्वजनिक गरेको थियो । गत वर्ष आँखाले देख्न नसकिने धुलोको कण (पीएम २.५) को मात्रा प्रतिघनमिटर हावामा सरदर ५४.४ माइक्रोग्राम रहेकामा यो वर्ष ४४.५ माइक्रोग्राममा झरेको उसले उल्लेख गरेको छ ।


किन घट्यो ?

विभागको अध्ययनअनुसार वायु प्रदूषणको मुख्यस्रोत सवारी साधन हुन् । ‘सवारी साधन ठप्पप्राय: भएकाले प्रदूषण घटेको हो,’ पौडेलले भने । काठमाडौंमा मात्र करिब २० लाख सवारी गुड्छन् । यतिबेला एम्बुलेन्सबाहेक अनावश्यक गाडी गुडेका छैनन् ।

वायु प्रदूषणको दोस्रो ठूलो स्रोत मानिने इँटाभट्टा र कलकारखाना सबै बन्द छन् । त्यसले पनि राहत मिलेको हो । कृषिका लागि हुने नियन्त्रित आगोसमेत रोकिएकाले प्रदूषण हुन पाएको छैन ।


आकाश र हिमशृंखला छर्लङ्गै

वातावरणरणविद् उत्तमबाबु श्रेष्ठ कोभिन १९ को संक्रमण रोक्न लगाइएको डाउनका कारण विश्वभरको वायु प्रदूषण उल्लेख्य रूपमा घटेको उल्लेख गर्छन् ।

सामाजिक सन्जालमा फेसबुकमा उनले लेखेका छन्, ‘काठमाडौंमा यति स्वच्छ आकाश अझ यो समयमा कहिल्यै देखिएको थिएन भन्दैछन् मान्छेहरू । लाग्छ, मानवताको गति केही समय रोकिँदा पृथ्वीले श्वास फेर्न पाउँदो रहेछ । एडवार्ड विल्सनले ठीकै भनेका रहेछन् कि क्या हो ?’

प्रकाशित : चैत्र १७, २०७६ १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?