कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

लकडाउनमा तस्कर सक्रिय, निकुञ्ज, आरक्षमा बढाइयो गस्ती

शुक्रबार पर्सा निकुञ्जमा हतियारधारी तस्कर समूह भेटिएपछि अन्य निकुञ्ज र आरक्षहरुमा पनि निगरानी बढाइएको हो 
अब्दुल्लाह मियाँ

काठमाडौँ — लकडाउनको मौका छोपेर निकुञ्ज तथा आरक्षहरुमा तस्कर सक्रिय भएका छन् । सिकारका लागि शुक्रबार पर्सा निकुञ्जमा हतियारधारी तस्कर समूह भेटिएपछि मुलुकभरका निकुञ्ज र आरक्षमा निगरानी बढाइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक गोपालप्रकाश भट्टराईले संभावित घटनालाई मध्यनजर गर्दै निगरानी बढाउन सबै निकुञ्ज र आरक्ष प्रमुखहरुलाई निर्देशन दिएका छन् । 

लकडाउनमा तस्कर सक्रिय, निकुञ्ज, आरक्षमा बढाइयो गस्ती

मुलुकभर १२ वटा निकुञ्ज, दुई वटा आरक्ष (ढोरपाटन सिकार आरक्षसहित) र ६ वटा संरक्षण क्षेत्र छन् । यी सबैले मुलुकको कुल भूभागको २३.३९ प्रतिशत ओगटेको छ ।


लकडाउनसंगै तराईदेखि हिमालसम्मैका निकुञ्ज र आरक्षहरुमा सेना र कर्मचारीको गस्ती बढाइएको छ । जरायो सिकारका लागि पर्सा निकुञ्जको महादेवखोला क्षेत्र पुगेका तस्करको समूह र निकुञ्जको सिद्धिबक्स गणका सेनाबीच शुक्रबार बिहान गोली हानाहान भएको थियो, त्यसक्रममा एक जना सिकारीको ज्यान गएको थियो भने सेनाका एक जमदार घाइते भएका थिए ।


निकुञ्जका सहायक संरक्षण अधिकृत अशोककुमार रामका अनुसार त्यो नै यो वर्षको पहिलो घटना हो ।

चालु आर्थिक वर्ष २०७६, ७७ मा निकुञ्जभित्र काठ काट्न छिरेका १४ जनालाई निकुञ्जले समातेर कारबाही अघि बढाएको छ भने १८ जन फरार छन् । लकडाउनको मौका छोपेर शुक्रवार ११ जनाको समूह महादेवखोला क्षेत्रमा भेटिएका थिए । तीमध्ये एक जनालाई मात्र निकुञ्जले पक्राउ गर्न सक्यो । एक जनाको ज्यान गएको थियो । ९ जना फरार छन् ।


बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चीफ वार्डेन) अणनाथ बरालले लकडाउनमा तस्कर सलबलाउन सक्ने संभावनालाई मध्यनजर गर्दै निकुञ्जको संरक्षणार्थ तैनाथ शिवदल गणका सेना र कर्मचारीको गस्ती पहिलाभन्दा बढाइएको जानकारी दिए ।


निकुञ्जको टोलीले केही दिन अघि निकुञ्जको टाइगरटप्स होटल नजिकबाट काठसहित तस्करको समूहलाई समातेको थियो । उनीहरुमाथि निकुञ्जले अनुसन्धान गरिरहेको छ ।


बर्दियाको बबई क्षेत्र संवेदनशील मानिन्छ । उक्त क्षेत्रमा पनि गस्ती बढाइएको बरालले बताए । बबईमा चितवनबाट सारिएका केही गैंडा र बाघ छन् । संभावित चोरी सिकार हुने निकुञ्जको अन्य कोर क्षेत्रमा पनि सेना र निकुञ्ज टोलीको संयुक्त गस्ती तिब्र पारिएको छ । बर्दियामा पछिल्ला वर्षहरुमा बाघ हेर्न पर्यटक भित्रिने गरेका छन् । पछिल्लो गणना अनुसार बर्दियामा ८७ बयस्क बाघ छन् ।


चितवन निकुञ्जले पनि तस्करीको संभावनालाई ध्यान दिंदै सेना र कर्मचारीको संयुक्त गस्ती बढाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चीफ वार्डेन) नारायणप्रसाद रुपाखेतीले निकुञ्जको संरक्षणार्थ खटिएको बटुक गण र कर्मचारीको संयुक्त गस्तीलाई पहिला भन्दा सक्रिय पारिएको बताए ।

आइतबार सेनाको टोलीसंग गस्तीमै रहेका रुपाखेतीले कान्तिपुरसित भने, ‘संभावित घटनालाई मध्यनजर गर्दै निकुञ्जको भित्रि भागसम्मै गस्ती र अनुगमन गरिरहेको छु ।’


चितवन निकुञ्जमा २०७३ को चैत २६ पछि सिकारीले गैंडा मारेका छैनन् । त्यसयता चोरी सिकारीबाट गैंडाको सिकार शून्य भइरहे पनि प्राकृतिक कारणले गैंडा मरिरहेका छन् । लकडाउनको मौका छोपेर निकुञ्जले वन्यजन्तुको चरन क्षेत्र र घांसे मैदान व्यस्थापनको काम गरिरहेको छ ।

पाटे बाघको बढोत्तरी भइरहेको बांके निकुञ्जमा पनि संभावित चोरी हुनसक्ने संभावनालाई ध्यान दिंदै निकुञ्जले गस्ती र अनुगमन प्रभावकारी बनाएको छ ।


निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले लकडाउनको मौकामा तस्कर नछिरुन भनेर अनुगमन र गस्ती जारी राखेका छन् । लकडाउनको अवसर पारेर निकुञ्जको गस्ती र अनुगमनमा प्रयोग हुने बाटो, सडक बनाउने काम चलिरहेको छ भट्टराई उल्लेख गर्छन्, शान्त भएर होला भित्रि भाग र हाइवेमै पनि वन्यजन्तु देखिएका छन् । यो निकुञ्जको धेरै भाग पूर्व पश्चिम राजमार्गको बांके क्षेत्रमा पर्छ ।


तराईमा मात्र होइन हिमाली क्षेत्रमा पनि हिमाली वन्यजन्तुहरु कस्तुरी र हिउँं चितुवालगायतका वन्यजन्तुको संभावित तस्करीलाई मध्यनजर गर्दै अनुगमन र गस्ती बढाइएको छ । हुनत सबै जसो हिमाली क्षेत्रमा पदयात्रा ठप्प छ । तैपनि यही अवसरमा चौका हान्ने संभावना भएकाले गस्ती बढाइएको सगरमाथा निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताए ।


पर्यटकको सिजन भए पनि लकडाउनले सगरमाथा क्षेत्र सुनसान छ, नाम्चेबजारबाट उपाध्यायले भने, ‘कुनै गलत काम नहोस् भनेर यहांस्थित् शमशेर गुल्मका सेना र कर्मचारी सचेत छौ र गस्ती जारी छ ।’


केही वर्षअघिसम्म सगरमाथा क्षेत्रमा कस्तुरी मृगको अत्यधिक चोरी सिकार हुन्थ्यो । उपाध्यायले आर्थिक वर्ष २०७३, ७४ पछि चोरी सिकार घटेको बताए ।


सूदूरपश्चिममा पर्ने शुक्लाफांटा निकुञ्जमा पनि गस्ती विस्तार गरिएको छ । प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौड्यालले लकडाउनको मौका छोपेर वन्यजन्तु र वनस्पतिको क्षती नहोस् भनेर निगरानी गरिरहेको बताए ।



प्रकाशित : चैत्र १६, २०७६ २१:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?