कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

कोरोना शंकास्पद बिरामी मृत्यु : स्वाब संकलनमै ‘लापर्बाही’, अझै खुलेन कारण

स्वाब काठमाडौं पठाइसकेका छौं, भोलि (सोमबार) रिपोर्ट आउँछ : मन्त्री बराल
घनश्याम गौतम

रूपन्देही — प्रदेश स्वास्थ्य निर्देशनालयले स्वाब संकलन गरी तुरुन्तै काठमाडौं नपठाएका कारण बुटवलको धागो कारखानामा स्थापित आइसोलेसन अस्पतालमा राखिएका व्यक्तिको मृत्युुको कारण अझै खुल्न सकेको छैन । निर्देशनालयले एक जनाको मात्रै स्वाब (थुक र खकारको नमुना) काठमाडौं पठाउँदा खर्च धेरै लाग्ने भन्दै तुरुन्तै काठमाडौं पठाएको थिएन । बिरामीमा देखिएका लक्षणबारे चिकित्सककै भनाइ बाझिएका छन् ।

कोरोना शंकास्पद बिरामी मृत्यु : स्वाब संकलनमै ‘लापर्बाही’, अझै खुलेन कारण

सरकारले लकडाउन गरेसँगै विमानस्थल बन्द भएको बहाना बनाएर निर्देशनालयले कोभिड–१९ संक्रमणको आशंका गरिएका बिरामीको स्वाब संकलन रोकेको थियो । एउटा बिरामीको मात्र नमुना पठाउँदा खर्च बढी लाग्ने र स्वाब ओसार्ने सवारीसाधन नभएको दाबी गर्दै निर्देशनालयले बिरामीलाई लामो समयसम्म आइसोलेसनमा राख्ने गरेको खुलेको छ ।


बुटवलबाट एकैपटक ७/८ जनाको स्वाब संकलन गरेर पठाउने गरिएको पाइएको छ । त्यसको परिणाम स्वास्थ्य निर्देशनालय र सामाजिक विकास मन्त्रालयले बिरामीको मृत्युको कारण खुलाउन सकेका छैनन् । आइसोलेसनमा रहेका बिरामीको आइतबार दिउँसो मृत्यु भएपछि त्यसको कारणबारे जानकारी लिन खोज्दा सामाजिक विकासमन्त्री सुदर्शन बराल, स्वास्थ्य निर्देशक डा. विनोद गिरी, बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालका डा. सुदर्शन थापालगायत जिम्मेवारी व्यक्ति पन्छिएका छन् ।


अस्पतालको आइसोलेसन वार्डमा चार दिनदेखि उपचार गराइरहेका पाल्पाको रिब्दीकोट–५ घर भई रूपन्देहीको सैनामैना नगरपालिका–४ सिसौंडाँडा बस्दै आएका ३४ वर्षीय बाबुराम थापाको मृत्यु भएको थियो । सिसौंडाँडाका स्थानीय एवं थापाका छिमेकी दीपक अधिकारीका अनुसार उनी दुबईमा ट्याक्सी चालक थिए । उनी चैत ६ गते दुबईबाट काठमाडौं आएका थिए । काठमाडौंबाट बस चढेर चैत ७ गते परिवारको सम्पर्कमा आए । चैत १० गतेदेखि उनलाई ज्वरो र खोकी लाग्न थालेपछि स्थानीयकै सल्लाहमा चैत ११ गते स्थानीय मेडिकलमा स्वास्थ्य परीक्षण गराएका थिए । सुरुमा टाइफाइडको औषधि खाए । निको नभएपछि चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल भर्ना भएका थिए ।


लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. राजेन्द्र खनालका अनुसार ज्वरो, खोकी र कोरोनासँग मिल्ने धेरै लक्षण देखिएपछि अस्पतालले उनलाई बुटवल कोरोना विशेष अस्पतालको आइसोलेसन वार्डमा पठाएको थियो । मेसु खनालले त्यहाँ पनि अवस्था सामान्य रहेको तर आइतबार बिहान एक्कासि समस्या बढेको बताए । ‘दुई दिन उहाँको अवस्था सामान्य थियो,’ उनले भने, ‘आज बिहान समस्या देखिएपछि टेकु अस्पताल पठाउने तयारी गर्दागर्दै मृत्यु भयो ।’


उनले आइतबारै उनीसहित अन्य ७ जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको बताए । हवाई उडान रोकिएपछि सवारीसाधन र लागत बढ्ने भएकाले धेरै जनाको स्वाब संकलन गरेर पठाउने गरेकाले ढिलाइ भएको उनको दाबी छ ।


कोरोना विशेष अस्थायी अस्पतालमा अहिले नौ जनाको उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार त्यहाँ भर्ना भएका बिरामीको उपचारमा ध्यान दिने गरिएको छैन । शंका लागेका बिरामीको नजिक कोही पर्दैनन् । टाढैबाट साँधेर उपचार गरिन्छ । थापालाई पनि शुक्रबारबाट निमोनियाको औषधि चलाइएको थियो । शनिबार दिउँसोदेखि असामान्य भएका थिए । स्वासप्रश्वासमा समस्या भएपछि शनिबारदेखि उनलाई अक्सिजन दिइएको थियो । तर, स्वास्थ्यकर्मी कोही पनि नजिक नजाने, उनको अवस्था नबुझ्ने गरेकाले मृत्यु भएको परिवारको आरोप छ ।


२७ वर्षीया श्रीमती रीताले समेत अन्तिम अवस्थामा मात्र जानकारी पाएको बताइन् । थापाको मृत्युपछि उनी भाडामा बस्दै आएको घरमा रहेका अन्य १० जना पनि तनावमा छन् । स्थानीय जनप्रतिनिधिको पहिलमा अहिले सबैलाई क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ ।


सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रत्येक दुई दिनको फरकमा स्वाब परीक्षणका लागि काठमाडौं पठाउने गरिएको बताए । ‘हामीले १३ गते अन्य व्यक्तिको पठाएका थियौं,’ उनले भने, ‘१४ र १५ गतेको संकलन गरेर आजै पठाइएको छ ।’ टेकुमा पनि उस्तै चाप रहेकाले छिटो पठाएर पनि तत्काल परीक्षण सम्भव नहुने उनले बताए । ‘तर यो केसको प्राथमिकतामा राखेर भोलि (सोमबार) २ बजेभित्र नै रिपोर्ट दिन भनेका छौं,’ उनले भने । आर्थिक भारभन्दा पनि स्वाब लैजाने सवारी साधन र टेकुको प्रयोगशालामा बढ्दो चापका कारण समय कुर्नुपरेको उनले दाबी गरे ।

प्रकाशित : चैत्र १६, २०७६ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?