सहरमा ‘डिस–इन्फेक्टेन्ट’ छर्किंदै, मजदुर हिँडेर गाउँ आउँदै

(धादिङ, दाेलखा, नुवाकाेट, सिन्धुपाल्चाेक) — कोरोना भाइरस (कोभीड–१९) को संक्रमण फैलन नदिन धादिङ सदरमुकाम धादिङबेंसीमा ‘डिस–इन्फेक्टेन्ट’ छर्किन सुरु गरिएको छ । बजार क्षेत्रलाई जिवाणुमुक्त बनाउन भन्दै नीलकण्ठ नगरपालिकाले यहाँका विभिन्न चोक तथा टोलमा ‘डिस–इन्फेक्टेन्ट’ छर्किएको हो । 

सहरमा ‘डिस–इन्फेक्टेन्ट’ छर्किंदै, मजदुर हिँडेर गाउँ आउँदै

धादिङका विभिन्न बस्तीमा आउजाउ गर्न सदरमुकाम क्षेत्र पुग्नुपर्ने भएकोले शनिबार पुछारबजारदेखि सिरानबजारसम्मै उक्त किटनाशक औषधि छर्किएको छ । आइबतार पनि यो कार्यलाई निरन्तरता दिइएको नगरपालिकाले जनाएको छ ।

यसैबीच कोरोना संक्रमण देखिएकी फ्रान्सबाट आएकी युवतीसँग कतार एयरवेजमा आएका धादिङका चार जनामध्ये दुई जना पनि घरमै क्वारेन्टाइनमा बसेका छन् । गजुरी गाउँपालिका–२ का सुधा पन्त र सीताराम पन्त स्थानीय स्वास्थ्यकर्मीको रेखदेखमा घरमै क्वारेन्टाइनमा बसेका गाउँपालिका अध्यक्ष राजेन्द्रविकक्रम बस्नेतले बताए ।

भारतीय नाका सुनौलीबाट पाँच दिन लगाएर धादिङबेंसी आइपुगेका नीलकण्ठ–१, भदौरेका पाँच जना युवालाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको छ । योसँगै सदरमुकामस्थित क्वारेन्टाइन कक्षमा बस्नेहरुको संख्या १८ पुगेको छ । विदेश तथा भारतबाट फर्केका उनीहरुलाई सदरमुकामस्थित डिभिजन वन कार्यालयको नवनिर्मित भवनमा बनाइएको क्वारेन्टाइन कक्षमा राखिएको छ ।

स्थानीयद्वारा झोलुङ्गे पुल बन्द

गोरखाको गण्डकी–७, घ्याल्चोकलाई पृथ्वी राजमार्गसँग जोड्न त्रिशूली नदीमा निर्माण गरिएको झोलुङ्गे पुल स्थानीयले बन्द गरिदिएका छन् ।

धादिङको वेनीघाट रोराङ–९ स्थित ज्यामिरेघाट जोड्ने उक्त झोलुङ्गे पुलमा स्थानियबासीले टायर, काँडेतार, जस्ता, बाल्टी, काठजस्ता सामग्री राखेर अवरोध गरेका हुन् । कोरोना भाइरसको संक्रमण फैलने आशंकामा राजमार्गबाट कोही पनि व्यक्ति पुल तरेर पारी नआउन् भन्न पुल बन्द गरिएको एक स्थानीयले बताए ।

गोरखामा उत्पादित तरकारी ज्यामिरेघाटस्थित संकलन केन्द्रमा ल्याउन सहज होस् भनि गत वर्ष मात्रै उक्त पुल निर्माण गरिएको थियो ।

धादिङबेंसीबाट साङ्गकोष उक्लने झोलुङ्गे पुल पनि स्थानीयले बन्द गरेका छन् । मुख्य बजार क्षेत्रका अधिकांश टोलमा पस्ने मुख्य सडकमा अपरिचितलाई पस्नमा अवरोध गर्न तगारो राखेर स्थानीयले निगरानी बढाएका छन् ।

चरिकोटमा पनि ‘डिस–इन्फेक्टेन्ट’ छर्कियो

कोरोना भाइरस संक्रमण फैलन नदिन दोलखाका सबै स्थानीय तहले सक्रियता देखाउन थालेका छन् ।

भीमेश्वर नगरपालिकाले सदरमुकाम चरिकोटमा ‘डिस–इन्फेक्टेन्ट’ छर्किएको छ । शुक्रबार क्लोरिन र पानीको घोललाई दमकलमा राखी चरिकोटको मुख्यबजार क्षेत्रमा छर्किएको नगरप्रमुख भरत केसीले बताए ।

उनका अनुसार उक्त किटनाशक घोल एकपटक छर्किंदा ८५ हजार रुपैयाँ खर्च लाग्छ । आइसोलेसन, क्वारेन्टाइन कक्ष निर्माणमा समेत जुटेको उनको भनाइ छ ।

दोलखाका सात वटा गाउँपालिका र दुई नगरपालिकाले कोरोनाविरुद्ध आवश्यक तयारी गरिरहेका जनाएका छन् ।

हिँडेरै काठमाडौंदेखि विदुर

नुवाकोटको किस्पाङ गाउँपालिका–३, काउलेका कृष्ण तामाङ काठमाडौंबाट पैदल हिँडेर घर फर्किए । उनी ज्यामी काम गर्छन् । ‘काम चलिराथ्यो,’ उनले भने, ‘गाडी बन्द हुन्छ भन्ने जानकारी पाइएन ।’ ठेकेदारले काम गरेको पैसा समयमै नदिएकाले समस्या भोग्नु परेको उनले दुखेसो पोखे । समयमा ज्याला नपाएपछि काठमाडौंमा उधारो सामान नपाइने भएकोले शुक्रबार बिहान ५ बजे घरतर्फ लागेको बताए । उनले प्रश्न गरे, ‘भएको पैसा पनि सकिन लागेको थियो । अनि यत्रो दिन के खाएर बस्ने ?’

फर्किने क्रममा सडकमा गाउँका अन्य व्यक्ति भेटेको उनले सुनाए । तामाङ र उनीसँगै हिँडेका सबैजना सोही दिन राति सदरमुकाम विदुर आइपुगेका थिए । कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले देशभर लकडाउन गरेपछि ज्यालामजदुरी गरेर जीवन धान्ने वर्ग बढी समस्यामा परेका छन् । सहरमा खानाको समस्या परेपछि गाउँ फर्किन बाध्य भएकोले विभिन्न नाकाबाट पैदल यात्रा गरेरै धेरै जना घर फर्किइरेहका छन् ।

खाद्यान्न सहयोग

पूर्व सञ्चारमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतसहित क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, क्षमादेव ग्रुपका प्रतिनिधिले सडक मजदुर र वृद्धवृद्धा गरी ५३ परिवारलाई घरमै चामल, नुन, तेलजस्ता खाद्यन्न सहयोग गरेका गरेका छन्

लकडाउनका कारण खाद्यान्नको अभाव भोगिरहेका सडक मजदुरलाई घरमै पुगेर खाद्य सामाग्री वितरण गरिएको हो ।

प्रकाशित : चैत्र १६, २०७६ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?