१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

ज्वरो आएका बिरामी अस्पतालको गेटबाटै फिर्ता 

माधव अर्याल

पाल्पा — पाल्पाको बगनासकाली गाउँपालिका–२ पोखराथोकका एक बिरामीलाई लुम्बिनी मेडिकल कलेजले गेटबाटै फर्काइदिएको छ । हालै भारतबाट फर्केका २० वर्षीय उनी ज्वरो आएपछि शनिबार अस्पताल पुगेका थिए । 

ज्वरो आएका बिरामी अस्पतालको गेटबाटै फिर्ता 

उनलाई चिकित्सकले ज्वरो जाँच गरेर एम्बुलेन्समै बस्‍न आग्रह गरे । बिरामीका आमालाई औषधि लिन पठाए । अस्पतालमा बिरामीलाई पिसाब फेर्नसमेत दिइएन । अस्पतालका निर्देशक डा. राजु शाक्यको सल्लाहपछि एम्बुलेन्स चालक नारायण जीसीले बिरामीलाई घरसम्मै लगेर छाडे । तर बिरामीलाई आइतबार बिहान पनि ज्वरो आइरहेको छ ।


यो त एउटा प्रतिनिधि उदाहरण मात्र हो, पछिल्लो समय लुम्बिनी मेडिकल कलेजले गेट बन्द गरेर राखेको छ । सुरक्षा गार्डले सोधपुछ गरेपछि मात्र बिरामी भित्र जान सक्छन् । ज्वरो आएको बिरामी भए भित्र प्रवेशसमेत पाउँदैनन् । अस्पताल परिसरमा राखिएको ज्वरो क्लिनिकमा दुई स्वास्थ्यकर्मीले ज्वरो जाँच गर्छन् । शंका लाग्यो भने औषधि लेखिदिएर त्यहीँबाट फिर्ता गरिन्छ ।


ज्वरो र अन्य लक्षण मिल्दोजुल्दो भयो भने कलेजका स्वास्थ्यकर्मीले घरमै गएर बस्नुस् भन्ने गरेका छन् । अस्पताल सञ्चालक, निर्देशकको त्यस्तै निर्देशन दिएको उनीहरुको भनाइ छ । ‘हामी आफै पनि कोरोना भाइरसबाट सुरक्षित छैनौं,’ कलेजका ज्वरो क्लिनिकमा खटिएका चिकित्सकले भने, ‘पीपीई होइन, हामी आफैले बनाएको पीपीएम लगाएर क्लिनिक सञ्चालन गरेका छौं । यस्तो अवस्थामा हामी आफै पहिला सुरक्षित हुन जरुरी छ ।’


लुम्बिनी मेडिकल कलेजमा आकस्मिक रुपमा पुग्‍ने दैनिक कम्तीमा ७/८ जना ज्वरोका बिरामी उपचार नै नपाई सिटामोल खरिद गरेर घर फिर्ता भइरहेका छन् । बिरामीलाई घरमै क्वारेन्टाइनमा बस्न चिकित्सकले आग्रह गर्दै आएका छन् ।


यही कलेजमा संघीय र प्रदेश सरकारलाई आइसोलेसन वार्ड सञ्चालन गर्न उपयुक्त हुने भन्दै १० शय्या दिने घोषणा गरिएको थियो । अस्पतालका निर्देशक डा. राजु शाक्यले भने आफै सुरक्षित नभएको बताए । ‘हामीसंग कोरोना भाइरसबाट सुरक्षाका लागि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार सामग्री छैन,’ उनले भने, ‘सरकारबाट पनि सामग्री प्राप्त भएको छैन । अहिले हामी आफैले नै १०/१५ वटा पीपीएम बनाएर २४सै घण्टा ज्वरो क्लिनिकमा खटिएका छौं ।’


पीपीई सबै चिकित्सकलाई पुर्‍याउन नसकिएकाले सानोतिनो अवस्थामा घरमै बस्न आह्वान गरेको उनले बताए । साधारण ज्वरो आएको बिरामीलाई औषधि दिएर पठाएको डा. शाक्यले बताए । उनले भर्ना गर्नै पर्ने बिरामीलाई भर्ना गरेर उपचार गरेको दाबी गरे ।


कोरोनाका शंकास्पद बिरामीलाई उपचार गर्न जिल्लाका अन्य अस्पतालले पनि अस्वीकार गरेको पाइएको छ । तेल्घाको भार्केस, बन्दीपोखरा, पोखराथोक, झुम्सा, चिदीपानी लगायतबाट ज्वरो आएर लुम्बिनी मेडिकल कलेज पुगेकाहरु घरमै फिर्ता भएको बताएका छन् ।


तानसेन नगरपालिका–६, जैसीचौपारीका भारतबाट फर्केका बिरामीलाई पाल्पा अस्पतालले पनि उपचार नगरी सिटामोल दिएर फर्काएको छ । अस्पतालका डा. पुष्पराज ज्ञवालीका ज्वरो आएको तर घर पठाएको बताए । ‘हामीले भर्ना गरेर राखौं भनेको हौं,’ डा. ज्ञवालीले भने, ‘जिल्लास्तरीय मेडिकल सपोर्ट टिमका संयोजक डा. पुरनमान बज्राचार्यले केही हुँदैन भनेर फिर्ता गरिदिएको हो ।’ डा. बज्राचार्यले भने सामान्य बिरामी भएकाले क्वारेन्टाइनमा गएर बस्न फिर्ता गरेको बताए ।


पाल्पा अस्पतालमा दैनिक ५ जनाभन्दा बढी बिरामी ज्वरोका आउने गरेका छन् । मिसन अस्पतालमा ज्वरोका लागि छुट्टै व्यवस्थापन गरेको अस्पताल निर्देशक डा. रचेल कारखले बताइन् । उनले यो विपद्का बेलामा धेरै बिरामी बहिरंग विभागमा नआउन आग्रहसमेत गरिन् । ‘हामीले बिरामीलाई फर्काएका छैनौं,’ उनले भनिन्, ‘ज्वरोका लागि छुट्टै वार्ड तयार गरेका छौं । अरुसंग संसर्ग नहुने गरी राखेका छौं ।’ मिसन अस्पतालले बहिरंग विभागबाट पनि बिरामी जाँच गरिरहेको छ ।

प्रकाशित : चैत्र १६, २०७६ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?