रोहिंग्या शरणार्थी भोकभोकै
काठमाडौँ — कपनमा बस्दै आएका रोहिंग्या शरणार्थीलाई खाद्यान्न संकट भएपछि राष्ट्रिय मानवअधिकार आयोगले तत्काल उनीहरुलाई खुवाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। लकडाउनका कारण शरणार्थीहरु भोकभोकै भएको सूचना पुगेपछि आयोगले पहल थालेको हो।
'भर्खरै मैले गृहका अधिकारीहरुलाई फोन गरेर उनीहरुको समस्या अवगत गराएको छु,' आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले भने, ‘उनीहरुको अवस्थाबारे आयोग जानकार छ र सरकारले तुरुन्त कदम चाल्नेछ भन्ने विश्वास हामीले लिएका छौं।’
गृहले रोहिंग्याहरुको समस्याप्रति आफू पनि जानकार रहेको जनाउँदै छिट्टै कुनै व्यवस्था गर्ने प्रतिबद्धता आयोगसमक्ष राखेको छ। सोहीअनुसार उनीहरुले खान पाए/नपाएको निगरानी आयोगले गर्नेछ। कपनको राममन्दिर र लसुनटारमा गरी ३ सय ६८ जना रोहिंग्या छन्। ज्यालामजदुरी गरेर जीवन धान्दै आइरहेका उनीहरु लकडाउनपछि समस्यामा परेका हुन्। ‘हामी भोकै बसिरहेका छौं,’ शरणार्थीमध्येका एक रफिकले कान्तिपुरसँग फोन सम्पर्कमा भने, ‘सबतिर बन्द छ, कहाँ जानु? कसलाई भन्नु?’
राम मन्दिमा ७१ परिवारका १ सय ६६ र बाँकी शरणार्थी लसुनटारमा बस्छन्।
‘लसुनटारका साथीहरुलाई आज बिहान कसैले खुवाएछ, हामीलाई त कसैले सोध्न पनि आएको छैन,’ रफिकले भने, ‘ठेकेदारले काम गरेको पैसा पनि दिएको छैन, त्यसमाथि पसल सबै बन्द छन्, भोकैले मरिने भइयो।’
राम मन्दिरमा बसिरहेकामध्ये ८७ बालबालिका र ३७ जना महिला छन्। आफ्नोभन्दा पनि बालबालिका र महिलाको पिर धेरै भएको रफिकले बताए।
सन् २०१२ देखि २०१९ सम्म पटक-पटक गरेर बर्माबाट भागेका रोहिंग्या शरणार्थी कपन क्षेत्रमा बसिरहेका छन्। उनीहरुलाई सरकारले औपचारिक रुपमा शरणार्थीको मान्यता नदिए पनि बसिरहेको ठाउँबाट हटाएको छैन। शरणार्थीको दर्जा नपाएका हुनाले रोहिंग्या समुदाय भूकम्प, बन्द हडताल र अहिलेको लकडाउनजस्तो अवस्थामा आपत् पर्दा खुलेर गुहार लगाउन सक्ने अवस्थामा छैनन्।
प्रकाशित : चैत्र १५, २०७६ १४:१४