निजी क्षेत्रको चार्टरमा मेडिकल किट ल्याइँदै

‘राज्यलाई परेको विपद्‍मा सहयोग गर्न तत्पर छौं’
देवेन्द्र भट्टराई

काठमाडौँ — फैंलदो कोरोना संक्रमणमाझ तत्काल आवश्यक देखिएको मेडिकल उपकरण तथा स्वास्थ्य सुरक्षा सामग्री लिन निजी क्षेत्रका व्यवसायीको तत्परतामा आगामी बिहीबार(अप्रिल २) नेपाल वायुसेवाको वाइडबडी विमान चीनको ग्वान्जाओ जाने भएको छ । 

निजी क्षेत्रको चार्टरमा मेडिकल किट ल्याइँदै

अन्तर्राष्ट्रिय कार्गो व्यवसायमा चिनिएको फ्ल्यास फ्रेइट लजिस्टिक प्राइभेट लिमिटेडको संयोजनमा काठमाडौंका अस्पताल ट्रेडिङ सेन्टर, मेडिकल पसलसहित २० भन्दा बढी समूहले मेडिकल सामग्री मगाएका छन् ।


नेपाल वायुसेवाको चार्टड उडानमा मेडिकल किट्स, पन्जा, टेस्टिङ् किट्स, आईआर थर्मोमिटर, मास्क, पीपीईसहित ३० टनभन्दा बढी सामान हुनेछ । ‘तत्काल आवश्यक देखिएको स्वास्थ्य सुरक्षा एवं मेडिकल उपकरण यो कार्गोमा आउने भएको छ,’फ्ल्यास फ्रेइट लजिस्टिक प्रालिकी महाप्रबन्धक अरुणा सिग्देलले कान्तिपुरसाग भनिन्—‘हामीले कुनै नाफाघाटाभन्दा पनि हाम्रो संस्थाको सामाजिक उत्तरदायित्व अर्न्तगत यो काम गर्न लागेका हौं, राज्यलाई आइपरेको कठीनाइको घडीमा सकेको सहयोग गर्न चाहेका हौं ।’


कोरोना संक्रमणको बाध्यकारी अवस्थाका माझ एक सातायता काठमाडौंमा अन्तर्राष्ट्रिय उडान आवागमन प्रतिबन्ध भएका अवस्थामा विशेष अवस्थामा उडान भर्न नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिनुपर्ने भएकाले आफू त्यही प्रकृयाको अन्तिम चरणमा रहेको सिग्देलले बताइन् ।


प्राधिकरण स्रोतका अनुसार तत्काल मेडिकल सामग्री, स्वास्थ्य सुरक्षाका उपकरण ल्याउने हकमा सेवाप्रदायक बनेर आउने निजी क्षेत्रलाई पनि विमान चार्टड सेवामा सक्दो सहजीकरण गर्न पर्यटन र परराष्ट्र मन्त्रालय समेतको निर्देशन आएको छ । अहिले चीनबाट ल्याउन लागेको मेडिकल सामग्रीमा प्रति केजी ८ डलर कार्गो शुल्क लाग्ने जनाइएको छ । यस्तो सामग्रीका हकमा सम्भवतः भन्सार विभागले पनि तत्कालको हकमा भन्सार शुल्क छुट दिन सक्नेछ ।


एक जर्मन बहुराष्ट्रिय कम्पनी डीबी सेङ्कर नेटवर्कको कार्यकारी साझेदारसमेत रहेको फ्ल्यास फ्रेइट लजिस्टिकमा १५ वर्षयता काम गर्दै आएकी महाप्रबन्धक सिग्देलका अनुसार आफ्नो संस्थाको ‘थिङ्क ग्लोबल, एक्ट लोकल’ लक्ष्यमा निर्देशित रहेर अहिले राज्यले बेहोरेको आवश्यकतामा काम गर्न चाहेको बताइन् । ‘मेडिकल उपकरण र पीपीइसहितको स्वास्थ्य सुरक्षा सामग्रीको आवश्यकतामा देशैभरबाट अनुरोध आइरहेको छ,’उनले भनिन्—‘अनुरोधसागै आवश्यकताको सूची बढेर गयो भने अर्को चरणमा पनि बिमान चार्टड लिएर चीन जान सक्नेछौं ।’


नेपाल वायुसेवा निगमको बजार प्रबन्ध शाखाका अनुसार यसरी चार्टड सेवा उपलब्ध गराउादा प्रति घण्टा १७ हजार डलर शुल्क बुझाउनुपर्ने हुन्छ । यो हिसाबमा दोहोरो उडानमा चार्टड सेवा लिन चाहनेले काठमाडौं–ग्वान्जाओ उडानमा झण्डै २ करोड रुपैंया तिर्नुपर्ने हुन्छ ।


तर, चीनबाट आउने मेडिकल सामग्री, परीक्षण उपकरण आदि गुणस्तरीय नभएको भन्दै स्पेन, चेक गणतन्त्र जस्ता मुलुकमा चिनियाँ सामग्री बहिष्कार गरिएको हालैको घटनाक्रमबारे काठमाडौंमा परराष्ट्र र स्वास्थ्य मन्त्रालय ‘बेखबर’ झै देखिएका छन् । चीनबाट आउने यस्ता सामग्रीको गुणस्तर परीक्षण हुनुपर्ने भन्दै आवाज उठिरहेका बेला चीन सरकारले सहयोगमा दिएका कोरोना भाइरस (कोभिड–१९) परीक्षण किटको पहिलो लट आइतबार सााझसम्म काठमाडौं आइपुग्ने जानकारी सार्वजनिक भएको छ । आइतबार आउने किटले २ हजार सम्भावित कोरोना संक्रमितको परीक्षण गर्न पुग्नेछ ।


‘हामीले लजिष्टिक, कार्गो संयोजन गर्ने मात्रै हो,’ नेपाल–चाइना च्याम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीको सदस्य समेत रहेको फ्ल्यास फ्रेइट लजिष्टिककी महाप्रबन्धक सिग्देलले भनिन्,‘स्वास्थ्य सेवाको संवेदनशील विषयमा आवश्यक सामग्री खरिद गर्ने ग्राहकले यसको गुणस्तर र उपयोगिता आफैं पहिल्याउनुपर्ने हुन्छ, हामीले गुणस्तर मापन गर्न मिल्दैन ।’

प्रकाशित : चैत्र १५, २०७६ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?