चौथो संक्रमितको गुनासो, ‘अस्पतालले केयर गरेन’



काठमाडौँ — दुई महिनाको छुट्टी मनाएर करिब चार महिनाअघि मात्रै म कामका निम्ति दुबई गएको थिएँ । तर कोरोना भाइरसको संक्रमण फैलिएपछि कम्पनीले घर बिदा दियो । चैत ७ गते म फ्लाई ईमिरेटसको विमानमार्फत् भारतको दिल्ली आएँ ।

त्यहाँंबाट बिस्तारा एअरलाईन्सको कनेक्टिङ फ्लाईटमार्फत् त्यसै दिन काठमाडौं आएँ । धापासीबाट मामाको छोरा मलाई लिन मोटरसाईकलमा आएको थियो । त्यो दिन त्यहीं बसेर भोलीपल्ट चैत ८ गते दिउँसो २ बजेको बुद्ध एअरको विमानबाट नेपालगंज पुगें । त्यहाँबाट अटो चढेर कोहलपुर र त्यहाँबाट माईक्रो चढेर राति घर आएँ ।
घर आएको भोलीपल्ट हल्का ज्वरो आयो । अलि अलि कफ पनि आएको थियो । घरका मान्छेले अस्पताल जानुस् भनेपछि म ११ गते मामाकै छोराको मोटरसाईकल चढेर सेती अञ्चल अस्पताल आएँ । डाक्टरहरुले मेरो छातीको एक्सरे गरे । रगत र पिसाबको जाँच गरे । त्यतिबेला सबै नर्मल देखिएको छ भनेका थिए । मेरो नाक र घाटीबाट र्यालजस्तो पदार्थ निकालेर काठमाडौंमा जाँच गर्न पठाएका थिए ।
हिजो (शुक्रबार) पो काठमाडौंमा गरिएको परिक्षणमा मलाई कोरोना संक्रमण भयो भन्ने कुरा सुने । यो कुरा पनि परिवारका मान्छेले भनेरमात्र थाह पाएको । अस्पतालका डाक्टरले त औपचारिक रुपमा यति पनि जानकारी दिएका छैनन् ।
मलाई कसरी कोरोना लाग्यो होला भनेर छक्क परेको छु । जबकी म दुबईबाट आउंँदा नै बढो ख्याल गरेर आएको थिएँ । मैले मास्क लगाको लगाई गरेको थिएँ । उतै किनेको स्प्रे गर्न मिल्ने स्यानीटाइजर पनि हातमा दलिरहन्थें । म ३५ बर्षको भएँ । सुगर, प्रेसरजस्तो केही रोग पनि ममा थिएन ।
अस्पतालमा म एउटा कोठामा थुनिएजस्तो भएको छु । मलाई संक्रमणको पुष्टि भएपछि आज परिवारका मबाहेकका ८ जना नै जाँचका लागि अस्पताल आउनु भएको छ । हिजो अस्ति त परिवारकै मान्छेले खानेकुरा ल्याईदिन्थे । अब आजबाट कसले पो ल्याईदेला ! आज बिहान दाईले रोटी तरकारी ल्याईदिएका थिए । त्यही खाएँ । केही फलफुल पनि छ कोठामा । आज त्यसैले खाजा टार्नुपर्ला ।
अस्पतालले खासै राम्रोसँग उपचार गरिरहेजस्तो पनि देखिन्न । सुरुको दिन जाँचपछि मलाई सिटामोल दिइएको थियो । आजसम्म त्यही मात्रै हो मैले खाएको । अब एउटा सिटामोल बाँकी छ । कोठाभित्र अस्पतालको भन्नु एउटा बेड र झुलमात्रै हो । पानी पनि घरकाले नै मिनरल वाटर किनेर ल्याइदिएका छन् । घरबाटै ल्याएको बेड सेट, पानी तताउने इलेक्ट्रिक केटली छ । त्यसैमा पानी तताएर खाइराछु ।
मलाई कस्तो छ, के भइरहेको छ भनेर परीक्षण पुष्टि भएपछि कुनै डाक्टरले सोधेका छैनन् । म त अचम्ममा परेको छु । दाईले ल्याईदिएको थर्मोमिटरले आफैंले ज्वरो नापेको छु । हिजो बिहान ९६ डिग्री थियो । आज बिहान नाप्दा ९७ रैछ । घाटी दुख्ने, छाती दुख्ने केही पनि भएको छैन ।
सुतिराख्दा पनि पट्यार लाग्छ भनेर कोठामै यताउती हिँडेजस्तो गर्छु । समय कटाउन मोबाईलमा गेम खेल्छु । आफन्तीले सन्चो बिसन्चो सोधेर फोन गर्छन् । उनीहरुसँग कुरा गरेर समय कटाउँछु । बेला बेला मोबाइलमा डाटा किनेर फेसबुक पनि हेर्छु ।
बेला बेला दिक्क लाग्छ । संसारभर महामारी चलेको छ । मान्छेहरु मरेका छन् भनेको सुन्दा डर पनि लाग्छ । तैपनि घरपरिवारकाले चिन्ता नगर भनेर सम्झाउँछन् । आफैंले आफ्नो मन बुझाउन खोज्छु । मेरो कुरा तपाईहरुले लेखिदिनुहोला ।
जनकराज सापकोटासंगको कुराकानीमा आधारित
प्रकाशित : चैत्र १५, २०७६ १२:१६