१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

कतारबाट फर्केका डाक्टरको उपचार र क्‍वारेन्टाइन अनुभव

दिनेश रेग्मी

करिब १३ वर्षदेखि कतारमा कार्यरत काठमाडौं बानेश्‍वरका चिकित्सक नरेन्द्र शाक्य यतिबेला आफ्नै घरमा ‘सेल्फ क्‍वारेन्टाइन’मा छन् । कतारको अलखोरस्थित एक निजी मेडिकल सेन्टरमा कार्यरत फिजिसियन शाक्य चैत्र ४ गते कतारबाट घर फिरेका हुन् ।‘परदेशबाट आएपछि सेल्फ क्‍वारेन्टाइनमै बस्नुपर्छ । यो आफ्नो, परिवार र सबैको सुरक्षाको प्रमुख उपाय हो’ कान्तिपुरसँगको कुराकानीमा डा. शाक्यले भने, ‘म ११ दिनदेखि घरमा छुट्टै बसेको छु र अरु ३ दिन पनि यसरी नै बस्ने छु ।’

कतारबाट फर्केका डाक्टरको उपचार र क्‍वारेन्टाइन अनुभव

विश्वव्यापी फैलिएको कोरोना भाइरसको जोखिमको बेला डा. शाक्यले कान्तिपुर संवाददाता दिनेश रेग्मीसँग कतारदेखि नेपालसम्मका अनुभव यसरी सुनाए :


म नेपाल आउनुभन्दा दुई महिनाअघि नै हवाई टिकट लिएको थिएँ । मेडिकल सेन्टरमा सेड्युल मिलाएर हिँड्नुपर्छ । त्यही हुनाले टिकट पहिल्यै लिनुपर्छ । संयोग, कतारमा कोरोना भाइरस संक्रमण देखिनु र म घर आउने समय एउटै जस्तो पर्न गयो । त्यहाँ पहिलो पटक फेब्रुअरी २९ (फागुन १७ गते) मा एउटा केस देखिएको सरकारले घोषणा गर्‍यो । म नेपाल आउने दिन मार्च १७ (चैत्र ४ गते) सम्म कतारमा करिब ३ सय संक्रमित भेटिएका थिए । पहिलो केस भेटिएको एक महिना नपुग्दै शुक्रबारसम्म ५ सय ४९ केस पुगेको छ ।

कतारमा पहिलो केस देखिएपछि सरकारले सतर्कता बढाउँदै लग्यो । कतारले यो रोगविरुद्ध लड्न धेरै सावधानी अपनाएको छ । कसैलाई औषधि किन्न पर्‍यो भने पनि उनीहरुले अनलाइन अर्डर गर्छन् र फार्मेसीले घरमै पुर्‍याइदिएका छन् । प्राईभेट अस्पतालमा इमर्जेन्सीबाहेकमा बिरामी घटेका छन् । मैले आफू काम गर्ने मेडिकल सेन्टरमा पहिला दैनिक ३०–४० बिरामी जाँच्थें । पछि कम आउन थाले ।


मेडिकल सेन्टरमा जो उपचारको लागि आउँथे, उनीहरुको ढोकेमा ज्वरो नापिन्थ्यो । रुघाखोकी लागेको छ कि छैन भनेर हेरिन्थ्यो । रुघाखोकी र ज्वरोका बिरामी अलि गम्भीर देखिएमा हामी सरकारी अस्पताल रिफर गर्थ्यौ । त्यो बाहेकका बिरामीलाई मेडिकल सेन्टरमा जाँच्थ्यौं । सतर्कताको लागि मास्क र पन्जा लगाएर बिरामीसँग पनि दूरी बनाएर जाँच्थ्यौं । बीपी, तापक्रम, स्टेथेस्कोप प्रयोग र ल्याव टेष्टको बेलाबाहेक उनीहरुसँग दूरी नै हुन्थ्यो ।


कतारमा संक्रमण देखिएको १७ दिनपछि म नेपाल आएँ । म आउँदा कतार एयरमा अधिकांश सीटमा मान्छे छरिएका थिए । यात्रुहरु २० प्रतिशत जति होलान् । ट्रान्जिटबाट आउने टुरिस्टले क्यान्सिल गरेर पनि मान्छे पातलो भएका होलान् । तैपनि, मलाई कोरोना भाइरस संक्रमणको सबैभन्दा बढी डर प्लेनभित्र भयो । त्यति डर त मलाई बिरामी जाँच्दा पनि लागेको थिएन । वाथरुमको चुकुल खोल्न, लगाउन, फ्लस गर्न, पछि ढोका बन्द गर्न सर्ने डर हुन्थ्यो । कति ठाउँबाट आएका प्यासेन्जर हुन्छन्, के के भएको छ भन्नै नसकिने । प्लेनभित्र स्पेस पनि साँघुरो हुने । कसैले हाछ्युँ वा खोक्यो भने के गर्ने ? तैपनि घरीघरी प्लेनमै दिइएको ह्याण्ड स्यानीटाइजर टिस्युले हात पुछ्थें । ४ घण्टाको त्यो उडान मलाई एकदम डर भयो ।

मार्च १७ (चैत्र ४ गते) राति १ बजे नेपाल उत्रिएपछि बल्ल ढुक्क भएँ । बाहिर खुला ठाउँ देख्दा नि सुरक्षित महसुस भयो । एयरपोर्टमा ज्वरो नाप्यो । सामान्य रहेछ । एयरपोर्टमा यस्तो व्यवस्था भएको पाउँदा सुखी लाग्यो । अनि, एयरपोर्टबाट घर आएँ र घरमा छुट्टै बसेको छु । घर आएपछि थाह पाएँ, म आएको प्लेनपछि कतार एयरवेजको अर्को प्लेनमा फ्रान्सबाट आएकी एक जना विद्यार्थीलाई कोरोना संक्रमण भएको रहेछ । अब, प्लेनमा अरु कतिलाई समस्या भयो होला भन्ने लाग्यो ।


मैले घरमा परिवारसँग सतर्क भएर डिस्ट्यान्स मेन्टेन गरेको छु । किनकि रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बेस हुन्छ । बिरामी नभए पनि सबैको रक्षाको लागि परदेशबाट आएपछि सेल्फ क्‍वारेन्टाइनमा बस्नुपर्छ । सेल्फ क्‍वारेन्टाइनमा होस् वा लकडाउनको बेला घर, कोठामा बस्दा होस् ‘बोर’लाग्न सक्छ । तर मलाई बोर भएको छैन । आफैंले आफूलाई ब्यस्त बनाउन सकियो भने बोर हुँदैन । यतिबेला कतिखेर मैले ल्यापटप, मोबाइल चलाउँछु । टीभी, अनलाइन हेर्छु । किताब पढ्छु । कुराकानी गर्छु । छततिर जान्छु । कतिखेर सुत्छु पनि । आफैंलाई विभिन्न काममा व्यस्त बनाएको छु । समय र कामको व्यवस्थापन गर्न नसके बोर हुन्छ । ब्यस्त हुँदा बोर भएको छैन । यतिबेला हामीले सिक्नुपर्ने के हो भने आफूलाई कसरी व्यस्त बनाउने ।


घर आएपछि एक पटक बाहिर निस्कें, त्यो पनि औषधि किन्न । बाटो पनि छली-छली एक्लो भएर हिँडे । कसैसँग छोइन्छ कि भनेर दूरी राखेर हिँड्थे । औषधि पनि अलि टाढैबाट लिएँ र घर फर्किएँ । अस्पतालमा जस्तो त गर्न नसकिएला तर आफूले भ्याएसम्म सतर्क हुनैपर्छ । मुख्यकुरा एक अर्को मान्छेबीच दूरी कायम गर्नेपर्छ, चाँहे हिँड्दा होस् वा कुरा गर्दा वा सामान किन्दा । जुनसुकै भाइरस हुन्, तीनबाट सतर्क हुने उपाय भनेको व्यक्ति ब्यक्तिबीच दूरी कायम गर्नु नै हो ।

हामी के ठानेका छौं भने माक्स लगाएपछि त्यसले रोक्छ । होइन, त्यो भन्दा धेरै खतरा हातबाट छ । मास्क जो मान्छेले खोक्छ, हाछ्यु गर्छ उनलाई माक्स आवश्यक हुन्छ । बिरामीको नजिक जानेहरुलाई माक्स चाहिन्छ । मास्कले नाक, मुखमात्र छोप्छ, हात त जता पनि जान्छ नि ! हाछ्यु गर्दा र खोक्दा कुहिना वा टिस्युले छेक्नुपर्छ । बारम्बार हात धुने, हात नाक, मुख, आँखामा नलैजाने र बाहिरबाट ल्याउँदा पनि सतर्कता अपनाउनै पर्छ । सामान किन्दा पनि दूरी बनाएरै किन्नुपर्छ । अब खाना, खाजा, चिया खाने ठाउँमा पनि चेक गर्नुपर्छ–हात धुने ठाउँ छ कि छैन भनेर । बाटो–बाटोमा पनि हात धुने स्टेसनको व्यवस्था गर्नुपर्छ । हातको सरसफाई गर्न सक्यौं भने हामी यस्ता संक्रमणबाट जोगिन मद्दत पुग्छ ।


अब, हामीमा एउटा के भ्रम छ भने गर्मीको बेला कोरोनो भाइरसको संक्रमण हुँदैन । त्यो भन्ने आधार पनि भेटिएको छैन । जस्तै, कतार र सिंगापुरमा यतिबेला गर्मी छ, तै पनि त्यहाँ संक्रमित भेटिएका छन् । यो संक्रमण जाडोमा पनि देखिएको छ र गर्मीमा पनि देखिएको छ । त्यसैले, यसबाट जोगिने उत्तम उपाय भनेको सतर्क भएर घरमै बस्नु, सरसफाईमा ध्यान दिनु र एकअर्को बीच दूरी कायम गर्नु हो । विशेषगरी, विदेशबाट आएका सबैलाई म हाउस क्‍वारेन्टाइन वा सेल्फ क्‍वारेन्टाइनमै बस्न सल्लाह दिन्छु ।


साधारण रुघाखोकी र ज्वरो आउँदैमा डराउन पर्दैन । ज्वरो धेरै आयो र स्वास फेर्न गाह्रो भयो भने चिकित्सकसँग सम्पर्क गर्नुपर्छ । नेपाल सरकारले कोरोना संक्रमण रोकथामको लागि गरेका प्रयासहरु देख्दा मलाई सुखी लागेको छ । यसलाई सबैले पालना गर्नुपर्छ । यो भाइरस रोकथामको उपाय र खोप पत्ता नलागुन्जेल हामीले हेलचेक्रयाइँ गर्नुहुँदैन । सबै मिलेर नै यो रोगकाविरुद्ध लड्नुपर्छ ।

प्रकाशित : चैत्र १४, २०७६ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?