संक्रमित तेस्रो व्यक्ति चढेको विमानका यात्री खोज्‍न सास्ती

संक्रमित यात्रु सवार विमानका यात्रीको खोजी गर्न प्रहरीलाई गाह्रो परेको छ, जसको मुख्य कारण अधिकांश वैदेशिक रोजगारीबाट फर्केका कामदार हुनु हो
जनकराज सापकोटा

काठमाडौँ — यूएईबाट चैत ६ गते नेपाल आएका एक व्यक्तिमा कोभिड–१९ को संक्रमण पुष्टि भए पनि उनीसँगै यात्रा गरेका अन्य १ सय ६९ यात्रुको पहिचान भइसकेको छैन । कमजोर अन्तरसरकारी समन्वयका कारण संक्रमण पुष्टि भईवरी पत्रकार सम्मेलन गरेको करिब २४ घण्टापछि मात्रै प्रहरी प्रधान कार्यालयले संक्रमित यात्रु सवार विमानका यात्रुको विवरण बिहीबार अबेर पाएको हो । उक्त विमानमा आएका व्यक्तिको पहिचान नहुँदा संक्रमण फैलिने जोखिम छ ।

संक्रमित तेस्रो व्यक्ति चढेको विमानका यात्री खोज्‍न सास्ती

संक्रमण पुष्टि भएकी फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी युवती सवार विमानका सबै यात्रुको खोजखबर पत्ता लागिनसक्दै प्रहरीले अर्को विमानका यात्रुको विवरण केलाउन थालेको छ । प्रहरी प्रधान कार्यालयमा रहेर यस काममा खटिएको टोलीका एक सदस्यले भने, ‘केही बेरअघि मात्रै यात्रुको राहदानी नम्बरसहितको विवरण पायौं । अहिले तिनीहरूको पहिचान धमाधम सुरु गरेका छौं ।’ यूएईबाट आएका यात्रु कति जिल्लाका छन् भनेर तथ्यांक प्रशोधन भइनसकेको उनले बताए ।

संक्रमणको जानकारी १४ घण्टा ‘लुकाइयो’

संक्रमित यात्रु सवार विमानका यात्रीको खोजी गर्न प्रहरीलाई गाह्रो परेको छ । जसको मुख्य कारण अधिकांश वैदेशिक रोजगारीबाट फर्केका कामदार हुनु हो । उनीहरूले नयाँ मोबाइल नम्बर लिएको हुने र कतिपय राहदानी लिएको जिल्लाबाट अन्यत्र बसाइँ सरिसकेको देखिएको प्रधान कार्यालयको भनाइ छ । ‘व्यक्तिको तथ्यांक राख्ने कमजोर परिपाटीका कारण पनि अहिले सास्ती भइरहेको छ,’ स्रोतले भन्यो ।


संक्रमित पुष्टि भएको तेस्रो व्यक्ति यूएईबाट काठमाडौं आएको दिन सुन्धाराको एक लजमा साथीहरूसँग बसेको देखिन्छ । तर बिहीबारसम्म पनि प्रहरी परिसर काठमाडौंले ती यात्रु सुन्धाराको कुन लजमा बसे, उनीसँग को–को बसेका थिए र कसकसको सम्पर्कमा थिए भनेर पत्तो पाइसकेको छैन । परिसर काठमाडौंका एक प्रहरी अधिकारीका अनुसार संक्रमित तेस्रो व्यक्तिबारेको कुनै सूचना आधिकारिक रूपमा कार्यालयमा आएको छैन ।


‘कतारबाट आएको उक्त विमानका काठमाडौं बस्ने यात्रुकै पहिचान सकिएको छैन,’ एक अधिकारीले भने ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले कतारबाट आएको विमानका यात्रुमध्ये आठ जना काठमाडौंमा रहेको सूचना पाइएको बताए । उनले भने, ‘तीमध्ये पाँच जनाको घरमै प्रहरी पुगेर उनीहरूलाई आइसोलेसनमा राखिसकिएको छ । अन्य तीनको खोजी जारी छ ।’


भद्रगोल तयारी

गत ९ गते बिहान ७ बजेर ४० मिनेटमा दुबईबाट भारतको दिल्ली हुँदै एयर इन्डिया विमानमार्फत यात्रुहरू काठमाडौं आएका थिए । वैदेशिक रोजगारीबाट फर्केका उनीहरूलाई क्वारेन्टाइनमा राख्ने कि के गर्ने भन्नेबारे सरकारको आधिकारिक निर्णय समयमै नआउँदा उनीहरू अन्य बेलाझैं विमानस्थलबाट बाहिरिए ।


यात्रु बाहिरिएको केही घन्टापछि मात्रै गृह मन्त्रालयबाट विमानस्थल प्रहरीलाई निर्देशन गयो— ती सबै यात्रु कहाँ छन्, खोजेर ल्याउने र क्वारेन्टाइनमा राख्ने । निर्देशनलगत्तै प्रहरीले खोजी सुरु गर्‍यो । विमानस्थल प्रहरी प्रमुख एसएसपी रामकृपाल शाहका अनुसार निर्देशन आएको ४/५ घण्टाभित्रै १६ यात्रुलाई खोजेर ल्याइएको थियो । उनीहरूलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ ।


उक्त विमानमा आएका अन्य यात्री भने आआफ्नो घर पुगिसकेकाले प्रहरीले सम्पर्कमा ल्याउन सकेन । एसएसपी शाहका अनुसार घर गएकालाई पनि स्थानीय प्रहरीमा समन्वय गरेर घरघरमै क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको छ ।


सम्बन्धित समाचार

थप एकमा देखियो कोरोना संक्रमण

प्रकाशित : चैत्र १४, २०७६ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?