प्रधानमन्त्री ओलीको मुटुको चाल केही छिटो भएपछि राति नै अस्पताल भर्ना

स्वरूप आचार्य

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार राति मुटुमा केही समस्या भएपछि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ।

प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यसिंह शाहका अनुसार प्रधानमन्त्री ओलीको मुटुकाे चाल केही बढेको देखिएपछि उनलाई राति नै अस्पताल लगिएको थियो। डा. शाहको अनुसार हाल प्रधानमन्त्रीलाई अब्जर्भेसनमा राखिएको छ र उनको स्वास्थ्य अवस्था सामान्य छ।

'उहाँको स्वास्थ्य अहिले ठीक छ। राति हार्ट रेट बढेको देखेर हामीले अस्पताल ल्याएका थियौं। उहाँको यो पुरानै समस्या हो। कोरोनाको प्रकोप भएको बेलामा जोखिम नहोस् भनेर मात्रै अस्पताल ल्याइएको हो,' उनले भनिन्, 'अहिले केही बेर डिस्चार्ज गर्छौं र बालुवाटार लान्छौं।'

प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा नै फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनी प्रत्यारोपण पछि फागुन ३० मा अस्पतालबाट डिस्चार्ज भएका थिए।


प्रकाशित : चैत्र १४, २०७६ ०८:२३

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

ध्यान दिनैपर्ने तीन विषय

सम्पादकीय

मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन नागरिकहरूले दुःखसुख घरमै बसेर सरकारको प्रयत्नलाई सघाइरहँदा सरकारी निकायहरुको तयारी भने पर्याप्त र भरपर्दो देखिएको छैन । अहिलेको असामान्य अवस्थामा जसरी युद्धस्तरमा तयारी र रोकथामका कार्यहरु हुनुपर्ने हो, त्यो भइरहेको छैन ।

घोषणा नगरिए पनि अढाई करोडभन्दा बढी नागरिक बन्दीजस्तै भएर बस्नुपरेको यो समय आफैंमा आपत्काल हो, यस्तो बेला सरकारको गति पनि त्यहीअनुरूप तीव्र हुनुपर्छ । ‘लकडाउन’ संक्रमण फैलिन नदिने एउटा उपाय हो, तर सम्पूर्ण समाधान होइन । त्यसैले, मुलुकको अवस्था थप जटिल बन्न नदिन सरकारले आफ्ना संयन्त्रहरुलाई प्रभावकारी ढंगले युद्धस्तरमा परिचालन गर्नुको विकल्प छैन ।

सरकारी निकायबीच उचित समन्वय नभएको मात्र होइन, सूचनाप्रणालीसमेत प्रभावकारी नरहेको दृष्टान्त बुधबारका दुई घटनाले देखाएका छन् । पहिलो, सञ्चार माध्यमहरूमा मुलुकभित्र तेस्रो व्यक्तिमा पनिकोभिड–१९ संक्रमणको पुष्टि भएको खबर दिउँसो फैलिसक्दा पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा कार्यरत चिकित्सक र निर्देशकलाई त्यसबारे पत्तो थिएन । जबकि, ती बिरामी त्यहीँ उपचार गराइरहेका थिए/छन् । दोस्रो, ती संक्रमित व्यक्ति कतार एयरवेजबाट आएको अफवाह निकै बेर फैलिरह्यो । अपराह्नको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पनि त्यही गलत जानकारी दिएपछि उक्त उडानबाट आएका सबै त्रस्त भए । पछि मन्त्रालयले त्यसलाई सच्याउँदै भन्यो— ती व्यक्ति संयुक्त अरब इमिरेट्सबाट आएका हुन् ।

यसबाट थाहा हुन्छ— विभिन्न सरकारी निकाय मात्र होइन, स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभागहरुबीच पनि राम्रो समन्वय छैन । संक्रमित बिरामीको उपचार गरिरहेकै अस्पताललाई पनि बेलैमा सूचना नदिनुले हाम्रो प्रणालीमा रहेको त्रुटि औंल्याउँछ । यसबारे चिकित्सकहरूले संक्रमित व्यक्तिबारे मन्त्रालयले १४ घण्टाभन्दा बढी सूचना लुकाएको भन्दै आपत्ति जनाएकाछन् । बिरामीको उपचारमा संलग्न चिकित्सकलाई संक्रमणको स्थिति लुकाउँदा त्यसले निम्त्याउन सक्ने जोखिमको आकलन सम्बन्धितअधिकारीहरूले नगर्नु उदेकलाग्दो छ । नेतृत्वको कौशल चाहिने नै यस्तै बेला हो । यति विषम परिस्थितिसित जुध्न समयमा सही सूचनाको महत्त्वपूर्ण भूमिका हुन्छ । चाहे नागरिक स्तरमा होस् या नीतिनिर्माण र कार्यान्वयन तहमा, समयमै प्राप्त सही सूचनाका भरमा मात्र उचित निर्णय लिनसकिन्छ । त्यसैले, अफवाह फैलन नदिन र सबैलाई उचित निर्णय लिनसक्ने बनाउन सरकारले सूचना प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउनैपर्छ ।

दोस्रो, विश्व स्वास्थ्य संगठनको आग्रह र हाम्रो आफ्नै वस्तुगत आवश्यकताका बावजुद सरकारले कोरोना परीक्षण र निगरानीको दायरा बढाएको छैन । पछिल्ला दिनमा जुन रूपमा संक्रमित देशहरूबाट नागरिक भित्रिए, त्यही अनुसार संक्रमण नफैलियोस् भनेर परीक्षणको मात्रा बढाउनैपर्छ । तर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पछिल्ला दुई दिनमा ७७ वटा मात्रै नमुना परीक्षण गरेको छ । प्रयोगशालाको परीक्षण क्षमताअनुसार दिनकै सयौं शंकास्पदको परीक्षण गर्नुपर्छ । जति धेरै परीक्षण गर्‍यो, त्यति धेरै संक्रमितहरू पत्ता लाग्न सक्छन् । र, जति धेरै संक्रमित पत्ता लगायो, प्रकोप फैलिन नदिन त्यति प्रभावकारी रणनीति बनाउन सकिन्छ । त्यसैले प्रयोगशालाको पूर्वाधार र जनशक्ति बढाएर, यसलाई प्रदेशहरूमा विस्तार गरेर, आवश्यक किटहरू किनेर र परीक्षणका लागि जिल्लाबाट संकलित नमुना हेलिकप्टरमा ओसार्ने व्यवस्था गरेर भए पनि सरकारले सक्दो बढी व्यक्तिको परीक्षण गर्ने व्यवस्था मिलाउनैपर्छ ।

संक्रमित देखिएका व्यक्तिहरूको परिवार र उनीहरूको सम्पर्कमा आएकाहरू पत्ता लगाएर निगरानीमा राख्ने तथा परीक्षण गर्ने काम भएकै छैन । लक्षण नदेखिए पनि संक्रमण भएको हुनसक्ने भएकाले उनीहरूको परीक्षण जरुरी भएको तथ्य सरकारले बुझ्नुपर्छ । पछिल्लो समय कोरोना प्रभावित मुलुकबाट स्वदेश आएका नागरिकको अभिलेख पनि राम्ररी राखिएको छैन । उनीहरुलाई घरमै क्वारेन्टाइनमा बस्न भनिए पनि त्यसको अनुगमन गरिएको छैन । अलग्गै बस्न नमान्नेलाई विधिको प्रयोग गर्दै जसरी हुन्छ क्वारेन्टाइनमा राख्ने दायित्व सरकारको हो । यसबाट उत्पन्न हुनसक्ने परिस्थिति सम्बन्धित व्यक्तिका लागि मात्र होइन, उक्त समुदाय र मुलुककै लागि घातक हुने भएकाले यस्ता विषयमा सरकारले कामचलाउ शैली अपनाउनु हुँदैन । यस्ता कामकारबाहीलाई व्यवस्थित गर्न उचित संयन्त्र बनाएर परिचालन गर्नैपर्छ ।

तेस्रो, अहिलेको अवस्थामा अग्रपंक्तिमा रहेर संक्रमणसित जुध्ने तथाबिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीको सुरक्षा एकदमै महत्त्वपूर्ण विषय हो । तर उनीहरूका लागि अनिवार्य चाहिने व्यक्तिगत सुरक्षा साधनहरूको अभाव छ भनिएको थुप्रै दिन बितिसक्दा पनि यसको आपूर्ति गरिएको छैन । यस्तो संवेदनशील विषयमा यो या त्यो बहाना देखाएर आलटाल गर्ने छुट सरकारलाई छैन । कुनै मित्रराष्ट्रसित अनुदानका लागि आग्रह गरेर हुन्छ कि किनेर, अविलम्ब यस्ता सामग्रीहरुको व्यवस्था गर्नुपर्छ । भोलि आवश्यकसुरक्षा नअपनाई बिरामीको उपचार गर्दा स्वास्थ्यकर्मीहरू आफैं संक्रमित हुँदै गए भने परिस्थिति झन् जटिल बन्न सक्छ, यसबारे सरकार समय छँदैसंवेदनशील बन्नुपर्छ । नागरिकले अभूतपूर्व साथ दिएको यस बेला सरकार पनि उत्तिकै सक्रिय भएन पनि भोलि ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्छ । यसबारे नेतृत्वपंक्ति बेलैमा सचेत हुन आवश्यक छ ।

प्रकाशित : चैत्र १४, २०७६ ०८:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×