२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

विशेष प्रकाशकीय

प्रकाशकीय

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीले हामीलाई पनि छोइसकेको छ । नेपालमा अहिलेसम्म अन्यत्रझैं व्यापक संक्रमण देखा नपरे पनि यसले कुनै पनि बेला ठूलै प्रकोपको रूप लिन सक्ने जोखिमबारे तपाईं–हामी जानकारै छौं । यो अवस्थामा जनउत्तरदायी पत्रकारिता गर्दै आएको कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले जनताकै हितलाई केन्द्रमा राख्दै लिएका केही महत्त्वपूर्ण निर्णयहरू पाठकसमक्ष राख्न चाहन्छ ।

विशेष प्रकाशकीय

प्रथमतः, कोरोना भाइरस सिर्जित हालको संकटपूर्ण घडीमा हाम्रा निम्ति आफ्ना पाठक, सहकर्मी कर्मचारी र आम नागरिकको स्वास्थ्य प्राथमिकताको मुख्य विषय हो । अहिलेको असामान्य अवस्थामा हाम्रा वितरक–वाहक र बिक्रेताहरूले ठूलो जोखिम मोलेर सबेरै घर–पसलमा पत्रिका पुर्‍याउँदै आएका छन् । प्रेसका प्राविधिक सहकर्मीले रातभरि खटेर पत्रिका छाप्ने काम गर्दै छन् । हाम्रा संवाददाता र फोटो पत्रकारहरू ज्यान जोखिममा हालेर फिल्डमा खटिने गरेका छन् ।


हामी हरेक बिहान सकेसम्म चाँडै सबैका ढोका–ढोकामा पत्रिका पुर्‍याउन चाहन्छौं, तर यसरी पत्रिका बाँड्दै हिँड्ने वितरक–वाहकहरूको स्वास्थ्य र सुरक्षा अहिले हाम्रा निम्ति सरोकारको गम्भीर विषय बनेको छ । हामीले उनीहरूमा भाइरसको संक्रमण नहोस् भनेर मास्क, पञ्जा र स्यानिटाइजरको व्यवस्था गरेका छौं । अन्य सुरक्षा सावधानी पनि अपनाएका छौं । तापनि सहरका अनेक टोल र ठाउँहरू हिँड्दै गर्नुपर्ने काम भएकाले कुनै पनि बखत संक्रमित हुन सक्ने र त्यसबाट रोग फैलन सक्ने खतरालाई हामी बेवास्ता गर्न सक्दैनौं । सबै तहका सहकर्मीको जीवनरक्षा हाम्रो पहिलो दायित्व हो ।


दोस्रो, हामीले पाठकहरूलाई सही समाचार–विचार दिन सकियोस् भनेर यो कर्तव्य निर्वाह गर्दै आएका हौं । तर थुप्रै पाठक एवम् शुभेच्छुकहरूले नै पत्रिका छापिने खबरकागजमार्फत पनि भाइरस सर्न सक्ने जोखिमतर्फ हामीलाई सजग तुल्याउनुभएको छ । अहिलेसम्म पत्रपत्रिकामार्फत कोरोना भाइरस विस्तार भएको प्रमाणित घटना हामीले फेलापारेका छैनौं । तर यस्तो जोखिम छँदै छैन भनेर ठोकुवा गर्न सक्ने अवस्थामा पनि छैनौं । पाठकहरूको स्वास्थ्य र सुरक्षा सुनिश्चितता हाम्रो सरोकारको अर्को प्रमुख विषय हो ।


तेस्रो, राज्यले अहिले कोरोना संक्रमण फैलन नदिन देशव्यापी ‘लकडाउन’को घोषणा गर्दै औषधि र खाद्यान्नबाहेक ओसारपसार र आवागमन बन्द गरेको छ । मुलुकभित्र कुनै पनि माध्यम वा वस्तुबाट भाइरस प्रवाह हुन नपाओस् भन्ने सरकारको आह्वान र प्रयत्नलाई जनताका घरघरमा अखबार पुर्‍याइरहेका हामीले पनि जिम्मेवारपूर्ण भई मनन गर्नुपर्ने असामान्य अवस्था आएको छ ।


आफ्ना सहकर्मीको संवेदनशील अवस्था, आम नागरिकको मनोभावना र राज्यको आह्वान– यी तीनवटै कुरालाई दृष्टिगत गर्दै हामी एउटा कठोर तर अत्यावश्यक निर्णयमा पुगेका छौं । जसअनुरूप कान्तिपुर, दी काठमान्डु पोस्ट, साप्ताहिक, नेपाल र नारी पत्रिकाको मुद्रण तथा वितरण शुक्रबारपछि केही दिनका निम्ति स्थगन हुनेछन् । त्यसपश्चात् हामी दैनिक रूपमा परिस्थितिको आकलन गर्नेछौं र हालको स्थितिमा अलिकति सुधार आउनासाथ हाम्रा पत्रिकाहरू पूर्ववत् प्रकाशित गरिनेछन् । नियमित ग्राहकहरूले हाल बन्द गरिएको अवधिको पत्रिकाका अतिरिक्त अंक पाउने व्यवस्था मिलाइनेछ ।


पाठकहरूलाई थाहै छ, यसअघि कुनै पनि किसिमका प्रतिकूलताले हामीलाई रोकेन/छेकेन । खासमा पत्रकारिता प्रतिकूलताका बेला पन्छिने पेसा पनि होइन । हामीले एकपछि अर्को अप्ठ्याराका बीचमै सार्थक पत्रकारिता गर्दै आयौं, चाहे त्यो सशस्त्र द्वन्द्व होस् वा शाही अधिनायकत्व अथवा विभिन्न खाले दमन वा अवरोध खडा गरिएको बेला होस्, कान्तिपुर सदैव सत्तीसालझैं ठिङ्ग उभिरह्यो । हामीलाई त्यो ऊर्जा हाम्रा पाठकहरूकै साथबाट प्राप्त भएको थियो । अहिले आम पाठककै आग्रह र सुझावमा हामी विगतभन्दा फरक निर्णय लिन बाध्य भएका हौं । कर्फ्यु वा अन्य निषेधाज्ञाका बेला जुनसुकै अप्ठ्यारा तोडेर पनि हामी आफ्ना पत्रिका पाठकका हात–हातमा पुर्‍याउँथ्यौं । अहिलेको महामारीको प्रकृति नै यस्तो छ, हात–हातबीच नै दूरी राख्नुपर्ने भएको छ । कुनै पनि बाहिरी वस्तुसँग जति धेरै ‘भौतिक दूरी’ राख्न सक्यो, सम्भावित खतराबाट जोगिन उति सहज हुने अवस्था छ । त्यसैले अहिले पत्रिका र पाठकबीच अस्थायी रूपले दूरी कायम राख्नुपर्ने बाध्यता आइपरेको हो ।


जहाँसम्म प्रतिकूल परिस्थितिमा पनि प्रभावकारी पत्रकारिता गरिरहनुपर्ने जिम्मेवारी हो, त्यसमा हामी पूर्ण रूपमा प्रतिबद्ध नै छौं । अहिले केही समय हाम्रा प्रिन्ट माध्यममात्र स्थगित भएका हुन्, हामीसँग सशक्त डिजिटल माध्यमहरू छँदै छन् । ईकान्तिपुर डट कम, काठमान्डुपोस्ट डट कमलगायत केएमजीका डिजिटल प्लाटफर्ममार्फत हामी छिनछिनमा समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता, फोटो, भिडियो आदि लिएर आइरहने छौं । केएमजीका अन्य दुई महत्त्वपूर्ण अंगहरू– कान्तिपुर टेलिभिजन र रेडियो कान्तिपुर सदाझैं दर्शक एवम् स्रोताको सेवामा प्रस्तुत भइरहने छन् ।


पाठक र कान्तिपुरबीच झन्डै तीन दशकदेखिको सम्बन्ध यति मजबुत र गाढा छ कि यसलाई कुनै पनि क्षणिक भाइरसले तोड्न सक्ने छैन । अहिलेको बाध्यात्मक निर्णयबाट तपाईंहरूलाई पुग्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं ।


यो अभूतपूर्व संकटलाई घरमै बसेर, बाहिरी वस्तु एवम् व्यक्तिहरूसँग टाढै रहेर मात्र जित्न सम्भव छ । आशा छ, हाम्रा सम्पूर्ण पाठकले अहिलेको यो विश्वव्यापी विपत्तिलाई पार लगाउन आ–आफ्नो ठाउँबाट भूमिका खेल्नु हुनेछ ।


प्रकाशित : चैत्र १४, २०७६ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?