लकडाउनपछि १ सय ३७ पर्यटकको उद्धार

काठमाडौँ — देशभर लागू भएको लकडाउनको तेस्रो दिन बिहीबार विभिन्न पर्यटकीय क्षेत्रमा अलपत्र परेका १ सय ३७ पर्यटकको उद्धार गरिएको छ ।

पर्यटन बोर्डका सीइओ धनञ्जय रेग्मीका अनुसार बुधबारयता देशभरबाट १ सय ३७ जना विदेशीलाई उद्धार गरिएको हो ।
यीमध्ये मुस्ताङको जोमसोम बजारबाट ४६ जना पर्यटकसहित नेपालीलाई बिहीबार बिहान काठमाडौं ल्याइएको छ । उनीहरु ठमेलस्थित विभिन्न होटलमा आफैं आइसोलेसनमा बसेका छन् ।
त्यस्तै बोर्डले काठमाडौंस्थित फ्रान्सेली दुताबाससँगको सहकार्यमा लुक्लाबाट बिहीबार ६ जना फ्रेन्चसहित अन्य युरोपियन मुलुकका १४ जनालाई तारा एयरको विमानबाट काठमाडौं ल्याउन सघाएको छ ।
उनीहरु नयाँ बानेश्वरस्थित होटल एभरेष्ट र केही ठमेलका पर्यटकीय होटलमा आइसोलेसनमा बसिरहेका छन् । त्यस्तै बिहीबारै पोखराबाट ५८ फ्रेन्च काठमाडौंमा र चार जना फ्रेन्चलाई काँडेबाट पोखरामा ल्याइएको छ ।
ती चारजनालाई शुक्रबार काठमाडौं ल्याइने छ । त्यस्तै १० जना विदेशीलाई गोरखाको माछीखोला र आरुघाटबाट उद्धार गरिएको छ । गोरखा प्रशासनको सहयोगमा ३ अष्ट्रेलियन र २ स्पेनिस नागरिकलाई गोरखाबाट काठमाडौं ल्याइएको छ ।
बोर्डले गोरखाको जगत र माछीखोलामा २५ जना र लुक्लामा १ सय ५० जना पर्यटक त्यही रहेको जनाएको छ । लुक्लामा रहेका १ सय ५० जनालाई खुम्बु पासाङल्माहु गाउपालिकाले निशुल्क खानबस्न प्रबन्ध गरेको सीइओ उपाध्यायले बताए । उनले देशभर रहेका सबै पर्यटकलाई उद्धार गरेर स्वदेश फर्काउन सघाउने बताए ।
प्रकाशित : चैत्र १३, २०७६ २१:५८