फिवर क्लिनिक सञ्‍चालन लागि सरकारले प्रति अस्पताल १० लाख दिने

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले मुलुकभरका लागि हब अस्पतालका लागि छुट्टै फिवर क्लिनिक सञ्चालन गर्न प्रति अस्पताल १० लाख रुपैया उपलब्ध गराएको छ ।

ज्वरो आउने, रुघा लाग्ने जस्ता लक्षण देखिएर कोरोनाका शंकामा जाँचका लागि आएका विरामीलाई राख्नका लागि छुट्टै फिवर क्लिनिक सञ्चालन गर्नुपर्ने बाध्यकारी व्यवस्था गर्दे सरकारले त्यसका लागि प्रति अस्पताल १० लाख रुपैयाँ दिएको हो ।


बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव यादव कोइरालाले हब अस्पताललाई छुट्टै फिवर क्लिनिक सञ्चालन गर्नुपर्ने व्यवस्था गर्दै ती अस्पताललाई १० लाख उपलब्ध गराइएको जानकारी दिए । साथै त्यस्ता विरामीको जाँचका लागि सरकारले आफ्नै ढंगको पीपीईको मापदण्ड बनाएको र सोही मापदण्ड अपनाउन भनिएको पनि उनले स्पष्ट पारे ।


उनले भने,'साधारण रुघाखोकी लागेको बिरामीको जाँच गर्नका लागि भनेर पिपीई गाइडलाईन बनाएका छौं र पीपीई गाइडलाईन अनुसार उपचारमा संलग्‍न हुन भनिएको छ ।'


त्यसैगरी सरकारले सबै पालिकालाई विदेशबाट आएका व्यक्तिलाई आफ्नो क्षेत्रमा क्वारेन्टाइनमा राख्‍न निर्देशन दिएको छ । साथै क्‍वारेन्टाइनमा बसेका व्यक्तिमा कोरोना भाइरस संक्रमणको लक्षण देखिएमा तत्काल आईसोलेसनमा राख्‍ने तथा आईसोलेसनमा राखिएकाहरुको स्वास्थ्य गम्भीर बन्न थाल्यो भने स्वाव परीक्षण गर्न पठाउन निर्देशन गरेको छ ।


सचिव यादवले क्वारेन्टाईन र आइसोलेसनमा राख्ने तथा त्यसको सम्पुर्ण रिपोर्ट केन्द्र सरकारलाई गराउने सम्बन्धमा स्पष्ट निर्देशिका बनाएर प्रदेश र स्थानीय सरकारलाई पठाइएको बताए । स्थानीय जनप्रतिनिधिलाई दैनिक क्वारेन्टाइनको अनुगमन गरि संक्रमितको, विदेशबाट आएका र आइसोलेसनमा रहेकाको अवस्थाको जानकारी दैनिक रुपमा गृहमन्त्रालयमा भनिएको उनले स्पष्ट पारे ।


उनले भने,'यदि त्यस्तो किसिमको सिमटम देखिदा स्वासप्रश्वासमा असजिलो भएको छ र सिमटमबाट माथिल्लो स्टेजमा पुगेको छ भने तुरुन्तै स्वाब परीक्षणका लागि केन्द्र वा नजिकको परीक्षण केन्द्रमा पठाउन अनुरोध गरेका छौ । '


विदेशबाट आउँदैमा डराइहाल्नुपर्ने अवस्था नभएको भन्दै उनले सेल्फ क्वारेन्टाइनमा बस्न र कोरोना भाइरसको संक्रमण देखिए तत्काल तोकिएको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न आग्रह गरे । उनले अहिले सम्म शंका लागेका ७ सय भन्दा बढी नमुनाको परीक्षण गरिएको र ती मध्ये ३ जनामा मात्रै देखिएको जानकारी दिए ।

प्रकाशित : चैत्र १३, २०७६ २१:००
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना संक्रमण फैलिन नदिन कमान्ड ग्रुप

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरमा कोभिड–१९को संक्रमण फैलिन नदिन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा विपद् व्यावस्थापन कमान्ड ग्रुप तयार गरिएको छ । बिहीबार बसेको सरोकारवालाको बैठकले कमान्ड ग्रुप निर्माण गर्ने निर्णय गरेको हो । 

बैठकले आवश्यक सतर्कता अपनाउन र संक्रमितको उद्धारकार्यलाई तिव्रता दिन प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीको नेतृत्वमा जिल्ला समन्वय समिति, जिल्लाका ८ वटै स्थानीय तह, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान, जनस्वास्थ्य कार्यालय र नेपाल रेडक्रस सोसाइटी सदस्य रहेको कमान्ड ग्रुप तयार गरिएको छ ।

विपद् व्यावस्थापन कमान्ड ग्रुपले संक्रमण फैलिन नदिन स्थानीय वडा तहदेखि जिल्ला तहसम्म रणनीति तयार गरेको प्रमुख जिल्ला अधिकारी पहाडीले बताए । उनले आवश्यक परेमा सबै स्थानीय तहमा क्वारेन्टाइन स्थापना गरी सञ्चालनमा ल्याउने, विदेशबाट फर्केर आएकाहरुको खोजी गरी संक्रमित पहिचानका लागि क्वारेन्टाइनमा पठाउने बताए । त्यस्तै क्वारेन्टाइनमा बस्ने व्यक्तिको खानपिनको लागि आवश्यक पर्ने बजेट व्यवस्थापन स्थानीय तहले गर्ने र अन्य औषधि तथा उपचारको व्ण्यवस्था विपद् व्यवस्थापन कमान्ड ग्रुपले गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पहाडीले बताए ।

प्रमुख जिल्ला अधिकारी पहाडीका अनुसार कटारी नगरपालिकाको वडा नं १ स्थित नेपाली सेनाको १८ नम्बर वाहिनी अन्तर्गत रहेको रणशार्दुल गण सुरक्षा बेस क्याम्प वेलसेतमा ब्यारेक खाली गरी निर्माण गरिएको क्वारेन्टाइमा बिरामी राख्न सुरु गरिएको छ । छिमेकी मुलुक भारत लगायत अन्य मुलुकबाट आएका २६ जनालाई राखिएको उनले बताए ।

विपद् व्यवस्थापन कमान्ड ग्रुपका सदस्य सचिव जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुवेदीका अनुसार जिल्लाका आठवटै स्थानीय तहमा एम्बुलेन्ससहित क्वारेन्टाइन स्थापना र आइसोलेसन वार्ड तयारी अवस्थामा छन ।‘ विदेशबाट आएकालाई लक्षित गरी सुरक्षा र स्वास्थ्यकर्मीको टोली गाउँ गाउँ परिचालन गरिएको छ,’ सुवेदीले भने, ‘स्वास्थ्यकर्मी र एमबुलेन्स चालकलाई एप्रोनको समेत तयारी गरिएको छ ।’

कटारीको बेलस्रोत क्वारेन्टाइनमा थप ६ जना थपिए

कटारीको त्रिवेणी बेलस्रोतस्थित क्वारेन्टाइनमा बिहीबार थप ६ जना थपिएको छ । रोजगारीको सिलसिलामा झापा नाका हुँदै भारतको सीलगुढीबाट आएका लिम्चुङबुङ गाउँपालिका ४ का ३ जना र त्रियुगा नगरपालिका १५ का २ जना र त्रियुगा नगरापालिका ७ का १ जना गरी तीन पुरुष र तीन महिलालाई क्वारेन्टाइनमा राखिएको जनस्वास्थ्य प्रमुख मोहनप्रसाद सुवेदीले बताए ।

बुधबार पहिलो लटमा २१ जना आएका मध्ये १ जनालाई अस्पतालमा र २० जनालाई क्वारेन्टाइनमा राखिएको थियो । दोस्रो लटमा आएको थप ६ जना गरी २६ जना क्वारेन्टाइनमा राखिएको स्रोतले जनाएको छ ।

प्रकाशित : चैत्र १३, २०७६ २०:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×