नेपालमा अड्किएका जर्मन नागरिक लिन कतार एयरवेज आउँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना सन्त्रासकाबीच नेपालमा अड्किएका जर्मन नागरिक लिन भोलि (शुक्रबार) कतार एयरवेजको चार्टड विमान काठमाडौं आउने भएको छ ।

विशेषतः पोखरा, लुक्ला र काठमाडौंमा अड्केर बसेका ४ सयभन्दा बढी जर्मन पर्यटक नेपालबाट फिर्ता लैजानेबारे प्रबन्ध मिलाइदिन काठमाडौंस्थित जर्मन दूतावासले परराष्ट्र मन्त्रालयलाई गत सोमबार अनुरोध गरेको थियो ।

कोरोना भाइरस संक्रमणका कारण चैत १९ सम्म नेपाल सरकारले सबै अन्तर्राष्ट्रिय उडान आवागमनमा प्रतिबन्ध लगाएकोमा जर्मन दूतावाससहित युरोपेली संघले गरेको आग्रहमा नागरिक उड्डयन प्राधिकरणले शुक्रबार र शनिबार दुई फ्लाइट उडानको अनुमति दिएको हो । कतार एयरवेज दोहा हुादै जर्मनीको फ्रेंकफर्ट जानेछ ।

नेपालमा पर्यटक बनेर आएका फ्रेन्च, अमेरिकी र बेलायती नागरिक समेत काठमाडौंमा अल्झेर बसेकाले तिनलाई समेत फिर्ता लैजान सम्बद्ध कूटनीतिक नियोगले परराष्ट्रमा आग्रह गरिसकेका छन् ।

‘तर, यसबारे भने औपचारिक निवेदन आइसकेको छैन,’उड्डयन प्राधिकरणका एक पदाधिकारीले भने ।

प्रकाशित : चैत्र १३, २०७६ १९:५८

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कोरोना प्रकोप : इटालीमा ३७ जना डाक्टरको मृत्यु, स्पेनमा मृतकको संख्या ४ हजार बढी

एजेन्सी

रोम — इटालीमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट मृत्यु हुने चिकित्सकको संख्या ३७ पुगेको छ । कोभिड–१९ को नयाँ इपिसेन्टर मानिएको इटालीको संघीय चिकित्सक संघले दिएको जानकारीअनुसार बिहीबार बेलुकासम्म ३७ जना चिकित्सकको मृत्यु भइसकेको छ । 

इटालीका चिकित्सकहरुले आफूहरु निकै कठिन परिस्थितिसँग सामना गरिरहेको बताएका छन्। संक्रमितको बढ्दो संख्या र देशव्यापी रुपमा संक्रमण बढेसँगै इटालीको अवस्था भयावह बनेको छ।

बिहीबार साँझसम्म इटालीमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ५ सय ३
पुगेको छ। त्यस्तै इटालीमा ७४ हजार ३ सय ८६ जना संक्रमित हुँदा करिब ९ हजार निको भएका छन्।

स्पेनमा मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो
इटालीपछि सबैभन्दा बढी कोरोना भाइरसको चपेटामा परेको स्पेनमा बिहीबार साँझसम्म ४ हजार ८९ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा मात्रै स्पेनमा ६ सय ६५ जनाको मृत्यु भएको छ। बुधबारभन्दा बिहीबार मृतकको संख्या केही घटे पनि अवस्था भयावह नै छ। बिहीबार भने स्पेनमा अहिलेसम्मकै बढी ७ सय ३८ जनाको मृत्यु भएको थियो। स्पेनमा पछिल्लो २४ घण्टामा थप ६ हजार ६ सय ७३ जनामा संक्रमण देखिएको छ।
बिहीबार साँझसम्म स्पेनमा संक्रमितको संख्या ५६ हजार १ सय ८८ पुगेको छ। मार्च १३ देखि पुरै लकडाउन गरेर कोरोनाको महामारी नियन्त्रणका लागि कदम चाले पनि सफल हुन सकेको छैन। स्पेनले नेटो, अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी संघसंस्थालाई औषधि र व्यक्तिगत सुरक्षा उपकरण(पीपीई) लगायतका सामग्री उपलब्ध गराइदिन आग्रह गरेको छ।

त्यस्तै चीन र इटालीपछि सबैभन्दा बढी संक्रमण देखिएको अमेरिकामा बिहीबार साँझसम्म एक हजार ३७ जनाको मृत्यु भएको छ। अमेरिकामा अहिलेसम्म ६८ हजार ८ सय १४ जनामा संक्रमण देखिएको छ। अमेरिकामा कोरोना भाइरसको संक्रमण बुलेट ट्रेनको गतिमा बढिरहेको र बेलैमा सचेत नभए यसले भयावह रुप लिने न्युयोर्क राज्यका गभर्नर एन्ड्रयु कोमोले चेतावनी दिएका छन्।

त्यस्तै बिहीबार साँझसम्म कोरोना संक्रमणबाट इरानमा २ हजार २ सय ३४, चीनमा ३ हजार २ सय ८७, फ्रान्समा एक हजार ३ सय ३१, बेलायतमा ४ सय ६५, नेदरल्यान्ड्समा ४ सय ३४, स्विजरल्यान्डमा १७१, बेल्जियममा २२० र दक्षिण कोरियामा १३१ जनाको मृत्यु भएको छ।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले पुरै विश्वभर फैलिइसकेको छ। बिहीबार साँझसम्म विश्वभर चार लाख ९० हजारभन्दा बढी यस भाइरसबाट संक्रमित भएका छन् भने २२ हजार एक सय ५६ जनाको मृत्यु भएको छ। त्यस्तै एक लाख १८ हजारभन्दा बढी निको भएका छन्।

प्रकाशित : चैत्र १३, २०७६ १९:५१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×