१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

संक्रमितसँगै आएका ३३ मै ‘कोरोना नेगेटिभ’

जनकपुर — फ्रान्सबाट फर्केकी १९ वर्षीया युवतीसँगै विमानमा आएका प्रदेश २ का ३३ जनामा कोभिड–१९ को संक्रमण नदेखिएको दाबी गरिएको छ ।

ती युवतीमा कोभिड–१९ देखिएपछि कतार एयरवेजमा सँगै आएकाहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । ‘एक जनाको काठमाडौंको टेकुमा परीक्षण भइरहेको छ, अरूमा संक्रमण देखिएन,’ प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले भने, ‘३३ जनालाई नै अहिले होम क्वारेन्टाइनमा राखिएको छ ।’


फ्रान्सबाट दोहा हुँदै चैत ४ मा काठमाडौं ओर्लिएकी ती युवतीमा संक्रमण पुष्टि भएपछि सँगै फर्किएका प्रदेश २ का ३३ जनाको खोजी गरिएको थियो । उनीहरू सबैको ज्वरो, रगत र खकार परीक्षण गरिएको छ । सिरहाका एक जनामा भने ज्वरो देखिएपछि टेकु पठाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

‘क्वारेन्टाइनमा किन राखिएन ?’


प्रदेश २ सरकारले कतार एयरवेजबाट फर्किएकालाई क्वारेन्टाइनमा नराखी सिधै आउन दिएकामा आपत्ति जनाएको छ । उनीहरूलाई क्वारेन्टाइनमा नराखिँदा संक्रमणको जोखिम बढेको मुख्यमन्त्री लालबाबु राउतले बताए ।

प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले कतार एयरवेजबाट फर्किएकाहरूलाई क्वारेन्टाइन र स्वास्थ्य जाँच नगरी सिधै प्रदेशमा पठाउनेलाई कारबाही गर्नुपर्ने बताए । पर्यटनमन्त्री योगेश भट्टराई र प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाललाई ‘मेन्सन’ गर्दै झाले बिहीबार ट्वीट गरेका छन्, ‘अन्तर्राष्ट्रिय विमान ढिलो बन्द गरियो । फर्किएकालाई पनि क्वारेन्टाइनमा पठाइएन । यस्तो लापरबाहीको जिम्मेवारी कसले लिने ?’

कतार एयरवेजबाट फर्किएकामध्ये २ जना बुधबार सेनाले निर्माण गरेको धनुषाको गंगुलीस्थित क्वारेन्टाइनमा पुगेका थिए । दुवै जनामा कोरोनाको कुनै लक्षण नदेखिएपछि सिरहास्थित सरकारी क्वारेन्टाइनमा बस्न फर्काइएको सेनाको महेन्द्रनगरका गणका कर्णेल अञ्जन रूपाखेतीले बताए ।

‘कुनै लक्षण नदेखिएकाले फर्काइएको हो,’ कर्णेल रूपाखेतीले भने, ‘जिल्ला–जिल्लामा पनि क्वारेन्टाइन रहेकाले जनकपुरै आइरहनुपरेन ।’

प्रकाशित : चैत्र १३, २०७६ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?