संक्रमितसँगै आएका ३३ मै ‘कोरोना नेगेटिभ’

कान्तिपुर संवाददाता

जनकपुर — फ्रान्सबाट फर्केकी १९ वर्षीया युवतीसँगै विमानमा आएका प्रदेश २ का ३३ जनामा कोभिड–१९ को संक्रमण नदेखिएको दाबी गरिएको छ ।

ती युवतीमा कोभिड–१९ देखिएपछि कतार एयरवेजमा सँगै आएकाहरूको स्वास्थ्य परीक्षण गरिएको थियो। ‘एक जनाको काठमाडौंको टेकुमा परीक्षण भइरहेको छ, अरूमा संक्रमण देखिएन,’ प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले भने, ‘३३ जनालाई नै अहिले होम क्वारेन्टाइनमा राखिएको छ।’


फ्रान्सबाट दोहा हुँदै चैत ४ मा काठमाडौं ओर्लिएकी ती युवतीमा संक्रमण पुष्टि भएपछि सँगै फर्किएका प्रदेश २ का ३३ जनाको खोजी गरिएको थियो। उनीहरू सबैको ज्वरो, रगत र खकार परीक्षण गरिएको छ। सिरहाका एक जनामा भने ज्वरो देखिएपछि टेकु पठाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

‘क्वारेन्टाइनमा किन राखिएन?’


प्रदेश २ सरकारले कतार एयरवेजबाट फर्किएकालाई क्वारेन्टाइनमा नराखी सिधै आउन दिएकामा आपत्ति जनाएको छ। उनीहरूलाई क्वारेन्टाइनमा नराखिँदा संक्रमणको जोखिम बढेको मुख्यमन्त्री लालबाबु राउतले बताए।


प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले कतार एयरवेजबाट फर्किएकाहरूलाई क्वारेन्टाइन र स्वास्थ्य जाँच नगरी सिधै प्रदेशमा पठाउनेलाई कारबाही गर्नुपर्ने बताए। पर्यटनमन्त्री योगेश भट्टराई र प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाललाई ‘मेन्सन’ गर्दै झाले बिहीबार ट्वीट गरेका छन्, ‘अन्तर्राष्ट्रिय विमान ढिलो बन्द गरियो। फर्किएकालाई पनि क्वारेन्टाइनमा पठाइएन। यस्तो लापरबाहीको जिम्मेवारी कसले लिने?’


कतार एयरवेजबाट फर्किएकामध्ये २ जना बुधबार सेनाले निर्माण गरेको धनुषाको गंगुलीस्थित क्वारेन्टाइनमा पुगेका थिए। दुवै जनामा कोरोनाको कुनै लक्षण नदेखिएपछि सिरहास्थित सरकारी क्वारेन्टाइनमा बस्न फर्काइएको सेनाको महेन्द्रनगरका गणका कर्णेल अञ्जन रूपाखेतीले बताए।


‘कुनै लक्षण नदेखिएकाले फर्काइएको हो,’ कर्णेल रूपाखेतीले भने, ‘जिल्ला–जिल्लामा पनि क्वारेन्टाइन रहेकाले जनकपुरै आइरहनुपरेन।’ प्रकाशित : चैत्र १३, २०७६ १९:३८

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

स्वास्थ्य सचिव भन्छन्– शंकास्पद बिरामी जाँच्दा मास्क, पञ्जा र टोपी लगाए पुग्छ

पीपीई प्रयोगको मापदण्ड : लिखितमा एउटा, मौखिक अर्कै
कृष्ण ज्ञवाली

काठमाडौँ — कोभिड–१९ संक्रमणका बिरामीहरुको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुमाथि लापरवाही गर्दै आएको सरकारले बिहीबार फेरी अर्को त्यस्तै चरित्र प्रदर्शन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले पत्रकार सम्मेलनमा कोरोना संक्रमणको लक्षण देखिएका बिरामीको प्रारम्भिक उपचार र नमुना संकलनमा संलग्न हुने स्वास्थ्यकर्मीहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) नदिने निर्णय भएकाे बताएका थिए ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार, सम्भावित बिरामीको प्रारम्भिक उपचारमा प्रत्यक्ष संलग्न हुने स्वास्थ्यकर्मीहरुले अनुवार्य रुपमा पीपीई प्रयोग गर्नुपर्छ। तर मन्त्रालयका सचिवले भने बिहीबारदेखि लागू गरेको मापदण्ड अनुसार, कोभिड–१९ का लक्षण देखिएका व्यक्तिहरुको स्वास्थ्य परिक्षणका दौरान पीपीई प्रयोग हुनेछैन भनेर घोषणा गरेका थिए। 'बिरामीलाई संक्रमणको पुष्टि भएपछि उपचारमा संलग्न हुने चिकित्सकहरुले मात्रै पीपीई प्रयोग गर्नेछन्,' उनले भनेका थिए।

स्वास्थ्य सचिवले पत्रकार सम्मेलनमा श‌ंकास्पद बिरामीका जाँच गर्नका लागि मास्क, पञ्जा र टोपी मात्र लगाए पुग्ने बताए पनि लिखित मापदण्डमा भने गाउनदेखि सर्जिकल मास्कसम्म लगाउनुपर्ने उल्लेख छ। यद्यपी मन्त्रालयले तोकेको मापदण्डले चिकित्सकहरु आफू सुरक्षित हुनेमा भने श‌ंका व्यक्त गर्छन्।

कोभिड–१९ का लक्षण देखिने सबै बिरामीहरु कोरोनाबाट संक्रमित हुँदैनन्। तर उनीहरुलाई संक्रमण भएको पुष्टि भएपछि मात्रै पीपीईसहितका स्वास्थ्यकर्मीले परिक्षण गर्ने मापदण्ड बनाउँदा त्यसअघि नै पीपीई बिना उनीहरुको सामान्य उपचार तथा रोग निदानमा संलग्न हुने स्वास्थ्यकर्मीहरु संक्रमणको जोखिममा पर्छन्।

बिहीबारको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले मन्त्रालयले तयार पारेको पीपीई मापदण्ड बिहीबारदेखि लागू भएको बताए। ‘ज्वरो, रुघाखोकी नाप्दा मास्क, ग्लोब्स, चस्मा लगाएका स्वास्थ्यकर्मीहरु खटिनेछन्,’ उनले भने, ‘नमूना जाँचपछि कोरोना देखियो भने अलग्गै अस्पतालमा लगिनेछ। त्यसबेला पीपीई लगाएर राखिनेछ। मन्त्रालयले तयार पारेको मापदण्ड लागू भइसकेको छ।’

उनको भनाईमा, साधारण रुघाखोकीका बिरामीहरु जाँच्दा समेत कोरोनाको आशंकामा चिकित्सकहरुले पीपीई लगाएपछि अभाव भएको हो। बिरामीको नमूना संकलनका क्रममा समेत त्यसको प्रयोग भएपछि देशभर बाँडिएका पीपीई पनि सकिएर अभाव भएको हो।



पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव कोइरालाले सरकारले तोकेका विशेष अस्पतालहरुलाई १० लाख रुपैयाँका दरले रकम निकासा भएको बताए। २५ वटा त्यस्ता अस्पतालहरुले तत्काल फिभर क्लिनिक सञ्चालन गर्नका लागि यो रकम खर्च गर्नेछन्।

विश्व स्वास्थ्य संगठनले जारी गरेको मापदण्डमा व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) जोखिमका आधारमा प्रयोग हुनुपर्ने उल्लेख छ। त्यो मापदण्ड हेर्ने हो भने चिकित्सक मात्रै होइन, बिरामीसँग नजिक रहेर काम गर्ने स्वास्थ्यकर्मी, प्रयोगशालाकर्मीहरुले समेत अनिवार्य रुपमा पीपीई प्रयोग गर्नुपर्छ।

उक्त मापदण्डका अनुसार, पीपीईको सेटमा मेडिकल मास्क, गाउन, पञ्जाहरु, आँखाको बचाउ गर्ने गगल्स र हेल्मेट आकारको शिल्ड समेत पर्छन्। संगठनले स्वास्थ्यकर्मीका साथै सरसफाईमा संलग्न कामदार, बिरामी भेट्ने भिजिटर अनि बिरामी लगायतलाई अलग अलग मापदण्डको पीपीई तोकेको छ।

सरकारी अस्पतालमा कार्यरत एक चिकित्सकका अनुसार विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले अविकसित राष्ट्रका लागि छुट्टै पीपीई मापदण्ड र विकसित राष्ट्रका लागि छुट्टै पीपीई मापदण्ड लागु गरे जस्तो देखिएको आरोप लगाए।

‘चीन वा यूरोपमा एम्बुलेन्स ड्राराइभरदेखि सबैले पूर्णरुपमा ढाकिने गरी पीपीई प्रयोग गरिरहेको देखिन्छ। हामी कहाँ भने मास्क र पञ्जा लगाएको भरमा जाँच गरे हुन्छ भनिन्छ,’ उनले भने, ‘हामी कहाँ पीपीई नै छैन। त्यसैले जुगाड गरेर काममा लगाउने योजना बुनिएको हो।’

उनले पीपीई नभए पनि कार्य क्षेत्रमा खटिनुको विकल्प नभएकोले धेरैले गुनासो नै गर्न छोडिसकेको पनि बताए। ‘जति कराए पनि हुने केही होइन। बिरामी जाँच्न परिहाल्यो। जे छ त्यसैमा चित्त बुझाउनुको विकल्प छैन,’ उनले भने।

प्रकाशित : चैत्र १३, २०७६ १९:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×