रामेछाप, पोखरा र तेह्रथुममा गरी ५५ जना क्‍वारेन्टाइनमा

टीकाप्रसाद भट्ट, दीपक परियार, चन्द्र कार्की

रामेछाप, पोखरा र तेह्रथुम — कोरोना भाइरसबाट बच्‍न र बचाउनका लागि रामेछाप, पोखरा र तेह्रथुममा गरी ५५ जनालाई क्‍वारेन्टाइनमा राखिएको छ । जिल्‍लाका र जिल्ला प्रवेश गर्नेहरुलाई विभिन्‍न स्थानमा निर्माण गरिएका क्‍वारेन्टाइनमा राखिएको हो ।

रामेछाप

रामेछापमा १ जनालाई आइसोलेसन र ३६ जनालाई क्‍वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य प्रमुख जितेन्द्रकुमार कर्णले जानकारी दिए । उनकाअनुसार तामाकोसी अस्पतालमा एक जनालाई बुधबारदेखि आइसोलेसनमा राखिएको छ । भारत र तेस्रो मुलुकबाट रामेछापमा आएकाहरुलाई बुधबारदेखि नै क्‍वारेन्टाइनमा राखिएको हो । प्रमुख कर्णका अनुसार मन्थली नगरपालिकामा १२, रामेछाप नगरपालिकामा ५ जना, खाँडादेवी गाउँपालिकामा ४ जनालाई क्‍वारेन्टाइनमा राखिएको छ ।

यसैगरी दोरम्बा गाउँपालिकामा ११ र गोकुलगंगा गाउँपालिकामा ६ जनालाई होम क्‍वारेन्टाइनमा राखिएको कर्णले बताए । होम क्‍वारेन्टाइनमा राखिएकामध्ये कतार, फ्रान्स र भारतबाट आएकाहरु छन् ।

पोखरा

भारतबाट काकडभिट्टा नाका हुँदै आएर गण्डकी प्रदेश प्रवेश गर्न खोज्ने १४ सहित १६ जनालाई पोखरामा क्‍वारेन्टाइनमा राखिएको छ । बुधबार बिहान १२ यात्री, चालक र सहचालक गरी १४ जना मुग्लिङबाट पोखरा प्रवेश गर्दै थिए । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर स्कर्टिङ गर्दै पोखरा ल्याएको हो ।


बुधबार रातिदेखि उनीहरुलाई प्रदेशले स्थापना गरेको क्‍वारेन्टाइन स्थल मालेपाटनको कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्रमा राखिएको छ । कतार एयरवेजबाट नेपाल आएका एकजनालाई पनि उक्त क्‍वारेन्टाइनमा राखिएको छ । उनलाई काठमाडौंबाट लिएर आएको एम्बुलेन्सका चालक समेत क्‍वारेन्टाइनमा छन् ।


प्रादेशिक स्वास्थ्य आपत्‌कालीन कार्यसञ्‍चालन केन्द्रका सम्पर्क व्यक्ति नवराज शर्माले ११ र पुरुष र ५ महिला क्‍वारेन्टाइनमा रहेको बताए । उनकाअनुसार उनीहरुमा संक्रमण देखिए आइसोलेसनमा राखिने छ । तालिम केन्द्रमा ४९ बेड क्षमताको क्‍वारेन्टाइन प्रदेशले स्थापना गरेको हो ।


तेह्रथुम

लालीगुराँस नगरपालिका केन्द्र बसन्तपुरबाट ३ जना भारतीयलाई नियन्त्रणमा लिएर क्‍वारेन्टाइनमा राखिएको छ । पश्चिम बं‌गालबाट काँकडभिट्टा नाका हुँदै बसन्तपुर आइपुगेका उनीहरुमध्ये एक जनालाई रुघाखोकीसहित उच्च ज्वरो देखा परेपछि नियन्त्रणमा लिएर क्‍वारेनटाइनमा राखिएको लालीगुराँस नगरपालिका स्वास्थ्य शाखा संयोजक शत्रुघनप्रसाद साहले बताए ।

प्रकाशित : चैत्र १३, २०७६ १७:३१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

रसुवामा ३५ आइसोलेसन वार्ड र २१६ शय्याको क्‍वारेन्टाइन निर्माण

बलराम घिमिरे

रसुवा — जिल्लाको पाँच वटा गाउँपालिकामा ३५ वटा आइसोलेसन र २ सय १६ क्वारेन्टाइन शय्या निर्माणण गरिएको छ । गोसाइकुण्ड गाउँपालिकाको रसुवागढी, धुन्चे र स्याफ्रुबेंसीमा गरी १ सय १५ शय्याको क्वारेन्टाइन तयार पारिएको छ ।

रसुवा अस्पतालमा २० शय्याको आइसोलेसन वार्ड तयार परिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । सदरमुकाम धुन्चेमा रहेको कृषि ज्ञान केन्द्र र पशु सेवा केन्द्रमा ५०, रसुवागढीमा ५० र स्याफ्रुको कोमिन स्यामेवाङ्फेल माविमा १५ शय्या गरी १ सय १५ शय्याको क्वारेन्टाइन तयार परिएको छ ।

कालिका गाउँपालिकाको कालिका हिमालय मावि कालिकास्थानमा ५० शय्याको क्वारेन्टाइन र निलकण्ठ नमुना मावि जिबजिबेमा १५ शय्याको आइसोलेसन वार्ड तयार पारिएको कालिका गाउँपालिका अध्यक्ष सिताकुमारी पौडेल अधिकारीले बताइन् । जिबजिबे ग्रामिण अस्पतालमै १७ शय्याको थप बेड तयार पारिएको उनले बताइन् ।

त्यस्तै नौकुण्ड गाउँपालिकाको पारच्याङमा १५ र आमाछोदिङ्मो गाउँपालिकाको थाम्बुचेतमा १५ शय्याको क्वारेन्टाइन तयार पारिएको छ । उत्तरगया गाउँपालिकाको डाँडागाउँमा १५ र प्रतिनिधिसभा सदस्य मोहन आचार्यको घरमा २१ शय्याको क्वारेन्टाइन तयार पारिएको गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताए ।

कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि जिल्ला विपद् व्यवस्थापन समितिको आइतबार बसेको बैठकले पाँचवटै गाउँपालिकाका विभिन्न ८ ठाउँमा क्वारेन्टाइन तथा आइसोलेसन वार्ड बनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।

तयार पारिएको सबै क्वारेन्टाइन तत्काल सञ्चालनमा ल्याउनका लागि छलफल भइरहेको उनले बताए । क्वारेन्टाइन तथा आइसोलेसन वार्ड निर्माणका लागि पाँच वटै गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र चेम्बर अफ कर्मसले सहयोग गरेका छन् ।

त्यस्तै जिल्लाको विभिन्न १० स्थानमा हेल्थ डेक्स सञ्चालनमा आएको छ ।

प्रकाशित : चैत्र १३, २०७६ १७:१८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×