प्रदेश २ सरकारद्वारा २५ करोडको राहत कोष स्थापना

तीनवटा ल्याब स्थापना गर्ने निर्णय
अजित तिवारी

जनकपुर — कोरोना भाइरस (कोभिड–१९)को नियन्त्रण र प्रभावितलाई राहत उपलब्ध गराउन प्रदेश सरकारले २५ करोडको राहत कोषको स्थापना गरेको छ । प्रदेश २ सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण जाँच्न ३ वटा ल्याब स्थापना गर्ने समेत निर्णय गरेको हो ।

राहत कोषमा प्रदेश सरकारले २५ करोड रुपैयाँ हाल्ने र कोषमा मन्त्रीहरुको एक महिनाको तलब पनि राख्‍ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।


उनले राहत कोषमा सहयोग गर्न समाजिक संघ संस्था, प्रदेशका व्यापारिक घराना र इच्छुक सबै व्यक्तिलाई आहृवान समेत गरिएको बताए ।


मन्त्रिपरिषद्को बैठकले कोरोना महामारी नियन्त्रणका लागि मुख्यमन्त्रीको संयोजकत्वमा सबै मन्त्री रहने गरी उच्चस्तरीय निर्देशन समिति गठन गरेको छ भने महामारी नियन्त्रणको लागि आवश्यक व्यवस्थापन गर्न निमित्त प्रमुख सचिव नारायण दवाडीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहने गरि विशेष कार्यकारी समिति समेत गठन गरेको छ ।


कार्यकारी समितिलाई मन्त्रिपरिषदको बैठकले विशेष परिस्थितिमा महामारी नियन्त्रणको लागि आवश्यक व्यवस्थापन गर्न निर्देशन समेत दिएको छ । कार्यकारी समितिले महामारी नियन्त्रणको लागि चाहिने आवश्यक सामग्रीहरुको खरिद विशेष परिस्थितिको लागि व्यवस्था गरिएको खरिद नियमावली बमोजिम गर्न पाउने छन् ।


यस्तै, मन्त्रिपरिषदले प्रादेशिक अस्पताल जनकपुर, वीरगन्ज र राजविराजमा कोरोना सम्बन्धी जाँच गर्ने ल्याबको स्थापना गर्ने निर्णय समेत गरेको प्रवक्ता यादवले बताए ।


बैठकले लकडाउनका कारण समस्यामा परेका गरिब जनताका लागि आवश्यक राहतको व्यवस्था गर्न स्थानीय तहसँग समन्वय गरेर अघि बढ्ने निर्णय समेत गरेको मन्त्री यादवले जानकारी दिए । प्रकाशित : चैत्र १३, २०७६ १२:४९

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भारतबाट आएका २१ लाई क्वारेन्टाइनमा

डिल्लीराम खतिवडा

उदयपुर — भारतको सिलिगुडीबाट काँकडभिट्टा हुँदै उदयपुरको ताप्ली गाउँपालिका हिँडेका २१ जनालाई कटारी नगरपालिका–१ वेलसोतस्थित क्वारेन्टाइनमा राखिएको छ । कटारी बजार आइपुगेका उनीहरुलाई कटारी अस्पतालमा स्वास्थ्य जाँचपछि नेपाली सेनाको रणशार्दुल गणले ब्यारेक खाली गरेर बनाएको क्वारेन्टाइनमा पठाइएको हो ।

भारतको सिलिगुडीबाट १५ र बिहार तथा दिल्लीबाट आएका समेत गरी २१ जनाको स्वास्थ्य जाँचपछि क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले वताए।

स्थानीय प्रशासनसँग छलफलपछि ती २१ जनालाई क्वारेन्टाइनमा राखिएको कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए। नगरपालिका र उदयपुर उद्योग वाणिज्य संघ कटारीले क्वारेन्टाइमा राखिएकालाई आवश्यक सहयोग गर्ने छन्। आवश्यक चिकित्सक लगायतका सहयोगका लागि प्रदेश सरकारलाई जानकारी गराइएको छ।

बाटोमा आउने क्रममा सोधीखोजी गर्दा भारतको विभिन्न ठाउँबाट आएको जनाएपछि स्वास्थ्य परिक्षण गराइएकोलागि कटारी अस्पताल पाठाइएको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरिक्षक प्रेमसागर केसीले बताए।

प्रकाशित : चैत्र १३, २०७६ १२:४३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×