२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सशस्त्रको कोरोना अस्पतालमा के हुँदै छ ?

४ सय शय्या तयार गरिँदै, बिरामी सेना र प्रहरी अस्पतालमा सारिँदै
मातृका दाहाल

काठमाडौँ — कोभिड–१९ का सम्भावित संक्रमितलाई राख्ने ‘डेडिकेटेड’ अस्पतालमा रूपान्तरण भएपछि सशस्त्र प्रहरीको बलम्बुस्थित एपीएफ अस्पताल परिसरका सबै युनिट अन्यत्र सारिँदै छन् । त्यहाँ भर्ना भएर उपचाररत सबै बिरामीलाई महाराजगन्जस्थित नेपाल प्रहरी अस्पताल र छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा सार्ने तयारी गरिएको छ । बलम्बुमा करिब डेढ सय बिरामी उपचाररत छन् । डिस्चार्ज गर्न मिल्नेलाई घर पठाउने सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्रको कोरोना अस्पतालमा के हुँदै छ ?

सशस्त्र प्रहरी प्रवक्ता डीआईजी प्रवीणकुमार श्रेष्ठले कोभिड–१९ सम्बन्धी बिरामी उपचार गर्न सक्ने गरी पूर्वाधार दुई दिनभित्र तयार गरिने बताए । सरकारले गत साता एपीएफ अस्पताल र परिसरमा कोभिड–१९ संक्रमणको लक्षण देखिएका बिरामीको उपचार तथा क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको थियो ।


अस्पताल परिसरमै रहेको सशस्त्र प्रहरी बल ९ नम्बर पशुपतिनाथ बाहिनी मुख्यालयको संरचना ज्ञानेश्वरस्थित सशस्त्र प्रहरी बल स्टाफ कलेजमा सारिँदै छ । बाहिनीका ब्यारेक र अन्य कार्यालय पनि ज्ञानेश्वरमै सारिएका छन् । स्टाफ कलेजलाई सशस्त्र प्रहरीको मातातीर्थस्थित एकेडेमीमा सार्न लागिएको छ ।


एपीएफ अस्पतालसँगै रहेको सशस्त्र प्रहरी प्राविधिक तालिम शिक्षालय, डग (कुकुर) शाखा, अस्पतालबाहेक अन्य सबै संरचना पनि अन्यत्रै सार्न लागिएको छ । डिस्चार्ज भएर बाँकी रहेका बिरामीको उपचार गर्न प्रहरी र सेनाका अस्पतालमा बेडको व्यवस्थापन गरिन लागेको प्रवक्ता श्रेष्ठले बताए ।


सशस्त्र प्रहरी प्रवक्ता श्रेष्ठले १ सय १० शय्या क्षमताको अस्पतालमा १० वटा आईसीयू शय्या निर्माण भइरहेको बताए । एपीएफ अस्पतालमा ७० जना विशेषज्ञ चिकित्सकसहित करिब ३ सय स्वास्थ्यकर्मी छन् । ‘सशस्त्र प्रहरीको अस्पताललाई ३ सय ५० देखि ४ सय बिरामीको उपचार गर्न मिल्ने गरी संरचना बनाउन निर्देशन छ, त्यहीअनुसार स्वास्थ्य उपकरण खरिद, प्रिफ्याबलगायतका भौतिक संरचना निर्माण र त्यहाँ रहेका युनिट अन्यत्र स्थानान्तरणको काम द्रुत गतिमा भइरहेको छ,’ श्रेष्ठले भने ।


डेडिकेटेड अस्पतालको संरचना निर्माण भइसकेपछि सेना, प्रहरी, सशस्त्र, नेपाल सरकार र अन्य निजी/सामुदायिक अस्पतालका चिकित्सक खटिने छन् । सेनाको अस्पतालबाट परिचालित चिकित्सकको नेतृत्वमा अन्य स्वास्थ्यकर्मी कोभिड–१९ को उपचार, आइसोलेसन बेड र क्वारेन्टाइन सुरक्षा तथा निगरानीमा खटिनेछन् ।

प्रकाशित : चैत्र १३, २०७६ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?