लकडाउनको दोस्रो दिन : मुलुकभर कहाँ के भए ?- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउनको दोस्रो दिन : मुलुकभर कहाँ के भए ?

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्‍वभर फैलिएको महामारी कोरना भाइरस (कोभिड–१९) को संक्रमणबाट ब्यक्ति–ब्यक्तिबीच दूरी कायम गरी फैलन नदिन लागू गरिएको ‘लकडाउन’बुधबार दोस्रो दिन । सहरी क्षेत्रमा प्राय: सुनसान रहे भने ग्रामीण क्षेत्रमा कम प्रभाव देखिएको छ । सम्भावित जोखिमका लागि विभिन्‍न जिल्लामा क्‍वारेन्टाइन, आइसोलेसन निर्माण, विभिन्न‍ चिकित्सा सामग्री जम्मा पार्ने लगायत तयारी भइरहेको छ ।

लकडाउनलाई अधिकांश नागरिकले पालना गरे पनि केही ठाउँमा आंशिक उल्लंघन भएका छन् । लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि सुरक्षाकर्मीले तदारुकता देखाएका छन् । मंगलबार केही जिल्लामा उल्लंघन सेनासमेत परिचालन गरिएको छ । प्रस्तुत छ, हाम्रा संवाददाताहरुले विभिन्न‍ जिल्लाबाट पठाएका गतिविधिहरु :


ग्रामीण भेगमा लकडाउन प्रभावहीन

घनश्याम खड्का/म्याग्दी

कोभिड–१९ संक्रमण फैलन नदिन लागू गरिएको ‘लक डाउन’ ग्रामीण भेगमा प्रभावहीन देखिएको छ । महामारीलाई बुझ्न नसक्दा ग्रामीण भेगमा स्थानीयले लकडाउनको ब्यापक उल्लङ्घन गरेका छन् । यसरी लकडाउन उल्लङ्घन गर्नेमा बढी पुरुष युवा समुदाय र यातायात व्यवसायी बढी देखिएका छन् ।


‘ग्रामीण भेगमा अन्तर्राष्ट्रिय स्‍वास्थ्य विपत्तिले उत्पन्न गरेको विकराल समस्यालाई बुझ्ने तत्पराता देखिएन । खासगरी पुरुष युवा समुदाय समूहमा जम्मा हुने, चोकमा भेला भै क्यारिमबोर्ड खेल्ने, अनुमति नभएका सार्वजनिक यायातायतका साधन निर्बाध चल्ने गरेको भेटियो’ लकडाउनको प्रभाव अनुगमन गर्न पश्चिम मालिका गाउँपालिका केन्द्र दरवाङ्ग पुगेका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘धेरैलाई सम्झाएका छौं । कोरोना भाइरस संक्रमण रोक्न जानेबुझैकै समुदायबाट भएका गतिविधिले असहयोग देखियो । थप कडाई गर्नु पर्ने देखिन्छ ।’


संक्रमण रोक्न लक डाउन गरी स्थानीय प्रशासनले स्थानीय सरकारसँगको सहकार्यमा जिल्लाका ४५ वटै वडामा रहेका वडाध्यक्षसमेत ५ जना जनप्रतिनिधिको अगुवाईमा वडासचिव, अन्य कर्मचारी परिचालन गरी हालै विदेशबाट फर्केका जिल्लावासीको खोजी गरी स्वास्थ्य अवस्थाको तथ्याड्ढ संकलन गरिरहेको छ । केही आफै अस्पतालको सम्पर्कमा आएका छन्, केही सेल्फ क्‍वारेन्टाइनमा रहेको प्रशासन कार्यालयले जनाएको छ ।


आइसोलेसन कक्ष स्थापना

संभावित परिस्थिति सामना गर्न जिल्ला तहमा पनि सक्दो तयारी भएका छन् । कोभिड–१९ रोगको लक्षण देखिएका वा आशंका गरिएका बिरामीलाई क्यारेन्टाइन/आइसोलेसनमा राख्न सदरमुकाम बेनीमा एक निजी विद्यालय प्रयोग गर्न छोडेको पुराना भवनमा कोरोना विशेष आइसोलेसन कक्ष स्थापना गरिएको हो । त्यस्तै अन्नपूर्ण गाउँपालिकाले स्थानीय सर्वोदय माविको भवन, मालिका गाउँपालिकाले जनप्रीय मावि भवन र अन्य स्थानीय तहले पनि अनुकुल सामुदायकी भवनमा वेड राखेर क्वारेन्टाईन कक्ष बनाएका छन् ।


कालोबजारी बढेपछि गाउँपालिकाद्‍वारा तोक्यो मूल्यसूची

लकडाउनको अनुचिन फाइदा उठाई ग्रामीण भेगका पसलहरुले कालोबजारी सुरु गरेपछि दुर्गम धौलागिरि गाउँपालिकाले उद्योग वाणिज्य संघको सहकार्यमा दैनिक उपभोग्य वस्तुको मूल्यसूची कायम गरी अनिवार्य कार्यान्वयन गर्न आदेश गरको छ । गाउँपालिकाले निजी क्षेत्र उद्योग वाणिज्य संघ धौलागिरी गाउँपालिका ईकाइसँग सहकार्यमा तत्काल लागू हुनेगरी सडकको सहज पहुँच रहेको दरवाङ्गबजारबाट वस्तीसम्म दूरकोको आधारमा सामान ढुवानी लागत जोडेर मुल्यसूची कायम गरेको हो ।


कतारबाट आएकी महिला अस्पतालमा

दुर्गालाल केसी/दाङ

चैत ४ गते कतारबाट नेपाल आएकी एक महिला बुधबार तुलसीपुरमा अस्पतालको सम्पर्कमा आएकी छिन् । कतारको दोहा हुँदै नेपाल आएकी एक १९ वर्षीया युवतीलाई कोरोना संक्रमण देखिएपछि उक्त जहाजमा आएकी ती महिला अस्पताल आएकी हुन् । उनलाई दुई हप्ते निगरानीका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको आइसोलेसन कक्षमा राखिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।

लकडाउन उल्लंघन गर्ने तीन पक्राउ, २५६ सवारी साधन नियन्त्रणमा

लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले बुधबार दाङमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुको नाम सार्वजनिक गरिएको छैन । यसैगरी सरकारी आदेश अवज्ञा गरी चलेका २ सय ५६ सवारीसाधनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । ७ बस, ६ ट्याक्टर, १४ ट्रक, १ जेसीबी, १३ जिपकार, ७ अटोरिक्सा, १ सय ८९ मोटरसाइकल र १९ स्कुटर गरी २ सय ५६ सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी सुमित खड्काले बताए ।


जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गरी बाहिर कोही ननिस्कन आग्रह गरेको छ । अतिआबश्यक काम परे नजिकको सुरक्षाकर्मीलाई खबर गरेरमात्र निस्कन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । खाद्यान्न सम्बन्धी पसलहरु बिहान ६ देखि ९ बजेसम्म मात्र खोल्न अनुमति दिइएको उनले जानकारी दिए ।


भारतबाट आएकाले क्‍वारेन्टाइनमा भरिँदै

कमल पन्थी/बर्दिया

भारतमा मजदुरी गरी फर्केका १ सय ४ जनालाई जिल्लाका विभिन्न ठाउॅमा निर्माण गरिएका क्‍वारेन्टाइनमा राखिएको छ । कोभिड—१९ संभावित संक्रमित हुन सक्ने भन्दै उनीहरुलाई क्‍वारेन्टाइनमा राखिएको छ ।


मेडिकल सामग्रीको अभाव

संक्रमणबाट जोगिन र विरामीलाई बचाउन मेडिकल सामग्री अभाव भएको छ । पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), सर्जिकल माक्स, एनजेजे माक्स लगायत किट बक्स र स्प्रे नभएको प्रजिअ पेमलाल लामिछानेले बताए । तालिम प्राप्त जनशक्ति अभावले पनि उपचारमा समस्या आएको छ ।


सवारी साधन कारवाहीमा

प्रहरीले लकडाउनको अवज्ञा गर्ने १ सय २९ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । बर्दियाको राजापुर, बाँसगढी, गुलरिया लगायतका ठाउॅमा चलेका सवारी साधन र चालकलाई नियन्त्रत्रणमा लिइएको हो ।


चेतावनी र सचेतना दिइँदै

राजेन्द्र मानन्धर/दोलखा

लकडाउन उल्लंघन गर्नेलाई सदरमुकाम चरिकोटको मुख्यचोकमा रोकेर चेतावनी सचेतना दिँदै विवरण संकलन गरी पठाउन थालिएको छ । कोरोना भाइरस फैलन नदिन सरकारले लकडाउन गरे पनि बिनाकारण हिँड्डुल गर्नेलाई सातदोबाटो चोकमा प्रहरीले त्यस्तो अभियान चलाएको हो । चेतावनी, सचेतना प्रशिक्षण र विवरण संकलन गरी पठाउन थालिएको प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले बताए ।


जलविद्युत् आयोजना क्षेत्र लकडाउन

जलविद्युत् आयोजनाहरुले निरन्तर कार्य सञ्चालन गरिएको भन्दै अन्य जिल्लाबाट निर्माण सामग्रीहरु ढुवानी कायम राखेपछि जिल्ला प्रशासनले रोक्ने निर्णय निर्णय गरेको छ । आयोजना क्षेत्रबाट मानिसहरु बाहिर जान र भित्रिन पूर्णत रोक लगाइएको हो । आयोजना क्षेत्रभित्र जति सामान छ त्यसैलाई उपयोग गर्ने र नयाँ सामान भित्रन रोक लगाइएको हो । प्रजिअ शर्माले कोरोना भाइरस नियन्त्रण र फैलनबाट जोगाउन आयोजना क्षेत्रमा खाद्यान्न, औषधि, इन्धनबाहेकको अन्य सबै ढुवानी बन्द गर्न निर्देशन गरिएको बताए ।


अन्य बिरामीको चाप घट्यो

दैनिक तीन सय जना मानिस जचाउन आउने चरिकोट अस्पतालमा बुधबार ४५ जना बिरामीमात्रै आएका छन् । तीमध्ये पाँच जनामा ज्वरो देखिएको तर सामान्य रहेको अस्पतालका डा. विनोद दंगालले बताए ।


सैनामैनामा कोरोना अस्पताल

सन्जु पौडेल/तिलोत्तमा

रुपन्देहीको सैनामैनामा कोरोना आइसोलेसन अस्पताल निर्माण हुने भएको छ । नगरको वडा–१ बनकट्टामा रहेको प्राकृतिक चिकित्सालयमा कोरोना विशेष अस्पताल निर्माण गरिने नगरप्रमुख चित्रबहादुर कार्कीले बताए । 'व्यवस्थित अस्पतालका रुपमा सञ्‍चालनमा आइसकेको पद्मपाणी योग तथा प्राकृतिक चिकित्सालयका उपयुक्त कोठालाई नै थप सुविधा सम्पन्न बनाउँदै कोरोना विशेष अस्पताल बनाइँदैछ', उनले भने, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, प्रादेशिक अस्पतालका विशेषज्ञ डाक्टरसहित नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखसहितको टोलीले बुधबार स्थानको निरीक्षणसमेत गरेको छ ।


होटलमा क्‍वारेन्टाइन

खोटाङ

कोभिड १९ प्रकोप न्यूनिकरणका लागि हलेसीस्थित जाम्बाला होटल क्‍वारेन्टाइनका लागि उपयोग गरिने भएको छ । सञ्चालकले होटल नै उपलब्ध गराएपछि ११ शय्याको क्‍वारेन्टाइन उपलब्ध गराएको हो । होटल नै क्‍वारेन्टाइनका लागि उपलब्ध गराएपछि होटल सञ्चालक निर्मल गिरीप्रति आभार व्यक्त गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले बताए ।


यसबाहेक हलेसी तुवाचुङ नगरपालिकाको ११ वटै वडामा क्‍वारेन्टाइन बनिसकेको नगरप्रमुख राईले सु्नाए । उक्त नगरपालिकामा ४५ वटा क्‍वारेन्टाइन बनेको राईले सुनाए । अपूगमा जाम्बाला होटलले अरु थप ४४ वटा कोठा उपलब्ध गराउँने नगरप्रमुख राईले सुनाए ।


यस्तै ऐंसेलुखर्क गाउँपालिकामा कार्यरत कर्मचारीहरुले कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा पाँच दिनको तलब उपलब्ध गराउने भएको छ । आर्थिक प्रशासन प्रमुख पङ्कज आचार्यकाअनुसार गाउँपालिकामा कार्यरत ८७ जना कर्मचारी छन् ।

बिरामी बोक्न एम्बुलेन्स र जाँच्न स्‍वास्थ्यकर्मीले मानेनन्

घनश्याम खड्का/म्याग्दी

रुघाखोकी र ज्वरोग्रस्त बेनी नगरपालिका ४ सिङ्गाकी एक १९ वर्षीया किशोरीलाई अस्पताल पुर्‍याउन स्थानीय छिमेकी र एम्बुलेन्स पीपीई समेतका सुरक्षा उपकरण नभएको भन्दै बिरामी बोक्न नमानेका हुन् । उनको चार दिनदेखि उपचार हुन सकेको छैन । बिरामीलाई अस्पताल पुर्‍याउन कोही तयार नभएपछि छिमेकीलाई सदरमुकाम पुर्‍याएर स्वास्थ्यकर्मीको प्रेस्किप्सनबिना ज्वरो र रुखाखोकीको औषधि खुवाउने तयारी भएको छ ।

नजिकको स्वास्थ्यचौकीलाई आग्रह गर्दा समेत स्वास्थ्यकर्मी पीपीई समेतका उपकरण नभएको भन्दै घरमा पुगेर सेवा दिन अस्वीकार गरेका थिए । बिरामी आफैं उठेर हिँड्न नसक्ने तथा घरका सदस्यले पनि बोकेर स्वास्थ्य संस्थासम्म बिरामी लैजान सक्ने अवस्था नभएकोले एम्बुलेन्सबाट बेनी अस्पताल पुर्‍याउन खोजिएको हो । ‘गाउँमा विपन्न परिवारकी एक किशोरी चार दिनदेखि रुखाखोकी र ज्वरोग्रस्त रहेछिन् । उनलाई अस्पताल पुर्‍याउन मानवीय सेवामा समर्पित रेडक्रससमेत अस्पतालको एम्बुलेन्स तयार भएनन्, न स्टेचरमा बोकेर स्वास्थ्य संस्था पुर्‍याउन स्थानीय तयार भए’ बेनी नगरपालिका, ४ का वडाध्यक्ष गोविन्द पौडेलले भने, ‘शंकास्पद बिरामीलाई होम क्‍वारेन्टाइनमा बस भनेको स्वास्थ्य सेवाबाट बन्चित गर्न खोजिएको हो ? घरमै मर भनेको हो ? नभए किन अस्पताल पुर्‍याउन कोही तयार भएनन् ?’


वडाध्यक्ष पौडेलले रेडक्रस र बेनी अस्पतालका एम्बुलेन्सलाई फोन गरी बिरामी लिन आउनभन्दा नमाने पनि प्रमुख जिल्ला अधिकारीलाई बिरामी उद्धार गरी अस्पताल पुर्‍याइदिन गुहार मागेका थिए । प्रजिअ ज्ञाननाथ ढकालले बिरामी उद्धारगरी अस्पताल पुर्‍याउने व्यवस्था मिलाउन सहायक प्रजिअलाई अह्राई आफू लकडाउन प्रभावकारिता अनुगमन गर्न निक्नेलको बताए ।



क्‍वारेन्टाइनको लागि पोखरामा ४८ वेड तयार

प्रतीक्षा काफ्ले/गण्डकी

कोभिड–१९ को मध्यनजर गर्दै पोखरामा ४८ वटा क्‍वारेन्टाइनको तयारी गरिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माकाअनुसार मालेपाटनस्थित कृषि तालिम केन्द्रको भवनमा क्‍वारेन्टाइन तयार गरिएको हो ।


‘नदीपुरस्थित गृप्त हस्पिटलमा ५० वटा वेड क्यारेन्टाइनका लागि तयारी गर्ने अवस्थामा छौं’ नले भने, ‘एक/दुई दिनभित्र हामी तयार गरिसक्छौं ।’ प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आइसोलेसन बेडको लागि मनिपाल अस्पतालमा २ वटा र जर्नल वेड १८ वटा गरी २० वटा बनाउने गरी काम भइरहेको छ । शर्माले कास्कीका स्थानीय तहले पनि आफ्नै तरिकाले क्वारेन्टाइन बनाउने तयारीमा रहेको बताए ।


कास्कीमा थर्मलगनको समस्या रहेको डा शर्माले बताए । हालसम्म विभिन्न स्थानमा वितरण गरिएको जम्मा २५ वटा थर्मलगन र १०० वटा अभाव रहेको शर्माले बताए । उनका अनुसार संघीय सरकारसंग १०० वटा थर्मलगन माग गरिएको छ ।


स्याङ्जामा ६०० वेड तयारी

स्याङ्जामा ६०० वटा क्‍वारेन्टाइनको लागि वेड तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले अस्पतालदेखी स्थानीय तह र वडासम्म निर्माण गरिएका वेड ६ सयभन्दा बढी रहेको बताए ।


हेलो डाक्टरको लागि कोरोना भाइरसको शंका लागेमा ९८५६०५३२३९ नम्बरको मोवाइलमा फोन गर्न सकिने छ । चौबिसै घण्टा फोन गर्न सकिने र चिकित्सकले सल्लाह दिनेछन् । जिल्लाभरी १२ वटा मात्र थर्मलगन रहेको प्रजिअ कुरुम्वाङले बताए । उनकाअनुसार जिल्लाभरी १०० भन्दा बढी थर्मलगनको आवश्यक रहेका छन् । उनले जिल्लाभर १२ थान पीपीई र ६० थान मास्क रहेको बताए ।


५० जना क्‍वारेन्टाइनमा

स्याङ्जामा ५० जनालाई क्‍वारेन्टाइनमा राखिएको छ । चैत ५ मा अर्थात् मार्च १८ तारिखका दिन कोरोना पुष्टि भएकी काठमाडौंकी १९ वर्षीया युवती आएको कतार एयरवेजको फ्लाइट नम्बर क्यिुआर ६५० मा स्याङ्जाका पनि ६ जना थिए । उनीहरुको तीव्र खोजी गरी ६ जनालाई नै क्‍वारेन्टाइनमा राखिएको प्रजिअ रामबहादुर कुरुम्वाङले जानकारी दिए ।


यसैगरी विदेशबाट फर्किएर आएका २१ जनालाई वालिङ नगरपालिकाले होम क्यारेन्टाइनमा राखेको छ । नगरभित्रका विभिन्न वडाका घर/घरमा पुगेर २१ जनालाई होम क्‍वारेन्टाईनमा बस्न सुझाव दिइएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।


जिल्ला प्रशासन कार्यालयले सरकारले गरेको लकडाउनको निर्णय कार्यान्वयन कडाई गरिएको प्रजिअ कुरुम्बाङ बताउँछन् । उनका अनुसार लकडाउनको निर्णय कार्यान्वयन नगरी अवज्ञा गर्नेलाई प्रशासनले कानुन बमोजिम कारबाही गर्ने छ ।


एक युवक आइसोलेसनमा, १० क्‍वारेन्टाइनमा

राजकुमार कार्की/सिन्धुली

भारतबाट आएका एक युवकलाई कोरोना आशंकामा सिन्धुली अस्पतालको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ । कमलामाई नगरपालिका–२ अमले निवासी १९ वर्षीय ती युवालाई भारतमा हुँदा नै ज्वरो आएको र नेपाल आएपछि थप खोकी लागेपछिँ उपचारका लागि आफैं जिल्ला अस्पताल गएका थिए । ट्राभल हिस्ट्री र ज्वरोका कारण उनलाई आइसोलेसनमा राखिएको हो । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । स्वाबको नमुना संकलन गरी परीक्षणका लागि काठमाडौंको टेकु अस्पताल पठाइएको अस्पतालका डा. प्रशन्न राजभण्डारीले जानकारी दिए । जिल्ला अस्पतालमा जाँचका लागि आएका १० जनालाई होम क्‍वारेन्टाइनमा बस्ने गरी पठाएको छ । उनीहरु भारतबाट आएका हुन् ।


यसैबीच तीनवटा ठूला राजमार्गको सञ्जाल जोडिएको सिन्धुली लकडाउनको दोस्रो दिन सुनसान बनेको छ । राजधानी र पूर्वी तराईबाट आएका साना सवारीका कारण पहिलो दिन भने लकडाउन आंशिक उल्लघंन भएको थियो । बीपी राजमाार्ग, मध्यपहाडी र मदन भण्डारी राजमार्ग बुधबार सुनसान बनेका छन् ।


सदरमुकाम तथा आसपासका क्षेत्रमा छिटफुट साना सवारी चले भने लामा दूरीको सवारीसाधन ठप्प भएका छन् ।


४ चीनियाँ नागरिक क्‍वारेन्टाइनमा, निषेधाज्ञा उल्लंघन गर्ने २३ जना नियन्त्रणमा

रमेशचन्द्र अधिकारी/धनकुटा

कोरोना भाइरसको उद्गमस्थल चीनका चार नागरिक धनकुटा पुगेका छन् । गत सोमबार काठमाडौंबाट धनकुटा नगरपालिका ९ मुलघाटस्थित एक रिसोर्टमा बास बसेका उनीहरुलाई बुधबार स्वास्थ्य जाँच गरी क्‍वारेन्टाइनमा राखिएको छ ।


चीनियाँ लगानीमा बन्न लागेको तमोर बहुउद्देश्यीय जलाशयमा सम्भाव्यता अध्ययनका लागि तीन महिनाअघि नै उनीहरु नेपाल आएको प्रहरीले जनाएको छ । रिसोर्टमा बास बसेको जानकारी पाएपछि बुधबार प्रहरीको टोलीले उनीहरुलाई धनकुटा जिल्ला अस्पतालमा लगि स्वास्थ्य जाँच गराएको थियो । हाललाई चीनिया नागरिक बस्दै आएको रिसोर्टमा नै क्‍वारेन्टाइन निर्माण गरी राखिएको जिल्ला प्रहरी प्रमुख एसपी सुदर्शन प्रसाद कोइराला बताए।


२३ जना पक्राउ

धनकुटा जिल्लामा बुधबारदेखि लकडाउनलाई कडाई गरिएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबारदेखि जारी गरेको निषेधाज्ञा उल्लंघन गर्ने २३ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएकालाई प्रहरीले कोरोना भाइरसबारे जानकारी गराएर निषेधाज्ञा कार्यान्वयन गर्ने शर्तमा छोडेको छ ।


संक्रमित युवती आएको जहाजमा चितवनका ६ यात्रु, ५ जना सम्पर्कमा

रमेशकुमार पौडेल/चितवन

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक १९ वर्षीय युवतीमा कोभिड–१९ संक्रमण भएको पुष्टि भएपछि सो जाहाजमा यात्रा गर्ने चितवनका ६ जना भएको पत्ता लागेको छ । जसमध्ये पाँचजना सम्पर्कमा आएका छन् । उनीहरुलाई भरतपुरको कोरोना विशेष अस्थायी अस्पतालमा राखिएको छ ।


चैत्र ४ गते फ्रान्सबाट कतार हुँदै आएकी युवतीलाई कोरोना लागेको सोमबार पुष्टि भएको थियो । प्रहरी प्रधान कार्यालयले यात्रा गरेकामध्ये चितवन ठेगना भएका ६ जना भेटिएपछि खोजी गर्न चितवन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो । पत्र आएलगत्तै चितवन प्रहरीले खोजी तीव्र बनाएको थियो ।

सप्तरीका १८ स्थानमा २ सय १५ शय्याको क्‍वारेन्टाइन कक्ष

अवधेशकुमार झा/राजविराज

सप्तरीका विभिन्न १८ वटा स्थानमा २ सय १५ शय्याको क्‍वारेन्टाइन कक्ष सञ्‍चालनमा ल्याईएको छ । विभिन्न स्थानीय तह र जिल्लास्थित कोरोना रोकथाम तथा नियन्त्रण समितिको समन्वयमा क्‍वारेन्टाइन स्थापना गरिएको हो । अझै पनि केही स्थानीय तहले क्‍वारेन्टाइन निर्माण गरी सञ्चालनमा ल्याउन सकेका छैनन् । सबै स्थानीय तहलाई क्‍वारेन्टाइन सञ्‍चालनमा ल्याउन आग्रह गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

बिदेशबाट आएकाको खोजी गरिँदै

सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुले पछिल्लो १० दिनयता वैदेशिक रोजगारी र भारतबाट आएकाहरुको खोजी सुरु गरेको छ । जिल्ला जनस्वास्थ्य प्रमुख यादवका अनुसार पछिल्लो १० दिनमा विभिन्न राष्ट्रबाट आएका १६ जनाको पहिचान भएको छ । उनीहरु भारतको बैंग्लोर,उडिसा र हैदरावाद तथा दुबई, कतार र साउदी अरबबाट आएका र गाउँकै रहेकाले खोजी गरी क्‍वारेन्टाइनमा ल्याउने तयारी भइरहेको यादवले बताए ।

लकडाउन उल्लंघन कार्य कायमै

संक्रमणबाट जोगिन र जोगाउन सरकारले लकडाउन गरेपछि बुधबार दोस्रो दिन पनि उल्लंघन गर्नेहरु देखिए । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सडकमा सम्झाई बुझाई गरेर फर्काउने गरे पनि विभिन्न कामको बहानामा घरबाट निस्कनेहरुको संख्या बुधबार पनि कम देखिएन । जिल्लाका प्रशासकहरु र स्थानीय तहका प्रमुखहरुले विभिन्न माध्यमबाट सर्वसाधारण सबैलाई लकडाउनको अवधिमा घरमै बस्न आग्रह गरिइरहेको छ ।



पूर्ण पालना भएन लकडाउन, २ सय सवारी साधनलाई जरिवाना, २ जना हिरासतमा

नगेन्द्र अधिकारी/काभ्रे,

लकडाउन अवज्ञा गर्ने २ सय ५० भन्दा बढी सवारीसाधनलाई काभ्रेमा कारबाही गरिएको छ । लकडाउनको दोस्रो दिन अवज्ञा गरी चलाउने २ सय ५० भन्दा बढी सवारी साधनको चावी दिनभर नियन्त्रणमा लिई ५ सय रुपैयाँ जरिवाना लिइ छाडेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । सम्झाउँदा पनि विवाद गर्ने २ चालकलाई प्रहरीले हिरासतमा राखिएको छ ।

बीपी, अरनिको राजमार्ग, अन्य फिडर तथा ग्रामीण सडकमा पनि कडाई गरेको प्रहरी निरीक्षक तामाङले जानकारी दिए ।


लकडाउन अटेर गर्दै सवारी

आश गुरुङ/लमजुङ

लकडाउनमा स्थानीय कामबिना हिँडिरहेका छन् । जिप तथा मोटरसाइकल चलाएर हिँडेका छन् । मंगलबारको तुलानामा बुधबार कम हिँडेपनि नहिँडेको भनै छैन । प्रहरीलाई यात्रु सम्झाउँदैमा हैरान छ । बेंसीसहरको ठाउँ ठाउँमा नेपाल प्रहरी र बेंसीसहर नगरपालिकाको नगर प्रहरी खटिएको छ । उनीहरुलाई अटेर गरी सवारी साधन हिँडिरहेका छन् । केहीलाई मात्रै समात्न उनीहरु सफल भएका छन् । अनेक बाहाना बनाएर उनीहरु फुत्किने गरेको चोक चोकमा खटिएका प्रहरी बताउँछन् ।


प्रहरीले लकडाउन उल्लंघन गरेर सवारी चलाएको भन्दै २७ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । कतिपय सवारी साधन चलाएर बजारमा आएकाहरु मेडिकल गएको र आएकोलगायत बाहानामा छुट्ने गरेका छन् । केही प्रतिष्ठितलाई प्रहरीले छाडेको गुनासो स्थानीयको छ । ग्रामीण भेगमा मोटरसाइकल र जिप निर्बाध रुपमा चलाइएको स्थानीयले बताएका छन् ।


एम्बुलेन्स दुरुपयोग रोक्न प्रहरीको निगरानी

शिव पुरी/रौतहट

एम्बुलेन्समा यात्रु बोक्न लागेको भन्दै रौतहटको चन्द्रपुरस्थित ईलाका प्रहरीले बुधबारबाट निगरानीमा राखेको छ । कोभिड–१९ को सम्भावित संक्रमण रोक्न सरकारले एक सातासम्म आह्वान गरेको ‘लकडाउन’को फाइदा उठाउँदै अधिकांशले यात्रु ओसारपसार गरेको प्रहरीलाई जानकारी गराएपछि चन्द्रनिगाहपुर क्षेत्रका एम्बुलेन्सलाई निगरानीमा राखेको छ । प्रहरीले उनीहरुलाई जथाभावी नचलाउन भनेको छ ।


ईलाका प्रहरीका डिएसपी हेमबहादुर शाहीले एम्बुलेन्स दुरुपयोग रोक्न निगरानीमा राखेको बताए ।

प्रकाशित : चैत्र १२, २०७६ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्

बेलायतबाट हेर्दा नेपाली लकडाउन

सुविना श्रेष्ठ

काठमाडौँ — म अहिले बेलायतको एउटा कुनामा छु । परिवारसहित ‘आइसोलेसन’मा बसेको एक हप्ता भयो । जब म फागुन २९ गते काठमाडौंबाट जहाज चढें तब युरोपलाई कोरोना (कोभिड–१९) भाइरसको केन्द्रविन्दु घोषणा गरिसकिएको थियो ।

बेलायतमा भाइरसको कारणले मर्नेको संख्या केवल १० थियो । यो लेख लेखिरहँदा बेलायतलगायत नेपालमा पनि ‘लकडाउन’ लागु भइसकेको छ ।

बेलायतले कोभिड–१९ को संक्रमण पहिलो चरणमा बढ्न दिने सोचाइ राखेको थियो । यो निर्णय अरु देशका वैज्ञानिकहरुको विचारभन्दा ठीक विपरीत थियो । यहाँको सरकारका अनुसार भाइरसको संक्रमण समाजमा पहिले बढ्न दियो भने स्वास्थ्य सेवामा तुरुन्त भार नपर्ने र अगाडि नै समाजमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ भन्ने थियो । हामी यहाँ आइपुग्दा सबै अवस्था सामान्य नै देखिन्थ्यो । विद्यालयहरु सुचारु थिए । रेलमा खाँदिएर मानिसहरु काममा जाने, साँझमा रेस्टुरेन्ट र पब जाने क्रम रोकिएको थिएन ।

बेलायत सरकारले आफ्नो पुरानो निर्णय फेरेको एक साता जतिमात्र भयो । एक साताअघि अति आवश्यक अवस्थामा बाहेक अन्य कारणले घर नछोड्न आदेश दिइएको थियो । दुःखको कुरा, बेलायतमा अहिलेसम्म सयौं मानिसको मृत्यु भइसकेको छ । संक्रमणको आशंकामा जाँच गर्दा करिब ६ हजार मानिसमा कोभिड–१९ पोजेटिभ देखिएको छ ।

मलाई लाग्छ, जब विश्व यो संकटबाट बाहिर निस्कनेछ, तब यो संसारले अर्कै रुप लिइसकेको हुनेछ । यो संक्रमणले हामीलाई अनेकन परीक्षा लिने र दिनेछ । हामी कोसँग बस्न सक्छौं, कोबिना बाँच्न चाहन्छौं भन्ने जबाफ पनि छिट्टै पाउनेछौं ।

यहाँ म बसेको वरपर धेरैलाई कोरोना भाइरस लागिसकेको छ । तर नेपालमा अहिले ३ जनालाई मात्र भाइरस लागेको, तीमध्ये एकजना पहिल्यै निको भएर घर फर्किसकेको र बाँकी दुईको चाहिँ हाल काठमाडौंमा उपचार भइरहेको सरकारले बताएको छ । यसरी हेर्दा कोरोनाको मारमा नेपालभन्दा बढी बेलायत परेको देखिन्छ । तर मलाई भने धेरै चिन्ता आफ्नै देशको लागिरहेको छ । किनभने नेपालको राजनीतिक नेतृत्वमा दूरदर्शिताको कमी देखिन्छ ।

अहिले मात्र होइन, पहिलादेखि नै यस्तो देखिंदै आएको छ । भनिन्छ नि, बिहानीले दिनको संकेत गर्छ । हाम्रो नेतृत्व चाहेर हो वा नचाहेर, भोलि आउनसक्ने संकटबारे पहिल्यै योजना बनाउने पक्षमा कहिल्यै देखिदैन । मलाई त देशको नेतृत्व मेरा एक पूर्वकर्मचारी मानबहादुरभन्दा फरक लाग्दैन । १०/१२ वर्ष अघिको कुरा हो, उनलाई मैले भूकम्प आउनुभन्दा पहिला अत्यावश्यक सामानसहितको एउटा झोला तयार गरौं भन्दा उनले मलाई एकोहोरो हेर्दै भने, ‘बच्चा पाउने कहिले–कहिले, भोटो सिलाउने अहिले !’

मैले भनेको कुरालाई उनले सुनेको नसुन्यैजस्तो गरी निस्केर गए । हो, यस्तै मानसिकता अहिलेको हाम्रो नेतृत्वमा पाइन्छ । यो मानसिकता एक–दुई जनामा होइन, केन्द्रदेखि गाउँ तहसम्म जरा गाडेर बसेको छ ।

पर्यटनमन्त्रीले केही समयअघि ‘नेपाल कोरोना–फ्रि देश हो’ भनेको प्रसंगदेखि स्वास्थ्यमन्त्रीले ‘हाम्रो देश कोरोना ग्रीन जोनमा परेको छ’ भन्दै सामाजिक सञ्जालमा लेखेको देखियो । यस्तो नाटक देख्दा त हाम्रो नेतृत्वले कोरोना भाइरसको प्रकृति कस्तो हो भन्ने कुरा बुझ्नै कोसिस नगरेजस्तो लाग्छ । देशमा महामारी फैलियो भने कसरी रोक्ने भन्नेबारे गम्भीर नै नभएको वा त्यसको तयारी गर्न नचाहेको भन्ने कुरा पनि प्रष्ट हुन्छ ।

केही दिनयता दुबईमा जागिर गुमाएका नेपालीहरुसँग कुराकानी गरिरहेको छु । उनीहरु आफ्नो घर फर्कन चाहन्छन् तर उनीहरुको घर फर्कने बाटो सबैतिरबाट बन्द गरिएको छ । यिनै नेपाली कामदारहरुको पसिनाबाट राज्यको अर्थतन्त्र धानिएको छ । अहिले उनीहरु गम्भीर मर्कामा छन्, तर राज्य साथमा छैन, उनीहरु घरमा फर्कन सकेका छैनन् । पहिला चीनको वुहानबाट सबै नेपालीलाई सरकारले नै उद्धार गरेर नेपाल ल्यायो तर अहिले देशको अर्थतन्त्र धान्ने आफ्ना नागरिकहरुलाई ठ्याक्कै उल्टो व्यवहार गरिएको छ ।

हाम्रो नेतृत्वको अदूरदर्शितालाई केही दिनअघि स्वास्थ्यमन्त्रीले गरेको पत्रकार सम्मेलनले पनि राम्रोसँग देखाइदिएको छ । देशमा कोरोनाका नयाँ संक्रमित फेलापरेको जानकारी दिन आयोजित प्रेस ब्रिफिङमा दर्जनौं पत्रकारलाई एउटै कोठामा खाँदेर जुन दशा देखाइयो त्यसले पनि प्रष्ट हुन्छ– सम्भावित महामारीसँग जुध्नका लागि नेतृत्वसँग कुनै योजना नै छैन । अझ दूरदर्शिताको त एकदमै कमी छ ।

अत्यन्तै तीव्र रुपमा संक्रमण हुने कोरोना भाइरसको संक्रमण रोक्न मुलुकभरि लकडाउन गर्ने कुरा सराहनीय हो । किनभने, यही बाटोबाट मात्र सयौंको जीवन बच्न सक्छ । एकजनाबाट तीनजना, तीनबाट नौजना र नौ जनाबाट ८१ जनामा यो सर्नसक्छ । यस्तो अवस्थामा एकजनालाई भएको सुरुकै संक्रमण रोक्न सकियो भने यो संख्या निकै न्यून भएर जाने सम्भावना छ । तर, जुन परिवार एउटै कोठामा बसिरहेका छन्, जसको घरमा पानी छैन, धारा भए पनि पानी आउँदैन, धेरै जनाको एउटै ‘ट्वाइलेट’ छ, यी मानिसहरुको बारेमा के सोचिरहेको छ सरकारले ?

ललितपुर, मंगलबजारनजिक मेरो घर वरपर धेरै नै यस्ता मानिसहरु बस्ने गरेका छन् । उनीहरुको पूरै परिवार एउटै कोठामा बस्ने गरेको र बिहानै लामो लाइन बसेर उनीहरुले पानी भरिरहेको म देख्ने गर्थें । घरमा गएर एक कोठामा बस्नुपर्दा घरेलु हिंसामा पर्ने महिलाहरुलाई के हुन्छ ? उनीहरुको बालबच्चाको के हालत होला ? खासमा खानेपानी, खुल्ला आकाश र दुई–तीन कोठा– काठमाडौंजस्तो सहरमा बस्ने धेरैका निम्ति ‘विलासिता’का वस्तुहरु हुन् ।

अहिलेको विषम परिवेशमा बिहान–साँझ काम गरेर छाक टार्ने मानिसहरुले के खालान् भन्ने राज्यले सोचेको छ कि छैन ? त्यत्तिमात्र होइन, कम पैसामा काम गर्ने र साँझ–बिहान एक किलो चामल किनेर छाक टार्ने मानिसहरुले घरभाडा कसरी तिर्ने ? जीवनयापन गर्ने स–साना व्यापार–व्यवसाय बन्द भइरहेका छन्, उनीहरुले के गर्ने ? ऋण लिएर काम गर्ने साना व्यवसायीहरुका लागि ब्याजदर घटाउने कि नाइ ? यो बारेमा राज्य कत्तिको गम्भीर बनेको छ ? जनताको हिँड्डुल रोकेर महामारीबाट बचाउन त सकिन्छ, तर बाँच्न त खानु पर्‍यो नि ?

जब यो महामारी फैलिएर जान्छ तब हाम्रो जीवन स्वास्थ्यकर्मीहरुको हातमा हुन्छ । ती स्वास्थ्य सेवकहरुसँग महामारीसँग जुध्न चाहिने व्यक्तिगत उपकरणहरु छैनन् । मानिसलाई बचाउन ‘भेन्टिलेटर’ छैन । आईसीयूको सुविधा एकदमै कम छ । तैपनि उनीहरुले नै हाम्रो जीवन बचाउनुपर्ने हुन्छ । यस्तो अवस्थामा तिनलाई कसरी परिचालन गर्ने ?

जुनबेला राज्यले कोरोनाको संक्रमण भित्रिने जोखिम बढिरहेका थियो त्यो बेला समेत ‘भिजिट नेपाल’ मनाउन आफ्ना पर्यटक पठाउ भन्दै विदेशी मुलुकलाई अनुरोध गरिरहेको थियो, यदि त्यहीबेला अलिकति पनि सोचेको भए, स्वास्थ्यकर्मीहरुका लागि उपकरण मागेको भए, बिरामीका लागि भेन्टिलेटर मागेको भए, बरु स्थिति अर्कै हुन्थ्यो होला ।

मेरा मानबहादुरको भनाइसँग सोच मिल्ने नेतृत्वले बल्ल अहिले आएर स्वास्थ्यकर्मीका लागि उपकरण, भेन्टिलेटर चाहियो भनेर मागिरहेका छन् । तर मानबहादुरले भनेझैं ‘बच्चा त जन्मिसक्यो π’ समय हुँदा काम नगर्ने, समय बितिसकेपछि मात्र तात्तिने नेपाली स्वाभाव फेरि पनि देखापरेको छ ।

नेपालीहरु सजिलै भनिरहेका हुन्छन्– हामीलाई त श्री पशुपतिनाथले बचाइरहेका छन् ! यदि नेतृत्वले जनताको बारेमा गम्भीर भएर तर्कसंगत तरिकाले सोचेन भने पशुपतिनाथ त के, तेत्तीस कोटी देवी–देवता सबैलाई थकाइ लाग्नसक्छ । नेपालले एक हप्ताको लागि लकडाउन भनेको छ । तर, भाइरसको प्रभाव सामान्यतः दुई हप्ता रहने भनिएको छ । लकडाउन नै गर्ने हो भने यस विषयमा पनि ध्यान दिने कि ?

प्रकाशित : चैत्र १२, २०७६ १९:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×