कोरोना लकडाउनमा सांसद : कोही पुस्तक पढ्दै कोही फोनमार्फत जनतामाझ 

स्वास्थ्य व्यवस्थाबारे चिन्ता र चासो 
जयसिंह महरा

काठमाडौँ — संघीय संसदलाई पनि विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९)ले प्रभावित बनाएको छ । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सूचना जारी गरेर स्थगित भएको छ भने राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

कोरोना लकडाउनमा सांसद : कोही पुस्तक पढ्दै कोही फोनमार्फत जनतामाझ 

प्रतिनिधिसभाको फागुन २९ गते बसेको बैठक कोरोनाकै त्रासले चैत ७ गतेसम्मका लागि स्थगित गरियो । ७ गतेकफो बैठक सूचना जारी गरेर १३ गतेसम्मका लागि स्थगित गरिएको थियो । बिहीबारका लागि आह्वान गरिएको बैठक पनि कोरोनाकै कारणले २३ गतेसम्मका लागि स्थगित भएको सूचना संसद सचिवालयले जारी गरेको छ ।


यसबीच नेपालमा कोरोना संक्रमित व्यक्तिहरू थपिँदै गए । सीमा नाका बन्द गरिएका छन् भने आकाशबाट नेपाल आउने उडान पनि बन्द गरिएका छन् । मुलुकमा सरकारको तर्फबाट 'लकडाउन' आदेश जारी भएर सर्वसाधारण घरभित्र सीमित बनेका छन् । जनतासँगै जनप्रतिनिधि पनि काठमाडौंमा घर हुने घरभित्र र घर नहुने डेराभित्र सीमित बनेका छन् ।


सांसद घरमा सीमित भए पनि आफ्ना मतदातासँग भने सम्पर्कमा रहेका छन् । कोही पुस्तक पढिरहेका छन् भने केहीलाई कानुन पढ्ने फुर्सद मिलेको छ । जनताजस्तै सांसदहरू पनि स्थिति सामान्य रहेको अवस्थामा चैत १८ गतेसम्म लकडाउनको अवस्थामा आइसोलेसन अर्थात् एकान्तवासमा रहनेछन्, परिवार र सीमिति व्यक्तिका साथमा ।


मन्त्रिपरिषदको बैठकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा केही सांसदले दुई महिनाको पारिश्रमिक उपलब्ध गराउने घोषणा गरेका छन् । केहीले उक्त कोषमा एक महिनाको रकम उपलब्ध गराउने भएका छन् भने अधिकांशले संसदीय दलका निर्णयअनुसार १५ दिनको पारश्रमिक दिने भएका छन् ।


कोरोनाविरुद्ध लड्दै, समस्यामा परेकालाई सहयोग गर्दै सांसद :

आर्थिक सहयोगसँगै कोठामा सीमित भएका सांसदले आफ्नो क्षेत्रका समस्यामा परेका जनताहरूको उद्धारमा पनि खटिएका छन् । भारतसँग सीमा जोडिएका क्षेत्रका सांसदहरूको फोन लकडाउनको पहिलो दिन मंगलबार अति व्यस्त रह्यो । सरकारले भारतबाट कसैलाई पनि नेपाल छिर्न नदिने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयन गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना ठूलो संख्यामा सीमामा तैनाथ भएका थिए ।


भारतबाट नेपाल आएकाको ठूलो भीड कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकीमा थियो । सुदूरपश्चिम प्रदेशका अधिकांश पहाडी क्षेत्रबाट भारतमा मजदुरी गर्न गएका उनीहरूले आफूलाई नेपाल आउन दिन स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सरकार र संसद तथा संघीय सांसदहरूसँग हारगुहार लगाए । स्थानीय तहका प्रतिनिधि र प्रदेशका जनप्रतिनिधिले पनि केन्द्रबाट निर्णय गराएर नेपाललाई क्वारेन्टाइनमा बस्ने शर्तमा आउन दिन पहल गर्न आग्रह गरे ।


नेकपा सांसद भीम रावलको मंगलबार भारतबाट नेपाल आउनेहरूका समस्या समाधान गर्नमा बित्यो । कोरोना रोकथाम सम्बन्धी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्च स्तरीय समितिबाट अन्तिम पटकका लागि निर्णय गराउनसम्म उनले लकडाउनको पहिलो दिन बिताए । उक्त समितिले निर्णय गरेपछि गड्डाचौकी, गौरीफन्टालगायत नाकामा रहेका हजारौंले नेपाल टेक्न पाए । 'हिजो कैलाली र कञ्चनपुरका सीमामा अड्किएका नेपालीलाई उद्दार गर्ने काममा लागियो । उनीहरूलाई छोड्ने कि के गर्ने भन्ने भन्ने विषय थियो, त्यसको समाधानमा लागियो,' काठमाडौंको घरमा एकान्तवास बसिरहेका उनले भने, 'आज कहाँ के के भइरहेको छ भन्ने जानकारी लिइरहेको छु ।'


नेकपाकै सांसद जनार्दन शर्माको लकडाउनको पहिलो दिन रुकुमबाट मजदुरी गर्न सिन्धुली पुगेकालाई उद्धार गर्नमा बित्यो । उनको निर्वाचन क्षेत्रका ३६ जनाको टोली लकडाउन भएपछि मजदुरी गर्ने स्थलबाट घर जान बस चढेको थियो । उनीहरूलाई बसले बुटवलमा अलपत्र छोडिदिएको थियो । त्यसपछि शर्मा प्रशासनसँगको सहयोगमा सबैलाई सकुशल रुकुम पुर्‍याउने काममा लागेका थिए ।


कोरोनाबाट संक्रमित राख्न वा क्वारेन्टाइन बनाउन राजपाकी प्रतिनिधिनिसभा सदस्य निर्जला राउतले होटल दिएकी छन् । महोत्तरीको बर्दिवासस्थित होटल पावन मिथिलालाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न तयार अवस्थामा राखेको उनले जनाएकी छन् । उक्त होटल केन्द्र सरकार र प्रदेश २ सरकारले आशव्यक परेको खण्डमा प्रयोग गर्न सक्नेछ ।


प्रतिनिधिसभा सदस्यसमेत रहेका अर्बपति विनोद चौधरीले कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक र नर्सहरूले प्रयोग गर्ने पीपीई उपलब्ध गराउने बताएका छन् । सामाजिक संजाल ट्विटरमार्फत उनले अबको तीन दिनभित्र चौधरी फाउन्डेसनमार्फत ती उपकरण उपलब्ध गराउने जानकारी दिएका छन् । कांग्रेसबाट सांसद उनले भेन्टिलेटर, अक्सिजन सिलिन्डरलगायतका उपकरणका साथै स्वास्थ्यकर्मीलाई अभिमुखीकरणका लागि सरकारी निकायसँग सहकार्य गरेर अगाडि बढ्ने जनाएका छन् । 'आजको आवश्यकता पैसा होइन, उपकरणको सहज आपूर्ति हो । उपचारको अभिभारा बोकेका स्वास्थ्यकर्मीको सुरक्षा हो । यसतर्फ हामी अत्यन्तै सजग र संवेदनशील छौं । त्यसैले आगामी ३ दिनिभित्रमा देशभरीका सबै संवेदनशील स्थानमा पीपीईलगायत अन्य सामग्री उपलब्ध गराउने लक्ष्यसाथ अगाडि बढिरहेका छौं,' सांसद चौधरीले लेखेका छन् ।


समाजवादी पार्टीका सांसद मोहम्मद इस्तियाक राई भने नेपालगञ्जमा छन् । उनी नेपालगञ्जलाई सेनिटाइज र डिसइन्फेक्टेड् गर्ने अभियानमा जुटेका छन् त्यसका लागि नेपालगञ्जका विभिन्न अस्पताल, विमानस्थल, बसपार्क र सुरक्षा निकायका कार्यालयसँगै सडकमा मेसिनबाट औषधि छर्ने काम भइरहेको उनले सामाजिक संजाल फेसबुकबाट जानकारी दिएका छन् ।


लकडाउनको समय परिवार र अध्ययनलाई, फोनबाटै राजनीतिक गतिविधि :

संसद चलेको दिन संसदको अघिल्लो लाइनमा देखिने नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको संसद नचलेको दिन सिंहदरबारस्थित कार्यकक्षमा बिताउने, नियमित कार्यालय जाने र फर्किने, पूर्व मेचीदेखि पश्चिम महाकालीबाट आएका विभिन्न पेशा व्यवसायमा आबद्ध व्यक्तिहरूसँग त्यहीँ कुराकानी गर्ने दैनिकीलाई कोरोनाको त्रासले परिवर्तन गरिदिएको छ । उनी लकडाउन हुनु एक दिन पहिलेदेखि घरमै बसेका छन् ।

सिंहदरबारको कार्यकक्ष 'मिस' भइरहेको उनले फोनमा बताए । 'अफिसमा हुँदा सिंहदरबारमा हुँदा मेचीदेखि महाकालीसम्मका मान्छेहरूसँग भेट हुन्थ्यो । राजनीति, नागरिक समाज, प्राध्यापक, पत्रकार, वकिल प्राध्यापकहरूसँग साह्रै धेरै बाक्लो भेटघाट हुन्थ्यो । घरमा आइसोलेसनमा बस्दा त्यो छुट्यो,' उनले भने । 'अहिले आइसोलेसनमा बस्नु आवश्यकता हो' भन्दै उनले चित्त बुझाइरहेका छन् ।


समसामयिक विषयका पुस्तक, पत्रपत्रिका पढिरहेको बताउँदै नेम्वाङले राजनीतिक गतिविधि फोनबाट चलिरहेको सुनाए । 'निर्वाचन क्षेत्रमा के भइरहेको छ भन्ने विषयमा फोनबाटै पार्टीका नेता र प्रशासनमा रहेका अधिकारीसँग फोनमै छलफल तथा जानकारी लिने काम भइरहेको छ,' उनले भने ।


प्रमुख प्रतिपक्षी कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले लकडाउनको पहिलो दिन 'सुवर्ण स्मृति' पढिन् । उनले यो लडकडाउनको समयमा संसदीय अभ्यास र व्यवस्थाबारे लेखिएका राष्ट्रिय र अन्तर्राष्ट्रिय पुस्तक पढ्ने योजना सुनाइन् । यो विपत्तिको बेला घरभित्र बसेर सबैले परिवार, समाज र सरकारलाई सहयोग गर्नुपर्ने उनको सुझाव छ । 'देशमा दैविक विपत्ति आएको छ । जसरी हुन्छ सरकारलाई तन, मन, धनले समर्थन गर्नुपर्छ,' उनले भनिन्, 'नेपाल अविकसीत देश भएकाले सजकताको खाँचो छ । कोरोनाको न्यूनीकरण भनेको सजगकता हो ।

गाउँघरतिर बाहिरबाट विशेषगरी भारतबाट आउनुभएको छ । उहाँहरू सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ । परीक्षणको घडीमा सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ । परिवारका सदस्यबाट टाढा बस्नुपर्छ । त्यसलाई कसरी पालना गर्नुभएको छ भन्ने चिन्ताको विषय भएको छ । त्यसमा सबैले ध्यान दिनुपर्छ ।' उनले जिल्लामा कोरोनाविरुद्ध कसरी काम भइरहेको छ भन्ने विषयमा स्थानीय तहका प्रतिनिधिहरूसँग फोनबाट सूचना लिइरहेको बताइन् ।


राजपा अध्यक्ष मण्डलका सदस्य तथा प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले लकडाउनको समयमा पुस्तक पढ्ने र परिवारलाई समय दिने बताए । 'अध्ययन गर्नका लागि उपयुक्त समय पाएको छु । त्यसैले अध्ययनमा केन्द्रीत गरेको छु । बिहान योग, ध्यान, आत्म चिन्तनमा बित्छ । अरुबेला परिवारका सदस्यहरूसँग बस्ने समय हुँदैन थियो, अहिले समय मिलेको छ,' उनले भने, 'हिजोबाट स्यामुअल हङटिङटनको 'द क्ल्यास अफ सिभिलाइजेसन' पढिरहेको छु । विवेकानन्दसम्बन्धी पुस्तक पनि पढ्ने योजना छ । अध्यामिक र दर्शनका पुस्तक पढ्ने योजना छ ।'

संसदीय सुनुवाइ समितिका सभापतिसमेत रहेका राजपा सांसद लक्ष्मणलाल कर्ण भने विधेयक पढिरहेका छन् । पछिल्लो समय विवादित विधेयक आएका र तिनको अध्ययन गर्न संसद चलिरहेको बेलामा नपाएकाले अहिले पढिरहेको उनले बताए । कानुनका पुस्तकको अध्ययनमा पनि लागेको उनको भनाइ थियो ।


सांसद भीम रावल भने कोरोना भाइरसबारे अध्ययन गरिरहेको बताउँछन् । 'कोरोनाको कुन कुन ठाउँमा कस्तो प्रभाव छ ? कहाँ के असर गरिरहेको छ ? संक्रमणको वृद्धि कसरी भइरहेको छ ? र, प्रवृत्ति के छ ? भन्नेबारे पढिरहेको छु,' रावलले भने , 'पढेर विश्लेषण गर्ने र जिल्लामा तथा पार्टीका नेताहरूलाई पनि यथार्थ जानकारी गराउने गरिरहेको छु ।'


राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले भने समय मिलेमा रुपचन्द्र विष्टसँगको संगतबारे पुस्तक लेख्ने योजना बनाएका थिए । लामो समय संसद बैठक नबस्ने र बाहिर कार्यक्रममा पनि जान नपाउने भएपछि त्यसको सुरुवात गर्ने उनको तयारी थियो । तर उनको त्यो योजना कार्यान्वयन हुन सकिरहेको छैन । 'पढ्न, लेख्नपर्‍यो भनेर बस्यो चिन्ता लाग्छ दिमाग अन्तै जाँदो रहेछ । केही लेख्नपर्‍यो भनेर बस्यो 'टेकुमा यस्तो छ, सशस्त्रको प्रहरीको अस्पतालमा उस्तो छ' भनेर आएका समाचार दिमागमा खेल्छन् । काम गर्न पनि सकिएको छैन । किताब लेख्ने तयारी थियो, त्यो पनि अगाडि बढाउन सकेको छैन,' उनले भने ।


स्वास्थ्य सेवाबारे चासो र चिन्ता :

प्रतिनिधिसभा सदस्य गगन थापाले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक पत्र लेखेका छन् । स्वास्थ्यक्षेत्रबारे चिन्ता व्यक्त गरिएको पत्रमा कोरोनाविरुद्ध एकजुट भएर लड्नुपर्ने सुझाव रहेको छ । कोरोनाको जाँच बढाउनुपर्ने लगायतका सुझाव उनले दिएका छन् । स्वास्थ्यमन्त्रालयमा रहँदाको अनुभव स्मरण गर्दै उनले स्वास्थ्य क्षेत्र कोरोनालाई थेग्न नसक्ने र पर्याप्त तयारी नपुगेको लेखेका छन् ।


सांसद बिडारीले कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि चाहिने अक्सिजन भेन्टिलेटर, स्वास्थ्यकर्मीका लागि सुरक्षित पहिरन सामग्री पीपीई र उपचारको तयारीबारे चिन्ता व्यक्त गरेका छन् । उनले चीनले स्वास्थ्य सामग्री दिन्छु र चिकित्सक पठाउँछु भनेको अवस्थामा सरकारले ती सामग्री ल्याउन ढिलाइ गर्न नहुने बताएका छन् ।


सामाजिक संजालबाट कोरोनाबारे अफवाह फैलिइरहेको सांसद राजकिशोर यादवको भनाइ छ । त्यसले पनि मान्छेलाई अनावश्यक चिन्तामा धकेलेको उनको बुझाइ छ । यसको अन्त्य गर्नका लागि आधिकारीक र विश्वसनीय संचार माध्यममा मात्रै विश्वास गर्न उनले सर्वसाधारणलाई आग्रह गरेका छन् । उनले थपे, 'कोरोनाको उपचारमा संलग्न चिकित्सक, नर्सलाई सरकारले सुरक्षित सामग्री दिनुपर्छ । विकासको बजेट काटेर भएपनि सरकारले उनीहरूलाई सुरक्षा व्यवस्था दिनुपर्छ । यो २० दिनयता विदेशबाट आएकालाई आइसोलेसनमा राख्न स्थानीय तहलाई भन्नुपर्छ ।'


संसद बैठक स्थगित भए पनि संसद अधिवेशन अन्त्य नभएकाले अधिकांश सांसदहरू काठमाडौंमै रहेको दलहरूले बताएका छन् । राजधानी बाहिर गएकाहरू पनि आइसोलेसनमा बसिरहेको र जनतालाई परेका समस्या समाधानका लागि समन्वय गरिरहेको दलका नेताहरूको भनाइ छ ।

प्रकाशित : चैत्र १२, २०७६ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?