१२५ यात्रीको पहिचानपछि निगरानी

फ्रान्सबाट आएकी संक्रमित युवतीसँगै विमानमा यात्रा गरेकाहरूको नामावली भेटिएपछि प्रहरीले आफ्ना युनिटलाई निगरानीको निर्देशन दिएको छ । अर्कै विमानको फोटो समाजिक सजालमा भाइरल भएपछि अरू यात्रु प्रस्टीकरण दिँदै हैरान छन् । संक्रमित हुन सक्ने शंका गरिएकाहरूको छानबिन र क्वारेन्टाइनका प्रक्रियाबारे सरकारले अझै प्रस्ट्याएको छैन ।
जनकराज सापकोटा

काठमाडौँ — कतारको दोहा हुँदै काठमाडौं आएको विमानमा यात्रारत १९ वर्षीया युवतीमा कोभिड– १९ (कोरोना) संक्रमण पुष्टि सँगै सवार अन्य यात्रुको खोजी सुरु भएको छ । उक्त विमानबाट ती युवतीसँगै नेपाल आएका एक सय २५ जनाको नाम ठेगाना प्रहरीले पत्ता लगाएको बताएको छ ।

सरकारी निकायबाट आधिकारिक धारणा सार्वजनिक गर्न ढिलाइ भएसँगै उक्त विमानमा सँगै आउने अन्य यात्रुबारे चासो बढेको छ। उक्त विमान कति बजे अवतरण भएको थियो, त्यसको कल साइन कति थियो र कति यात्रु थिए भन्नेबारे आधिकारिक धारणा सार्वजनिक भएको छैन। योसँगै सामाजिक सञ्जालमा उक्त दिन कतारबाट काठमाडौं ओर्लेका यात्री लक्षित अफबाह फैलिन सुरु भएको छ।


संक्रमणको पुष्टि भएको जानकारी दिन स्वास्थ्य मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलन करिब १ बजेतिर सकिएको थियो। फ्रान्सबाट कतार हुँदै आएकी युवतीमा संक्रमणको पुष्टि भएको बताउंदै स्वास्थ्यमन्त्रीले उक्त विमानमा आउने अन्य यात्रुको खोजी गरिने बताएका थिए। तर पत्रकार सम्मेलनमा कुन कल साइनको विमानमा कति बजे ती संक्रमित यात्रु आएकी हुन्, त्यसमा कति यात्रु थिए भन्ने बताइएको थिएन। सरकारी तवरबाट औपचारिक रूपमा जानकारी नआए पनि पत्रकार सम्मेलन सकिएको एक घण्टालगत्तै सामाजिक सञ्जाल फेसबुकमा एउटा फोटो भाइरल हुन थालिसकेको थियो। उक्त फोटोमा कतार एअरवेजको विमान उडिरहेको देख्न सकिन्छ। जसमा लेखिएको छ, ‘क्यूआर ६५० मा चैत ४ गते जो कोही चढेर नेपाल आउनुभएको छ भने आफूलाई तुरुन्त चेकअप गराउनुहोला।’


सामाजिक हितका निम्ति भन्दै राजनीतिक दलका नेता, उच्चपदस्थ पूर्वकर्मचारीहरू, साहित्यकार र केही सञ्चारकर्मीहरूले नै जोडतोडले सेयर गरिरहेका थिए। तर कान्तिपुरले अध्यागमन विभाग र स्वास्थ्य मन्त्रालयका उच्चपदस्थ अधिकारीसंग गरेको कुराकानीले उक्त कल साइनको विमानमा ती संक्रमित यात्रु नआएको पुिष्ट हुन्छ। उक्त विमान चैत ४ को साँझ ७ बजे विमानस्थलमा अवतरण गरेको थियो। जबकि संक्रमित यात्रु आएको विमान सोही दिन १ सय ५८ यात्रुसहित बिहान चैत ४ गते १० बजेर १२ मिनेटमा अवतरण भएको देखिन्छ।

फ्रान्सबाट फर्किएकी युवतीमा कोरोना : विदेशी साथीलाई संक्रमण देखिएपछि परीक्षण

कतिसम्म भने सामाजिक सञ्जालका कतिपय प्रयोगकर्ताले गलत सन्देश भएको विमानको फोटोकै आधारमा उक्त विमानमार्फत यात्रा गरेका यात्रुको नाम र ठेगाना नै सार्वजनिक गरेर ती यात्रुबाट जोगिन अपिल गरेको देखिन्छ। सोमबार नै पत्रकार कनकमणि दीक्षितले ट्विटरमा कतार एअरवेजको कल साइन क्यूआर ६५० मा यात्रा गरेर काठमाडौं आएका यात्रुहरूलाई आइसोलेसनमा बस्न अनुरोध गरे।


पछि सोही विमानमार्फत यात्रा गरेका एक यात्रुले आफू आएको विमान संक्रमितले यात्रा गरेको विमान नभएको ट्विटरमा बताए। कोरोना संक्रमित व्यक्ति संक्रमित आएको विमान क्यूआर ६५२ रहेको बताएपछि ३ लाख २१ हजार फलोअर्स भएका दीक्षितले यही ब्योहोरा लेखेर माफी मागे। उनी मात्र होइन पूर्वसचिव भीम उपाध्यायले पनि बिनापुष्ट×्याइँको गलत सन्देश फेसबुकमार्फत सार्वजनिक गरे।


मंगलबार ५ बजेसम्म उक्त गलत सन्देशसहितको स्टाटस ३ सय ४९ जनाले सेयर गरेको देखिन्छ। कतिसम्म भने उपाध्यायको पोस्टमा कैयनले संक्रमितको नाम सार्वजनिक गर्नुपर्ने मागसमेत राखेका छन्। रामहरि रिमाल नामका फेसबुक प्रयोगकर्ताले त झन् कोरोना लागेको मान्छेको तीनपुस्ते विवरण र तिनलाई भेटेका मान्छेको नाम सार्वजनिक गर्न माग गरेका छन्।


सामाजिक सञ्जालबाट फैलिएको हल्लाकै कारण गलत कल साइन भएको विमानका यात्रुहरू आइसोलेसनमा बस्ने र संक्रमित यात्रु आएको विमानका यात्रुहरू बेफिक्री रहने जोखिम बढेको छ। यद्यपि मंगलबार साँझसम्म पनि अध्यागमन विभागले संक्रमित यात्रु चढेर आएको विमानबारे औपचारिक जानकारी दिएको छैन। न उक्त दिन आगमन कक्षमा कार्यरत अध्यागमन अधिकारीहरूलाई नै सचेत गराएको छ।


कान्तिपुरसँग सम्पर्कमा आएका केही अध्यागमन अधिकारीले संक्रमित चढेर आएको विमानको कल साइन क्यूआर ६५२ र बिहानका समयमा आएको पुष्टि गरे। एक अधिकारीले भने, ‘उक्त विमानबारे नभन्नू भन्ने आदेश छ। कल साइन थाहा हुँदा व्यक्तिको पहिचान खुल्ने र समस्या आउँछ भनेर नबोल्नू भनिएको छ।’


सामाजिक सञ्जालमार्फत फैलिएको अफबाहकै कारण कतिपयले व्यक्तिको नाम नै किटेर सामाजिक सञ्जालमा ‘ती व्यक्तिबाट सतर्क हुनुस्’ भन्नेजस्ता सन्देश पनि फैलाइएका छन्। कतिपयले भने सामाजिक सञ्जालमार्फत नै आफू उक्त विमानमा चढेर नआएको प्रस्टीकरण दिइरहेका छन्।


प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षत्रीले संक्रमित यात्रुसँगै यात्रारत यात्रुहरूको परिचय खोलेर सामाजिक सञ्जालमा लेख्नु गोपनीयताको हकविरुद्धको काम भएको भन्दै व्यक्तिको परिचय खोल्ने काम गर्न नमिल्ने बताए। उनले भने, ‘स्वास्थ्यसँग जोडिएको विषय भएकाले व्यक्तिको परिचय खोल्दा सामाजिक रूपमा हुने व्यवहारमा परिवर्तन आउने वा अनय घटना हुने जोखिम रहन्छ।’


त्यसो त संक्रमणबारे सामाजिक सञ्जालमार्फत अनेकन अफबाह फैलाउने, झूटा तथ्यहरूको प्रचार गर्नेहरूमाथि पनि प्रहरीले निगरानी बढाइरहेको छ। प्रहरी प्रधान कार्यालयअन्तर्गतको विशेष टिमले सामाजिक सञ्जालमाथि निगरानी बढाएको र अफबाह फैलाउनेको पहिचान थालिएको डीआईजी क्षत्रीले बताए। उनले भने, ‘सामाजिक सञ्जालमा के लेख्दै छु, आफूले लेखेको विवरण सत्य हो कि होइन, त्यसले अफबाह फैलाउँछ कि फैलाउँदैन भनेर व्यक्तिगत रूपमै सचेत हुन जरुरी देखिन्छ।’


संक्रमितसँगै यात्रा गरेकाहरू खोजिँदै

सोमबार मध्याह्न स्वास्थ्य मन्त्रालयले संक्रमित युवतीको पुष्टि गरेसँगै साँझ प्रहरीले विमानस्थल अध्यागमनबाट उक्त युवती सवार विमानमा रहेका यात्रुहरूको विवरण (प्यासेन्जर म्यानिफिस्टो) झिकाएको छ। प्रहरी प्रधान कार्यालयमा एक एसपीसहित चार डीएसपीसहितको टोलीले यात्रुहरूको राहदानीका आधारमा यात्रुहरूको ठेगाना र सम्पर्क खोजी गरेको छ।


प्रहरी प्रवक्ता डिआईजी क्षत्रीका अनुसार मंगलबार साँझसम्म क्यूआर ६५२ विमानमा यात्रा गरेर आएका एक सय २५ जनाको ठेगाना पत्ता लगाइएको छ। उनका अनुसार ठेगाना पुष्टि भएका यात्रुहरूको जिल्लास्थित प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमार्फत ती यात्रुसँग सम्पर्क कायम गरिने र उनीहरूलाई आइसोलेसनमा बस्न भनिने बताए। उनले भने, ‘आइसोलेसनमा बसे–नबसेको र उनीहरूको स्वास्थ्यमा केही समस्या देखिए–नदेखिएको रेखदेख स्थानीय प्रहरीले गर्नेछ।’


जसको पहिचान खुलाइयो

संक्रमित युवतीसँगै विमानमा यात्रा गरेर आएकाहरूलाई सरकारी तवरमै सम्पर्क गरेर आइसोलेसनमा बस्न अनुरोध गर्ने काम नभएपछि सामाजिक सञ्जालबाटै उक्त विमानमा आएका यात्रुहरूको परिचय सार्वजनिक गर्ने काम हुन थालेको छ। जस्तो कि, पश्चिम बागलुङका एक युवा उक्त विमानको आएको भन्दै उनको नाम, ठेगाना खुलाएर सामाजिक सञ्जालमा लेखिएको स्टाटस सयौं जनामाझ सेयर भएको देखिन्छ।


कतारबाट आएका ती युवा एक दिन काठमाडौं बसेर गत बुधबार गाउंँ पुगेका थिए। सामाजिक सञ्जालमार्फत उनको परिचय खुलेपछि स्थानीय तहका प्रमुखले ती युवालाई आइसोलेसनमा राखेर परीक्षणको प्रक्रिया सुरु गरिएको छ। सरकारी तवरबाटै संक्रमित वा उनीसँग सम्पर्कमा रहेकाहरूको पहिचान गर्ने र उनीहरूलाई सजग गराउँदै आइसोलेसनमा राख्ने काम सामाजिक सञ्जालमार्फत हुँदा ती व्यक्तिको परिवार, आफन्त र स्थानीयमाझ घृणा फैलिने जोखिम देखिन्छ।


फेसबुकबाट फैलिएको अफवाहको असर उदयपुरको बेलका नगरपालिकामा पनि पर्‍यो। स्थानीय स्वस्तिक थापाले नगरपालिकाका एक व्यक्तिको नाम र ठेगाना नै किटेर उनी संक्रमित युवती चढेको विमान भन्दै क्यूआर ६५० बाट आएको भन्दै स्टाटस लेखे। जबकी संक्रमित युवती आएको विमान क्यूआर ६५२ थियो।


तर असत्य सूचनाको विश्वासमा परेर उनले ती व्यक्ति आइसोलेसनमा नबसी बाहिर काम गरेको भन्दै यसबारेको सूचना आफूले प्रमुख जिल्ला अधिकारीदेखि प्रदेश मुख्यमन्त्रीको स्वकीय सचिवसम्मलाई गराएको बताए। उनको स्टाटस एकैछिनमा भाइरल भयो। अर्का स्थानीय नवीन बाबुले पनि यस्तै आशयको स्टाटस लेखे। उक्त स्टाटस पनि ४२ जनाले शेयर गरे।


प्रकाशित : चैत्र १२, २०७६ ०७:३७

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सञ्जालमा कोरोना अफवाह

फेसबुकमार्फत झूटो सूचना फैलाउने एक जना पक्राउ 
जनकराज सापकोटा

काठमाडौँ — फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमार्फत कोरोना भाइरस (कोभिड–१९) बारे भ्रामक सूचना तथा अफवाह फैलिन थालेका छन् । इन्टरनेटमार्फत् तीव्र गतिमा फैलिने यस्ता सूचनाले सर्वसाधारणलाई त्रसित मात्रै बनाएको छैन, गलत सूचनामा विश्वास गर्दा जनजीवन प्रभावित हुने खतरासमेत बढेको छ ।


शुक्रबार राति १० बजे विवेक थापा मगरले सामाजिक सञ्जाल फेसबुकमा एउटा समाचारको लिंक सेयर गर्दै स्टाटस लेखे । उनले ‘नेपालमा कोरोनाको महामारी फैलिसके पनि सरकारले किन लुकाए यस्तो खबर । तल दिएको अडियो सुन्नुहोला... अनिवार्य’ भनेर लेखेका थिए ।

आफैंले सञ्चालन गरेको झोर्लेन्युज डट कममामा राखिएको अडियो क्लिपसहितको लिंक शनिबार बिहान भाइरल भइसकेको थियो । शनिबार मध्याह्नसम्म उनको फेसबुक स्टाटस ६ जनाले मात्रै सेयर गरेको देखिन्छ । तर सोही समाचारमा राखिएको उक्त अडियो क्लिप भने हजारौंले सामाजिक सञ्जालमार्फत् सेयर गरे । म्यासेन्जर, भाइबर र ह्वाट्सएपका विभिन्न ग्रुपबाट पनि यो क्लिप सयौंमाझ सेयर भएर देश–विदेशका नेपालीले सुनेको देखिन्छ । नेपाल प्रहरीको साइबर ब्युरोले शनिबार दिउँसो सामाजिक सञ्जालमार्फत् कोभिड–१९ बारे अफवाह फैलाएको भन्दै भक्तपुरको सिपाडोलमा डेरा गरी बस्ने तिनै २० वर्षीय विवेकलाई पक्राउ गर्‍यो । ख्यालख्यालमै विवेकले फैलाएको अफवाहले उनी त पक्राउ परे नै, सयौंलाई गलत सूचनाले त्रसित बनायो ।

उक्त क्लिपमा विवेकले हिमाल नामक मान्छेसंँग कुरा गर्दै नर्भिक अस्पतालमा ९ जनालाई जाँच गर्दा ६ जना जतिलाई कोभिड–१९ को संक्रमण देखिएको पुष्टि भएको बताएका छन् । नेपालमा महामारी फैलिसकेको दाबी गर्दै भनेका छन्, ‘यो न्युज मिडियामा आउँदैन पनि रे । यो न्युज सरकारले लुकाको छ रे ।’ यसरी आफ्नै आवाजमा रेकर्ड गरेको क्लिप आफ्नै अनलाइनमा पोस्ट गरेर त्यसलाई सामाजिक सञ्जालमार्फत विवेकले अफवाह फैलाए ।

विवेकले आममानिसमा भ्रम छर्न ल्याएको अडियोमा प्रयोग भएका तथ्यहरूले उक्त सूचना गलत रहेको पुष्टि भयो । नेपालमा कोभिड–१९ संक्रमणको एक मात्र जाँच टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हुने भए पनि विवेकले नर्भिकमा त्यस्तो जाँच भएको र उक्त कुरा लुकाइएको तर्क गरेका छन् ।

सामान्य अक्कलमै पनि भ्रमपूर्ण लाग्ने सूचना भने सर्वसाधारणले सजिलै पत्याउँदै सामाजिक सञ्जालमार्फत सेयर गरिरहे । शनिबार बिहानैदेखि फेसबुक म्यासेन्जर,ह्वाट्सएप र भाइबरजस्ता अनलाइन सञ्जालबाट यो अडियो फैली नै रह्यो । प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षत्रीले कान्तिपुरसँगको कुराकानीमा भ्रमपूर्ण खबर भन्ने थाहा पाएर पनि सेयर गर्ने र फैलाउने कार्य पनि नागरिकको गैरजिम्मेवार कार्य भएको बताए । उनले कोभिड–१९ बारेका सूचना सरकारको आधिकारिक निकायबाट वा विश्व स्वास्थ्य संगठनबाट लिन सुझाउँदै भने, ‘भ्रमपूर्ण खबर पोस्टगर्ने वा फैलाउने सबैमाथि प्रहरीले उच्च निगरानी बढाएको छ ।’

अडियो क्लिपको भ्रमपूर्ण सन्देश प्रवाह भएपछि नर्भिक अस्पतालले विज्ञप्ति निकालेर त्यसको खण्डन गर्‍यो । अस्पतालको विज्ञप्तिमा अपराधपूर्ण अफवाहको निन्दा गर्दै भनिएको छ, ‘जटिल र एवं संवेदनशील समस्यामा सबै निकाय एकजुट भई समस्यासँंग लड्नुपर्ने चुनौतीपूर्ण अवस्थामा यस्ताखाले भ्रामक समाचारप्रति हामी घोर खेद प्रकट गर्दछौं ।’ सामाजिक सञ्जालमा यसका अलावा अन्य भ्रमपूर्ण अडियो क्लिप, भिडियो र पोस्टहरू पनि भाइरल भइरहेको देखिन्छ । भाइरल भएको अर्को अडियो क्लिपमा सैन्य हेलिकप्टरले कीटनाशक दबाई छर्किने भएकाले रातिको १२ बजे घरभित्र बस्न र घरबाहिरका कपडाहरू भित्र ल्याउन भनिएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भाइरल भएको अडियोको सन्देशमा कुनै सत्यता नरहेको उल्लेख गर्दै भने, ‘भ्रमपूर्ण सूचनाको पछि नलाग्नुस् ।’ यो अडियो क्लिप भने कसले र कहिलेबाट फैलियो भन्नेबारे यकिन भइसकेको छैन ।

कोभिड–१९ बारे अफवाह फैलाउने कैयन् भिडियो सामग्री, अडियो क्लिप तथा पोस्ट फेसबुक, ट्वीटर र टिकटकमार्फत् भाइरल भइरहेको प्रहरी अनुसन्धानले देखाएको छ । संक्रमणबारे सामाजिक सञ्जालमार्फत द्रुत गतिमा फैलिएको अफवाहलाई विश्व स्वास्थ्य संगठनले इन्फोडेमिक अर्थात् सूचना संक्रमणका रूपमा अर्थ्याएको छ ।

प्रहरी प्रवक्ता क्षत्रीका अनुसार टेकु अस्पतालमा कोभिड–१९ को संक्रमणबाट बिरामी मरेका छन् भनेर टिकटक भिडियो बनाउनेमाथि पनि प्रहरीले अनुसन्धान जारी राखेको छ । उक्त भिडियोमा टेकु अस्पतालबाट शव बेरेर पशुपति लगेको दाबी गरिएको छ । भिडियोमा नाम लिइएका डाक्टर टेकु अस्पतालका नभएको पुष्टि भएको बताउँदै प्रवक्ता डीआईजी क्षत्रीले भने, ‘उक्त टिकटक अमेरिकाबाट अपलोड भएको देखिन्छ ।’ प्रवक्ता क्षत्रीले संकटका बेला भ्रमपूर्ण खबर फैलाउनेलाई निगरानी गर्ने र तिनीहरू विदेशमा भए पनि स्वदेश फर्केका बेला पक्राउ पर्ने बताए । मुलुकी अपराध संहिता २०७४ मा झूटो सूचना तथा अफवाह फैलाउनेलाई कारबाही गर्न सकिने प्रावधान छ ।

कानुनमा अफवाह फैलाउने, प्रचारप्रसार गर्नेलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । त्यस्तै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ मा भने कुनै विपद्को घटना घट्न सक्ने अफवाह फैलाई सार्वजनिक रूपमा त्रास सिर्जना गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

सामाजिक सञ्जालमा आफूलाई धार्मिक गुरु बताउने केहीले भने महामारीको उपचार आफूसँग रहेको बताइरहेको भिडियो पनि भाइरल भइरहेको छ । आफूलाई क्रिश्चियन धर्मगुरु अर्थात् पाश्चर बताउने पोखराका केशवराज आचार्यले यसुका नाममा ‘कोरोना मरिजा...’ भन्दै बोलेको भिडियो युट्युबमा राखेका थिए । सामाजिक सञ्जालमा धर्मको आवरणमा यस्तो भ्रमपूर्ण सूचना फैलाएको भन्दै व्यापक आलोचना भएपछि उक्त भिडियो शनिबार मध्याह्नबाट हटाइएको छ ।

महानगरीय प्रहरी कार्यालयले सञ्चालनमा ल्याएको शुल्क नलाग्ने फोन नम्बर १०० मा शनिबार मध्याह्नसम्म कोभिड–१९ को संक्रमणसँग सम्बन्धित २५ वटा सूचनाहरू आएका थिए । तीमध्ये केही सूचनाहरू अफवाहपूर्ण खबरहरूसामाजिक सञ्जालमार्फत् फैलाइएको भन्ने विषयमा थिए ।

निःशुल्क फोनमार्फत आउने सूचनाहरूको संकलन र व्यवस्थापनमा सक्रिय कार्यालयको उपत्यका परिचालनकक्षका सई नवराज थापाले कोभिड–१९ लागेर मान्छे मरेको भन्ने खालका भ्रमपूर्ण सूचना फैलाउने फेसबुक पेज र प्रयोगकर्ताबारे पनि केहीले सूचना दिएका थिए । उनका अनुसार केही सूचना भने बढी भाडा असुल्न खोज्ने सार्वजनिक सवारीसाधन र बढी मूल्यमा मास्क बेच्न खोज्नेव्यापारीबारे थियो । उनले भने, ‘आमनागरिकबाट आएका सूचनाबारे थप अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी अपराध महाशाखा र साइबर ब्युरोमा पठाउनेगरिएको छ ।’

प्रकाशित : चैत्र ९, २०७६ ०७:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×