कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालमा पहिलो पटक हवाई सेवा ठप्प

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक साढे ४ सय र काठमाडौं उपत्यकाबाहिर ३४ वटा विमानस्थलमा डेढ सय हाराहारी उडान हुने गरेका थिए ।
सुरज कुँवर

काठमाडौँ — नेपालमा वायुसेवा सुरु भएको ७० वर्षे इतिहासमा पहिलोपटक एक अन्तर्राष्ट्रियसहित देशभरका सबै ३४ विमानस्थल ठप्पै हुनेगरी हवाई यातायात सेवा रोकिएको छ ।



नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीका अनुसार ‘पिक सिजन’मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक साढे ४ सय र काठमाडौं उपत्यकाबाहिर ३४ वटा विमानस्थलमा डेढ सय हाराहारी उडान हुने गरेका थिए। लकडाउनका कारण मंगलबार विमानस्थलमा चार्टर, रेस्क्यु लगायतका कुनै पनि उडान भएनन्। ‘मंगलबार कुनै पनि उडान भएन,’ प्रवक्ता क्षत्रीले भने, ‘नेपालमा हवाई यातायात सेवा सञ्चालन भएयता हवाई सेवा ठप्प भएको यो सम्भवतः पहिलो पटक हो।’


नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार यसअघि विभिन्न विपत् तथा हवाई घटना/दुर्घटना हुँदा पनि उडान रोकिएको थिएन। नेपालमा सर्वाधिक आन्तरिक उडान गर्ने बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले पनि यसअघि कहिल्यै विमानस्थल ठप्प नभएको बताए। ‘बुद्ध एयरले सेवा दिन थालेको २३ वर्ष बित्यो, कहिल्यै विमानस्थल ठप्पै भएको मलाई सम्झना छैन,’ उनले भने।


बस्नेतका अनुसार २०४६ सालको जनआन्दोलनमा बहुदललाई साथ दिन, राजा ज्ञानेन्द्रको शासनकालमा तत्कालीन पर्यटनमन्त्री सर्वेन्द्रनाथ शुक्लाले निजी क्षेत्रका व्यवसायी सकुन्तलाल हिराचनलाई र्‍यामबसको ठेक्का दिन गरेको निर्णयको विरोध र २०६२/६३ को जनआन्दोलनमा ऐक्यबद्धता जनाउनबाहेक आन्तरिक सेवा बन्द भएको छैन।


‘२३ वर्षमा पहिलोपटक म ढुक्कले घर बसेको आजै हो,’ उनले भने, ‘यसअघि स्वदेशमा हुँदा होस् वा विदेशमा जहाज उड्यो उडेन, अवतरण भयो भएन, बिजनेस केकति भयो जस्ता विषयको चिन्ता नभएको दिन हुँदैनथ्यो। तर आज म १३ वटा विमान काठमाडौंमा सिल गरेर घरमा बिनाचिन्ता बसेँ।’


पूर्वपर्यटन सचिव यज्ञ गौतमले पनि विभिन्न राजनीतिक घटनाका बेला आन्तरिक हवाई सेवा बन्द भए पनि अन्तर्राष्ट्रिय र आन्तरिक गरी दुवै सेवा ठप्पै भएको ७० वर्षयता नसुनिएको बताए। ‘आन्तरिक उडान रोकिएको सुनियो तर दुवै सेवा ठप्पै भएको मैले कहिल्यै सुनिनँ,’ नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक समेत रहेका गौतमले भने।


०७१ फागुनमा काठमाडौंमा टर्किस एयरलायन्सको जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटना हुँदा ४ दिन अन्तर्राष्ट्रिय उडान रोकिए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक सेवा भने चलेको थियो। ०७४ फागुनमा बंगलादेशी एयरलाइन्स यूएस बंगलाको बमबार्डियर विमान विमानस्थलभित्रै ५१ जनाको ज्यान जाने गरी दुर्घटना भए पनि विमानस्थल केही घण्टामै खुलेको थियो। भारतले ०७२ असोजमा लगाएको नाकाबन्दीमा पनि जहाजले एयरलिफ्ट गरेर ल्याएको इन्धनबाट नेपाली व्यवसायीले हवाई सेवालाई निरन्तरता दिएका थिए।


वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलका अनुसार मंगलबार कुनै बिरामी वा विदेशीलाई उद्धार गर्न पनि उडान भएन। ‘सोलुको पाङबोचे र कोथेबाट दुइटा हेलिकप्टर चार्टर उडानका लागि अनुरोध आएको थियो तर मंगलबार हुन सकेन बुधबार हुनसक्ला,’ हेली एभरेस्टका सीईओसमेत रहेका संघका प्रवक्ता कँडेलले भने।


हाल नेपालमा तीनवटा स्वदेशीसहित २९ वटा अन्तर्राष्ट्रिय एयरलाइन्स र २१ वटा घरेलु (रोटर र फिक्सड विङ) एयरलायन्सले उडान गर्छन्। प्रकाशित : चैत्र ११, २०७६ २१:१०

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कोभिड–१९ पछिको परिदृश्य

सीके लाल

खास परिस्थितिमा प्रचलित शब्दले त्यस कालखण्डको जनभावनालाई प्रतिविम्बित गरिरहेको हुन्छ । शब्दकोशमा पहिलेदेखि रहेको भए पनि ‘बन्द’ अभिव्यक्तिको अर्थ यातायात एवं कारोबार स्थगन हुन्छ भन्ने मान्यता सन् १९९० को जनआन्दोलनबाट स्थापित भयो । बन्दकर्ताहरूमा अधिकारकर्मी पद्मरत्न तुलाधरका समर्थकहरूको बाहुल्य हुने गर्थ्यो ।

तिनका पछाडि तत्कालीन ‘माले’ भनिने उग्रवादी समूहका बाहुबलीहरू हुने गर्थे । जनमतमा हार खाएर निराश भएको नेपाली कांग्रेसको सक्रिय सहयोगमा सफल १९९० को बन्द अभियानमा स्वैच्छिक बन्दकर्ताहरूको भूमिका पनि महत्त्वपूर्ण थियो । आशा मिसिएको आक्रोश बन्दको अन्तर्निहित चरित्र बन्न पुगेको थियो । त्यस जनभावनाको व्यापक दुरुपयोग १९९० पछि तत्कालीन एमालेको नेतृत्वमा ‘माले–मण्डले–मसाले’ भनिने झुन्डले नेपाली कांग्रेसको सरकारलाई अकर्मण्य तुल्याउन सुरु गरेपछि बन्दको आह्वान बाहुबलीहरूको डरको पर्याय बन्न पुगेको हो ।

सन् २००१ पश्चात् तत्कालीन माओवादीहरूले बन्द भनिने लट्ठी जस्तो राजनीतिक अस्त्रलाई बृहत् ‘बन्दी’ अवस्थामा रूपान्तरित गरिदिए । कसैले ‘आज बन्दी छ’ भन्ने ठट्टैठट्टामा भनिदिँदा पनि सहरको सामान्य जीवन टक्क रोकिन्थ्यो । तर, माओवादीहरूले एकल जातीय वर्चस्वको राज्य व्यवस्थालाई चुनौती दिने सम्मानको राजनीतिक मुद्दालाई देखाउनका लागि भए पनि बोकेका थिए । त्यसैले उत्पीडित, उपेक्षित, तिरस्कृत एवं बहिष्कृत सामाजिक समूहहरूले बृहत् बन्दीको मौन समर्थन गर्ने गर्थे । नृजातीय विशेषाधिकारका पक्षधरहरू ‘गरिखान देऊ’ उद्घोषका साथ सेतो कमिजमा सजिई सडकमा उत्रिएर त्यस्तो आह्वानको विरोध गर्ने गर्थे । आश र त्रासमिश्रित बन्दी अवधारणाको राजनीतिक उपयोग सन् २०१५ को विवादित संविधान जारी भएपछि अचानक समाप्त भयो । नेत्रविक्रम चन्दको बन्द घोषणालाई डरका बावजुद खासै कसैले गम्भीरतापूर्वक लिँदैनन् ।

यो महामारीलाई ‘न्युयोर्क टाइम्स’ दैनिकका स्तम्भकार थोमस फ्रिडम्यान एवं मोर्गन स्टेन्ली इन्भेस्टमेन्ट म्यानेजमेन्टका प्रमुख विश्व–रणनीतिकार रुचिर शर्माले ऐतिहासिक विभाजक ठहर्‍याएका छन् । तिनको आकलनमा विश्वको अर्थराजनीतिलाई अबदेखि बी.सी. (बिफोर कोरोना) एवं ए.सी. (आफ्टर कोरोना) कालक्रम अनुसार मात्र बुझ्न सकिनेछ ।

राज्यसत्ताको साँचो एकताकाका माले तथा कुनै बेलाका माओवादीहरूको हातमा भएकाले होला, बन्द र बन्दीमिश्रित बन्दाबन्दी (लकडाउन) सन् २०२० पछिको पुस्ताको स्मृतिमा अविस्मरणीय ठहरिने निश्चित छ । आशाको साटो निराशा एवं डरको ठाउँ आतंकले लिएको छ । सायद त्यसैले पाकिस्तानका प्रधानमन्त्री इमरान खान आफ्नो मुलुकमा बन्दाबन्दी अवस्था घोषणा गर्न हच्किरहेका छन् । डराएको समाजमा सबभन्दा बढी दु:ख पाउने सबभन्दा कमजोर समूहका व्यक्तिहरू हुन्छन् । सेतो कमिजवालाहरू सुरक्षित महसुस गर्छन् । त्यसैले ‘गरिखान देऊ’ भन्नेहरू रातारात ‘बसिखान देऊ’ सिद्धान्तका समर्थक भएका छन् । विसम्मति राख्नेलाई जनस्वास्थ्यविरोधी एवं देशद्रोही ठहर्‍याउन तिनीहरू अग्रपंक्तिमा हुनेछन् ।

शब्द–संघर्ष
पटकपटक उद्धृत गरिने विलियम शेक्सपियरको भावानूदित एउटा प्रसिद्ध पंक्ति छ— ‘नाममा के छ र ? गुलाफलाई जुनसुकै नाम दिइए पनि त्यसको सुगन्ध त यथावत् नै रहनेछ ।’ हुन त हो, तर नाममा पनि केही न केही जरुर छ । नभए यसअघि कहिल्यै नदेखिएको कोरोना समूहको नयाँ विषाणुको नामकरणबारे यति विघ्न विवाद उत्पन्न हुने थिएन । विषाणु बिलकुलै नयाँ भएकाले सबभन्दा पहिले एक थरी वैज्ञानिकहरूले ‘नोवल’ अर्थात् अनौठो कोरोना नाम प्रयोग गर्न सुरु गरेका थिए । त्यसपछि कोभिड–१९ भन्ने आधिकारिक नाम स्थापित भएको हो ।

विषाणु मानवमा सरेको स्थान भएको मानिने चिनियाँ सहरसँग जोडेर केही अमेरिकीले ‘वुहान विषाणु’ भन्ने शब्दावली पनि प्रयोग नगरेका होइनन् । सबभन्दा विवादास्पद पदावलीको प्रयोग भने आफ्ना अभिव्यक्तिहरूमार्फत कलह निम्त्याउन असाध्यै मन पराउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन् । उनले कोभिड–१९ लाई ठाडै ‘चिनियाँ विषाणु’ भनेर सम्बोधन गर्न सुरु गरेका छन् । स्वाभाविक हो, आधिकारिक नामको साटो होच्याउने किसिमको अर्थ लाग्न सक्ने सम्बोधन चिनियाँहरूलाई मन परेको छैन । जुन नाम दिइए पनि कोभिड–१९ उत्तिकै खतरनाक हो । तर, संज्ञाको छनोटमा भूराजनीतिक निहितार्थ जोडिएको छ भन्ने कुरा वासिङ्टन एवं बेइजिङ संस्थापनका अधिप्रचारकहरूलाई राम्रोसँग थाहा छ । त्यसैले ती दुई प्रतिद्वन्द्वी भूराजनीतिक महाशक्तिका अभ्यर्थकहरू कोभिड–१९ एउटा वा अर्को देशको युद्ध प्रयोगशालामा जैविक हतियारका रूपमा विकसित गरिएको हुन सक्ने आधारहीन आरोप–प्रत्यारोपमा उत्रिएका छन् । खास गरेर अन्तर्जालका पाटीहरू एवं उत्तेजक मिडिया बन्न पुगेको (अ)सामाजिक सञ्जालमा त्यस्तो षड्यन्त्रको सिद्धान्त खुबै लोकप्रिय हुँदै गएको छ ।

केही दशकपछि कोभिड–१९ लाई ‘चिनियाँ विषाणु’ नै भनिएको भए पनि सायद खासै फरक पर्ने थिएन । अमेरिकाको कन्सास सैनिक छाउनीबाट फैलिएको सर्ने ज्वरो (इन्फ्लुएन्जा) महाव्याधिलाई अहिले पनि ‘स्पेनिस फ्लु’ भनिँदै छ । स्पेनवासीले त्यस नामावलीलाई अस्वीकार गरेका छैनन् । जापानी इन्सेफेलाइटिस भनिने मस्तिष्ककोपको प्रकोप जापानबाट नभएर अहिलेको इन्डोनेसिया तथा मलेसिया क्षेत्रबाट फैलिएको मानिन्छ ।

जापानीहरू आफ्नो नाम बित्थामा मुछिएको भन्दै रन्थनिएका छैनन् । तर, चीन भनेको स्पेन वा जापान होइन । चिनियाँहरू आफ्नो आर्थिक वजन एवं भौतिक आयतन अनुसारको भूराजनीतिक भूमिका स्थापित गर्न प्रयत्नशील छन् । विश्व स्वास्थ्य संगठनले सुरुमा नव कोरोना विषाणुको प्रकोपलाई क्षेत्रविशेषमा व्याप्त संक्रामक बिमारी (एपिडेमिक) भनेर घोषित गरेको थियो । त्यस घोषणाले चीनको छविलाई मात्र क्षति हुने देखेर, वैश्विक अर्थ व्यवस्थामा वुहान सहरको महत्त्व ठम्याएर वा हवाई यातायातले जोडिएको संसारमा सबै खाले संक्रमण अन्तत: विश्वव्यापी नै हुने आकलन गरेर विश्व स्वास्थ्य संगठन कोभिड–१९ लाई महाव्याधि (प्यानडेमिक) उद्घोष गर्ने निर्णयमा पुगेको हुनुपर्छ । नयाँ प्रकृतिको संक्रमण भएकाले यस महामारीको सुलभ इलाज संसारमा कहीँ पनि उपलब्ध छैन । प्रतिरोधक खोप बनाउन पनि समय लाग्नेछ । संक्रमण गणितीय नभएर घातांकीय (एक्स्पोनेन्सल) दरमा फैलिने हुँदा कोभिड–१९ लाई अन्तर्विष्ट (कन्टेन) गर्न बेलायत, फ्रान्स एवं अमेरिका जस्ता पश्चिमा देशहरूलाई समेत हम्मेहम्मे परेको छ । तुलनात्मक रूपमा संक्रमणलाई अल्पकालीन तवरले भए पनि नियन्त्रणभित्र राख्न चिनियाँहरू सफल भएका छन् ।

तत्कालीन सोभियत संघको अन्तस्फोट (इम्प्लोजन) सृजना गर्नुमा पश्चिमा प्रचारतन्त्रले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो । त्यस परिघटनाबाट पाठ सिकेका चिनियाँहरू अधिप्रचारको मामिलामा पश्चिमाहरूभन्दा कत्ति पनि कम प्रभावशाली छैनन् । बेइजिङको प्रचार संयन्त्र विशद एवं व्यापक प्रकृतिको छ । कूटनीतिज्ञहरू आक्रामक तवरले सामाजिक सञ्जालको प्रयोग गर्ने गर्छन् । एउटा पुनप्र्रकाशित लेखमा प्रयोग भएको पूर्वप्रकाशित रेखाचित्रबाट आक्रोशित भएर नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ‘काठमान्डु पोस्ट’ का तत्कालीन सम्पादकलाई ट्वीटरमार्फत ठाडै धम्क्याएकी थिइन् । उनको गैरकूटनीतिक घुर्कीलाई सही ठहर्‍याउने पृष्ठपोषकहरूको मुखर जमात तत्काल अन्तर्जालमा सक्रिय भएको थियो ।

नेपालमा मात्र नभएर संसारभरिकै सार्वजनिक वृत्तमा जानकार, सिद्धहस्त एवं प्रशिक्षित टिप्पणीकारहरूको एउटा झुन्ड चिनियाँ नीतिका नरम आलोचकहरूमाथि समेत आक्रामक तवरले जाइलाग्छ । लन्डन विश्वविद्यालयको ओरिएन्टल तथा अफ्रिकी अध्ययन स्कुल (सोआस) अन्तर्गतको चाइना इन्स्टिच्युटका निर्देशक स्टिभ त्साङका अनुसार कोरोना विषाणुलाई नियन्त्रण गर्न पाएको तात्कालिक सफलतालाई अधिप्रचारको अस्त्रका रूपमा प्रयोग गर्न चिनियाँहरूले गरिरहेको यो स्तरको सघन प्रचार अभियान यसअघि कहिल्यै देखिएको थिएन । पश्चिमाहरूसँगको प्रतिद्वन्द्वितामा बेइजिङले पहिलो सफलता सन् २००८ को आर्थिक मन्दीताका आफ्नो भौतिक क्षमताको प्रदर्शन गरेर प्राप्त गरेको थियो । संसारलाई ढाक्ने महत्त्वाकांक्षी सिल्क रोड एवं बहुचर्चित बेल्ट एन्ड रोड इनिसिएटिभ जस्ता बृहत् परियोजनाहरूको कार्यान्वयन चुनौतीपूर्ण रहेको भए पनि अधिप्रचारको अस्त्रका रूपमा त्यस्ता प्रस्तावनाहरूले भूराजनीतिक खेलमैदानमा चीनको अग्रता स्थापित गरिसकेका छन् । कोभिड–१९ सँग भिड्ने चिनियाँ प्रारूपको प्रभावकारितालाई विश्वपरिदृश्यमा अमेरिकीहरूको वर्चस्व क्षीण हुँदै गएको असरदार प्रमाण मान्न सकिन्छ ।

सन् १९१८ को ‘स्पेनिस फ्लु’ लाई कोभिड–१९ भन्दा पहिलेको विनाशकारी महाव्याधि मानिन्छ । तिनताक विश्वव्यापी टिप्पणीकारहरूको जगजगी नभएकाले होला, त्यस महामारीलाई मानवीय त्रासदी ठहर्‍याइए पनि त्यसको दीर्घकालीन असरबारे खासै अतिशयोक्तिपूर्ण चित्रण गरिएको भेटिँदैन । कोभिड–१९ लाई भने ‘न्युयोर्क टाइम्स’ दैनिकका स्तम्भकार थोमस फ्रिडम्यान एवं मोर्गन स्टेन्ली इन्भेस्टमेन्ट म्यानेजमेन्टका प्रमुख विश्व–रणनीतिकार (चीफ ग्लोबल स्ट्राटजिस्ट) रुचिर शर्माले ऐतिहासिक विभाजक ठहर्‍याएका छन् । तिनको आकलनमा विश्वको अर्थराजनीतिलाई अबदेखि बी.सी. (बिफोर कोरोना) एवं ए.सी. (आफ्टर कोरोना) कालक्रमण अनुसार मात्र बुझ्न सकिनेछ । यदि साँच्चिकै त्यसो हुने हो भने ‘स्पेनिस फ्लु’ पछिको बी.सी. अमेरिकी वर्चस्वको कालखण्ड थियो । कोभिड–१९ पछिको ए.सी. कालावधि भने चिनियाँ प्रभुत्वको ठहरिने देखिँदै छ । कोभिड–१९ चीनको वुहान सहरबाट फैलिएको कोरोना ज्वरो निकाल्ने विषाणु कुलको विलक्षण संक्रमण हो । त्यसलाई समूहगत नाम कोरोनामा सीमित गर्न सक्नुलाई चिनियाँ प्रचारतन्त्रको सफलता मान्न सकिन्छ । कोभिड–१९ भन्दा पनि कोरोना शब्द जनजिब्रोमा झुन्डिन थालेको छ ।

वैचारिक अन्योल
अमेरिकीहरूको वैचारिकीमा व्यक्तिगत स्वतन्त्रता सर्वोपरि हुने गर्थ्यो । अब भने राज्यको प्रमुखता कायम भएको कुरा सहर वा प्रान्त मात्र नभएर सिंगो राज्य नै बन्दाबन्दी (लकडाउन) गर्न सकिने रणनीतिको व्यापक स्वीकार्यतामा देख्न सकिन्छ । महाव्याधिको अवस्था सैनिक युद्धभन्दा पनि भयावह हुन्छ । युद्धमा तालिमप्राप्त एवं अनुशासित सिपाही लड्छन् । महामारीमा सामान्यजनलाई समेत अग्रपंक्तिमै उभिनुपर्ने बाध्यता हुन्छ । त्यसले गर्दा समग्र समाजमा सैन्य मनस्थितिको स्वीकार्यता बढ्दै जान्छ । समाजलाई संगठित गर्ने तरिका सुस्तरी ऐक्यबद्धताभन्दा पनि आज्ञाकारितातिर मोडिन्छ । स्वायत्त नागरिकको अविच्छेद्य मानवाधिकारको अवधारणालाई सरकारले जारी गर्ने राज्यनिकता (स्टेटेजिनसिप) बाट उत्पन्न हुने संस्थागत संरचनामा व्यक्तिको जिम्मेवारी एवं कर्तव्यको प्रस्तावनाले थिच्न थाल्नेछ । असल नागरिक हुन साबुन र पानीले हात धुनुपर्छ । साबुन–पानीको जोहो भने व्यक्ति स्वयंले गर्नुपर्नेछ । अनौपचारिक अर्थतन्त्रका कामदार, दैनिक मजदुरी गरेर जेनतेन जीवन निर्वाह गर्ने श्रमजीवी, सडकपेटीमा साग बेचेर स्वतन्त्र कमाई गरिरहेका घरबारविहीन व्यक्ति एवं रिक्सा तथा ठेला चलाएर गुजारा गर्ने उद्यमीका जोखिमहरू घट्नुको साटो बढ्नेछन् ।

चिनियाँ प्रारूपको शासन व्यवस्थामा विधिको साटो व्यक्ति प्रमुख हुनेछ । ज्ञानलाई प्रविधिले जित्नेछ । विद्वान्को ठाउँ विषयविज्ञहरूले लिनेछन् । निर्वाचन राजनीतिक प्रक्रियाबाट शासकीय कर्मकाण्डमा परिणत हुनेछ । नेतृत्वक्षमताको मापक व्यक्तिको सादगी, सौम्यता, निद्र्वेषता, निर्भयता, विनम्रता एवं पक्षमुक्त व्यवहार नभएर उसको वाक्पटुता, षड्यन्त्र गर्ने र चिर्ने धूर्तता, दुस्साहस, अहंकार तथा अन्धभक्तहरूको रक्षा गर्ने तत्परता बन्न पुग्नेछ ।

व्यक्तिपूजा तथा सामाजिक द्वेष फैलिँदै जानेछ । पक्कापक्की के हुनेछ भन्ने कुरा ठोकुवा कसैले गर्न सक्दैन । परिदृश्य आकलन भविष्यवाणी होइन ।

महाव्याधिबाट उम्किएका व्यक्ति बढी मानवीय पनि हुन सक्ने सम्भावना कायम छ । सम्झिनुपर्ने कुरा के हो भने, भौतिक दूरीले सामाजिक दूरी स्वत: बढाउँछ । नमस्कारमा औपचारिकता छ, हात मिलाउनुजत्तिको न्यानोपन भने छैन । उर्दुको ‘आदाव’ वा ‘सलाम’ अभिवादनले घाँटी जोड्नुको आत्मीयतालाई समेट्दैन । व्यक्तिगत स्वतन्त्रतामा राज्यनिर्देशित व्यक्तिपरकताको विजय भावी समाजको स्वरूपको प्रारम्भिक संकेत हो । प्रविधिले विधि, विधिले राज्य एवं राज्यले समाज रूपान्तरित हुन्छ । अनिश्चितता विद्यमान अवस्थाको एक मात्र निश्चितता हो । यस्तो अवस्थामा फगत आज्ञाकारी मात्र नभएर निरन्तर प्रश्न गरिरहने प्रवृत्तिले निश्चित परिवर्तनलाई ठम्याउन सघाउन सक्छ । व्यक्तिको विसम्मतिमा समाजको जीवन्तता कायम रहन्छ ।

प्रकाशित : चैत्र ११, २०७६ २१:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×