कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ग्रान्डी र अल्का अस्पताललाई स्पष्टीकरण

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य मन्त्रालयले ग्रान्डी इन्टरनेशनल अस्पताल र अल्का अस्पताललाई स्पष्टीकरण सोधेको छ । दुवै अस्पताललाई के कति कारणले कोभिड–१९ को बिरामी जाँच्‍न नसिकने सञ्‍चार माध्यममा बताएकाले स्पष्टीकरण दिन भनेको हो ।


स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन पोखरेलले ग्रान्डी अस्पतालले ‘आफूहरु बिरामी जाँच्‍न नसक्ने कुरा भन्न नखोजेको’,औंल्याउदै स्पष्टिकरणको उत्तर दिए पनि अल्काले भने कुनै प्रतिक्रिया नजनाएकोबताए।


ग्रान्डीले राज्यको नीति नियम मान्ने उल्ल्खे गर्दै सामान नपाएको गुनासो गरेको हो। डा.पोखरेलले निजी अस्पताललाई सामानहरुको जोहो आफैं गरेर मुलुकलाइ सघाउनु पर्ने उल्लेख गरे। प्रकाशित : चैत्र ११, २०७६ १९:२६

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

७ दिने ‘लकडाउन’लाई ७ देशका ७ फिल्म

यज्ञश

काठमाडौँ — बेला यस्तै छ । जब जब पृथ्वी वा प्रकृतिको कुनै कुरा मानिसको पकडभन्दा बाहिर जान्छ, त्यो बेला हाम्रा लागि खराब हुन्छ । यो त्यस्तै बेला हो ।

कोरोना भाइरसको महामारी हाम्रो पकडभन्दा बाहिर पुगिसकेको छ। यसैले त यो छिमेकी चीनबाट निस्किएर संसारभर पुगिसकेको छ। संसारका दुई निकै साना टापु टाइपका देशमामात्र यो पुग्न बाँकी छ।

नेपालमा पनि कोरोना संक्रमण देखिएपछि सरकारले ७ दिनका लागि लक डाउन घोषणा गरेको छ। आजैबाट सुरु हुने लकडाउन चैत १८ गतेसम्मका लागि हुनेछ।

'लकडाउन' को आशय हो, नागरिकहरु घरबाट बाहिर ननिस्किउन्। र, मान्छेले नै संसारभर पुर्‍याएको यो भाइरस एक व्यक्तिबाट अर्कोमा नसरोस्।

तपाईंका स्कुल, कलेज र कार्यालय बन्द होलान्। पुरै दैनिकी परिवर्तन भएको होला। यस्तोमा समय के गरेर कटाउने? वा यस अवधिमा केही सिर्जनात्मक काम गर्ने कि? यो तपाईंको रोजाइको कुरा। समय पनि कटाउने र सिर्जनात्मक पनि हुने मन छ भने यसका दुई उपाय छन्– किताब पढ्ने, फिल्म हेर्ने।

म यो सात दिनका लागि मैले हेरेर मन परेका ७ एसियाली देशका फिल्म सिफारिस गर्नेछु, दिनको एउटाको दरले। यी सबै एकदमै धेरै हेरिएका, टिभीमा पनि दोहोर्याइतेहेर्याइ आउने ‘थ्री इडियट्स’जस्ता फिल्म हुनेछैनन्। इन्टरनेट वा डिभिडी माध्यममा हेर्न सकिने केही थोरै चर्चित तर राम्रा फिल्म यी हुनेछन्। सकेसम्म यी विपत्ति वा संकटमाथि मानिसको जितका कथा हुनेछन्। हरेक सिफारिसको अन्त्यका एक वैकल्पिक सिफारिस पनि हुनेछ। तपाईंले मैले सिफारिस गरेको फिल्म हेरीसक्नु भएको छ वा यो हेर्न मन भएन भने अर्को रोजाइका लागि।

आजलाई फिल्म
फ्लावर्स अफ वार (चीन, २०११)

यो मेरो प्रिय फिल्ममध्येको एक हो। सबभन्दा मन परेको कुनै एक फिल्म भन्न गाह्रो पर्छ। तर, मन परेका केही फिल्मको सूची बनाइयो भने यो फिल्म छुट्दैन।

च्याङ यिमाउ, मैले नामैले चिनेका पहिलो चिनियाँ फिल्म निर्देशक हुन्। नोबेल विजेता मो यानका ‘रेड सोरगम’ लगायतका थुप्रै कृतिमाथि यिनले फिल्म बनाएका छन्। अभिनेत्री ग्वोङ लीलाई लिएरमात्रै उनले सात वटा फिल्म बनाएका छन्। ‘रेज दि रेड ल्याल्ट्रन’ देखि ‘जुदाउ’ र ‘द रोड होम’सम्म उनका सबै फिल्मले मलाई प्रभावित पारेका हुन्। उनले अंग्रेजीमा बनाएको जेट ली अभिनित ‘हिरो’ त इपिक नै भइहाल्यो।

‘फ्लावर्स अफ वार’ युद्ध समयको कथा हो। यसमा युद्ध छ, सिपाही पनि छन्, बम र बन्दुक छ। बारुदको गन्ध छ, मानिसको चित्कार छ। तर, यो युद्धको कथा होइन। त्यो युद्धमा बाँचेका केही मानिसको कथा हो।

चीनको इतिहासमा ‘नानकिङ’ एउटा दुखद च्याप्टर हो। नानकिङ सहरका लागि १९३७ मा सुरु भएको दोस्रो चीन–जापान युद्धलाई एउटा भयानक त्रासदी मानिन्छ। चीनको तत्कालीन राजधानी नानकिङमा त्यसबेला जापानी सेनाले मच्चाएको हत्या र बलात्कारको श्रृंखला इतिहासको एउटा दाग हो।

‘फ्लावर्स अफ वार’। युद्धमा फुलेका फूलको यो कथा त्यही समयको कथा हो। सहरमा युद्ध चलिरहेको छ। जापानीहरुले घुसपैठ गरिसकेका छन्। सहरमा भागदौड छ।

यही सहरको एक कुनामा छ चर्च। यहाँ छन् केही ननहरु।

सहरको अर्को कुनामा छ ‘ब्रोथल’। यहाँ छन् केही नगरवधुहरु।

यी दुईको बीचमा छ एउटा अमेरिकी नागरिक– क्रिश्चियन बेल।

हो, क्रिश्चियन बेल। तपाईंहरुले बेललाई अनेक रुपमा हेर्नुभएको होला। कहिले ब्याटम्यान त कहिले मसिनिस्टिका रुपमा। कहिले अमेरिकन हसलमा त कहिले जर्ज बुसका पालाका उपराष्ट्रपति डिक चेनीका रुपमा ‘भाइस’मा। गत वर्षको ‘फोर्ड भर्सेस फरारी’मा म्याट डिमनको इसारामा गाडी कुदाइरहेको देख्नुभयो होला। तिनै बेल तीसको दशकको नानकिङमा छन्, ‘लास्ट ट्यांगो इन पेरिस’मा मार्लन ब्रान्डो भएजसरी !

कथा तब रोचक हुन्छ, जब धर्म, अनुशासन र संयमको पाठ पढिरहेका ननहरुका बीच झन्डै उस्तै उमेरका स्वच्छन्द युवतीहरुको प्रवेश हुन्छ। यो प्रवेशले मृगको वथानमा बाघ प्रवेश गरेजसरी चर्चमा तरंग ल्याउँछ। शिकारीजसरी जापानी सेनाले दागा धरिरहेको यो चर्चमा जम्मा भएका यी प्राणीहरुको जीवनको कथा फिल्मले भन्छ।

यसमा एकातिर युद्ध छ भने अर्कातिर जीवनको सुन्दरता पनि छ। त्यसै त नाममै युद्ध र फूललाई समावेश गरिएको छ। एकातिर कठोर राजनीतिक महत्वांकाक्षाले मानिसलाई कुल्चिने युद्ध छ, अर्कातिर अवोध र निश्छल जीवनको गाथा छ। जीवनमा एउटामात्रै रंग छैन, एउटा मात्रै धुन छैन।आखिर कठोरता र कोमलता, माया र घृणाको बीचमै त जीवनको सन्तुलन बनिरहेको छ। यसको सुन्दर व्याख्या यो फिल्मले गर्छ।

तपाईं सिनेमाको पारखी हो भने तपाईंले यसमा रंग र प्रकाशको संयाेजनको विशेष ख्याल गर्नुहुनेछ। ननहरुले लगाउने लुगा र अरु केटीले लगाउने लुगामात्र हाेइन, उनीहरुका लागि तय गरिएको प्रकाश र क्यामेरा एंगलसमेत फरक छ। चर्चका तख्ता र सिंढीहरु छन्। यसको छत छ। जहाँबाट कहिले प्रकाश आउँछ त कहिले गोली। ससाना कुरामा निर्देशकले गर्ने कलात्मक प्रयोगहरु तपाईं यसमा देख्‍नुहुनेछ। यसकाे अर्को अवस्मरणीय कुरा छ, स‌ंगीत। कथा वाचनमा संगीतलाई कसरी प्रयोग गर्ने त्यो यसमा देख्न सकिन्छ।

समय जतिसुकै खराब होस्, त्यसमा पनि कुनै न कुनै सुन्दर र सकारात्मक चिज हुनसक्छ।
यो खराब समयमा एउटा सुन्दर फिल्म हेर्नु नै त्यो सकारात्मक चिज पनि हुनसक्छ !

र, वैकल्पिक फिल्म- 'दी ब्लु काइट'

तपाईंलाई यो फिल्ममा रुचि जागेन भने विकल्प हुनसक्छ– १९९३ मा आएको तियान चियाङचियाङको फिल्म ‘दी ब्लु काइट’। चिनियाँ इतिहासको अर्को महत्वपूर्ण समय सांस्कृतिक क्रान्तिको यो कथा दस वर्षसम्म चीनमा प्रतिबन्धमा परेको थियो। सांस्कृतिक क्रान्तिको तिखो आलोचना गर्ने यो फिल्मले पनि निरीह मानिसको संघर्षको कथा भन्छ।

प्रकाशित : चैत्र ११, २०७६ १९:१९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×