अन्तर्राष्ट्रिय बजारबाट स्वास्थ्य उपकरण ल्याउन निजी क्षेत्रलाई आह्वान - समाचार - कान्तिपुर समाचार

अन्तर्राष्ट्रिय बजारबाट स्वास्थ्य उपकरण ल्याउन निजी क्षेत्रलाई आह्वान 

बिनु सुवेदी

काठमाडौँ — सरकारले अन्तर्राष्ट्रिय बजारबाट स्वास्थ्य उपकरण ल्याउन निजी क्षेत्रलाई आह्वान गरेको छ । कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले निजी क्षेत्रहरुले अन्तर्राष्ट्रिय बजारबाट स्वास्थ्य उपकरण तथा सामग्री ल्याउन खोज्‍नेलाई सरकारले सहयोग गर्ने निर्णय गरेको हो ।


सरकारी प्रक्रिया अलवम्बन गर्दा सामग्री ढिलो आइपुग्‍ने भएकाले सरकारले निजी क्षेत्रलाई यस्तो आह्वान गरेको हो ।


अर्थ र सञ्‍चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले भने, 'निजी क्षेत्रले पारदर्शी तरिकाले चाँडै नै उपकरण ल्याउने हो भने सरकारले हवाई साधनको प्रबन्ध पनि गर्न सक्छ ।'


यस्तै, समितिको म‌ंगलबार बसेको बैठकले सीमा नाकामा अलपत्र परेका नेपालीलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको हो ।

प्रकाशित : चैत्र ११, २०७६ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्

टेलिकम कम्पनीले दुई सयसम्म ब्यालेन्स सापटी दिन पाउने

सस्तो डाटा प्याक ल्याउन प्राधिकरणको पूर्व स्वीकृति नचाहिने
विजय तिमल्सिना

काठमाडौँ — दूरसञ्चार कम्पनीहरुले आफ्ना ग्राहकलाई २ सय रुपैयाँसम्म ब्यालेन्स सापटी दिन पाउने भएका छन् । हाल नेपाल टेलिकम र एनसेलले आफ्ना ग्राहकलाई बढीमा २० रुपैयाँसम्म ब्यालेन्स सापटी दिंदै आएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले उपभोक्तालाई सहज बनाउन यो सापटीको सीमा बढाउन दूरसञ्चार कम्पनीलाई निर्देशन दिएको छ ।

प्राधिकरणको सञ्चालक समितिको मंगलबार बसेको बैठकले कुनै थप शुल्क वा ब्याज लिन नपाउने गरी दूरसञ्चार कम्पनीहरुले उपभोक्तालाई २ सय रुपैयाँसम्म ब्यालेन्स सापटी दिन पाउने व्यवस्था गरेको अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

उनका अनुसार अनलाइनमार्फत सञ्चालक समितिको बैठक बसी बैठकको निर्णय कार्यान्वयनको लागि दूरसञ्चार कम्पनीहरुलाई पत्र पठाइसकिएको छ ।

‘२ सयसम्म ब्यालेन्स सापटी दिन पाउने व्यवस्था गरेका छौं,’ उनले भने, ‘कम्पनीहरुले आफ्नो ग्राहकप्रति जिम्मेवारी देखाउँदै यो प्रावधान अन्तर्गत रहेर प्याकेज घोषणा गर्न सक्छन् ।’ बढीमा एक महिनासम्मको लागि यस्तो व्यवस्था गरिएको उनले बताए ।

यस्तै, दूरसञ्चार कम्पनीहरुले प्रयोगकर्ताको लागि अहिले चल्तीमा रहेका दरभन्दा कम हुने गरी विभिन्न डाटा प्याकेज घोषणा गर्न सक्ने खनालले जानकारी दिए । यसको लागि प्राधिकरणको स्वीकृति लिनु नपर्ने व्यवस्था सञ्चालक समितिले गरेको छ ।

यसअघि सेवा प्रदायकहरुले कुनै डाटा वा भ्वाइस प्याक बनाउनु अघि प्राधिकरणबाट स्वीकृत गर्नुपर्ने व्यवस्था थियो ।

‘कोरोना संक्रमण रोक्न उपभोक्ताहरु घरघरमा बसेको बेला सहजताको लागि एक महिनासम्म सस्तो डाटा प्याकेजहरु घोषणा गर्दा प्राधिकरणको स्वीकृति लिनु नपर्ने व्यवस्था गरिएको हो,’ अध्यक्ष खनालले भने ।

यो बेलामा दूरसञ्चार कम्पनीहरुले ग्राहकलाई अतिरिक्त भार नपर्ने र सस्तो दरमा सेवा उपलब्ध गराउने गरी अन्य डाटा तथा भ्वाइस प्याकहरु उपलब्ध गराउन पनि प्राधिकरणको पूर्व स्वीकृति आवश्यक नपर्ने उनले बताए ।

यो अवस्था लामो समयसम्म रहे अन्य उपाय अवलम्बन गर्न पनि प्राधिकरणले छलफल गरिरहेको उनले जानकारी दिए ।


प्रकाशित : चैत्र ११, २०७६ १६:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×