१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

किन विवादमा पर्‍यो सिल्कको उडान ?

‘पाइलटले इन्धन वा प्राविधिक समस्या देखाएपछि दुस्मनकै जहाज भए पनि अवतरणमा प्राथमिकता दिनै पर्छ, जहाजमा सबै नेपाली रहेछन्, अवतरण भएको विमान फर्काउन किन दिन्थे’
सुरज कुँवर

काठमाडौँ — सिंगापुरबाट उडेको जहाज काठमाडौं आइपुग्न झन्डै ५ घण्टा लाग्छ । यो रुटमा हरेक दिन उडान गर्दै आएको सिल्क एयरको १ सय ६२ यात्रु क्षमताको बोइङ शनिबार ९८ जना बोकेर साँझपख काठमाडौंतर्फ आउँदै थियो । जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न डेढ घण्टा बाँकी थियो ।

किन विवादमा पर्‍यो सिल्कको उडान ?

जहाजमा कोरोना संक्रमण फैलिएका युरोपेली देशका एक यात्रु पनि रहेको खबर विमानस्थलमा फैलियो । त्यस्ता देशका नागरिकलाई नेपाल प्रवेशका लागि सरकारले रोक लगाइसकेको छ ।


हरेक एयरलाइन्सका विमानस्थलमा रहेका कार्यालयले यात्रु तथा उक्त जहाजमा रहेको कार्गोबारेको विस्तृत जानकारी विवरण (मेनिफेस्ट) जहाज अवतरण हुनुअघि नै अध्यागमन कार्यालयमा बुझाउनुपर्छ । त्यसै मेनिफेस्टमा देखिइन्, नेदरल्यान्ड्सकी एक महिला यात्रु । सरकारले युरोपका सबै मुलुकका नागरिकलाई नेपालमा प्रतिबन्ध लगाइसकेको अवस्थामा उनलाई प्रवेश गराउनु कानुनविपरीत थियो । त्यसपछि अध्यागमन कार्यालयका अधिकारीहरूले विमानस्थल कार्यालयलाई यो खबर पठाउँदै उक्त जहाजलाई फर्काउन भन्यो । अध्यागमनको खबरलाई विमानस्थलमा रहेको टावरले जहाजलाई भन्नुपर्ने भयो । तर, बंगलादेश र भारतको सिमानामाथि उडिरहेको जहाज नेपालको टावरको सम्पर्कमा आइसकेको थिएन । त्यसबेला कोलकाता विमानस्थलको सम्पर्कमा थियो ।


काठमाडौं विमानस्थलबाट एटीसीले हटलाइनबाट फोन गरेर कोलकाता टावरलाई जहाज फिर्ता हुन सन्देश टिपाए । तर, जहाज केहीबेरमा काठमाडौं टावरको सम्पर्कमा आइपुग्यो । कोलकाता टावरले ती पाइलटलाई खबर पनि गरे । तर, कोलकातामा आर्थिक भार बढ्नेलगायत कारण पाइलटले त्यहाँ अवतरण हुन चाहेनन् । उनी भारतीय एटीसीलाई हुन्छ वा हुँदैन नभनेरै नेपाली एटीसीको सम्पर्कमा आइहाले । यो घटनामा जोडिएका विमानस्थलका एक अधिकारीका अनुसार उक्त विमानलाई नेपाली एटीसीले पनि फिर्ता जान भनेका थिए तर उनले पर्याप्त इन्धन नभएको कारण देखाउँदै काठमाडौंमा इन्धन भरेर भारतको कोलकाता फर्किने बताए । पाइलटले यसो भनिसकेपछि फर्काउन सकिने अवस्था भएन ।

अवतरण नगर्न निर्देशन दिँदादिँदै सिल्क एयरले जबर्जस्ती गर्‍यो : एटीसी

‘पाइलटले इन्धन वा प्राविधिक समस्या देखाएपछि दुस्मनकै जहाज भए पनि अवतरणमा प्राथमिकता दिनैपर्छ,’ एक एयर ट्राफिक कन्ट्रोलरले कान्तिपुरसँग भने, ‘ती पाइलटले इन्धन भरेर फर्किहाल्ने भनेका थिए । तर, जहाजमा सबै नेपाली रहेछन् । अवतरण भएको विमान फर्काउन किन दिन्थे ।’


पछि छानबिन गर्दा ती नेदरल्यान्ड्सकी महिलाले नेपालीसँग विवाह गरेकी रहिछन् । उनीबाहेक अरू सबै विभिन्न मुलुकबाट घर फर्किरहेका नेपाली यात्रु थिए । जहाज कोलकाता जान तयार पनि भएको थियो । तर, यात्रुहरूले जहाजभित्रै नाराबाजी गरेर कोलकाता जान दिएनन् । यात्रुहरूको जहाजभित्र नाराबाजी भएपछि पाइलटहरूले एयर ट्राफिक कन्ट्रोलरलाई आफूहरू ती यात्रु लिएर कोलकाता फर्किन नसक्ने बाध्यता बताए । यात्रुहरूले होहल्ला गर्दै तीन घण्टा विमानस्थलको पार्किङमा जहाजभित्रै समय बिताए । सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै बसे । यो अवधिमा जहाजमा भर्‍याङ जोडिएको थिएन । अन्तमा विमानस्थलमा रहेका अध्यागमन, प्रहरी र नागरिक उड्डयनका प्रमुखहरूले उपप्रधानमन्त्री ईश्वर पोखरेलको आदेशमा सबै यात्रुलाई राति पौने १२ बजे जहाजबाट ओर्लन अनुमति दिए ।


सरकारले निषेध गरेको जापानबाट आएका एक नेपाली दम्पती र नेदरल्यान्ड्स जन्मथलो भएकी महिलालाई क्वारेन्टाइन पठाएर बाँकी नेपालीलाई निकालियो । साढे ८ बजे काठमाडौंमा अवतरण भएको उक्त जहाज राति नै १ सय ५८ यात्रु लिएर सिंगापुर जानुपर्ने थियो । तर, चालक दलको १० घण्टाको समयसीमाका कारण जहाज राति काठमाडौंमै रहन गयो ।


जसका कारण बोर्डिङ पास लिइसकेका सबै यात्रुलाई र्‍याडिसनलगायत होटलमा एयरलाइन्सले आफ्नो खर्चमा राख्यो । विमानस्थलमा दिउँसै पुगेका ती यात्रु आइतबार करिब २३ घण्टापछि पौने ४ बजेमात्रै सिंगापुर फर्किए ।

प्रकाशित : चैत्र ११, २०७६ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?