२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

‘जति धेरै परीक्षण, उति जोखिम कम’

काठमाडौँ — काठमाडौंकी १९ वर्षीया एक युवतीलाई आइतबार कोभिड–१९ को संक्रमण पुष्टि भएसँगै सरकारले हालसम्म गरेको रोकथामको पहल कति फितलो थियो भन्ने देखाएको छ । विज्ञहरूले धेरै अगाडिदेखि नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमताले भ्याएसम्म परीक्षण गर्नुपर्ने सुझाव दिँदै आएका थिए ।

‘जति धेरै परीक्षण, उति जोखिम कम’

हवाईमार्ग तथा स्थलमार्ग भएर नेपाल आउनेको संख्या धेरै रहेको भन्दै विज्ञहरूले सकेसम्म अधिक मात्रामा कोभिड–१९ को परीक्षण गर्नुपर्ने सल्लाह दिए पनि त्यसलाई बेवास्ता गर्दै सरकारले हालसम्म केवल ६१० जनाको मात्रै परीक्षण गरेको छ । जसमा चीनको वुहानबाट फर्किएका १७५ जनामा दुईपटक गरिएको परीक्षणलाई समेत गणना गरिएको छ ।


काठमाडौंको ह्याम्स अस्पतालमा कार्यरत संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले सरकारले अब पनि धेरैभन्दा धेरै परीक्षणका लागि ढिलासुस्ती गरे त्यसको नतिजा भयावह हुने चेतावनी दिए । ‘हामीले केही समय अघिदेखि धेरै परीक्षण गर्नुपर्‍यो, परीक्षण गर्नेहरूको संख्या थोरै भयो भन्दै आएका छौं,’ उनले भने, ‘अहिले फ्रान्सबाट आएका व्यक्तिमा संक्रमण रहेको पुष्टि भयो । उहाँ त उदाहरण मात्रै हो । उहाँजस्तै धेरै जना संक्रमण देखिएका देशहरूबाट आउनुभएको छ । त्यसैले धेरैको परीक्षण गरेपछि मात्रै वास्तविक अवस्था थाहा हुन्छ ।’


टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको सरुवा रोग विशेषज्ञ, क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले दोस्रो कोरोना संक्रमित देखियो भन्दैमा आत्तिहाल्नुपर्ने स्थिति नरहेको बताए । ‘उक्त बिरामी जथाभावी घुमेको छैन, क्वारेन्टाइनमा बसेको भन्ने कुरा आएको छ, त्यसैले भयभीत भइहाल्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘आयातित केस हो तर उनीसँग सम्पर्कमा आएकालाई भने सरकारले कडा निगरानीमा राख्नुपर्छ । ट्र्याकिङमा ध्यान दिन सुरु गर्नुपर्छ । जति धेरै टेस्ट गर्‍यो, उति नै राम्रो हो ।’


उनले प्रयोगशालाले थोरै संख्यामा भए पनि परीक्षण गरेको र धेरैमा फैलिएको भए अन्यमा पनि देखिन्थ्यो होला भन्ने तर्क गरे । ‘समस्या नबने पनि बाहिरबाट आएकालाई निगरानी भने गर्नै पर्छ । अझै पनि इम्पोर्टेड केस आउने सम्भावना छ । त्यसैले निगरानी तथा परीक्षणको दायरा बढाउन आवश्यक देखिन्छ,’ उनले भने, ‘सरकारले अलि कडा कदम चाल्नुपर्छ ।’


फ्रान्सबाट चैत ४ गते काठमाडौं आएकी युवतीमा संक्रमण रहेको पुष्टि भएपछि भने सरकारले लक्षण भएका जो कोहीको पनि परीक्षण गर्ने नीति लिएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले दाबी गरेका छन् ।

यस्तै सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने, ‘हामीले अब परीक्षणको दायरालाई फराकिलो बनाएर ६० वर्षमाथिका मधुमेह, उच्च रक्तचाप, मुटु तथा श्वासप्रश्वासमा समस्या रहेका व्यक्ति तथा दीर्घ रोगीहरूमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए तुरुन्तै परीक्षण गर्न भनेका छौं ।’


उनका अनुसार अब अस्पतालहरूले ज्वरो आएका बिरामीका लागि छुट्टै फिभर क्लिनिक सञ्चालनमा ल्याउने छन् र त्यहाँ जाँच गराउन पुगेका कसैमा शंका लागे आइसोलेसनमा राखेर उनीहरूबाट लिइएको नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउनुपर्नेछ । मन्त्री ढकालले परीक्षणको दायरा फराकिलो बनाउने दाबी गरे पनि त्यसका लागि प्रयोगशालाको क्षमता कति हो र कुन स्तरको तयारी गरिएको छ भन्नेबारे तथ्यपरक उत्तर दिएनन् ।

गत बुधबार कान्तिपुरले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको तयारीलगायत विषयमा छलफल गर्न आयोजना गरेको राउन्ड टेबलमा बोल्दै प्रयोगशालाकी प्रमुख डा. रुणा झाले प्रयोगशालाले कुनै पनि समयमा दैनिक ९०० जनासम्मको परीक्षण गर्न सक्ने क्षमता रहेको दाबी गरेकी थिइन् ।


उनले अहिले प्रयोगशालाले पीसीआर विधिबाट मात्रै परीक्षण गरिरहेको जानकारी दिँदै सरकारले बनाएकै मापदण्डअनुसार मात्रै नमुनाहरूको संकलन गरेर परीक्षण गरिएको बताएकी थिइन् । यस्तै उनले अन्य परीक्षणका लागि प्रयोग भइरहेका उपकरण तथा जनशक्तिलाई पूर्ण रूपमा कोभिड–१९ को परीक्षणमा लगाए दैनिक १५ सय जनासम्मको परीक्षण गर्नका लागि प्रयोगशाला सक्षम रहेको दाबी गरेकी थिइन् ।


परीक्षणलाई काठमाडौंमा मात्रै नभएर देशको अन्य प्रदेशमा पनि विस्तार गर्नका लागि आफूहरू जुटेको र टेकुको प्रयोगशालाकै मापदण्डमा अन्यत्र पनि सञ्चालन गर्न सरकारले त्यहाँको मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीसँग छलफल गरिरहेको मन्त्री ढकालले दाबी गरेका छन् । यस्तै कोभिड–१९ को उपचारका लागि विशेष अस्पताल बनाउन जुटेको बताएका छन् ।


इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले नेपालमा दोस्रो संक्रमित भेटिएसँगै अझै सतर्कता अपनाउनुपर्ने बताए । ‘कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका सम्भावित बिरामीहरूको धेरैभन्दा धेरै परीक्षण गर्नुपर्‍यो,’ उनले भने, ‘बाहिरबाट आएका कसैलाई कोरोना परीक्षण नगरी छोड्नुभएन । जति धेरै परीक्षण गर्‍यो त्यति नै छिटो पत्ता लाग्छ र संक्रमण कम गर्न सकिन्छ ।’


उनले परीक्षण गर्दा संक्रमित भेटिए छिटो आइसोलेसनमा राखेर त्यस्ता व्यक्तिसँग सम्पर्कमा आएकालाई समेत क्वारेन्टाइनमा राख्न सकिने बताए । उनले कोरोना मात्रै नभएर इन्फ्लुएन्जा, बर्ड फ्लुको पनि परीक्षण गर्न जरुरी रहेको तर्क गरे । ‘कोरोना नेगेटिभ आयो भने पनि इन्फ्लुएन्जा टेस्ट गर्नुपर्‍यो । त्यो पनि देखिएन तर लक्षण कडा छ र निमोनिया देखिएको छ भने थप टेस्ट हुनुपर्छ,’ उनले भने, ‘बर्ड फ्लुको पनि टेस्ट हुनुपर्छ किनकि बर्ड फ्लु पनि खतरनाक हो । पोहोर साल पनि देखिएका थिए धेरै बिरामी ।’


उनले काठमाडौंमा मात्र परीक्षण सीमित राख्न नहुने पनि बताए । ‘काँकडभिट्टा, बिर्तामोड, पोखरा, नेपालगन्ज, बुटवल, भैरहवा, लुम्बिनी, लहान, जनकपुर, वीरगन्ज, महेन्द्रनगर, धनगढी आदि जोखिमयुक्त ठाउँ छन् । मैले आँकडा हेर्दा यहाँ पनि धेरै चहलपहल हुन्छ । यी ठाउँबाट पनि नमुना संकलन गर्नुपर्छ,’ उनले भने, ‘अहिले भुसको आगो जस्तै भएको पनि हुन सक्छ । भुसको थुप्रोमा आगो लगाइदियो भने बाहिर धूवाँ पनि देखिँदैन तर भित्र कोट्याएर हेर्दा खरानी भइसकेको हुन्छ । त्यस्तो स्थिति हुन नदिन सर्भिलेन्स साइट बढाउनुपर्छ ।’


उनले स्वास्थ्य मन्त्रालयले धेरै ढिलासुस्ती गरेको आरोप लगाउँदै भने, ‘२ देखि ३ महिना बेकारमा समय खेर फालिएको छ । धरान, हेटौंडा, चितवन, पोखरा, नेपालगन्जतिर पनि किट राखिदिने हो भने धेरै परीक्षण हुन सक्छ ।’

प्रकाशित : चैत्र १०, २०७६ २१:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?