सिंहदरबारमा ज्वरो नापेरमात्रै प्रवेश


काठमाडौँ — सिंहदरबार प्रवेश गर्नेको स्वास्थ्य जाँच सुरु गरिएको छ । कोभिड-१९ (कोरोना भाइरस) संक्रमणको जोखिमलाई मध्यनजर गरी आइतबारबाट स्वास्थ्य जाँच गर्न थालिएको हो।



सिंहदरबार प्रवेश गर्ने दक्षिणी गेटमा स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य विभागबाट स्वास्थ्यकर्मी खटिएका छन् । एक सिफ्टमा ५ जना खटिएको त्यहाँ कार्यरत एक स्वास्थ्यकर्मीले जानकारी दिए । ती स्वास्थ्यकर्मीका अनुसार आइतबार ११ सय पुरुष र ५ सय महिलाको स्वास्थ्य परीक्षण गरिएको छ । सोमबार ११ बजेसम्म ४ सय ५० भन्दा बढी पुरुष र ३ सय बढी महिलाको स्वास्थ्य परीक्षण गरिएको छ ।
१ सय डिग्रीभन्दा बढी ज्वरो आएकालाई केहीबेर अलग्गै राखिने र नघटेमा प्रवेश नदिने गरिएको ती स्वास्थ्यकर्मीले जानकारी दिए । त्यसरी पनि ज्वरो नघटे अस्पताल पठाउने व्यवस्था रहेको स्वास्थ्य परीक्षणमा खटिएकाले बताए । आइतबार ४ जना र सोमबार १ जनामा ज्वरो देखिएको थियो ।
सिंहदरबार गेटमा खटिएका स्वास्थ्यकर्मीले ज्वरो नाप्ने थर्मामिटर गन र स्वास्थ्य जाँच गर्दा लगाउने पोषाकलगायतको अभाव रहेको बताए । मोटरसाइकल र गाडीमा सिंहदरबार प्रवेश गर्नेको पनि स्वास्थ्य परीक्षण गरिएको छ । प्रवेश गर्नेलाई स्यानेटाइजरले हात सफा गर्न पनि लगाइएको छ ।
प्रकाशित : चैत्र १०, २०७६ ११:५९