हल्लाको महामारी

कोरोनाको महामारी फैलियो भने हामीले धेरै हल्ला सुन्नुपर्ला जस्तो लाग्छ किनभने यस्तो हल्ला फिँजाउन धेरै मानिस यस ग्रहमा स्वयंसेवीका रुपमा खटिन्छन् । त्यसैले अत्याउने, सनसनी फैलाउने सामग्री सेयर गर्नुअघि धेरैपटक सोचौं । 
मोहन मैनाली

काठमाडौँ — ‘अप्रिल फुल’ अर्थात् अरूलाई ढाँटेर आनन्द लिने कामका लागि छुट्याइएको दिन आउन अझै १० दिन बाँकी छ । त्यस दिन हामी आफूलाई कसैले ढाँट्ने पो हुन् कि भनेर सतर्क हुन्छौं । अप्रिल फुलका दिन मानिसलाई ढाँट्न नसकिएला भन्ने ठानेर ढाँटहरूले हामीलाई अरू दिन ढाँटिरहेका छन् । हल्ला र त्यसमार्फत आतंक फैलाइरहेका छन् ।

हामीले सुनेका ताजा हल्ला हुन् : ‘नर्भिक अस्पताल र शिक्षण अस्पतालमा कोरोनाले गर्दा बिरामी मरे, सेनाले आकाशबाट विषादी छर्न लागेको छ’ आदि ।


यी हल्लालाई धेरैले पत्यायौं, सेयर गर्‍यौं । आफू आतंकित भयौं र अरूलाई पनि आतंकित बनायौं । नयाँ कोरोना भाइरसको बिगबिगी बढ्नेबित्तिकै संसारभर यस विषयमा ढाँट्नेहरूको पनि बिगबिगी बढेको छ । जनवरी २० (माघ ६ गते) यता कोरोना भाइरस सम्बन्धमा फैलिएका हल्लाको अध्ययन गरेर तिनको खण्डन गर्ने काममा लागेका संसारका ३९ वटा देशका ९० जना तथ्य–जाँचकीले कोरोना भाइरस सम्बन्धमा फैलिएका केही हल्ला यस्ता भएको पाएका छन् :


सबैभन्दा पहिले यो भाइरस कहाँबाट आयो भन्ने विषयमा मानिसले नचाहिँदा हल्ला फिँजाए । त्यसपछि उनीहरूले अर्कै सन्दर्भको भिडियोलाई काटकुट पारेर कोरोनाले मानिसको ज्यान लियो भनेर प्रचार गरे । चीनले कोरोना भाइरस लागेका मानिसलाई मार्न खोजेको छ भनेर पनि हल्ला चलाए । अमेरिकामा सैनिक शासन लगाउने तयारी भएको छ भनी अर्को हल्ला फिँजियो । कोरोना लागेका अभिनेता टम ह्याक्सको नक्कली फोटो भाइरल भयो । कोरोनालाई लिएर हामीकहाँ फैलिएका हल्लाले पनि उत्तेजना र आतंक फैलाए, मानिसको मनोबल घटाए ।


ढाँट्ने चलन अहिले मात्र होइन, निकै पहिले पनि रहेछ । उहिले जंगबहादुरका पालामा बनेको मुलुकी ऐनमा भनिएको छ, ‘कोही मानिसले आगा डढ्यालाले पोलि भयो पानिमा लडि बगि भयो रुष भीर छाना झ्यालबाट षसी भयो चौपाया गैह्रले हानि मिचि भयो ढुंगा मुढो लागी भयो वा अरु कुराले बेरामि भै थलियाकालाइ फलानु ता छुट्टी भयेछ भनि कुरा गर्‍याकामा सुन्या चाहिका वुद्धिले नपुगी मनले मरेछ भंन्या ठहर्‍याइ उस्का दाज्यू भाइ गैह्रलाइ फलानु ता मर्‍यो भनि सुनायेछ र तेसै खवरमा सुन्याले जुठो समेत बार्याछन् भन्या अर्कोले भन्याको कुरो सुनी नबुझि भन्याको ठहर्न्याले मर्‍यो भन्यालाई २० रुपैया दंड गर्नु. जुठो बार्‍याको रहेनछ भन्या १० रुपैया दंड गर्नु. रुपैया नतिर्‍या अैन वमोजिम् कैद गर्नु ।’


कुनै पनि किसिमका आन्दोलन, कुनै पनि किसिमका विपद् र चुनावजस्ता अलि असामान्य अवस्था हल्लाका लागि उर्वर हुन्छन् । यस्ता अवस्थामा मानिस त्रसित, आतंकित वा आवेशमय हुन्छन् । यति बेला धेरै मानिसले विवेक गुमाउँछन् । थोरैले हल्ला गर्न सुरु गर्छन्, धेरैले त्यसलाई फिजाउँछन् । यस्ता हल्लाबारे वास्तविकता बताउने पेसामा लागेका तथ्य–जाँचकीहरू के भन्छन् भने समाजमा हल्ला चाँडै फैलन्छ, तिनका खण्डनचाहिँ फैलन अल्छी गर्छन् किनभने हल्लाका वाहक धेरै हुन्छन्, तथ्यका वाहक थोरै ।

नेपालमा कोरोनाबाहेकका विषयमा पनि हल्ला फैलाएर आतंक मच्चाइएका घटना छन् । २०७६ साउनमा शालिकराम पुडासैनीको मृत्युपछि त्यत्तिकै जिस्किएर ‘फोटोसप’ गरी एमआरआर नामक सीमित व्यक्ति भएको समूहमा राखिएको एउटा फोटो बाहिर आएपछि पुडासैनीको हत्या नै भएको हो भनी वातावरण निकै उत्तेजित भएको थियो । यो काम नियतवश गरेझैं देखिँदैन, तर पनि यसले हल्ला र उत्तेजना फैलायो । यसअघि २०५७ सालमा झूटा कुरा फैलँदा ‘ऋतिक रोशन काण्ड’ हुन पुग्यो, जसले ठूलो आतंक फैलायो र जनधनको क्षति गरायो ।


अक्टोबर १, २०१७ मा भारतको मुम्बईमा भएको भागदौडमा किचिएर मर्न लागेकी एउटी महिलालाई एक जना पुरुषले यौन दुर्व्यवहार गरेको भनी समाचार छापियो । यो समाचार रिपोर्टरले पाएको ८ सेकेन्ड लामो भिडियो क्लिपमा देखिएका कुरा र साक्षीका अन्य प्रसंगका भनाइका आधारमा तयार गरिएको थियो । हिन्दु दैनिकले यो समाचार छापेपछि भारतका धेरै सञ्चार माध्यमले छापे । त्यसपछि सनसनी फैलियो । सामाजिक सञ्जालमा भारतीय समाज यति असभ्य भएको भनी असंख्य टिप्पणी गरियो । खासमा त्यो भिडियो लामो भिडियोको एउटा अंश रहेछ । पछि, त्यो लामो भिडियो हेर्दा थाहा भयो– त्यो मानिसले महिलाको उद्धार पो गरेको रहेछ । त्यसपछि हिन्दुले रिपोर्टिङ र सम्पादनमा त्रुटि भएको भनी क्षमा माग्दै त्यो रिपोर्ट आफ्नो अनलाइनबाट हटायो ।


सामान्यतया हिन्दुजस्ता पत्रिकामा सत्यतथ्य जाँच नगरी समाचार छापिँदैन । तर २३ जना मानिस मरेको भागदौडको घटना सुन्दा र भिडियो हेर्दा रिपोर्टर र सम्पादकले आफ्नो पेसामा सधैं अपनाउने सावधानी अपनाउन सकेनन्, उनीहरूले विवेक उपयोग गर्न सकेनन् । यसले के देखाउँछ भने यस्ता घटना भएका बेलामा कठोरतापूर्वक सत्यापन गर्ने पेसामा लागेका मानिसलाई त त्यसो गर्न गाह्रो पर्छ भने त्यसो गर्नुपर्ने दायित्व सामान्यतया नभएका सर्वसाधारणलाई के पत्याउने, के नपत्याउने भन्ने कुरा ठम्याउन झन् गाह्रो हुन्छ ।

तथ्य–जाँचकीहरूको विश्वव्यापी सञ्जालका सदस्यहरूले के अनुभव गरेका छन् भने यस्तो हल्ला फैलाउनेले हल्लालाई विश्वसनीयजस्तो लाग्ने बनाउन कोसिस गरेका हुन्छन् । नर्भिक र शिक्षण अस्पतालमा कोरोना लागेका बिरामीको मृत्यु भयो भनी चलाइएको हल्लामा पनि त्यो कुरा अस्पतालका डाक्टरले भनेको भनिएको थियो ।


हल्ला फिँजाइएको विषयका जानकार भनी समाजले विश्वास गरेका मानिसले तथ्यलाई बंग्याउँदा हल्लाले

अझ बढी बल पाउँदो रहेछ । नेपालमा कोरोना भाइरसको परीक्षण थोरै भएको तथ्यलाई एक जना वरिष्ठ डाक्टरले अलिकति बंग्याएर जाँच हुँदै नभएको भनिदिँदा निकै आतंक फैलिएको थियो ।


विभिन्न कारणले अन्योल फैलिएका बेलामा पनि मानिसले थरीथरीका हल्ला चलाउने गरेका छन् । २०५८ सालमा राजा वीरेन्द्रको वंश विनाश भएपछि अनेक हल्ला चलेका थिए । एउटा हल्ला थियो : काठमाडौंको खानेपानीको ठूलो मुहान सुन्दरीजलको पोखरीमा विषादी मिसाइएको छ, त्यो पानी खानयोग्य छैन । काठमाडौंमा विषादीको त्यति ठूलो भण्डार छैन र त्यतिबेला गाडी बन्द भएकाले बाहिरबाट विषादी काठमाडौं ल्याउन सम्भव छैन भन्ने सामान्य ज्ञान प्रयोग गरेको भए पानीमा विषादी मिसाइएको कुरा हल्ला मात्र हो भन्न सकिन्थ्यो । तर दरबार हत्याकाण्डले मानिसलाई आतंकित र अन्योलग्रस्त बनाएकाले मानिसको विवेक गुम भयो, धेरैले त्यो हल्ला पत्याए र थप आतंकित भए ।


हरेकजसो आन्दोलनमा आन्दोलनलाई उत्तेजित बनाउने हिसाबले झूटा कुरा फैलाउने गरिएको छ । २०४६ सालको आन्दोलन चर्किंदै जाँदा सरकारसँग पैसा छैन भन्ने हल्ला फैलिएको थियो । त्यसपछि मानिसहरू आफूले बैंकमा राखेको पैसा निकाल्न भिडमभीड गर्न थाले । २०४६ चैत २४ गते कर्फ्यु नलागेको भए एक हप्ताजतिमा नेपालको बैंकिङ प्रणाली तहसनहस हुने थियो । हल्लाले कति ठूलो प्रभाव पार्छ भन्ने कुराको एउटा उदाहरण हो यो । त्यही आन्दोलनमा विद्यार्थी नेता लक्ष्मी कार्कीको हत्या गरिएको भनी हल्ला चलाइएको थियो । विश्वविद्यालयका नाम चलेका वरिष्ठ प्राध्यापकले समेत सार्वजनिक भेलामा सरकारले उनको हत्या गरिसकेको भनी किरिया खाँदै ठोकुवा गरेका थिए ।


२०७२ साउनदेखि २०७६ माघसम्म साउथ एसिया चेकको तथ्य–जाँच गर्ने टोलीको सम्पादक भएका नाताले मैले यस्ता धेरै हल्लाको आन्द्राभुँडी खोतलेको छु । २०७२ सालमा संविधानसभाबाट नेपालको संविधान जारी भएपछि मधेसमा आन्दोलन चल्यो । आन्दोलनकारीले टीकापुरमा प्रहरीको हत्या गरे । यस घटनाले मानिसलाई स्तब्ध बनायो । त्यसलगत्तै एउटा ब्लगमा टीकापुरमा प्रहरीलाई यसरी आगो लगाइएको थियो भन्ने आशय झल्कने गरी एउटा फोटो छापियो । चाँडै फैलिएको यस फोटोले थप आतंक मच्चायो । खासमा त्यो चार वर्ष पुरानो अमेरिकाको फोटो थियो ।


यो हल्ला सामाजिक सञ्जालमा फैलिएको थियो । त्यही सामाजिक सञ्जाल प्रयोग गरेर हेरेको भए यो फोटो चार वर्ष पहिलेदेखि धेरैपटक विभिन्न वेबसाइटमा राखिएको प्रस्ट हुन्थ्यो । त्यस फोटोमा देखिएका मानिसका अनुहार हेर्दा त्यो नेपालको होइन भन्ने स्पष्ट देखिन्थ्यो तर त्यतिबेलाको वातावरण कस्तो थियो भने मानिसले त्यसरी हेर्ने कोसिस गरेनन्, जे सुने, जे देखे त्यही पत्याए । यस्ता बेलामा सामाजिक सञ्जालमा फैलिएका ढाँट कुरालाई अकाट्य सत्यका रूपमा लिइँदो रहेछ । अरू त अरू, यस घटनाका बारेमा रिपोर्ट तयार गर्दा संयुक्त राष्ट्रसंघले समेत नमरेको मान्छेलाई मरेको भन्यो ।


कोरोनाको महामारी फैलियो भने हामीले धेरै हल्ला सुन्नुपर्ला जस्तो लाग्छ किनभने यस्तो हल्ला फिँजाउनका लागि धेरै मानिस यस ग्रहमा स्वयंसेवीका रूपमा खटिन्छन् । तिनले चलाउन थालेका हल्लालाई फैलाउन अझ धेरै स्वयंसेवी खटिनेछन् । त्यति बेला हामीले यस्ता हल्लाबाट बच्नुपर्छ । तथ्य–जाँचकीहरूको अन्तर्राष्ट्रिय सञ्जालले केही वर्षअघि दिएको सल्लाह मान्यौं भने यस्ता हल्लाबाट बच्न सकिन्छ । उसले भनेको थियो— अरूले मूर्ख बनाउलान्, बुझेर मात्र पत्याऔं । यसका लागि हामीले कुनै कुरा देखे/सुने/पढेपछि केही काम गर्नुपर्छ । ती हुन् :


  • पत्रपत्रिका, रेडियो र टीभीले भनेको हो ? सामान्यतया आमसञ्चारका यी साधन बढी विश्वसनीय हुन्छन् । गल्ती भएको रहेछ भने उनीहरूले चाँडै सच्याउँछन् ।
  • यिनले भनेको होइन भने त्यसको स्रोत कत्तिको भरपर्दो हो ?
  • त्यो मान्छे यसो भन्नका लागि कत्तिको योग्य छ ?
  • योग्य छ भने पनि उसले सरकारसँग अथवा कसैसँग आफ्नो पुरानो रिस साध्नका लागि पो यसो भनेको हो कि ?
  • यही कुरा विश्वसनीय सञ्चार माध्यमले भनेको छ कि छैन ?
  • कसैले कुनै फोटो/भिडियो राख्यो भने त्यो फोटो/भिडियो यसअघि कसैले इन्टरनेटमा राखिसकेको छ कि ? (यो कुरा पैसा नतिरी उपयोग गर्न पाइने इन्टरनेट टुल्सका माध्यमले पत्ता लगाउन सकिन्छ ।)
  • तपाई‌ं–हामी हल्ला सजिलै पत्याउँछौं, त्यसैले मानिसहरू हल्ला गर्ने गर्छन् । हामी हल्ला फैलाउने सामग्री सोच्दै नसोची सेयर गर्छौं, त्यसैले मानिसहरू हल्ला गर्छन् । अत्याउने, सनसनी फैलाउने खालका सामग्री सामान्यतया झूटा हुन सक्छन् । त्यसैले, यस्ता सामग्री सेयर गर्नुअघि धेरैपटक सोचौं । र, ख्याल राखौं, झूटा कुरा हेर्नु/सुन्नु/पढ्नु, पत्याउनु र सेयर गर्नुभन्दा उँघेर बसेको बेस !
प्रकाशित : चैत्र १०, २०७६ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्

मगमगाउँदो सायरी

उर्दू सायरीको परम्परा धान्ने नेपालगन्जका सायरको सायरी यात्रा
मोहन मैनाली

काठमाडौँ — ‘जिन्दगीका ७४ वसन्त र ७४ पतझड कहिले आए, कहिले गए थाहै पाइएन । जिन्दगीसँग कुनै गुनासो पनि छैन किनभने यसले मलाई जहाँ दुःख दियो, त्यहीँ दुःखको ओखती पनि दियो । उदासी दियो त खुसी पनि दियो । आँसु दियो त मुस्कुराउने कला पनि दियो । काँडाको बिस्तरा दियो त त्यही काँडाको बिस्तरामा निद्रा पनि दियो । ‘सबैभन्दा ठूलो कुरा, सबैभन्दा ठूलो उपहार त जिन्दगीले मलाई सायरी दियो । शब्दसँग शब्द जोड्ने सीप दियो ।’

सायर अब्दुल लतीफ शौकले आफ्नो सायरीको पुस्तक ‘मताअ् शौक’ मा यस्तै लेखेका छन् । शौक नेपालगन्जका अघिल्लो पुस्ताका सायर हुन् । नेपालगन्ज उर्दू सायरीका लागि उर्वर छ । उर्दू एकेडेमीका अध्यक्ष इम्तियाज वफाका विचारमा ‘नेपालमा उर्दू सायरी सुरुमा नेपालगन्जका सायरहरूले थामेका थिए । सायरी गर्ने माहोल नेपालगन्जमा बढी थियो । पाका सायरहरूमा अहिले पनि नेपालगन्जका बढी छन् ।’

शौकले शब्दसँग शब्द जोडेर दुई वटा डायरी भरेका थिए । तिनमा तीन सौ/साढे तीन सौ सायरी थिए । अचानक दुवै डायरी हराए । ‘मसँग केही पनि बाँकी रहेन,’ उनले भने । उनी ती डायरी घरबाट बाहिर कहिल्यै लाँदैनथे तर कता गए कता । घरका कुना कुनामा पटक पटक खोजपडताल गरे तैपनि भेटिएनन् ।

‘२५/३० सालको मेहनत बर्बाद भयो,’ उनले भने । यस घटनालाई उनी ‘महकते जख्म’ अर्थात् बास्नादार घाउ ठान्छन् । मुसायरामा पढ्न छुट्याइएका सायरी उनी सानो डायरीमा टिपेर लान्थे । धन्न त्यस डायरीमा ३०/३५ वटा सायरी रहेछन् । ती र नेपाली भाषामा आफैंले लेखेका केही सायरी बटुलेर यो किताब निकाले । ‘त्यसैले यसको नाम मैले ‘मताअ् शौक’ अर्थात् ‘शौकको पुँजी’ राखेको छु,’ शौकले भने । सबै थोक गुमाएपछि जो पुँजी बाँकी रह्यो, त्यही हो यो । हेपिएका, दबाइएका तर इमानी मानिसका भावना अभिव्यक्त गर्ने कला अब्दुल लतीफ शौकको पुँजी हो । उनी लेख्छन् :
आती नहीं है भूख से गद्दारियां हमें
रखते नहीं हैं खौफे अजल हम गरिब लोग
देते हैं अपना खून वफा की जमिनको
बोते हैं दर्दे दिलका फसल हम गरीब लोग
सोते है शौक से फूस के छप्पर में चैन से
क्यों लें किसी का ताजमहल हम गरिब लोग ।

अलि पहिलेसम्म नेपालगन्जका उर्दूभाषी सायरलाई नेपाली भाषामा सायरी लेखिन्छ भन्ने थाहा थिएन, नेपालीमा सायरी लेख्नेलाई उर्दू सायरीको स्वाद थाहा थिएन । अहिले चाहिँ दुवै भाषाका सायरले एकअर्काका सायरीको स्वाद लिन्छन् । मुसायरामा दुवै भाषाका सायरी जम्ने गर्छन् ।

शौक नेपालगन्जमा बस्छन् । त्यहाँको बोलीचालीको भाषा अवधी हो । उनी सायरी उर्दूमा लेख्छन् । ‘नेपाली राम्रो जान्दिनँ, तैपनि केही लेखेको छु,’ शौकले भने । सानो सहर नेपालगन्जमा उर्दूमा रचना गर्ने धेरै सायर छन् । मौलाना अब्दुल जब्बार अन्सारी, अब्दुल लतीफ शौक, सैयद नेपाली, मोहम्मद मुस्तफा कुरैशी ‘अहसन’ र अब्दुल कौशर नेपाली जस्ता नेपालमा मात्र होइन, भारतमा समेत नाम चलेका उम्दा सायर छन् । अमीन खयाली, मोहम्मद हाशिम अञ्जुम र मोहम्मद उमर ‘असर’ जस्ता सायर आज सशरीर नरहे पनि उनीहरूले राम्रा सिर्जना छाडेर गएका छन् । अञ्जुमले आध्यात्मिक चिन्तनतिर ढल्किएका रचना सिर्जना गरेका थिए भने असरले समसामयिक विषय उठाएका थिए ।

अलि पहिलेको कुरा । त्यतिबेला नेपालमा लडाइँ चलिरहेको थियो । धेरै मानिस अनाहकमा मारिएका थिए । झट्ट हेर्दा मुसलमान समुदायमा लडाइँको कम असर परे जस्तो देखिन्थ्यो तर नेपालगन्जका उर्दू सायरहरूलाई यसले ठूलो चोट दिएको रहेछ । त्यसैले त असरले लेखेका थिए :
कितने तुफानों मे खोया हुआ है आदमी
वक्त के मोहल में डुबा हुआ है आदमी
क्या खबर कब राख बनजाए किसी की जिन्दगी
आजकल बारूद पे बैठा हुआ है आदमी ।

असरभन्दापछिको पुस्ताका मुस्तफा कुरैसी ‘अहसन’ ले पनि लडाइँको असरबारे लेखेका थिए :

क्या बताएँ क्या वतनका हाल है
खुन मे डुबा हुआ नेपाल है
मादरे नेपालका सारा वदन
अपने लालों के लहु से लाल है ।

नफरत के जोर से तुम जिस घरको आग लगा बैठे हो
मुमकिन है वो तुम्हारा ही घर हो, यह भी तो हो सकता है
महकते फूलों का जिस शख्स को तोहफा देते हो तुम
उस के ही हाथों में पत्थर हो, यह भी तो हो सकता है ।

मौलाना अब्दुल जब्बार अन्सारीले अर्कै विषयमा चिन्ता गरेका थिए :
बदन मस्जिद में दिल कुए सनम में
यह हम किसकी इवादल कर रहे हैं ।

नेपालगन्जको उर्दू सायरी परम्परामा आफ्नो धर्मको सीमाबाट बाहिर निस्केर अरूका धर्म संस्कृतिका मिथकका पात्रको उपयोग गर्ने चलन पनि छ । त्यसैले त असरले लेखे :

जिन्दगी राम है, रावण भी है
जिन्दगी राधा है, मोहन भी है
जिन्दगी के कितने कितने रूप हैं
जिन्दगी विधवा भी है, दुल्हन भी है ।

‘मेरो चलनअनुसार त मैले फातिमा जस्ता पात्रको नाम लिनुपर्ने थियो तर फातिमालाई नचिन्ने समुदायका मानिसलाई बुझाउन मैले यी नाम लिएको हुँ,’ उनले भनेका थिए । नेपालगन्जको उर्दू साहित्यको नाता सीमापार भारतसम्म गाढा किसिमले गाँसिएको छ तर नेपाली र अंग्रेजी भाषामा छापिने पत्रपत्रिकामा उर्दू सायरी र सायरबारे चर्चा उति हुँदैन । संयोगवश, २०७० साल कात्तिकमा शौक र नेपालगन्जका अर्का सायर अब्दुल कौशर नेपालीलाई काठमाडौं आउने निम्तो मिल्यो । त्यो पनि सायरी सुनाउन र सायरीबारे छलफल गर्न, नेपाल लिटरेचर फेस्टिभलमा ।

तस्बिर सौजन्य : आरके अदिप्त गिरी
सायरीको सत्र संयोजन गर्ने जिम्मा पाएका थिए हस्त गुरुङले, जो उनीहरूसँग चिरपरिचित थिए र तिनका रचनाको परख गर्थे । रत्नपार्कको नेपाली जामे मस्जिद छेउको एउटा होटलमा त्यो सत्र कसरी चलाउने भन्नेबारे उनले तिनीहरूसँग कुराकानी गरे ।

‘उर्दूमा बोले पनि हुन्छ ?’ शौकले उर्दूमा सोधे ।
उर्दू भाषा र साहित्यसँग उति हिमचिम नभएका काठमाडौंका दर्शक र श्रोताले बुझ्ने हुन् कि होइनन् भनेर हस्त अलि हच्किए ।
‘धेरै कडा शब्द बोल्दिनँ । सबैले बुझ्ने शब्द बोल्छु,’ शौकले नै भने । हस्तले स्विकारे । शौकले महोत्सवमा सुनाउन तयार पारेका दुईचार वटा सायरी पढ्ने अभ्यास गरे । जस्तै,

बिजली, तुफान, कातिल, रहजन,
किस किस की तुम बात करोगे
एक है जान और लाखों दुस्मन,
किस किस की तुम बात करोगे
सूफी, साधु, शेख और ब्राह्मण,
किस किस की तुम बात करोगे
सब ने तोडा प्रेमका दर्पण,
किस किस की तुम बात करोगे ।

सायरीको सत्रको अघिल्लो दिन महोत्सवमा शौकलाई साहित्यमा अल्पसंख्यकको आवाज, पहिचान तथा अन्याय र अत्याचारविरुद्ध लड्न साहित्यको उपयोग विषयक सत्रमा एउटा वक्ता बनाइएको थियो । अर्का वक्ता राजन मुकारुङले साहित्यको उद्देश्य अन्यायविरुद्ध लड्नु हो भनेका थिए । कार्यक्रम संयोजकले घुमाइफिराई पटक पटक सोध्दा पनि शौकले साहित्यलाई शुद्ध साहित्य मान्छु मात्र भने ।

भोलिपल्ट शौकले हस्तसँग भनेका थिए– हुन त यो साहित्य सम्मेलन नै हो तर राजनीतिसँग पनि यसको तआल्लुक (सम्बन्ध) रहेछ । उनको यो टिप्पणी सायरको थियो, जसले सोझो र कडा कुरा गर्दैन, बिम्ब र प्रतीकमार्फत कोमल भाकामा आफ्ना कुरा भन्न खोज्छ ।

यसको मतलब उनी आफ्नो पहिचानप्रति सचेत छैनन् भन्ने होइन । उनलाई लाग्छ, समुद्रमा मिलेपछि नदी नदी रहँदैन । सानो छौं भने सानो हुनु नै राम्रो हुन्छ । पहिचान र सौन्दर्य त्यहीँ हुन्छ । आफ्नो पहिचान त्यसैमा हुन्छ । ठूलासँग मिल्यो भने हाम्रो पहिचान बाँकी रहँदैन ।

सिसे से टुट जाये है पत्थर कभीकभी
उलटा करे खेल मुकद्दर कभीकभी
छोटा किसी को देखके छोटा नजानिए
बनता है एक बुँद समन्दर कभीकभी ।

नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा भएको महोत्सवको त्यस दिनको अन्तिम सत्र । कुर्सी हटाइयो र मुसायरामा जस्तो भुइँमा पलेँटी कसेर बस्ने व्यवस्था मिलाइयो । हस्तले शौकलाई निम्ता गरे । शौकले सुरु गरे– भनिन्छ, आफ्नी प्रेमिकालाई सुनाइने दिलको आवाजको नाम हो गजल । बाँकी दुनियासँग यसको केही लिनुदिनु छैन । गजलको सफर यहीँबाट सुरु भएको थियो तर अहिले आम मानिसको दुःखसुख, शोक, राहत जस्ता विषयलाई गजलमा व्यक्त गरिन्छ । गजलले आजभोलि हरेक मानिसका कुरा बताउँछ । उनले सायरी भने :

काश नजदीक तुम आओ तो कोई बात बने
फासले दिलकी मिटाओ तो कोई बात बने ।
अश्क भी दिल का लहू है इसे पानी न कहो
इसको दामन पे सजाओ तो कोई बात बने ।

शौक र नेपालगन्जका उर्दूभाषी अरू सायर नेपालका बहुसंख्यकले मान्नेभन्दा अलग धर्म मान्छन्, अलग भाषा बोल्छन्, उनीहरूको संस्कृति अलग छ । त्यसैले धेरै उनीहरूको देशप्रेमप्रति संशय व्यक्त गर्छन् तर शौकको दिलमा रहेको देशप्रेम सायरीमा यसरी छल्किन्छ :

नेपाल मेरा देश, मेरी आँखका तारा
सौ जान से प्यारा, सौ जान से प्यारा ।

कौसरले गजल गाए । शौकले सायरी पढे । माहोल अलि अनौठो थियो । अहिलेसम्म उनीहरू जुन जुन मुसायरामा जान्थे, दर्शक जोसले ‘वाह, वाह’, ‘मुकर्रर’ भन्थे । यहाँ त्यो चलन थाहा नपाएका दर्शकले थपडी बजाए, सुसेली हाले ।

तोकिएको समय बितिसकेको थियो । यस्तैमा आफ्ना पालामा शौकले भने, ‘कभीकभी नेपालीमें भी कुछ गजल कहनेको जी चाहता है । त्यति राम्रो नहोला, क्षमा गर्नुहोला ।’ ताली अर्थात् नौलो किसिमको प्रशंसाका बीच शौकले सुरु गरे :

कणकणमा म खोजिरहेछु
दाइ, मेरो नेपाल कता छ ?
गाउँ सहरमा हेरिरहेछु
दाइ, मेरो नेपाल कता छ ?
अनुहार सबै बेगानै छन्
अरू बाटो पनि अन्जानै छन्
देशैमा परदेशी भएछु
दाइ, मेरो नेपाल कता छ ?

फेरि ताली बज्यो । शौकले अर्को एउटा सायरी भन्न खोजे । हस्तले ‘एक मात्र’ भन्ने संकेत गरे ।
‘एक, बस् एक,’ शौकले वचन दिए तर दर्शकले सुन्न चाहेपछि एउटा होइन, दुइटा सायरी पढे । कार्यक्रम सकियो । फेस्टिभलका सञ्चालकमध्ये एक अजित बराल मञ्चमा गए । कलाकार/कार्टुनिस्ट दुर्गा बराल चाँदी जस्तो कपाल लिएर मञ्चमा चढे र अरू दर्शक पनि उक्लिए– सायरलाई नजिकैबाट नियाल्न अनि हात मिलाउन ।

‘सबभन्दा बढी खुसी केमा लाग्यो भने दर्शकले मेरा सायरी मन लगाएर सुने, दिलचस्पीका साथ सुने,’ भोलिपल्ट हस्तसँग कुरा गर्दै शौकले भने । कौसर पहिलो पटक काठमाडौं आएका थिए । यहाँ नआईकनै पनि उनले यहाँको सुन्दरताबारे सायरी लेखेका थिए ।

नेपालगन्ज फर्कनुअघि शौकले गजलबारे आफ्नो चिन्ता प्रकट गरे, ‘सायरी त ठीकठाकसँग चल्दै छ तर पहिला जस्तो छैन । अलि कम भएको छ । हामी जसरी मुसायरा गर्थ्यौं, आजभोलि त्यस्तो छैन । अलि कम भएको छ । नयाँ नस्ल, नयाँ बिरुवा आएका छैनन् । उनीहरूसँग मनोरञ्जनका अरू नै बहुत सामान छन् ।’

शौकहरूले धानेको नेपालमा उर्दू सायरीको परम्परा अन्त पनि फैलिएको छ । काठमाडौंमा शौकभन्दा पाका ख्वाजा मुअज्जम शाहले उर्दूमा सायरी गरे । कपिलवस्तुका अब्दुल मोबिन, साखी खानभारुनी, शेर मेहमुद, जाहिद आजाद, वीरगन्जका जमशेद अन्सारी, सिरहाका वसिम मिकरानी र सुनसरीका तैयब राहीजस्ता सायर उर्दू सायरी रच्दै छन् । काठमाडौंका इम्तियाज बफाजस्ता सायरले नेपालको उर्दू सायरीलाई विदेशमा पनि फैलाएका छन् ।

आफ्नो सायरी आम मानिससम्म पुर्‍याउने अहिले जस्ता माध्यम नभएका बेला पनि निरन्तर, निःस्वार्थ ढंगले रचना गर्ने सायरको कामलाई आज पनि उच्च सम्मानसाथ सम्झिइन्छ । इम्तियाज वफाले भने झैं आज पनि उनीहरूका सायरी हाम्रा लागि मसाल–ए–राह हुन्, जसले अँध्यारामा नयाँ पुस्ताको बाटो उज्यालो पारिदिएका छन् ।

प्रकाशित : चैत्र ७, २०७६ १३:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×