१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सोमबारबाट एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक यातायात चलाउन नपाइने

विमल खतिवडा

काठमाडौँ — सोमबारबाट केही समयका लागि एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक यातायात सञ्‍चालनमा सरकारले रोक लगाएको छ । कोभिड–१९ को त्रास बढेसँगै सरकारले सावधानी अपनाउन भन्दै सरकारले यस्तो निर्णय गरेको हो । सोमबारबाट सरकारले लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

सोमबारबाट एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक यातायात चलाउन नपाइने

लामो दूरी भन्नाले २ सय ५० किमिभन्दा टाढालाई मानिएको छ । ‘२ सय ५० किमि कानुनी रूपमा हो,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले भने, ‘हामीले भन्न खोजेको सहरभित्र चल्न पाउनेछन्, सहरबाट बाहिर जान भने पाउनेछैनन् ।’ सहरका जुनसुकै ठाउँमा पनि सवारीसाधन चल्न पाउँछन् । एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाउनेछैनन् ।


सहरभित्र चल्ने सार्वजनिक साधनमा भने अवरोध हुनेछैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले शनिबार साँझ सूचना जारी गर्दै घर फर्कन चाहनेले रोक लगाउनुअघि नै प्रबन्ध गर्न आग्रह गरेको थियो । ‘सरकारको यो निर्णय स्वागतयोग्य छ,’ यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने, ‘अहिलेको अवस्थामा रोगबाट जोगिन सबैले स्वास्थ्य सतर्कता अपनाउन जरुरी छ ।’


बुधबारसम्मको टिकट बुक भए पनि सोमबारबाट लामो दूरीका सवारी बन्द हुने भएपछि यात्रुले आइतबार टिकट सारेर घर फर्किएका छन् । केही यात्रुले भने टिकट नपाएपछि घर जान नपाएको गुनासो गरेका छन् ।


‘पूरै लकडाउन नभए पनि मुभमेन्ट नहोस् भन्न यस्तो गरिएको हो, जो जहाँ छ, त्यहीँ बस भन्न खोजिएको हो,’ उनले भने । निजी र मालबाहक साधनलाई भने नरोकिने उनको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ७ मा गरेको सम्बोधनमा भनिएअनुसार लामा दूरीका सवारीमा रोक लगाइएको मन्त्रालयले जनाएको छ ।


‘सहरभित्र चलाउन पाइयो तर एकबाट अर्को जिल्ला जान पाइएन,’ महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख (एसएसपी) भीमप्रसाद ढकालले भने, ‘यो नियम देशभरका सबै जिल्लामा लागू हुनेछ ।’ काभ्रेबाट काठमाडौं चल्ने स्थानीय रुटका गाडी पनि चल्न नपाउने उनको भनाइ छ । ‘उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंलाई एउटै सहर मानेर यी जिल्लामा लोकल गाडी चल्ने व्यवस्था गरिएको छ,’ उनले भने, ‘अघिपछि जस्तो काभ्रेबाट काठमाडौं यात्रु लिएर गाडी आउन भने पाउनेछैनन् ।’


महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबारयता ६ लाख ९२ हजार ५ सय २४ जनाले उपत्यका छाडेका छन् । सोमबारबाट लामो दूरीको गाडी बन्द हुने भएपछि आइतबार एकै दिन २ लाख २२ हजार ४ सय ७ जनाले उपत्यका छाडेको ढकालले जानकारी दिए ।

प्रकाशित : चैत्र ९, २०७६ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?