पाँच दिनमा ५ लाख २६ हजार ७६४ जनाले उपत्यका छाडे
काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९)को सम्भावित जोखिमबाट बच्न उपत्यका छाड्नेको संख्या दैनिक बढ्दो छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबारयता ५ लाख २६ हजार ७ सय ६४ जनाले उपत्यका छाडिसकेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख (एसएसपी) भीमप्रसाद ढकालका अनुसार आइतबार बिहान ६ बजेदेखि १० बजेसम्म ५६ हजार ६ सय ४७ जनाले उपत्यका छाडेका छन् ।
यही दिन ९ हजार ४ सय २७ जना उपत्यका भित्रिएका छन् । त्यस्तै आइतबार बाहिरिने यात्रु बसको संख्या ८ हजार ९ रहेको छ भने भित्रिनेको संख्या ३ हजार ७ सय ५३ रहेको छ । सबै भन्दा बढी शनिबार १ लाख ८६ हजार ५ सय ४९ जनाले उपत्यका छाडेका छन् । सोमबारबाट लामोदुरीका सवारी सञ्चालनमा रोक लागउने सरकारको निर्णयले गर्दा बसपार्क र टिकट काउन्टरमा यात्रुको भिड बढेको हो । विद्यालय, कलेज बन्द भएपछि घर फर्कने बढी छन् ।
हेर्नुहोस्, उपत्यकाबाट कुन दिन कति यात्रु र सवारी साधन बाहिरिएः
बार | उपत्यकाबाट बाहिरिने यात्रु संख्या | उपत्यकाबाट बाहिरिने सवारी साधन संख्या |
बुधबार | ९५,२४७ | १७,५२४ |
बिहीबार | ८९,८०४ | १६,८२४ |
शुक्रबार | ९८,५१७ | १४,३३८ |
शनिबार | १,८६,५४९ | २७,२६० |
आइतबार(बिहान ६ देखि १० बजेसम्म) | ५६६४७ | ८००९ |