कोरोनाविरुद्ध घरदैलो

सचेतना फैलाउन गाउँपालिकाले सातवटा टोली बनाएर घरघरमा खटाएको छ, भारतबाट फर्किएकालाई निगरानीमा राखिएको छ ।
डीआर पन्त

नवदुर्गा, डडेलधुरा — भारत गुजरातबाट बुधबार घर फर्किएका हर्कबहादुर ऐरले नवदुर्गा, बेलापुरस्थित घर पुग्नुअघि स्थानीय स्वास्थ्य चौकीमा स्वास्थ्य जाँच गराए । कञ्चनपुरको गड्डाचौकी नाकामा पनि उनले शरीरको तापक्रम नपाएका थिए । ‘महेन्द्रनगर पुगेर घरमा फोन गर्दा श्रीमतीले स्वास्थ्यकर्मीलाई भेटेर मात्र आउनू भनेकी थिइन्,’ उनले सुनाए ।

कोरोनाविरुद्ध घरदैलो

ऐरमा कुनै स्वास्थ्य समस्या छैन । ‘हामीले उहाँलाई १४ दिनसम्म घर बाहिर ननिस्कन, घरमा पनि सतर्कता अपनाउन र स्वास्थ्यमा समस्या आए जानकारी गराउन भनेका छौं,’ नवदुर्गा स्वास्थ्य चौकीका प्रमुख दीपेन्द्र विष्टले भने ।

मणिलेकका जयराज भट्ट झिसमिसेमै उठेर घरआँगन सरसफाइ गर्दै थिए । गाउँपालिका अध्यक्षसहितको टोली आँगनमा आइपुग्यो । केही घटना पो भयो कि भन्ने उनले ठाने । उनले जिज्ञासा राख्न नपाउँदै गाउँपालिका प्रमुख कवीन्द्र विष्टले कोभिड–१९ बारे जानकारी दिए र सचेत हुन आग्रह गरे । ‘धेरै मान्छे मर्ने रोग भनेर रेडियो र टीभीमा सुनेको थिएँ, गाउँपालिका अध्यक्षसहित आएको स्वास्थ्यकर्मीको टोलीबाट धेरै कुरा थाहा पाएँ,’ उनले भने, ‘सबै सतर्क हुने हो भने रोग हाम्रो गाउँ छिर्न सक्दैन ।’


गाउँपालिकाले कोभिड–१९ बारे सचेतना फैलाउन सातवटा टोली बनाएर घरदैलोमा परिचालन गरेको छ । गाउँपालिकाका ५ वटै वडामा परिचालित टोलीमा स्वास्थ्यकर्मीसमेत छन् । टोलीमा ६५ जना स्वास्थ्य स्वयंसेविका, १५ जना स्वास्थ्यकर्मीका साथै कोभिडबारे बुझेका स्थानीय अगुवा छन् । उनीहरूले घरघरमा पुगेर कोभिड–१९ को सम्भावित संक्रमणबाट कसरी जोगिने, लक्षण के–के हुन सक्छन्, लक्षण देखिए के गर्ने भनेर जानकारी दिइरहेका छन् । ‘नयाँ वर्ष बिसु पर्वमा घर फर्किनेको लर्को लाग्न सुरु भएको छ,’ स्थानीय स्वास्थ्यकर्मी रुद्रप्रसाद भट्टले भने, ‘भारतका विभिन्न सहरमा रोजगारी गरिरहेकाहरू घर फर्कंदा संक्रमण भित्रिन्छ कि भन्ने चिन्ता छ । त्यसैले सचेतना अभियान चलाएका छौं ।’ उनले नवदुर्गा गाउँपालिकाले जस्तै अभियान अरूले पनि चलाउनुपर्ने बताए ।

नवदुर्गा गाउँपालिका अधिकतर युवा रोजगारीका लागि भारतमा छन् । नयाँ वर्ष बिसु पर्वमा घर फर्कने चलन छ । यसपटक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि घर फर्किने क्रम ह्वात्तै बढेको छ । अहिले भारतबाट गाउँमा दिनमा २० जनाभन्दा बढी भित्रिरहेका छन् ।


नवदुर्गा स्वास्थ्य चौकीका प्रमुख दीपेन्द्र विष्टले भारतबाट फर्किएका युवालाई निगरानीमा राखिएको जानकारी दिए । ‘सामान्य रुघाखोकी र ज्वरो आएकाहरू पनि स्वास्थ्यकर्मीको निगरानीमा छन्,’ उनले भने, ‘अहिलेसम्म कुनै अप्रिय अवस्था देखिएको छैन ।’ स्वास्थ्य चौकी प्रमुख विष्टले सीमानाकामा हुने सामान्य जाँचले मात्र संक्रमण रोक्न नसक्ने बताए ।

नवदुर्गा गाउँपालिकामा १९ हजारको बसोबास छ । घरधुरी संख्या भने ४ हजार ५ सय छ । हरेक घरधुरीमा पुगेर निगरानी सुरु भएपछि सर्वसाधारणमा उति चिन्ता नरहेको स्थानीय रामबहादुर बोहराले बताए । ‘भारतबाट फर्केकालाई घरपरिवारले पनि निगरानी गरिरहेका छन्,’ उनले भने ।


गाउँपालिका अध्यक्ष कवीन्द्र विष्टले विद्यार्थी, शिक्षक, स्वास्थ्य स्वयंसेविका, विभिन्न सामुदायिक संस्थाका पदाधिकारी र आमा समूहलगायत सबैलाई यस विषयमा अभिमुखीकरण गरिएको जानकारी दिए । ‘राजनैतिक दलका प्रतिनिधि, गाउँसभाका सदस्य र कार्यपालिका सदस्यसहितका अगुवालाई पनि यो अभियानमा परिचालन गरिएको छ,’ उनले भने, ‘प्रतिकार्य टोलीले पनि भारतबाट फर्किएका युवालाई सचेत पार्ने काम गरिरहेको छ ।’

प्रकाशित : चैत्र ९, २०७६ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?