कोभिड–१९ को जोखिम रोक्न विपद् व्यवस्थापन कोषको रकम खर्च गरिने- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोभिड–१९ को जोखिम रोक्न विपद् व्यवस्थापन कोषको रकम खर्च गरिने

कान्तिपुर संवाददाता

काठमाडौँ — कोभिड–१९ को सम्भावित जोखिम रोक्न सरकारले केन्द्रीय विपद् व्यवस्थापन कोषको करिब डेढ अर्ब रुपैयाँ खर्च गर्ने भएको छ ।

भूकम्प, बाढी/पहिरो, डुबान, आगलागी, हिमपातलगायतबाट हुने मानवीय र भौतिक क्षति तथा त्यसबाट सिर्जित समस्या समाधानमा प्रयोग गरिदै आएको कोषको रकम कोभिड–१९ भित्रिन नदिन चालिएका योजनामा खर्च हुने भएको हो ।


गृहमन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले कोषको रकम कोभिड–१९ विरुद्धका प्रतिकार्य योजनामा खर्च गर्न अनुमति दिएको हो ।


प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार कोषमा हाल १ अर्ब ५३ करोड ७० लाख ३८ हजार रुपैयाँ सञ्चित छ । कोषको रकम आवश्यकता अनुसार संघ, प्रदेश र स्थानीय तह मार्फत् खर्च हुने गरी व्यवस्था मिलाइएको छ ।


‘विश्वभरी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण नेपालमा भित्रिन नदिन चालिएका कदममा कोषमा भएको रकम खर्च गर्न अनुमति पाइसकेका छौं,’पोखरेलले कान्तिपुरसँग भने,‘आवश्यकता अनुसार क्लस्टर छुट्याएर कोषको रकम खर्च हुन्छ, प्रधिकरणको पाँचौं बैठकले अपुग रकम सोहीअनुसार व्यवस्थापन गर्ने निर्णय गरिसकेको छ ।’


प्राधिकरणलाई कोभिड–१९ भाइरसको महामारी भित्रिन नदिन प्रतिकार्य योजना तयारदेखि स्वास्थ्य, सुरक्षा तथा अन्य बन्दोबस्तीको व्यवस्थापन जिम्मा दिइएको छ ।


प्रधानमन्त्री, उपप्रधानमन्त्री, गृहमन्त्री र मुख्यसचिव संयोजक रहेका छुट्टाछुट्टै बैठकले गरेका निर्णय कार्यान्वयन गर्ने जिम्मा प्राधिकरणलाई दिइएको छ ।

प्रकाशित : चैत्र ८, २०७६ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्

नेपाली विद्यार्थीको पीडा, ‘डिग्री लिन बेलायत आएको तर बिजोग भयो’

नवीन पोखरेल

(लन्डन) — कलैयाका विशाल सिंह बेलायत आइपुगेको झन्डै डेढ महिना भयो । ‘युनिभर्सिटी अफ हडर्सफिल्ड’ मा कम्प्युटर साइन्स पढ्न आउँदा उनले ७ हजार २ सय ३५ पाउन्ड बुझाएका थिए । ११ मार्चमा ५ हजार ५ सय पाउन्ड तिर्ने समयसीमा थियो ।

भर्खरै बेलायत आएका उनले कुनै काम पाएका थिएनन् । त्यसैले उनले पुनः परिवार गुहारे । घरबाट पैसा पठाइयो तर उनी समस्यामा परे । ‘घरबाट मेरो खातामा पैसा डिपोजिट हुनेबित्तिकै बैंकले शंकास्पद भन्दै अकाउन्ट नै ब्लक गरिदियो ।

विश्वविद्यालयको पत्र, पासपोर्ट कपी, पैसा मगाएको सबै प्रमाण दिँदा पनि बैंकले एक महिनादेखि दुःख दिइरहेको छ,’ उनले भने ।

काम नहुनु र घरबाट पठाएको पैसा पनि रोकिएकै बेला कोभिड–१९ का कारण उनी थप चिन्तित छन् । ‘नेपाल जाऊँ पैसा छैन । यहाँ एकदम असुरक्षित महसुस गरिरहेका छौं,’ उनले सुनाए । सेप्टेम्बरसम्म विश्वविद्यालय बन्द भएकाले आफूसहितका विद्यार्थीलाई तुरुन्त नेपाल फर्कने वातावरण बनाइदिन उनले सरकारसँग आग्रह गरेका छन् ।

युनिभर्सिटी अफ हडर्सफिल्डमै कम्प्युटर साइन्स पढ्न आएका नेपालगन्जका २० वर्षीय रिचर्ड पाण्डे पनि यस्तै पीडा व्यक्त गर्छन् । ‘पैसा कमाउनभन्दा पनि डिग्री लिन बेलायत आएको तर बिजोग भयो,’ उनले भने, ‘घरबाट ल्याएको सबै पैसा सकियो, यहाँ जागिर छैन । यी विद्यार्थीमात्र होइन, युनिभर्सिटी अफ हडर्सफिल्ड, बोल्टन र युनिभर्सिटी अफ सेन्ट्रल ल्यानकासायर (युक्ल्यान) पुगेका करिब २ सय नेपाली विद्यार्थीको अवस्था उस्तै छ ।

पीडित विद्यार्थीले लन्डनस्थित नेपाली दूतावास र विश्वविद्यालयका नेपाली सोसाइटीले आफ्ना गुनासो नसुनेको जिकिर गरेका छन् । दूतावासका उपनियोग प्रमुख शरदराज आरनले नेपाल सरकारले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै सबैलाई नेपालयात्रा निषेधित गरेकाले आउँदो अप्रिल १२ सम्म धैर्य गर्न विद्यार्थीलाई आग्रह गरेका छन् ।

उनले भने, ‘यतिखेर नेपाल जाने फ्लाइट पनि छैन । फेरि भाइरस संक्रमण मानवीय स्वास्थ्यसँग जोडिएकाले देश र समाजलाई नै असर हुने विषय सबैले बुझिदिनुपर्छ ।’

यसैबीच, बिचल्ली परेका विद्यार्थीलाई सहयोग गर्न यहाँका केही नेपालीले चासो व्यक्त गरेका छन् ।

प्रकाशित : चैत्र ८, २०७६ २०:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×