अनुमतिबेगर स्वदेश फर्किएका ६३ नेपाली खरिपाटी क्वारेन्टाइनमा
काठमाडौँ — नेपाल सरकारको अनुमतिबिना विभिन्न मुलुकबाट शनिबार स्वदेश फर्किएका ६३ नेपालीलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पुर्याइएको छ ।
प्राणघातक कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकार लगाएको प्रतिबन्धविपरीत विदेशी एयरलाइन्स कम्पनीले बेकेर ल्याएका ५ महिलासहित ६३ नेपालीलाई खरिपाटी क्वारेन्टाइनमा राखिएको भक्तपुरका एसपी सविन प्रधानले जानकारी दिए ।
स्वदेश आएका ६३ नेपालीलाई विमानस्थलबाट दुइटा साझा बसले नि:शुल्क रुपमा खरिपाटी पुर्याएका थिए । उनीहरु जापान, मलेसिया, भारतबाट एयर इन्डिया र थाइ एयरवेजको विमान चढी नेपाल आएका हुन् । अनुमतिबिना नेपाल आएकाहरु अब १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ ।
खरिपाटीमा नेपाली सेनाले हेल्थ डेक्स सुरु गरिसकेको छ ।
कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको चैत ५ गतेको बैठकले
युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानका नागरिकलाई चैत ७ गतेदेखि वैशाख ३ गतेसम्मका लागि आगमनमा प्रतिबन्ध लगाएको थियो ।
यो पनि
- बिना स्वीकृति विदेशबाट आउने नेपालीको संख्या ६१ पुग्यो
- प्रतिबन्ध उल्लंघन गर्दै विदेशी एयरलाइन्सले ५५ नेपाली बोकेर आए