सामाजिक सञ्‍जालमार्फत यसरी फैलियो कोरोनासम्बन्धी फेक अडियो- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामाजिक सञ्‍जालमार्फत यसरी फैलियो कोरोनासम्बन्धी फेक अडियो

पोस्ट भएको १६ घण्टामै पक्राउ
जनकराज सापकोटा

काठमाडौँ — शुक्रबार राति १० बजे विवेक थापा मगरले सामाजिक सञ्‍जाल फेसबुकमा एउटा समाचारको लिंक सेयर गर्दै स्टाटस पोस्ट गरे । उनले लेखे, 'नेपालमा कोरोनाको महामारी फैलिसके पनि सरकारले, किन लुकाए यस्तो खबर । तल दिएको अडियो सुन्नुहोला ...अनिवार्य ।'

आफैंले सञ्‍चालन गरेको झोर्लेन्युज डट कम नामक एक वेबसाइटमा राखिएको अडियो क्लिपसहितको समाचारको लिंक सेयर गरेर सुतेका विवेकले शनिबार बिहान ढिलो गरी मात्रै थाह पाए, उक्त अडियो क्लिप त भाइरल पो भएछ ।


शनिबार मध्याह्‍नसम्म उनको फेसबुक स्टाटस ६ जनाले मात्रै सेयर गरेको देखिन्छ । तर सोही समाचारमा राखिएको उक्त अडियो क्लिप भने हजारौंले सामाजिक सञ्‍जालमार्फत सेयर गरेको देखिन्छ । कतिसम्म भने ग्रुप म्यासेन्जर, भाइबर ग्रुप र हृवाट्सएप ग्रुपबाट पनि यो क्लिप सयौंमाझ सेयर भएको देखिन्छ ।


कोरोना भाइरस (कोभिड १९) संक्रमण विश्वव्यापी बन्दै जाँदा विवेकको फैलाएको अफवाहले धेरैलाई तसाईदियो । शनिबार बिहानसम्म उक्त अडियो क्लिपले फैलाएको त्रास मध्याह्नसम्म आइपुग्दा भ्रामक रहेको भन्ने खबर पनि बाहिर आइसकेको थियो । दिउँसो २ बजे प्रहरी प्रधान कार्यालयले आफ्नो अफिसियल फेसबुकमा उक्त समाचार भ्रमपूर्ण रहेको सूचना लेखिसकेको थियो भने त्यसअघि नै नर्भिक अस्पतालले भ्रमपूर्ण सूचना फैलिएको भन्दै खेद व्यक्त गरेर विज्ञप्ति निकालिसकेको थियो ।


अडियो भाइरल भइरहेको र त्यसले धेरैलाई त्रसित बनाएको भन्ने सूचना प्रहरी प्रधान कार्यालयमा सामाजिक सञ्‍जालबाट पुगिसकेको थियो । अनि प्रहरी प्रधान कार्यालयले अडियो कहाँबाट बाहिरियो र कसले त्यस्तो काम गरिरहेको छ भनेर पत्ता लगाउन साइबर ब्युरोलाई आदेश दिएलगत्तै बिहानैबाट ब्युरोको अनुसन्धान टोली खटिएको थियो ।


अनुसन्धानको सुई भक्तपुरतिर सोझिएपछि दिउँसो ३ बजेतिर प्रहरीले रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने विवेकलाई पक्राउ गर्‍यो । अनुसन्धानमा संग्लन एक प्रहरीले उक्त अडियो क्लिप कुन–कुन सामाजिक सञ्‍जालमा कसरी विस्तार भयो भन्नेबारे अनुसन्धान सुरु गरिसकिएको बताए ।


कोरोना भाइरसबारे अडियोमार्फत भ्रम फैलाउने पक्राउ

प्रकाशित : चैत्र ८, २०७६ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्

कारागारमा उच्च जोखिम

काठमाडौंको केन्द्रीय कारागारमा एउटै कोठामा ३ सय जनासम्म र ललितपुरको नख्खु कारागारमा ३५ जनासम्म कैदीबन्दी राखिएका छन् । तीमध्ये कसैमा कोभिड–१९ को संक्रमण देखिए कसरी नियन्त्रण गर्ने ? तयारी फितलो छ ।
जनकराज सापकोटा

काठमाडौँ — सरकारले कोभिड–१९ को संक्रमण रोकथामका लागि २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेको छ । देशका अधिकांश कारागारमा भने सयौंको संख्यामा कैदीबन्दी एउटै कोठामा बसिरहेका छन् । त्यहाँ सरुवा रोगको संक्रमण फैलिने जोखिम बढी छ ।

७२ जिल्लाका ७४ कारागार र आठ बालसुधार गृहमा १ हजार २ सय ८२ विदेशीसहित २४ हजार ६ सय ८० कैदीबन्दी र तिनमा आश्रित ९० जना बालबालिका छन् । नेपालका अधिकांश कारगारमा क्षमताभन्दा धेरै कैदीबन्दी राखिएका छन् । काठमाडौंको जगन्नाथदेवलस्थित केन्द्रीय कारागारसहित केहीमा कैदीबन्दीको संख्या क्षमताभन्दा बढी छ ।

केन्द्रीय कारागार र ललितपुरको नख्खु कारागारमा सबैभन्दा धेरै कैदीबन्दी छन् । कारागार व्यवस्थापन विभागका अनुसार १ हजार ८ सय जना राख्ने क्षमता भएको केन्द्रीय कारागारमा हाल २०५ विदेशीसहित ३ हजार १ सय ३७ कैदीबन्दी छन् । त्यस्तै १ हजार २ सय जना अट्ने नख्खु कारागारमा १ हजार ६ सय ५८ कैदीबन्दी छन् ।

कारागारभित्र संक्रमण फैलिएमा परिस्थिति सरकारको नियन्त्रणबाहिर जान सक्ने भन्दै विभागले कैदीबन्दीका आफन्त र अन्यलाई भेटघाटमा नियमन गरेको छ । नयाँ कैदीबन्दीलाई अनिवार्य स्वास्थ्य परीक्षण गराएर भित्र पठाउने, भेट्न जानेको अनिवार्य ज्वरो परीक्षण गर्नेजस्ता काम सुरु गरिएको छ । विभागका सूचना अधिकारी देवर्षि सापकोटाका अनुसार कसैमा संक्रमणको लक्षण देखियो भने आइसोलेसनमा राख्नका निम्ति नख्खु कारागारभित्र रहेको मनोसामाजिक बन्दी अस्पतालमा २० बेडको आइसोलेसन वार्ड प्रयोगमा ल्याउने तयारी थालिएको छ । विभागले संक्रमणको जोखिम रहने भन्दै कैदीबन्दीहरूको स्थानान्तरणमा पनि रोक लगाएको छ ।

केन्द्रीय कारागारमा अहिले पनि साना कोठाहरूमा कम्तीमा सय र ठूला कोठामा तीन सय जनासम्म कैदीबन्दी राखिएको छ । धेरैजसो कोठामा कैदीबन्दी दुई तख्ता भएको खाट प्रयोग गर्छन् । केन्द्रीय कारागार व्यवस्थापनका प्रमुख लक्ष्मीप्रसाद बाँस्कोटाले नियमन गर्दागर्दै पनि संक्रमण फैलिएमा परिस्थिति नियन्त्रणबाहिर जाने चिन्ता व्यक्त गरे । उनका अनुसार कैदीबन्दीका बाबुआमा, श्रीमान्–श्रीमती, छोरा–छोरी र सासू–ससुरालाई मात्रै भेट्न दिने नयाँ नियम सुरु गरिएको छ ।

अहिले पनि कारागारमा औसतमा प्रत्येक दिन ३–४ जना नयाँ कैदीबन्दी थपिने गरेका छन् । उनले नयाँ थपिने कैदीबन्दीबाट संक्रमण नफैलियोस् भनेर अनिवार्य स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको बताए । कैदीबन्दी भेट्न जानेलाई पनि कारागार व्यवस्थापनले तापक्रम जाँच र सेनिटाइजर प्रयोग अनिवार्य गराउन थालेको छ । उनले कारागारभित्रै रहेको अस्पतालमा १० देखि १५ जनासम्म राख्न मिल्ने गरी आइसोलेसन वार्ड बनाउने तयारी थालिएको सुनाए ।

ललितपुरको नख्खु कारागारले पनि केन्द्रीय कारागारकै जस्तो कैदीबन्दीका आफन्तको भेटघाटमा नियमन थालेको छ । कारागार व्यवस्थापन प्रमुख मोहन अधिकारीले कैदीबन्दी र भेट्ने आफन्तबीचको दूरी बढाइएको बताए । नख्खु कारागारका तीन ब्लकमा ठूलो कोठामा ३५ जनासम्म र सानोमा ४ जनासम्म कैदीबन्दी राखिएको छ । ‘संक्रमण नफैलियोस् भनेर सम्भव हुनेसम्मको प्रयास सुरु गरिसकेका छौं,’ अधिकारीले भने ।

केन्द्रीय र नख्खु दुवै कारागारमा ठूलो संख्यामा मानसिक समस्या भोगिरहेका कैदीबन्दी छन् । कारागार व्यवस्थापनमा खटिएका कर्मचारीका अनुसार त्यस्ता कैदीबन्दीलाई संक्रमण भएमा स्थिति सोचेभन्दा विकराल हुन सक्छ । केन्द्रीय कारागारमा अहिले ३ सयभन्दा धेरै र नख्खु कारागारमा दुई सय मानसिक रोगी कैदीबन्दी छन् । नख्खु कारागार प्रशासनका अनुसार अहिले कारागारभित्र रहेका करिब ६० कैदीबन्दी रुघाखोकी र ज्वरोको संक्रमण झेलिरहेका छन् । बिमारी कैदीबन्दीलाई संक्रमणको खतरा धेरै हुने भए पनि कारागार प्रशासनले चालेका कदम पर्याप्त नहुने देखिन्छ । प्रत्येक दिन नख्खु कारागारमा औसतमा सात जना नयाँ कैदीबन्दी थपिने गरेका छन् ।

अदालत र विभिन्न हिरासतबाट आउने त्यस्ता कैदीबन्दीबाट जेलभित्र संक्रमण फैलिन सक्ने खतरा विद्यमान छ । अधिकारीले नयाँ कैदीबन्दीको पनि अनिवार्य स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएकाले डराइहाल्नुपर्ने अवस्था नरहेको बताए ।

प्रकाशित : चैत्र ७, २०७६ ०८:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×