कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिबन्ध उल्लंघन गर्दै विदेशी एयरलाइन्सले ५५ नेपाली बोकेर आए

खरिपाटी क्‍वारेन्टाइनमा लैजाने तयारी
मातृका दाहाल

काठमाडौँ — कोरोना भाइरसको प्रकोप भित्रिन नदिन सरकारले लगाएको अस्थायी प्रतिबन्ध उल्लंघन गर्दै एयर इन्डिया र थाइ एयरवेजले ५५ नेपालीलाई विभिन्‍न मुलुकबाट नेपाल ल्याएका छन् ।

सरकारी निर्णय उल्लंघन गर्दै ती एयरलाइन्सले जापान, मलेसियालगायत मुलुकमा रहेका नेपालीलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गराएका हुन् ।


विमानस्थल ओर्लिएका सबै नेपालीलाई खरिपाटीस्थित क्वारेन्टाइनमा पठाउने तयारी भइरहेको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए । आफूखुसी नेपाल आएका उनीहरु १४ दिन क्वारेन्टाइनमा बस्ने र त्यस अवधिसम्म उनीहरुले नै खर्च व्यहोर्नुपर्ने बताए । एयर एन्डियाबाट आएका १२ र थाइ एयरवेजबाट आएका ३८ जना सम्पर्कमा आएको पौडेलले बताए ।


सरकारी निर्णय अवज्ञा गर्ने एयरलाइन्सलाई सचेत गराउने र अटेर गरे नियम अनुसार कारबाही उनले गरिने बताए । नेपालको स्वीकृति बेगर विदेशबाट मानिस ओसारेको विषयमा नागरिक उड्ययन प्राधिकरणका पदाधिकारीलाई मौखिक स्पष्टीकरण मागिएको पौडेलले बताए ।


‘सरकारी निर्णयविपरीत किन विदेशबाट मान्छे ल्याएको भनेर नागरिक उड्ययन प्राधिकरण र विमानस्थल व्यवस्थापनसँग जवाफ मागेका छौं,’ पौडेलले कान्तिपुरसँग भने, ‘अरु मानिस पनि आउने क्रममा रहेको भए आकाशबाटै उतै फिर्ता पठाउने व्यवस्था गर्न पनि निर्देशन दिएका छौं ।’


अटेर गरेर अवतरण गरिए विमानस्थलबाटै जुन देशबाट आएको हो, सोही मुलुकतर्फ विमान फिर्ता गरिने पौडेलले बताए ।


यो पनि पढ्नुहोस्ः

युरोपसहित कोरोना प्रभावित मुलुकका नागरिकलाई वैशाख ३ सम्म प्रवेश रोक

प्रकाशित : चैत्र ८, २०७६ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्

कोरोनाबारे जनचेतना फैलाउन शिक्षक परिचालन

कमल पन्थी

(बर्दिया) — बढैयाताल गाउॅपालिकाले स्वयंसेवकका रुपमा कोरोना भाइरस (कोभिड—१९) विरुद्ध जनचेतना फैलाउन शिक्षक परिचालन गर्ने निर्णय गरेको छ । शनिबार अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले शिक्षकलाई कोरोना भाइरसबारे जनचेतना जगाउन घरदैलो कार्यक्रम गर्ने निर्णय गरिएको हो ।

शिक्षण संस्थान बिदा भएकोले यस कार्यमा शिक्षकले महत्वपूर्ण योगदान पुर्‍याउने भएकोले आइतबारदेखि परिचालन गरिन लागेको बढैयाताल गाउँपालिकाका प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जनाए । यसैगरी बैठकले भारतसँग जोडिएको सीमा बन्द गर्न स्थानीय प्रशासनसँग आग्रह गरेको छ । अर्को सूचना जारी नभएसम्म बढैयातालका सबै फ्रेस हाउस बन्द गर्ने, अत्यावश्यक उपभोग्यका सामान कमी हुन नदिन उद्योग वाणिज्यसँग सहकार्य गर्ने र कालोबजारीविरुद्ध कडा कारबाही गर्ने निर्णय बैठकले गरेको छ ।

यसैगरी प्राथमिक स्वास्थ्य केन्द्र सोरहवामा छुट्टै आइसोलेड बेड स्थापनासँगै उपयुक्त शिक्षण संस्थानमा क्‍वारेन्टाइन राखिने भएको छ ।

प्रकाशित : चैत्र ८, २०७६ १५:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×