नेपाल-भारत आउजाउ रोक्न कति सम्भव छ ?

नेपाल र भारतबीचको सीमा पुरै बन्द गर्न दुवै देशबीचको ऐतिहासिक सम्बन्धको हिसाबले भन्दा पनि सामाजिक परिवेश, स्रोत साधन र व्यवहारिक रुपमै पनि सम्भव देखिँदैन ।
सुरेशराज न्यौपाने

काठमाडौँ — भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या दिनानुदिन बढेसँगै नेपाल–भारत सीमा पुरै ‘सिल’ गर्ने/नगर्नेसम्बन्धी बहस पनि सुरु भएको छ । नेपाल सरकारका केही मन्त्रीहरुले त सार्वजनिक रुपमै सीमाको आउजाउ पुरै रोक्नमा ढिला गर्न नहुने जिकिर गरेका छ्न् भने केहीले भने व्यापक छलफल र व्यवहारिक पक्षहरु केलाएर मात्र निर्णय लिनुपर्ने अभिव्यक्ति दिएको पाइन्छ । 


१ अर्ब ३० करोड जनसंख्या भएको भारतमा बढिरहेको संक्रमण नेपालमा नफैलियोस् भनेर सीमा पुरै बन्द गर्नुपर्ने माग झट्ट हेर्दा जायज नै लाग्छ । त्यसमाथि कोरोना संक्रमणले विश्वव्यापी महामारीको रुप लिइसक्दा नेपालमा अहिलेसम्म एक जनाबाहेकमा भाइरस पुष्टि नहुनुले पनि त्यस्तो माग गर्नु स्वाभाविक लाग्छ । यस विषयमा नेपाल सरकारले भारतीय पक्षसँग औपचारिक रुपमै छलफलसमेत गरिसकेको छ । परराष्ट्रका अधिकारीहरुको भनाइलाई पत्याउने हो भने यस विषयमा दुवै पक्ष अन्तिम निर्णयमा भने पुगिसकेका छैन । र, छलफल जारी नै रहेको छ । तर, के नेपाल–भारत सीमा मानिसहरुको आउजाउ नै बन्द गर्न मिल्ने गरी बन्द गर्न सम्भव छ त ?

नेपाल र भारतबीचको सीमा पुरै बन्द गर्न दुवै देशबीचको ऐतिहासिक सम्बन्धको हिसाबले भन्दा पनि सामाजिक परिवेश, स्रोत साधन र व्यवहारिक रुपमै पनि सम्भव देखिँदैन । नेपाल र भारतबीच १७५१ किलोमिटर लामो खुला सीमा रहेको छ । त्यसमध्ये साना, ठूला, कच्ची, पक्की गर्दा ५०० भन्दा बढी नाका छन् । जहाँबाट दिनहुँ हजारौंको संख्यामा मानिसहरुको ओहोरदोहोर हुनेगर्छ । ६ वटा प्रमुख नाका र डेढ दर्जनभन्दा बढी साना नाकाहरु छन् । जहाँबाट दुई देशबीचको व्यापार हुँदै आएको छ ।


यति लामो सीमा बन्द गर्ने विषयलाई पहिलो त सामर्थ्य र पूर्वाधारका हिसाबले पनि हेर्नुपर्ने हुन्छ । दुई देशबीचको सीमामा भारतले करिब ५ किलोमिटरको दूरीमा सीमा सुरक्षा बलको चौकी राखेको छ भने नेपालतर्फ भने करिब १५ किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको चौकी छ । तारबार र पर्खाल केही नभएका कारण मानिसहरुको आउजाउका लागि भारततर्फ ५ किलोमिटर र नेपालतर्फ १५ किलोमिटर दूरी पर्याप्त हुन्छ । र, कोरोना महामारी देखियो भन्दैमा तत्काल प्रत्येक किलोमिटरमा चेक पोस्ट राख्न सक्ने किसिमका स्रोत साधन र सामर्थ्य दुवै मुलुकसँग छैन पनि ।


अर्को प्रमुख कुरा सामाजिक परिवेशको कुरा पनि हो । नेपाल र भारतबीचको सीमा बन्द गर्ने विषय झट्ट सुन्दा जति आकर्षक लाग्छ सामाजिक परिवेशलाई हेर्ने हो भने त्यत्तिकै अव्यवहारिक पनि । विशेषगरी तराई/मधेसमा हेर्ने हो भने तराईं/मधेसमा अझै पनि सयौं बस्ती यस्ता छन् जहाँ नेपालतर्फबाट प्रवेश गरेपछि सिधै घरभित्रैबाट भारततर्फ निस्किन्छ । ती बस्तीहरुका लागि ‘नोम्यान्स ल्यान्ड’ को व्यवहारमा कुनै अर्थ छैन । यस्तो सामाजिक परिवेशमा सीमा पुरै बन्द गर्नुपर्छ भन्नु कत्तिको व्यवहारिक हुन्छ आफैमा सोचनीय कुरा हो । अझ त्योभन्दा पनि एक पटक मानवीय पक्ष हेरौं ।


भारतमा कोरोना संक्रमण बढ्दै गएपछि यहाँ काम गर्ने नेपालीहरुमार्फत् नेपालमा पनि कोरोना भाइरस भित्रिन सक्छ भन्दै सीमा बन्द गर्नुपर्ने माग भइरहेको देखिन्छ । तर, मानवीय पक्षबाट हेर्दा यो सम्भव छ त ? भारतमा रोजगारीका लागि बर्सेनि हजारौंको संख्यामा नेपालीहरुका आउने गरेका छन् । रोजगारीका लागि भारत आउने नेपालीहरुको तथ्यांक न त नेपाल सरकारसँग छ न भारतसँग नै । तर, यो संख्या हजारौंमा छ भन्न कुनै अनुसन्धान पर्खनु पर्दैन । गत वर्ष भारतबाट मात्र करिब एक सय अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिनुले धेरै कुरा बताउँछ ।


भारतका नयाँदिल्ली, मुम्बई, चण्डीगढ, लुधियाना, अमृतसर, जयपुर, बैंग्लोर, चेन्नई, गोवा, सिमला, जम्मू–कश्मीर, नैनितालमा काम गर्न आउने नेपालीहरुको बाक्लो उपस्थिति पाइन्छ । तीमध्ये केही मौसमी कामका लागि आउँछन् भने बाँकी उद्योग, कलकारखानादेखि रेस्टरेन्ट तथा होटलमा काम गर्न आउने गरेका छन् । केहीले भने सानोतिनो व्यवसायसमेत गर्ने गरेका छन् । कोरोना महामारीको त्रासले अहिले सबैभन्दा बढी असर यिनै नेपालीहरुमा परेको छ । विशेषगरी मुम्बई, बैंग्लोर र दिल्ली जहाँ नेपालीहरुको बाक्लो उपस्थिति छ यी सहरहरु आशिंक 'लकडाउन' गरिएको हुँदा उनीहरुको रोजगारी प्रत्यक्ष प्रभावित भएको छ ।


होटल, रेस्टुरेन्टमा काम गर्ने नेपालीहरुमध्ये धेरैले रोजगारी गुमाएका छ्न् भने बाँकीलाई बिदामा पठाइएको छ । व्यवसाय नै ठप्प भएकाले उनीहरुसामु घर फर्किनुको विकल्प छैन । विद्यार्थीहरुलाई बस्ने होस्टल खाली गराइएको छ । भाडामा बस्ने नेपालीहरुलाई भीडभाड भयो घरबेटीहरुले घर खाली गर भनेका छन् । त्यसमाथि नेपालीहरुमा आफैंमा कोरोनाको त्रासबाट पनि त्यत्तिकै भयभित पनि बनाएको छ । त्यही त्रासले पनि भारत आएका नेपालीहरुलाई परदेशमा मर्नुभन्दा आफ्नै गाउँघर प्यारो भन्ने भावनाले पनि घर फर्कन प्रेरित गरिरहेको छ । यही भएर नै विगत केही दिनदेखि भारतमा काम गर्ने नेपालीहरु हुलका हुल नेपाल फर्किरहेका छन् ।


शनिबार बिहान फेसबुकबाट सार्वजनिक भएको महेन्द्रनगरको गड्डाचौकी नाकामा भारतबाट नेपाल फर्किँदै गरेकाहरुको ठूलो भीडले पनि सीमा बन्द गर्नुपर्छ भन्नेहरुलाई जवाफ दिन्छ । दिनहुँ यति ठूलो संख्यामा घर फर्किरहेका आफ्ना नागरिकहरुलाई मावनीयता हिसाबले पनि सीमा बन्द गरेर आउन दिन्न भन्न मिल्छ ? यदि त्यसरी रोक्दा सिर्जना हुने दुःखद् परिस्थितिका लागि को जिम्मेवार को हुने ? सीमा पुरै बन्द निर्णय गरियो भने पनि त्यो कार्यान्वयन गर्न सम्भव छ त ?


भारतले अघिल्लो साता नै चारवटा नाकाहरुबाट मात्रै मानिसहरुको आउजाउ गर्ने निर्णय गरेकै हो । तर, त्यसपछि पनि अन्य नाकाहरुबाट साविककै हिसाबले मानिसहरुको आउजाउ चलिरहेकै छ । त्यसैले कोरोना भाइरसको त्रासका बीच आवेशमा आएर नेपाल र भारत सीमा बन्द गर्ने निर्णय गर्नुअघि कार्यान्वयनबारे मनन गर्नु आवश्यक छ । नेपाल र भारतबीचको सीमा नियमन गर्ने वा आवश्यक परेको खण्डमा बन्द गर्ने विषय दीर्घकालीन महत्त्व राख्ने विषय हो ।


भविष्यमा दुवै मुलुकबीचको छलफल र परामर्शमा यसको टुंगो लगाउन सकिने छ । यस विषयमा प्रबुद्ध समूहले पनि आफ्नो अन्तिम रिपोर्टमा पक्कै पनि ठोस सुझाव दिएकै हुनुपर्छ । तर, कोरोनाका कारण सिर्जित अहिलेको त्रासपूर्ण वातावरणमा नेपाली भूगोलभित्र रहेका नेपालीहरुमात्र सुरक्षित रहनुपर्छ भन्ने सोचले यदि कसैले नेपाल र भारतबीचको सीमा तत्काल पुरै बन्द गर्नुपर्छ भन्छ भने त्यो मानवीयता र व्यवहारिक दुवै पक्षबाट सम्भव देखिँदैन । बरु नेपालीहरु फर्कने नाकामा स्वास्थ्य परीक्षणको उचित प्रबन्ध गर्नु नै सबैभन्दा उत्तम विकल्प हुन्छ । नेपाल सरकारले यसतर्फ पनि मनन गरोस् । प्रकाशित : चैत्र ८, २०७६ १५:०६

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बाल विवाहमा संलग्‍न तीन पक्राउ

दुर्गालाल केसी

दाङ — बबई गाउँपालिकामा प्रहरीले बाल विवाहमा संलग्‍न ३ जनालाई पक्राउ गरेको छ । वडा नम्बर ६ चिसापानीस्थित कालिका मन्दिरमा बाल विवाह भइरहेको बेला प्रहरीले शुक्रबार बेलुका दुलाहा, पण्डित र मध्यस्थकर्तालाई पक्राउ गरेको हो ।

तुलसीपुर उपमहानगरपालिका ५ रानीजरुवाकी १५ वर्षीया बालिकासँग विवाह गर्न लागेका दुलाहा तुलसीपुर १३ ढकनाका ३० वर्षीय घनश्याम बस्नेत, केटी फकाउने शान्तिनगर–७ बुराडाबरकी २६ वर्षीया माया भण्डारी र पुजारी बबई गाउँपालिका ६ पञ्चकुलेका ४९ वर्षीय गणेशकुमार पौडेल पक्राउ परेका हुन् ।

पक्राउ परेका तीनै जनाविरुद्ध बाल विवाह ऐनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक चक्र डम्बरपालले बताए ।

केही दिनअघि घोराही उपमहानगरपालिका १४ ढोडेनीमा भएको बाल विवाहमा संलग्नलाई पनि मुद्दा चलाइएको छ । घोराही १३ सेवार निवासी ३० वर्षीय कृष्णबहादुर केसीले ढोडेनी निवासी १८ वर्षीया बालिकासँग विवाह गर्दै गरेको बेला प्रहरीले दुलाहा केसी र दुलहीका बुवा ४६ वर्षीय वसन्त भण्डारीलाई पक्राउ गरेको थियो ।

उनीहरुविरुद्ध मुलुकी (अपराध संहिता) ऐन २०७४ को दफा १७३ बमोजिम बाल विवाह गर्न नहुने कसुरमा मुद्दा दर्ता भएको छ ।

प्रकाशित : चैत्र ८, २०७६ १४:४९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×