१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

जमुनाह नाकामा घट्दै चहलपहल : सेनाले राख्यो हेल्थ डेस्क, भारतीय फर्काइँदै  

अस्पतालमा छैन कोरोना परीक्षण गर्ने पर्याप्त सुविधा
रुपा गहतराज

नेपालगन्ज — नेपालगन्जस्थित भारतसँग जोडिएका सीमा नाकामा आवगमनको चाप बिस्तारै कम हुँदै गएको छ । भारतबाट आउने पैदलयात्रुलाई प्रवेश दिइएको छ भने सवारी साधनलाई निषेध गरिएको छ । भारतमा कामका लागि नेपाल आउनेलाई फर्काइएको छ । त्यस्तै, उपचारका लागि भारत जाने बाहेकलाई भारत प्रवेश गर्न दिइएको छैन ।

जमुनाह नाकामा घट्दै चहलपहल : सेनाले राख्यो हेल्थ डेस्क, भारतीय फर्काइँदै  

जमुनाह नाकामा नेपाली सेनासहितको स्वास्थ्यकर्मीको टीमले नेपाल भित्रिने नागरिकको स्वास्थ्य परीक्षण गरिरहेका छन् । यसअघि स्वास्थ्यकर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी सिमानामा खटिएका थिए भने हाल नेपाली सेनाका स्वास्थ्यकर्मीले पनि हेल्थ डेस्क थप भएका छन् ।

भारतमा कोरोना भाइरस संक्रमण बढ्दै जाँदा त्यहाँबाट जमुनाह नाका हुँदै नेपाल भित्रिनेको संख्या बढेको छ । स्वास्थ्य परीक्षण अनिवार्य गरेको तीन दिनमा जमुनाह नाकाबाट २४ हजार २३२ जना नेपालगन्ज प्रवेश गरेका छन् । यसरी प्रवेश गर्नेमा अधिकांश नेपाली छन् ।

जमुनाहस्थित हेल्थ डेक्समा दैनिक नेपालमा भित्रिनेको तथ्यांक राखिने गरिएको छ । त्यहाँ उल्लेख भएको तथ्यांकअनुसार चैत ५ गते ७ हजार ७२३, र ६ गते ८ हजार ७५० र ७ गते ७ हजार ७५९ जना नेपाल भित्रिएका थिए ।

सरकारले चैत ५ गतेदेखि नेपाल प्रवेश गनेको अनिवार्य स्वास्थ्य परीक्षण गर्न थालेको थियो । त्यसपछि नेपाल भित्रिनेको संख्या अझ बढेको छ । जबकी चैत ४ गते ५ हजार १९ जना र चैत ३ गते ११ जना मात्र नेपाल प्रवेश गरेका थिए ।

स्वास्थ्यकर्मी दुर्गा महतले भारत जाने नेपाली लाई फर्काउँदा चाप घटेको बताइन् । सीमा पारी किनमेल गर्न जाने लाई समेत सम्झाइ बुझाउँदै घर फर्काएका छौं,’ उनले भनिन्, ‘प्रहरीले पैदल यात्रु सवारी साधन लाई कडाइ गरेपछि जाँचमा सजिलो भएको छ ।

ज्वरो नाप्ने एउटै उकरणको भरमा नाका जाँच भइरहेको छ । हेल्थ असिस्टेन् देविचन्द थापाले भने, ‘उकरण र जनशत्ति कम हुँदा जाँच प्रभावकारी गराउन सकिएन ।उनका अनुसार अहिलेसम्म सात जना लाई शंकाका आधारमा भेरी अस्पताल पुर्याइएको छ ।

नाकामा सिनियर अनमी र एचएले जाँच गरिरहेका छन् । सर्तकताको राम्रो व्यवस्था नहुँदा स्वास्थ्यकर्मी आफैं असुरक्षित हुने सम्भावना बढेको छ । सबैभन्दा धेरै हामी जोखिममा छौं,’ नाकामा यात्रु जाँच गरिरहेका स्वास्थ्यकर्मी धनप्रसाद न्यौपानेले भने, 'भीडभाडले जाँच गर्न असजिलो भएको छ ।उनका अनुसार केहि दिनदेखि भारत जानेको संख्या कम भइरहेको बताए । उनले भने फर्कनेको संख्या धेरै छ ।

आउने क्रम निरन्तर बढ्दो छ,’ इप्रका जमुनाहका प्रमुख, प्रहरी नायव निरीक्षक माधव रिजालले भने, ‘कतिपयलाई कामबाट विदा दिइएको छ भने अधिकांश महामारीको सन्त्रासले घर फर्किएको पाइयो । यसरी फर्कनेमा कालीकोट, जुम्ला, सुर्खेतलगायतका उनीहरू हिमाञ्चल, सिमला, लखनउ, दिल्ली लगायत ठाउँमा रोजगारीका लागि पुगेका थिए ।

कोरोना भाइरस संक्रमित फेला परेको खण्डमा राख्नका लागि पाँच बेडको आइसोलेसन वार्ड स्थापना गरिए पनि जाँच र उपचारका लागि कुनै सुविधा नभएको भेरी अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए। आइसोलेसन वार्डमा हुनुपर्ने कुनै पनि सुविधा छैन,’ उनले भने, 'शंकास्पद व्यक्तिको थ्रोड स्वाबर्यालको स्याम्पल लिन सक्ने अवस्थासमेत छैन ।उनले कोरोना भाइरसका शंकास्पद बिरामीको थ्रोड स्वाब संकलन गर्ने ज्ञानसमेत चिकित्सक र प्राविधिकलाई नभएको बताए।

शंकास्पद बिरामीको थ्रोड स्वाब संकलन गरेर टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाउनु पर्ने हुन्छ, तर पठाउनका लागि अस्पतालसँग साधन र दक्ष प्राविधिक छैनन्,’ थापाले भने, ‘कोरोना भाइरसका बिरामी फेला परे पनि जाँच गर्न सक्ने अवस्था छैन । बिरामीको जाँच गर्ने बेला स्वास्थ्यकर्मी र चिकित्सकले प्रयोग गर्ने पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट नभएकोले चुनौती थपिएको छ ।'

आफ्नो ज्यान जोखिममा राखेर कोरोना भाइरस लागेका बिरामी वा शंकास्पद व्यक्ति समक्ष जान सक्ने कुरै भएन,’ थापाले भने, ‘अस्पतालसँग रेस्क्यू गर्ने साधन पनि छैन् ।उनले बिरामी जाँच गर्नेबेला लगाउने एन ९५ मास्क पनि भेरी अस्पतालसँग नभएको बताए । उनले अस्पतालको ओपीडी वार्डसमेत बन्द गरिएको जानकारी दिए । उनले अब इमेरजेन्सी र फिबर क्लिनिक वार्ड मात्र खुला रहने जानकारी दिए ।

प्रकाशित : चैत्र ८, २०७६ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?